तत्काल तीन समिति गठन गर्न काँग्रेसको निर्देशन « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

तत्काल तीन समिति गठन गर्न काँग्रेसको निर्देशन


१८ चैत्र २०७८, शुक्रबार


काठमाडौँ । नेपाली काँग्रेसले उम्मेदवारलाई टिकट दिने संसदीय समिति तत्काल गठन गर्न निर्देशन दिएको छ।

तत्काल कुनै निर्णय लिनुपरे छलफलबाट लिन कार्यसम्पादन समिति गठन गर्न काँग्रेसले तल्ला समितिलाई निर्देशन दिएको छ।

काँग्रेसले अनुशासन समिति पनि गठन गर्न भनेको छ। यी समितिहरू विधानअनुसार पार्टी महाधिवेशन भएको छ महिनाभित्र गठन गरिसक्नुपर्ने हो। तर स्थानीय चुनाव मुखैमा आएकोले पार्टी चलायमान बनाउन विधानअनुसारका सबै समिति गठन गर्न काँग्रेसले निर्देशन दिएको छ।

उपसभापति तथा निर्वाचन परिचालन समितिका संयोजक पूर्णबहादुर खड्काको अध्यक्षतामा बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकले विधानअनुसार गठन गर्नुपर्ने सबै समिति गठन गर्न निर्देशन दिने निर्णय गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए।

काँग्रेसले केन्द्रमा कार्यसम्पादन समिति गठन गरे पनि संसदीय समिति र अनुशासन समिति गठन गरेको छैन। प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवाको भारत भ्रमणबाट फर्केपछि मात्रै ती समितिहरू गठन गरिने काँग्रेसले जनाएको छ।

हालै बसेको केन्द्रीय समिति बैठकले निर्वाचन परिचालन र प्रचारप्रसार समिति मात्रै गठन गरेर अनुशासन र संसदीय समिति गठनलाई पछि धकेलेको थियो।

साथै काँग्रेसले प्रदेश सभापतिहरूको नेतृत्वमा पनि निर्वाचन परिचालन समिति गठन गर्ने निर्णय गरेको छ।

काँग्रेसले स्थानीय आवश्यकता हेरेर सत्तारूढ गठबन्धनका दलहरूसँग चुनावी तालमेल गर्ने निर्णय पनि गरेको थियो।

Tags :
प्रतिक्रिया दिनुहोस