पृथ्वीसुब्बा गुरुङ र बाबुराम भट्टराईबिच भेटवार्ता : निर्वाचन लक्षित तालमेलबारे छलफल « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

पृथ्वीसुब्बा गुरुङ र बाबुराम भट्टराईबिच भेटवार्ता : निर्वाचन लक्षित तालमेलबारे छलफल


९ चैत्र २०७८, बुधबार


काठमाडौँ। जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले स्थानीय तहको निर्वाचनमा सत्तारुढ गठबन्धन भनेर बस्ने अवस्था नरहेको बताएका छन् ।

नेकपा एमालेका उपमहासचिव पृथ्वी सुब्बा गुरुङसँग पूर्व प्रधानमन्त्री भट्टराईले स्थानीय चुनावमा मिलेर जाने वातावरण बनाउनुपर्ने बताएका हुन् । ‘केपी ओलीले संविधानमाथि सङ्कट ल्याउन लाग्यो भनेर लागेकै हो । प्रतिगमन भनेकै हो । तर अब प्रतिगमन भनेर बसिरहनु पर्दैन’, भट्टराईले भनेका थिए । एमालेविरुद्ध गठबन्धन बनाएरै लागे पनि अब नयाँ परिस्थिति अनुसार निर्णय लिनुपर्ने भट्टराईले बताएका थिए ।

उपमहासचिव गुरुङसँग डा. भट्टराईले स्थानीय तहको चुनावमा मिलेर जान सकिने बताएका हुन् । ‘स्थानीय तहमा गठबन्धन (सत्ता गठबन्धन) भनिरहनु पर्दैन, हामी मिलेर जानुपर्छ’, भट्टराईले भनेका थिए ।

जवाफमा गुरुङले पनि एमाले तयार रहेको बताए । ‘हामी पनि स्थानीय चुनावमा आवश्यकताको आधारमा गठबन्धन गर्ने भन्ने पक्षमै छौँ’, उपमहासचिव गुरुङले भने ।

पूर्व प्रधानमन्त्री भट्टराईको निवासमा उपमहासचिव गुरुङसँग भेटवार्ता भएको थियो । गुरुङसँग भएको भेटवार्ता तस्बिर भट्टराईले सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस