नेपाल बारको मतगणना जारी : गठबन्धनको सुरुवाती अग्रता « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

नेपाल बारको मतगणना जारी : गठबन्धनको सुरुवाती अग्रता


२२ चैत्र २०७८, मंगलबार


काठमाडौँ । नेपाल बार एसोसिएसनको नयाँ नेतृत्वका लागि भएको निर्वाचनको मतगणना जारी छ ।

आज (मंगलबार) बिहानदेखि सुरु भएको मतगणना साढे ३ बजेसम्म सत्तारुढ गठबन्धनमा रहेका राजनीतिक दल निकट कानुन व्यवसायीको अग्रता देखिएको छ ।

काठमाडौँ बाहिरका ६ जिल्ला र सर्वोच्च बारको १०० मतगणना हुँदासम्म गठबन्धनका उम्मेदवार गोपालकृष्ण घिमिरेले अग्रता लिएका छन् । उनले ३ सय ९ मतसहित अग्रता लिइरहेका छन् ।

उनलाई नेकपा (एमाले) निकट प्रगतिशील तथा पेसागत कानुन व्यवसायी सङ्गठन (पीपीएलए)का उम्मेदवार १ सय ६८ मत प्राप्त गरेका छन् ।

त्यस्तै, महासचिवमा गठबन्धनका उम्मेदवार अञ्जिता खनालले २ सय ८१ मत प्राप्त गरेकी छन् । उनलाई पीपीएलएका महासचिव उम्मेदवार केदार कोइरालाले २ सय ३ मत ल्याएर पछ्याइरहेका छन् ।

सत्ता गठबन्धनमा रहेका काँग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी पार्टी, जनता समाजवादी पार्टी निकट कानुन व्यवसायीहरूले बृहत् लोकतान्त्रिक, प्रगतिशील, समावेशी तथा पेसागत कानुन व्यवसायी समूह बनाएर निर्वाचनमा उम्मेदवार चयन गरेका थिए ।

नेपाल बार एसोसिएसनका महासचिव लिलामणि पौडेलले साढे ३ बजेसम्म सर्लाही, इलाम, महेन्द्रनगर, वीरगन्ज, झापा र दिपायलको मतगणना सकिएको जानकारी दिए ।

त्यस्तै सर्वोच्च अदालत बार एसोसिएसनको एक सय मत पनि गणना भइसकेको उनले जानकारी दिए । मतगणना सकिन अझै ३ दिन लाग्ने सम्भावना रहेको उनले बताए ।

नेपाल बार एसोसिएसनको २६ औँ केन्द्रीय कार्यसमितिका लागि चैत १९ गते मतदान भएको थियो । नेपाल बारको निर्वाचनमा उपत्यकाको काठमाडौँ र देशभर ३५ स्थानमा मतदान केन्द्र राखेर निर्वाचन भएको थियो । सबै मतपेटिका काठमाडौँ ल्याएपछि मतगणना सुरु भएको हो ।

नेपाल बारको अध्यक्षसहित ११ पदाधिकारी र १४ सदस्य रहेको कार्यसमिति चयन हुनेछन् । बारमा ९ हजार ७०८ मतदाता थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस