गभर्नरलाई निलम्बन गरेकोमा आपत्ति जनाउँदै अध्यक्ष ओलीले भने : ‘देश अत्यन्तै निर्लज्ज व्यक्तिहरुको हातमा परेको छ’ « प्रशासन
Logo ४ जेष्ठ २०८१, शुक्रबार
   

गभर्नरलाई निलम्बन गरेकोमा आपत्ति जनाउँदै अध्यक्ष ओलीले भने : ‘देश अत्यन्तै निर्लज्ज व्यक्तिहरुको हातमा परेको छ’


२६ चैत्र २०७८, शनिबार


काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गरेकोमा आपत्ति जनाएका छन् ।

आज (शनिबार) राजधानीमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै उनले अर्थतन्त्र जोगाउनका लागि प्रयास गरिरहेका नेपाल राष्ट्र बैङ्कका गभर्नर अधिकारीलाई निलम्बन गरेको भन्दै आपत्ति जनाएका हुन् ।

ओलीले नेपालमा अत्यन्त अस्वस्थ राजनीतिक प्रतिस्पर्धा भइरहेको बताए। अर्थमन्त्री जनार्दन शर्मा सङ्केत गर्दै उनले ‘धान खाने मुसो चोट पाउने भ्यागुतो’भन्ने उखान चरितार्थ भएको भन्दै व्यङ्ग्य गरे।

‘देश अत्यन्तै निर्लज्ज व्यक्तिहरुको हातमा परेको छ।’ओलीले भने,‘देशको अर्थतन्त्र जोगाउन खोज्ने एउटा राष्ट्रसेवक र एउटा अर्थविद्, अर्थशास्त्री, अर्थतन्त्र बुझेका मान्छे उनलाई निष्कासन, निलम्बन गरियो।’

माओवादी भनेर चिनिएको मान्छेलाई पूर्व न्यायाधीशको संयोजकत्वमा छानबिन समिति गठन भएको बताएका छन् ।‘माओवादीले नियुक्त गरेको, माओवादी भनेर चिनिएको न्यायाधीशको नेतृत्वमा छानबिन समिति गठन बनाइयो ।’ उनले भने,‘अहिले हामीलाई थाहा छ न्यायालय कस्तो छ भनेर ? म धेरै भन्न चाहन्न ।’

अर्थ मन्त्रालयले गभर्नरलाई हटाउने प्रक्रियाअन्तर्गत सर्वोच्च अदालतका पूर्व न्यायाधीश पुरुषोत्तम भण्डारीको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति बनाएको हो। समितिमा डा. सूर्य थापा र डा. चन्द्रकान्त पौडेल सदस्य छन्।

अध्यक्ष ओलीले देशमा नातावादको बहस चलिरहेको समयमा पुष्पकमल दाहालका भाइ नारायणप्रसाद दाहाललाई राष्ट्रिय सभा सभा सदस्यमा नियुक्त गरिएको बताए। शरीरमा गोली बोकेर हिँडिरहेका, आन्दोलनमा घाइते, अपाङ्ग भएका, सहिद परिवार छन् तर उनीहरुलाई छाडेर आफ्नै भाइलाई प्रचण्डले राष्ट्रिय सभा सदस्य बनाएको ओलीको भनाई छ। क्रान्तिकारी हुँ भने पनि देश बनाउने कुरा उनीहरुसँग नभएको ‌ओलीले बताए।

सङ्कटग्रस्त अर्थतन्त्र सम्हाल्न खोज्दा सरकारले नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गरेको हो । निर्वाचन आचारसंहिता सुरु हुने समयको मुखमा उनलाई प्रतिशोधपूर्ण ढङ्गले किनारा लगाइएको अर्थविद् पनि बताउँदै आएका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस