जुम्ला समाचार : ६७ हजार ७४४ मतदाता « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

जुम्ला समाचार : ६७ हजार ७४४ मतदाता


१७ चैत्र २०७८, बिहिबार


खलङ्गा । आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि जिल्ला निर्वाचन कार्यालय जुम्लाले आवश्यक तयारी गरेको छ । स्थानीय तह निर्वाचनमा जिल्लामा ६७ हजार ७४४ मतदाता सहभागी हुनेछन् ।

सबैभन्दा धेरै मतदाता चन्दननाथ नगरपालिकामा ११ हजार ८२० रहेको निर्वाचन कार्यालयका प्रमुख महेश शर्माले जानकारी दिए ।

तीमध्ये पाँच हजार ८४७ पुरुष, पाँच हजार ९७३ महिला छन् । कनकासुन्दरी गाउँपालिकामा नौ हजार १३२ मतदातामध्ये चार हजार ८५० पुरुष, चार हजार २८२ महिला मतदाता छन् ।

गुठीचौर गाउँपालिकामा ६ हजार ५२४ मतदातामध्ये तीन हजार ३९३ पुरुष र तीन हजार १२८ महिला मतदाता छन् भने तातोपानी गाउँपालिकामा नौ हजार ३२० मतदातामध्ये चार हजार ८८३ पुरुष, चार हजार ४३० महिला मतदाता रहेको निर्वाचन कार्यालय जुम्लाले जनाएको छ ।

निर्वाचन कार्यालयका अनुसार तिला गाउँपालिकामा चार हजार १८६ पुरुष, तीन हजार ७६६ महिला गरी सात हजार ९५२ मतदाता छन् भने पातारासी गाउँपालिकामा चार हजार ५१३ पुरुष र चार हजार ३५ महिला गरी आठ हजार ४४८ मतदाता छन् ।

आठ हजार १६१ मतदाता रहेको सिञ्जा गाउँपालिकामा चार हजार ३१६ पुरुष र तीन हजार ८४३ महिला छन् भने ६ हजार २८७ मतदाता रहेको हिमा गाउँपालिकामा तीन हजार २८२ पुरुष र तीन हजार पाँच महिला रहेको निर्वाचन कार्यालय जुम्लाका प्रमुख शर्माले जानकारी दिए ।

त्यस्तै चन्दननाथ नगरपालिकामा १० मतदान स्थल र १६ मतदान केन्द्र कायम गरिएको छ भने हिमा गाउँपालिकामा नौ मतदान स्थल र ११ मतदान केन्द्र कायम गरिएको निर्वाचन कार्यालयले जनाएको छ ।

निर्वाचन कार्यालयका अनुसार सिञ्जामा सात मतदान स्थल र १२ मतदान केन्द्र, पातारासीमा १० मतदान स्थल र १३ मतदान केन्द्र, तिलामा १२ मतदान स्थल र १३ मतदान केन्द्र कायम गरिएको छ ।

तातोपानीमा नौ मतदान स्थल र १३ मतदान केन्द्र, गुठीचौरमा आठ मतदान स्थल र नौ मतदान केन्द्र र कनकासुन्दरी गाउँपालिकामा १४ मतदान स्थल र १५ मतदान केन्द्र कायम गरिएको निर्वाचन कार्यालयले जनाएको छ ।

एक नगरपालिकासहित सात वटा गाउँपालिका गरी आठ वटा स्थानीय तह रहेको जुम्लामा जिल्लाभरि ७९ मतदान स्थल र १०२ मतदान केन्द्र कायम गरिएको निर्वाचन कार्यालयले जनाएको छ ।

‘ई–पासपोर्ट ’वितरण सुरु

जुम्लाबाट विद्युतीय राहदानी ९ ई– पासपोर्ट० सेवा दिन थालिएपछि सेवाग्राहीलाई सहज भएको छ । जिल्ला प्रशासन कार्यालय ले विद्युतीय राहदानी वितरण सेवा सुरु गरेको प्रमुख जिल्ला अधिकारी विजया कुमारी प्रसाँइले जानकारी दिइन् ।

जिल्लाबाटै विद्युतीय राहदानी दर्ता गर्ने तथा वितरण गर्न थालेपछि सेवाग्राहीलाई सेवा लिन सहज हुने प्रशासनले जनाएको छ । राहदानी बनाउन यसअघि कम्तीमा तीन महिना लाग्ने लाग्ने गरेकोमा अब एक महिनाभित्रै राहदानी आइपुग्ने भएको छ ।

पहिलो चरणमा दैनिक ५ देखि १० जनासम्मलाई सेवा प्रदान गर्ने गरी विद्युतीय राहदानी सेवा सुरु गरिएको हो । सेवा सुरु भएपछि पहिलो ग्राहकको रुपमा चन्दननाथ नगरपालिका– ७ कि हिमाली कठायतले ई–पासपोर्टको लागि आवेदन दिएकी छन् । गत मङ्सिर १ गतेदेखि जारी भएको विद्युतीय राहदानी वितरणलाई सरकारले देशव्यापी बनाउँदै लगेको छ ।

यससँगै कर्णाली प्रदेशका दस जिल्लामा मध्य अब ई–पासपोर्ट सेवा सुरु हुने जिल्लाको सङ्ख्या आठ पुगेको छ ।

विद्यार्थी बिरामी

जिल्लाको गुठीचौर गाउँपालिका– ५ देपालगाउँस्थित हिमाली बोडिङ स्कुलका विद्यार्थीले म्याद नाघेको ‘ट्याङजुस’ खाँदा बिरामी परेका छन् ।

स्कुलका प्रधानाध्यापक मन्जिल गिरीका अनुसार विद्यार्थीले म्याद नाघेको ट्याङजुस खाएका रहेछन् । पानीमा पनि केही समस्या हो कि भन्ने आशङ्का भएपछि पानी परीक्षण पनि गर्न थालिएको छ । २६० मध्ये २५ जना विद्यार्थी बिरामी भएका छन् ।

विद्यार्थीको पेट दुख्ने, टाउको दुख्ने समस्या देखिएको छ । ‘बुधबारदेखि आउँदो आइतबारसम्म विद्यालय बन्द गरेका छौँ । विद्यालय नजिकैको कोभिड अस्पतालमा उपचारपछि विद्यार्थीको अवस्था सामान्य भएको छ ।’ उनले भने ।

म्याद नाघेको अखाद्य बस्तु खाएका कारण विद्यार्थी बिरामी परेको गुठीचौर गाउँपालिका स्वास्थ्य शाखा प्रमुख बालराम नेपालीले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस