आचारसंहिता पालनामा प्रतिबद्धता मात्र होइन, व्यवहारमै कार्यान्वयन होस् : पूर्व अध्यक्ष रेग्मी « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

आचारसंहिता पालनामा प्रतिबद्धता मात्र होइन, व्यवहारमै कार्यान्वयन होस् : पूर्व अध्यक्ष रेग्मी


२४ चैत्र २०७८, बिहिबार


काठमाडौँ । मन्त्रिपरिषदका पूर्व अध्यक्ष खिलराज रेग्मीले निर्वाचनमा भाग लिने सबै राजनीतिक दललाई निर्वाचन आचारसंहिता पालनामा प्रतिबद्धता मात्र नभई व्यवहारमा पूर्ण कार्यान्वयनमा ल्याउन सुझाव दिएका छन् ।

आचारसंहिताको पूर्णपालनाले मात्र निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, मितव्ययी र भयरहित सकिने बताउँदै उनले लोकतन्त्रको सुदृढीकरण र निष्ठाको राजनीति संस्कारलाई स्थापित गर्न आचारसंहिता पालनामा सबैले ध्यान पुर्‍याउन आवश्यक रहेको बताए ।

संविधानसभामार्फत संविधान जारी गर्ने नेपाली जनताको पुस्तौँदेखिको आकाङ्क्षालाई मूर्तरुप दिन उनकै नेतृत्वमा गठन भएको सरकारले संविधानसभाको दोस्रो सफल निर्वाचन गरेको थियो । उक्त निर्वाचनमा ७८.३४ प्रतिशत मतदान भएको थियो ।

पूर्व अध्यक्ष रेग्मीले भने ‘नेपाली जनताको हित र समृद्धिमा संविधान कार्यान्वयन गर्दैअघि बढ्ने कार्यमा सबै लाग्नुपर्छ, विशेष गरी राजनीतिक दलको नेतृत्व वर्गको गहनतम दायित्व हो ।’ तीनै तह (सङ्घ, प्रदेश र स्थानीय तह)को निर्वाचन गर्नुपर्ने भएकाले आगामी वर्षलाई निर्वाचन वर्षका रुपमा लिन सकिने उल्लेख गर्दै उनले जनताले चाहेका उम्मेदवार र राजनीतिक दललाई मतदान गर्न तथा निर्वाचनमा जनसहभागिता, प्रतिस्पर्धा, स्वच्छता, विश्वसनीयता कायम गर्ने वातावरण बनाउनु सबैको पहिलो कर्तव्य भएको बताए ।

पूर्व अध्यक्ष रेग्मीले भने, ‘प्रजातन्त्रमा जनताको मताधिकार सुरक्षित हुनुपर्छ, त्यो बनाउनु सरकार, राजनीतिक दल र उम्मेदवारको कर्तव्य हो । दलले संयमतापूर्वक मनोमालिन्यरहित वातावरण बनाउन प्रयत्न गर्नपर्छ, निर्वाचन आयोगले पनि स–साना विषयमा समेत दलका बीचमा परामर्श गरी अघि बढेमा निर्वाचनप्रतिको आस्था र विश्वास जित्न सकिन्छ भन्ने लाग्छ ।’

निर्वाचनमा मत हाल्ने जनता र राजनीतिक दलका बीचमा निर्वाचनप्रतिको आस्था र विश्वासलाई डगमगाउन नदिने वातावरण राज्यका सबै निकायबाट हुन जरुरी रहेको बताउँदै उनले निर्वाचनमा केही कसैबाट कहीँकतै कमी कमजोरी र भुलचुक हुन दिन नहुने बताए ।

निर्वाचनको वातावरण र परिस्थिति निर्माणले नै मतदाताको व्यापक सहभागिता निर्वाचन गर्न सकिने जनाउँदै पूर्व प्रधानन्यायाधीश रेग्मीले भने, ‘आगामी निर्वाचनमा सही गन्तव्य, सही परिवेश, सही परिस्थिति, सही वातावरण निर्माण गरी स्वच्छ, स्वतन्त्र र निष्पक्ष मतदानमार्फत निष्कलङ्क, कर्मशील र निष्ठावान् व्यक्तिको चयन भए मात्र अनि देशले विकासलगायत हरेक क्षेत्रमा फड्को मार्छ भन्ने मलाई विश्वास छ ।’

पूर्व अध्यक्ष रेग्मीले आगामी निर्वाचनसँगै स्थानीय तह नयाँ चरणमा प्रवेश गर्ने भएकाले जनताका विकास र समृद्धिका चाहनालाई सम्बोधन गर्न स्थानीय तहबाटै जनताले सेवा सुविधा र प्रतिफल पाउने गरी संवेदनशील भई काम गर्न आउने जनप्रतिनिधिलाई सुझाव दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस