राँझा । जनप्रतिनिधि निर्वाचित भएर आएको पाँच वर्षमा बाँकेको कोहलपुर नगरपालिकाले पूर्वाधार विकासमा ठुलो फड्को मारेको छ ।
नगरपालिकाका प्रत्येक वडामा कालोपत्र सडक, अत्याधुनिक नमुना बसपार्क, नगर स्तरीय अस्पताल, भ्यु टावरलगायत पूर्वाधार विकासका संरचनाले पूर्णता पाउन थालेको हो ।
नगरपालिकामा साविक कोहलपुर गाविसका सात, रझेना गाविसका छ र शम्शेरगञ्ज गाविसका दुई गरी १५ वडाबाट नगरपालिकाको केन्द्र पुग्ने सडक कालोपत्र गरिएको छ ।
विगत पाँच वर्षमा नगरपालिकाभित्र भौतिक पूर्वाधार विकासका कामलाई प्राथमिकता दिइएको नगरप्रमुख लुटबहादुर रावतले जानकारी दिए ।
उनका अनुसार दुर्गम वडाको रुपमा रहेका वडा नं ६, ७, १३ र १५ मा पनि विकास निर्माणका कामलाई प्राथमिकताका साथ अघि बढाइएको छ । पाँच वर्षको अवधिमा करिब ३३ किलोमिटर सडक कालोपत्र, १६ किलोमिटर पक्की नाली, ५४ किलोमिटर ग्राभेल सडक र १२ किलोमिटर नयाँ बाटो निर्माण गरिएको छ ।
नगरपालिकाका सबै वडामा सुविधा सम्पन्न वडा कार्यालय भवन निर्माण गरिएका छन् । आफ्नै भवन नभएका १२ वटा वडा कार्यालयका नयाँ भवन निर्माण गरिएका हुन् । सो अवधिमा स्वास्थ्य चौकीका १५ वटा नयाँ भवन र २० वटा विद्यालय भवन निर्माण गरिएको नगर प्रमुख रावतको भनाइ थियो ।
करिब पाँच किलोमिटर सडक चालु आवमा निर्माण सम्पन्न हुने उनले जानकारी दिए । अत्याधुनिक नमुना बसपार्क निर्माण भइरहेको छ । अहिले सञ्चालनमा रहेको बसपार्क साँघुरो भएकाले लामो दूरीमा सञ्चालन हुने बसका लागि चौराह नजिकै नेपालकै नमुनाको रुपमा रहने अत्याधुनिक बसपार्क निर्माण थालिएको हो ।
कोरोनाको महामारीबीच पनि अहिलेसम्म बसपार्कको ५५ प्रतिशत काम सम्पन्न भइसकेको नगरप्रमुख रावतले बताए ।
बसपार्क बालमैत्री, सूचनामैत्री, प्रविधिमैत्री, खानेपानी, ढल निकास, भूमिगत विद्युतीकरण, रिफ्रेसमेन्ट सेन्टर, सपिङ कम्प्लेक्ससहितको हुने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टीकाराम ढकालले जानकारी दिए । नगरपालिकामा पूर्वाधार विकासको क्षेत्रमा देखिने गरी विकास निर्माण गरिएको उनको भनाइ थियो ।
नगरपालिका पूर्वाधार विकास शाखा प्रमुख इन्जिनियर बालकृष्ण महतराले निर्माण भइसकेका र निर्माणाधीन अवस्थामा रहेका भौतिक संरचनाको प्रगति हेर्दा समयमै सम्पन्न हुने अपेक्षा गरिएको बताए ।
उनका अनुसार एकीकृत बस्तीमा २० घर, २० विद्यालय भवन, १३स्वास्थ्य चौकी भवन, १२ वडा कार्यालय र ३५ किलोमिटर कालोपत्र सडक निर्माण भइसकेको छ ।
गौरवको योजनाका रुपमा रहेका नमुना बसपार्क निर्माण ५५ प्रतिशत, कभर्ड हल ३० प्रतिशत, कोहलपुर नगर अस्पताल ३५ प्रतिशत र भ्यु टावर ८० प्रतिशत निर्माण भइसकेको छ ।
उक्त बसपार्कसहित निर्माणाधीन अवस्थामा रहेका पूर्वाधार विकासका कार्य निर्धारित समयमै सम्पन्न गर्न जनप्रतिनिधिले समेत अनुगमन तथा निर्माण कम्पनीसँग समन्वय गर्दै आएको नगरपालिकाका आर्थिक विकास शाखा संयोजक डिलबहादुर परियारले बताए ।