उत्तर प्रदेशमा योगी आदित्यनाथले आज मुख्यमन्त्रीको शपथग्रहण गर्दै « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

उत्तर प्रदेशमा योगी आदित्यनाथले आज मुख्यमन्त्रीको शपथग्रहण गर्दै


११ चैत्र २०७८, शुक्रबार


काठमाडौँ। भारतको उत्तर प्रदेशमा योगी आदित्यनाथ आज दोस्रो कार्यकालका लागि मुख्यमन्त्री बन्दै छन् ।

आज अपराह्न चार बजे लखनउको इकाना स्टेडियममा उनको शपथ ग्रहण समारोह हुने छ । समारोहमा प्रमुख अतिथिको रूपमा प्रधानमन्त्री नरेन्द्र मोदीसमेत सहभागी हुने भारतीय मिडियाहरूले उल्लेख गरेका छन् ।

शपथ ग्रहण समारोहलाई भव्य बनाउन लखनउका सडक, चोक र सार्वजनिक स्थानहरूलाई झण्डा, झिलिमिली बत्ती र आकर्षक होर्डिङ बोर्डहरूले सजाइएको छ ।

शपथ ग्रहण समारोहमा प्रधानमन्त्री नरेन्द्र मोदीका साथै गृहमन्त्री अमित शाह, रक्षामन्त्री राजनाथ सिंहसहित केन्द्रीय सरकारका २५ मन्त्रीहरू पनि सहभागी हुने छन् । मध्य प्रदेश, हरियाणा, मणिपुर, हिमाचल प्रदेश, अरुणाचल प्रदेश, त्रिपुरा, गोवा, असम, गुजरात, उत्तराखण्ड, कर्नाटक, नागाल्याण्डका मुख्यमन्त्रीहरूलाई पनि पाहुनाको रूपमा बोलाइएको छ ।

अमर उजालामा पत्रिकामा प्रकाशित एक समाचार अनुसार विधानसभा निर्वाचनमा अहम् भूमिका निर्वाह गरेका कार्यकर्ताहरू, योग गुरु रामदेव र प्रमुख मठहरूका सन्त महन्तहरूलाई पनि शपथ ग्रहण समारोहमा निम्तो दिइएको छ ।

शपथ ग्रहण समारोहमा ७० हजार भन्दा बढी मानिसहरू भेला हुने अनुमान छ । शपथ ग्रहण समारोह स्थल वरपर सात वटा घुम्ती शौचालयका साथै भिआइपीहरूका लागि तीन वटा अस्थायी हेलिप्याड समेत निर्माण गरिएको छ ।

प्रदेशको इतिहासमा एकै दिन राजधानी लखनउमा यति धेरै भिआइपी मुभमेन्ट हुन लागेको पहिलो पटक भनिएको छ । त्यसैले सुरक्षाको कडा व्यवस्था मिलाइएको उत्तर प्रदेश प्रहरी अधिकारीलाई उद्धृत गर्दै समाचार एजेन्सी एएनआईले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस