एल साल्भाडोरमा एकै दिन ६२ जनाको हत्या, सङ्कटकाल घोषणा « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

एल साल्भाडोरमा एकै दिन ६२ जनाको हत्या, सङ्कटकाल घोषणा


१३ चैत्र २०७८, आइतबार


काठमाडौँ । मध्य अमेरिकी मुलुक एल साल्भाडोरमा शनिवार एकै दिन ६२ जनाको हत्या भएको छ। एकै दिन यति धेरै मानिस मारिएपछि त्यहाँ सङ्कटकाल घोषणा गरिएको समाचार संस्था एएफपीले जनाएको छ।

‘यो शनिवार, मार्च २६ को दिन राज्यमा ६२ जना मारिएका छन्,’ नेसनल सिभिल प्रहरीले ट्विटरमा लेखेको छ। यी हत्याका पछाडि विभिन्न ग्याङको हात रहेको आरोप लगाइएको छ।

‘ग्याङविरुद्धको लडाइँमा हामी पछि हट्ने छैनौँ, यस घटनाका जिम्मेवार व्यक्तिलाई नसमातेसम्म र न्याय नदिलाएसम्म हामी चुप लाग्ने छैनौँ,’ प्रहरीको उक्त ट्विटमा उल्लेख छ।

प्रहरीका अनुसार ला लाइबरटाडमा मात्रै १२ जना मारिएका छन्। राजधानी स्यान साल्भाडोर र अहुआछपनमा नौ(नौ जना मारिएका हुन्।

घटनापछि शनिवार नै प्रहरी र सेनाले मारा साल्भाट्रुछ एमएस–१३० ग्याङका कयौँ नेताहरूलाई पक्राउ गरेको थियो। त्यसपछि त्यहाँ थप हिंसा भड्किने आशङ्कापछि राष्ट्रपति नयिब बुकेलेले सांसदहरूलाई सङ्कटकाल घोषणा गर्न माग गरेका थिए। आइतबार त्यहाँ सङ्कटकाल घोषणा गरिएको छ।

राष्ट्रपति बुकेलेले ट्विटरमार्फत एक विज्ञप्ति जारी गर्दै एजेन्ट तथा सैनिकलाई आफ्नो काम गर्न दिनुपर्ने बताएका छन्। गत नोभेम्बरमा मात्रै त्यहाँ तीन दिनमै ४५ जना मारिएका थिए।

एल साल्भाडोरमा एमएस-१३ र बार्रियो-१८ दुई वटा प्रमुख ग्याङ छन्। जसका ७० हजार बढी सदस्य रहेको अधिकारीहरूको भनाइ छ। उनीहरू हत्या, ठगी, लागु औषधको कारोबारमा संलग्न छन्।

सन् २०२१मा मात्रै राज्यमा ११४० जना मारिएका थिए। सन् २०१९मा निर्वाचित भएका बुकेलेले सङ्गठित अपराधविरुद्ध लड्ने र देशलाई सुरक्षित बनाउने बताएका थिए।

Tags :
प्रतिक्रिया दिनुहोस