लेटाङ घटनाका दोषीलाई कानुनी दायरामा ल्याऊ : मानव अधिकार आयोग « प्रशासन
Logo २ जेष्ठ २०८१, बुधबार
   

लेटाङ घटनाका दोषीलाई कानुनी दायरामा ल्याऊ : मानव अधिकार आयोग


१० चैत्र २०७८, बिहिबार


काठमाडौं। राष्ट्रिय मानव अधिकार आयोगले मोरङको लेटाङमा प्रहरी मारिएको घटनाका दोषी पहिचान गरी तत्काल कानुनी कारबाहीको दायरामा ल्याउन आग्रह गरेको छ ।

आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले विज्ञप्ति जारी गर्दै प्रभावकारी अनुसन्धानमार्फत घटनामा संलग्न दोषीको पहिचान गरी कानुनी दायरामा ल्याउन आग्रह गरेको हो ।

विज्ञप्तिमा घाइतेहरुको निःशुल्क स्वास्थ्योपचार गर्न, बालिकामाथि भएको यौन दुर्व्यवहारको घटनाको निष्पक्ष र प्रभावकारी अनुसन्धान गर्न, मृतकका परिवारलाई उचित राहत र क्षतिपूर्ति उपलब्ध गराउन सरकारलाई आग्रह गरिएको छ ।

आयोगले भविष्यमा यस प्रकारका घटना हुन नदिन सचेत र संवेदनशील हुन सबै पक्षलाई आग्रह गरेको छ ।

एक विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको आरोप लागेका लेटाङ नगरपालिका-५ को शिक्षा विकास माध्यमिक विद्यालयका शिक्षक मनोज पौडेललाई पक्राउ गर्न गएको प्रहरी टोलीमाथि चैत ६ गते आक्रमण भएको थियो ।

आरोपित शिक्षकलाई पक्राउ गर्न गएको प्रहरी टोलीमाथि आइतबार स्थानीयले आक्रमण गर्दा प्रहरी जवान उर्मिला श्रेष्ठको मृत्यु भएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस