पान पसलमा जहाजको टिकट « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

पान पसलमा जहाजको टिकट


२२ चैत्र २०७८, मंगलबार


९ चैत २०७८ को निन्याउरो दिन।

प्रदेशस्तरीय लागु औषध नियन्त्रण कार्यक्रम तथा जिल्ला प्रशासन कार्यालयहरूको अनुगमनका लागि अघिल्लै दिन हिँडेको तयारी कार्यदलका साथीहरूले सुनाएको अनुभवबाटै थाहा भयो –जुम्लाको हवाई उडानको समयको आधा निश्चितता जहाज चढेपछि र पुरै निश्चितता जुम्ला अवतरण गरेपछि मात्र हुनेवाला छ। अनलाइन टिकट खोलेको छ तारा एयरले मात्रै। समिट, तारा र सीता एयरका विमान जान्छन् जुम्ला। सबैभन्दा पहिले जुन विमान जान्छ, त्यसैमा उडिहाल्नुपर्ने बाध्यता छ आफ्नो। काठमाडौँबाट जुम्लाको कार्यक्रम भ्याउने गरी हिँडेको पो छु त।

बिहान नौ बजे काठमाडौँबाट उड्ने श्री एयरलाइन्सको विमानले ठिक ९:०० बजे बोर्डिङ सकाएर जापानी समय पक्रेको देखेर मनमनै मस्किँदै आरामपूर्वक नेपालगन्ज ओर्लेका हामी (लेखापाल बलराम रिमाल र म) तब रनभुल्लमा पर्‍यौ जब तीनतिरबाट कन्फर्म गरेर टिकटको टुङ्गो लाग्यो भनेको नेपालगन्ज-जुम्ला उडान कुन एयरलाइन्सबाट हुँदै छ भन्ने कुराकै निश्चित नभएको कुरा सुनाए सई सापले।

सई बुढा (उमेरले होइन थरले) नेपालगन्जबाट जुम्ला जानुपर्ने उच्चपदस्थ सरकारी अधिकारीहरूको यात्रा सहजीकरण गरिदिने रहेछन्। समिट एअर या सीता एयर कुनमा हाम्रो टिकट कन्फर्म गरेको भन्नेमै उनी अलमलिएका देखिए। फोनमा सीता एयरको टिकटका हर्ताकर्ता (एजेन्ट मात्र होइन) ललित बमसँग कुरा गर्दा बमजी फोनमै बम बम हुँदै गरेको र बुढाले मकै भुटेझैँ पररर जवाफ गरेको सुन्दै मनमा चिसो पस्यो, टिकट टाइँटाइँ फिस होला जस्तो छ।

तारा एयरको अनलाइन टिकटको भाउ वास्तविक भन्दा अत्यन्तै बढी भएकोले अनलाइन टिकट काट्न उपयुक्त नहुने बरु नेपालगन्ज विमानस्थलमै हवाई टिकटका एजेन्टहरूबाट टिकट लिँदा सस्तो पर्ने, कुन विमान कति बेला उड्छ र टिकट पाइन्छ/पाइन्न भन्ने कुरा नेपालगन्ज आएपछि मात्रै थाहा हुने भन्ने जानकारी पूर्व तयारी कार्यदलका नेता तथा मन्त्रालयको लागु औषध नियन्त्रण शाखाका प्रमुख गोकर्ण उपाध्यायले दिएका हुनाले र नेपालगन्ज जुम्ला उडानको टिकट कन्फर्म गर्ने काममा उपाध्यायका अतिरिक्त जुम्ला र बाँकेका प्रमुख जिल्ला अधिकारीसमेत लागेको अवस्थामा यो कुनै आइतबारको कुरा हो जस्तो लागेको पनि थिएन।

बम बम्किनुका पछाडिको कारण रहेछ समिट एयरलाइन्समा पनि टिकटका लागि सोधखोज गरेको विषय उनले थाहा पाउनु। “मलाई फोन गरेर उतासमेत कुरा गर्ने” भन्दै उनी बम्केका रहेछन्। टिकट क्यान्सिलै गरिदिने धम्की पनि दिएछन् जबकि टिकट त काटिएकै थिएन।

ठिक ११ बजेदेखि कार्यक्रम सुरु गर्ने गरी भएको तयारी र सहभागीहरूको उपस्थितिका तस्बिरहरू गोकर्णको विद्युतीय बाकसबाट फुत्त फुत्त झरिरहे। मेरो मन समयमा कार्यक्रममा नपुगिने पीरले विरही चरी भइरहेको थियो। उता उडानको, टिकटको, समयको र मूल्यकोसमेत अनुमान गर्न गाह्रो रहेछ। निकै बेर बाँके र जुम्ला जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको समन्वय, नागरिक उड्डयन प्राधिकरणका कर्मचारी, नेपाल लाइफ इन्स्योरेन्सका कर्मचारी (उनी किन ? मैले अझै बुझेको छैन) एवं सई बुढाको समन्वय र प्रयत्नपछि सीता एयरबाटै जुम्ला जाने तय भयो –दुई बजेको सम्भाव्य उडानबाट।

तय त भयो तर टिकट लिने कहाँ ? सीता एयरको काउन्टरमा टिकट/बोर्डिङ पासको आसमा बलराम आउजाउ गरिरहे, हुलाकीले ल्याएको प्रेम पत्र हात पार्न व्याकुल भए झैँ। तर हात लाग्यो बडेमानको शून्य। काउन्टरमा बसेर मोबाइलमा घोसेमुन्टो लगाइरहेका कर्मचारीलाई सोध्दा “ऊ त्यो मोटेलाई थाहा होला” भनेर बाहिर हिँड्दै गरेको मान्छेलाई पो देखाउँछ।मन पीरो भएर फेसबुकमा पोष्ट्याएँ–

(टिकट काउन्टर नेपालगन्जबाट)

“कलङ्कीबाट क्यु फ्रिको दसैँको टिकट बरु अनुमानयोग्य र व्यवस्थित होला। पहिले टिकट काटेर जहाज चढ्ने कुरा व्यवस्थित गरौँ मान्यवर। अनि विकासे गफ हाँकौला।”

११:५५ मा एक अपरिचित महिलाको फोन आयो –“विमान १२:३० मै विमान उड्छ, चिया पसलमा पैसा तिर्न आउनुस्” भनेर।

लौ १२:३० मै पो उड्ने भो, छिट्टै जान पाइने भो भनेर फुरुङ्ग हुँदै रिमालजीलाई चिया पसलतिर दौडाएँ – हवाई टिकटको लागि। टिकट काटियो। टिकटमा अङ्क देखियो प्रतिव्यक्ति रु. ६,९५०/- तर लिइयो दुई जनाको चौध हजार।

रिमालजीलाई लागेछ चियाको पैसा पनि लिने रहेछन् टिकटसँगै जोडेर। केहीबेर उभिँदा कुनै चालचुल नदेखिएपछि सोधे-“सय रुपैयाँ त फिर्ता आउला नि”

“भाडा सातै हजार हो। लेख्न नमिलेर मात्र टिकटमा कम लेखेको”–टिकटवाली चिया पसले युवतीको जवाफ। कुरा रु. १०० को थिएन लूटको अर्को शैलीको थियो। टिकट लिएर फर्कँदा उडानको समय दिउसो एक बजेलाई सरिसकेको थियो। हामीलाई टिकट पाउनु नै भियतनाम वार जितेजस्तो भएको थियो।उता एयरलाइन्सको टिकट काउन्टरमा एउटा चुल्ठे मोबाइलमा गेम खेलिरहेको थियो।

बलरामको रिपोर्ट सुन्दै गर्दा छेउमा उभिएका बीमाको कार्डधारीले भन्दै थिए –“सर यहाँ त दुईचार जना मान्छेको लुटमार छ। समिट र सीताको टिकट फलाना फलानाको कब्जामा छ। ताराले भर्खर व्यवस्थित गर्न खोज्दै छ, अनलाइन टिकट जारी गरेर। तर उसको पारा पनि निको छैन। यहाँ चिया पसलमा पाइने दरभन्दा उसको अनलाइन टिकटको दर डेढ गुणा बढी छ। जुम्ला जाने टिकटको दर त एयरलाइन्सले होइन, तिनै सिन्डिकेटवालाले निर्धारण गर्छन्। कहिलेकाहीँ धेरै पैसा दिने मान्छे आए भने पहिले टिकट दिइसकेको मान्छेलाई पनि विभिन्न बहाना गरेर उडाउँदैनन्। माछा बजार भन्दा खत्तम छ यो …।”

उनको भनाइमा कदाचित् केही बढाइचढाई होला तर असत्यता थिएन। पैसा तिरेर टिकट लिन पनि चर्कै सोर्सफोर्स लाउनु पर्ने।

उता फेसबुकको स्ट्याटसमा कसैको टिप्पणी फुत्त पोखियो –“गृहले नि टिकट मिलाउन नसक्ने ?”

दिमाग गरम भएको बेला बटुकले पनि सस्वर वेद पाठ गर्न गाह्रो हुँदो हो। तात्तातो जवाफ फर्काएँ –“गृहले टिकट काट्दैन नि राजा”

जुम्लाबाट गोकर्ण उपाध्यायले पठाए, कार्यक्रममा भव्य उपस्थितिका तस्बिर। यता उड्ने चरीको अझै पखेटा उम्रेको छैन।

फेसबुकको स्ट्याटसमा कमेन्ट ओइरिरहे। केही थिए-

“तपाईँहरू जस्तो उच्च तहका कर्मचारीहरूलाई नै धौ धौ छ भने देश कहाँ होला सर ?” – प्रकाश सुवेदी।

“जहाज आएपछि काउन्टरमा दौडिने चलन डेढ दशक अघि थियो सर। अहिले पनि व्यवस्था उही हो र ?” – केशव खनाल।

“हो नि सर, नेपालगन्ज –बाजुराको हालत पनि त्यही हो।”–मिमराज पाण्डे।

“भद्रगोलमा रमाउनेहरू होलान् नि त वरिपरि मास्क लगाएका। काउन्टर व्यवस्थित भयो भने साँझ तिनीहरूले भट्टीमा के लैजाने?” – चिरञ्जीवी पौडेल।

….. आदि, आदि।

सवा एकमा तिनै बीमाको कार्डधारी मित्र आए र बोर्डिङ पासको लागि भनेर परिचयपत्र लिएर गए। करिब ४५ मिनेट बेपत्ता भएपछि ती फर्के र हाम्रा झोलाहरू बोकेर हिँडे। शायद उनी चाहन्थे हाम्रो धैर्यता बरकरार रहोस्। प्रत्येक पटक उनी झुल्किँदा लाग्थ्यो, अब उड्ने बेला भएछ।

सवा दुईमा सई साहब झुल्किए झोला र हस्तलिखित बोर्डिङ पास बोकेर। बोर्डिङ पास धन्य सादा कागजमा नलेखेर फर्म्याटमै जारी गर्दो रहेछ सीता एयरले। बाजुराबाट आएपछि मात्र जुम्ला जाने र उड्ने टुङ्गो नहुने भन्ने उनका कुराले मन बिझाइरह्यो। कार्यक्रमको समापन हुँदासम्म पनि पुगिने भएन भनेर मन बेचैन भइरह्यो। उताबाट गोकर्णको मेसेज आइरह्यो- “सर उड्ने टुङ्गो भएन अझै ? यहाँ त सहभागीलाई अलमल्याउने बहाना पनि सकियो। मन्त्रीज्यू आजै कालिकोट जाने रे। आत्तिनु भएको छ।”

साढे दुई बजे एक्कासि एनाउन्समेन्ट सुनियो –“सीता एयरको ….विमानबाट जुम्ला जानुहुने महानुभावहरू बोर्डिङको लागि तयार हुनुहोला।”

झोला बोकेर ढोकैमा ठिङ्ग उभिएँ। सई साहबले सान्त्वना दिए –”सर हामी बोलाउँछौ, समय भएपछि।”

फेरि सुनियो- लौ जहाज त जुम्ला होइन बाजुरा जाने भो। लौ बाजुरा जाने आउनुस्।

मलिन आवाजमा उनै सई साहब बोले –बाजुरा गएर फर्केपछि जुम्ला जाने रे सर।

बिहानै साढे छ बजे सामान्य पेटपूजा गरेर हिँडेको मान्छे। बाहिर निस्केर केही खाऊँ न त भन्यो भने चिलले चल्ला टिप्न आएझैँ जहाज फुत्त आएर मलाई छोडेर पो जाने हो कि भन्ने पीर। पेटमा मुसाको म्याराथन चलिरहेछ। मनमा यात्राको अनिश्चितताको हुण्डरी छ। बस्दा बस्दा वाक्क भएर झोला बोकेर उभिएको उभियै थिएँ, एक जना प्रहरी दौडँदै आएर भने –“सर बाजुरामा हावा चल्यो रे विमान जुम्ला जाने भयो।”

उता बाजुरामा हावा चल्यो यता आफ्नो दिमागमा चलेको आँधी थामियो। बाजुरा जाने यात्रुलाई विमानबाटै ओरालेर जुम्ला जाने चढे। बाजुरा जानेहरूको अनुहारमा आफ्नो पीडा सरक्कै सारेर हामी उड्यौँ, जुम्ला।

पीपलको पात कामे झैँ काम्दै धामी हल्लिए झैँ हल्लिँदै पहाडका खोँचै खोँच जुम्लाको विमानस्थलमा ओर्लिँदा घाम जुम्ला छोडेर डाँडाको चौतारीतर्फ ओर्लिन हतारिँदै थिए।

नागरिक उड्डयन प्राधिकरण र एयरलाइन्सको यो गाई जात्रा हेर्न जुम्लावासीहरूका लागि भदौ पर्खिन कहिल्यै परेको छैन। शायद अझै अर्को दशक उनीहरूले योविद्रुप गाईजात्रा निःशुल्क हेरिरहने छन् । कर्णाली ! तिम्रा दुःख कम्ताका छैनन् !

Tags :
प्रतिक्रिया दिनुहोस