श्रीलङ्काको केन्द्रीय बैङ्कमा नयाँ गभर्नर नियुक्त « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

श्रीलङ्काको केन्द्रीय बैङ्कमा नयाँ गभर्नर नियुक्त


२५ चैत्र २०७८, शुक्रबार


कोलम्बो । श्रीलङ्काको केन्द्रीय बैङ्कको गभर्नरमा नयाँ नियुक्ति गरिएको छ ।

सरकारले वरिष्ठ अर्थशास्त्री डा. नन्दलाल वीरासिङ्घेलाई नयाँ गभर्नर बनाएको केन्द्रीय बैङ्कले जनाएको छ ।

सरकारले उनीसँगै के एमएम सिरिवार्धनालाई अर्थ मन्त्रालयको नयाँ सचिवको जिम्मेवारी दिएको छ । उनीहरूलाई राष्ट्रपति गोटाबाय राजापाक्षेले बिहीबार नियुक्ति पत्र दिएका छन् ।

गभर्नरमा नियुक्त वीरासिङ्घे कोलम्बो विश्वविद्यालयमा कार्यरत थिए । अर्थशास्त्रमा गहिरो अध्ययन गरेका उनले अर्थशास्त्र सम्बन्धी अनुसन्धान र अध्यापन पनि गर्दै आएका छन् । उनी मलेसियाको वियसान केन्टरमा पनि आबद्ध छन्, भने अस्ट्रेलियाको राष्ट्रिय विश्वविद्यालयमा सार्वजनिक नीति र व्यवहारिक अर्थतन्त्र विश्लेषण केन्द्रको सल्लाहकार समिति सदस्य रहेका छन् ।

त्यसै गरी अर्थ सचिवमा नियुक्त सिरिवर्धनाले अन्तर्राष्ट्रिय वित्तीय कोषको तर्फबाट श्रीलङ्का, भारत, बङ्गलादेश र भुटानका लागि वैकल्पिक निर्देशकको रूपमा काम गरेका थिए । उनले श्रीलङ्काको आर्थिक विभागको महानिर्देशकको रूपमा समेत अर्थतन्त्रमा योगदान गरिसकेका छन् ।

राष्ट्रपति राजापाक्षेले यसअघि गत बुधबार अर्थशास्त्री तथा विज्ञहरूलाई सहभागी गराएर सल्लाहकार समूह गठन गरेका थिए । श्रीलङ्कामा अहिले आर्थिक सङ्कटसँगै राजनीतिक सङ्कट पनि उत्पन्न भएको छ । तत्कालीन मन्त्रीहरूले राजीनामा दिएका छन् भने आम नागरिक आन्दोलनमा छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस