चीनका विदेशमन्त्री यीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आज देउवालाई हस्तान्तरण गर्ने « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

चीनका विदेशमन्त्री यीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आज देउवालाई हस्तान्तरण गर्ने


१२ चैत्र २०७८, शनिबार


काठमाडौँ । चीन सरकारले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आज नेपाल सरकारलाई हस्तान्तरण गर्ने भएको छ।

चीनका विदेशमन्त्री वाङ यीले शनिवार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित एक कार्यक्रमबिच प्रधानमन्त्री शेरबहादुर देउवालाई विमानस्थल हस्तान्तरण गर्नेछन्।

भर्चुअल माध्यमबाट हुने कार्यक्रममा चीनका विदेशमन्त्री यीले प्रधानमन्त्री देउवालाई विमानस्थलको चाबी हस्तान्तरण गर्ने कार्यक्रम रहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख विनेश मुनकर्मीले जानकारी दिए।

विमानस्थल हस्तान्तरण गर्न आयोजित कार्यक्रमका लागि पर्यटन तथा नागरिक उड्यनमन्त्री प्रेम आले शनिवार पोखरा जादैछन्।

चीन सरकारको सहुलियतपूर्ण २२ अर्ब ऋणमा उक्त विमानस्थल निर्माण गरिएको हो।

विमानस्थल निर्माणको ठेक्कासमेत चीन सरकारकै स्वामित्वमा रहेको कम्पनी सिएएमसीईले पाएको थियो। राष्ट्रिय गौरवको आयोजनामा समावेश विमानस्थलको भौतिक प्रगति ९३ प्रतिशत पुगेको छ भने वित्तीय प्रगति ७४ प्रतिशत पुगेको आयोजना प्रमुख मुनकर्मीले जानकारी दिए।

‘विमानस्थल हस्तान्तरण भए पनि बाँकी काम पुरा गर्न समस्या हुँदैन,’ उनले भने, ‘तोकिएको समय अगावै आयोजनाका सम्पूर्ण काम सकिन्छ।’

नेपाल सरकारले विमानस्थलको काम २०२१ जुलाई १० भित्र सक्ने कार्यादेश चिनियाँ कम्पनी सिएएमसीईलाई दिएको थियो।

कम्पनीले सरकारले दिएको म्यादभन्दा ६ महिना अगावै आयोजना निर्माण गरेर सरकारलाई हस्तान्तरण गर्ने बताउँदै आएको थियो। तर कोभिड–१९ महामारीका कारण आयोजनालाई आवश्यक सामाग्री आयात गर्न लगायतका समस्या थपिएपछि १ वर्ष म्याद थपिएको थियो।

मुनकर्मीका अनुसार यसै वर्षको जुलाई १० अगावै आयोजनाका सम्पूर्ण काम सकिनेछन्।

हालसम्म विमानस्थलको २५ सय मिटर रनवे, एप्रोन, ह्याङ्गर, टर्मिनल भवन, पेरीफेरी रोड, ट्याक्सी वे लगायत ठुला निर्माणका सम्पूर्ण काम सकिएको छ।

विमानस्थलमा आवश्यक इलेक्ट्रिक सामाग्रीसमेत जडान भइसकेको आयोजना प्रमुख मुनकर्मीले बताए।

अहिले विमानस्थलभित्र नहर व्यवस्थापन, टर्मिनल भवनदेखि जहाजसम्म यात्रु आउजाउ गर्ने बाटो लगायतका काम भइरहेको छ।

फोर डी मोडलमा बनेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा १५० देखि १८० जना यात्रु बोक्ने एयरबस ३२० र बोइङ ७५७ ले उडान भर्न सक्छन्।

छोटो दुरीका न्यारोबडी जहाजले यस विमानस्थलको सिङ्गल अप्रोच अर्थात् पूर्वबाट मात्र अन्तर्राष्ट्रिय उडान भर्न सक्छ।

विमानस्थलमा ३ वटा अन्तर्राष्ट्रिय, ४ वटा एटीआर र ४ वटा ट्विनअटर विमान पार्किङ गर्न सकिने संरचना बनेका छन्।

विमानस्थलबाट कम्तीमा दैनिक ६ वटा अन्तर्राष्ट्रिय र ४८ वटा आन्तरिक उडान भर्न सकिने नेपाल नागरिक उड्यन प्राधिकरणले दाबी गरेको छ।

अहिले आन्तरिक उडान मात्र सञ्चालनमा रहेको पोखरा विमानस्थलबाट दैनिक कम्तीमा ३० वटा र पिक सिजनमा १ सय जति उडान भइरहेका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस