व्यापार घाटा धेरै छ, सरकारले  रेल्वे बनाउन सक्दैन : प्रधानमन्त्री देउवा « प्रशासन
Logo १ जेष्ठ २०८१, मंगलबार
   

व्यापार घाटा धेरै छ, सरकारले  रेल्वे बनाउन सक्दैन : प्रधानमन्त्री देउवा


२२ चैत्र २०७८, मंगलबार


काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले अहिले नेपाल सरकार आफैँले  रेल्वे निर्माण गरी रेल सेवा सञ्चालन गर्न नसक्ने बताएका छन् ।

उनले नेपालको व्यापार घाटा बढ्दो क्रममा रहेको भन्दै तत्काल सरकारले त्यसमा लगानी गर्न सक्ने अवस्था नरहेको बताएका हुन् ।

विश्व बैङ्कको सहयोगमा निर्माण चोभार सुख्खा बन्दरगाहको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले कुनै दातृ राष्ट्रको अनुदान वा सस्तो ब्याजदरमा ऋण लिएर सरकारले  रेल्वेमा लगानी गर्न सक्ने बताए ।

‘यहाँ कुरा आयो, रेल त आवश्यकता छ । तर त्यो धेरै खर्चिलो हुन्छ । अहिले हाम्रो व्यापार घाटा बढेको बढ्यै छ, यस्तोमा हामी आफैँले  रेल्वे निर्माण गर्न सक्ने अवस्था छैन । फेरि त्यो एकदमै महँगो हुन्छ,’ प्रधानमन्त्री देउवाले भने, ‘त्यसैले यसमा ध्यान पुर्‍याउनुपर्ने अवस्था छ । नत्र कुनै दातृ राष्ट्रको अनुदान वा सस्तो ब्याजदरमा ऋण लिन सक्ने हो भने मात्र  रेल्वे बनाउन सकिन्छ । त्यो भयो भने मात्रै फाइदाजनक हुनसक्छ ।’

प्रधानमन्त्री देउवाले बढ्दो व्यापार घाटालाई कम गर्न स्वदेशी कच्चा पदार्थ र स्वदेशी सीपको प्रवर्द्धनमा जोड दिनुपर्ने बताए ।

उनले चोभार सुख्खा बन्दरगाह निर्माणले मुलुकको आर्थिक विकासमा सहयोग पुर्‍याउने अपेक्षा व्यक्त गर्दै अन्य ठाउँहरूमा समेत सुख्खा बन्दरगाह निर्माण गर्नमा जोड दिने बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस