कार्यकालको अन्त्यतिर सडक निर्माण धमाधम « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

कार्यकालको अन्त्यतिर सडक निर्माण धमाधम


२३ चैत्र २०७८, बुधबार


नेपालगञ्ज । बाँकेमा जति चुनावी सरगर्मी बढ्दै गएको छ त्यति नै विकासका काम पनि तीव्र गतिमा अघि बढ्दै गएका छन् ।

नेपालगञ्ज उपमहानगरपालिका–१८ मा धमाधम सडक निर्माणसँगै विकासका योजना तीव्र पारिएको छ । वडाको विकासका लागि वडाध्यक्ष दीपक बर्माले प्रदेश सरकारबाट ९० लाख बराबरका सात पिसिसी सडकको बजेट चालु आर्थिक वर्षमा ल्याएका थिए ।

सो बजेटबाट उपमहानगरपालिकामार्फत ठेक्का भई निर्माणको काम अघि बढेको हो । उक्त बजेटबाट सुरु गरिएको एउटा पिसिसी ढलान सडकको निर्माण सम्पन्न भइसकेको अध्यक्ष बर्माले जानकारी दिए ।

उनले कार्यकालको अन्तिम समयमा पनि वडाभित्र एकसाथ सात सडक निर्माण गर्न थालेका छन् । वडाको भगवती टोलमा वडाध्यक्ष बर्माले ३० लाखको लागतमा आरसिसी नालासहित पिसिसी सडक निर्माण गर्दै छन् ।

सो बजेटबाट सात सडकमध्ये भगवती टोलमा दुई, उज्ज्वल नगर, शिव शक्ति टोल, शिव नगर, नागरिक टोल, विशाल चोक, मोडेल एकेडेमी टोलमा सडकको निर्माण अघि बढेको छ । उनले यसबाहेक १३ भित्री सडकको पिसिसी सम्पन्न भएको उल्लेख गर्दै गरिब विपन्न र दलित परिवारका लागि ६५ धारा जडान गरेको समेत जानकारी दिए ।

वडाध्यक्ष बर्माले मुस्लिम, सुकुम्वासी र मधेसी समुदायका परिवारलाई १३७ घरेलु सौर्य सोलार जडान गरिएको सडक स्तरोन्नति कामसमेत भएको बताए । उपमहानगरपालिकाको वडा नं ६ मा पनि सडक पूर्वाधार लगायतका क्षेत्रमा काम भइरहेको छ ।

वडा नं ६ का अध्यक्ष समीर प्रताप सिंहले रु दुई लाख ५० हजारदेखि तीन लाखसम्मका साना सडक निर्माण कार्य भइरहेको जानकारी दिए । सडकमा पिसिसी र ग्राभलिङको काम भएको छ ।

वडा नं १ का वडाध्यक्ष प्रमोद रिजालले सङ्घीय सरकारको बजेटमा सडक पूर्वाधारको काम भइरहेको जानकारी दिए । उनले २३ देखि रु २५ लाखसम्मका तीन सडक कालोपत्रे र तीन सडक पिसिसी ढलान हुने कार्य अन्तिम चरणमा पुगेको उल्लेख गर्दै चैत मसान्तभित्र सबै कार्य सम्पन्न हुने बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस