पत्रपत्रिकाको वर्गीकरण नतिजा छिट्टै सार्वजनिक गरिने « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

पत्रपत्रिकाको वर्गीकरण नतिजा छिट्टै सार्वजनिक गरिने


२० पुस २०७८, मंगलबार


बागलुङ । प्रेस काउन्सिलले विगत तीन आर्थिक वर्षदेखि रोकिएको पत्रपत्रिकाको वर्गीकरण नतिजा छिट्टै सार्वजनिक गर्ने भएको छ ।

प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले आज काउन्सिलद्वारा यहाँ आयोजित पत्रकार आचारसंहिता जागरण कार्यक्रममा सो जानकारी दिएका हुन् । ‘भरसक यही पुस महिनाभित्रमा नभए पनि आउँदो १५/२० दिनमा वर्गीकरण नतिजा सार्वजनिक हुन्छ,’ उनले भने, ‘विविध कारणले रोकिएको वर्गीकरण प्रक्रियालाई काउन्सिलको अहिलेको नेतृत्वले टुङ्गो लगाउँदै छ ।’

उनले आफूहरु काउन्सिलमा आएको सात महिना मात्रै भएको र पत्रपत्रिकाको वर्गीकरण प्रक्रिया पहिलेदेखि नै अवरुद्ध रहेको स्मरण गराए । अध्यक्ष बस्नेतले वर्गीकरण काउन्सिलले मात्रै गर्ने नभएर त्यसमा राज्यका अन्य निकाय पनि सम्बद्ध रहेको स्पष्ट पारे ।

बेलैमा वर्गीकरण नजिता नआउँदा पछिल्लो अवधिमा सञ्चालनमा आएका पत्रपत्रिकाले राज्यले दिने लोककल्याणकारी विज्ञानबाट वञ्चित हुनुपरेको छ । त्यसको सोझो मार जिल्लास्तरमा सञ्चालित स्वरोजगारमूलक पत्रपत्रिकामा परेको छ ।

सोही क्रममा अध्यक्ष बस्नेतले आचारसंहिता पत्रकारको मूलमन्त्र भएको उल्लेख गरे । ‘आचारसंहितामा टेकेर हामीले पत्रकारिता गर्नुपर्छ, पत्रकारले यसलाई सधैँ मनमा लिएर हिँड्नुपर्छ, पढिरहनुपर्छ,’ उनले भने ।

पत्रकारितामा नवप्रवेशीहरुले त झन् आचारसंहिताबारे बढी ध्यान दिनुपर्ने उनको सुझाव छ । काउन्सिलका सदस्य दुर्गा भण्डारीले सञ्चारका नयाँ नयाँ माध्यम विकास भएसँगै आचारसंहिता पालना थप चुनौतीपूर्ण बन्दै गएको धारणा राखे ।

पत्रकारितामा स्वच्छता र विश्वसनीयता कायम गर्न पत्रकारले आचारसंहिता पालना गर्नु अनिवार्य सर्त रहेको उनको भनाइ छ । कार्यक्रममा पत्रकार पुण्य पौडेलले पत्रकार आचारसिंहताका विषयमा सहजीकरण गरेका थिए।

नेपाल पत्रकार महासङ्घ बागलुङ शाखाको संयोजनमा भएको कार्यक्रममा ३० भन्दा बढी पत्रकार÷सञ्चारकर्मीले भाग लिएको महासङ्घका जिल्ला उपाध्यक्ष नवीन शिशिर विकले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस