नेपालमा बुस्टर डोज खोप आवश्यक छ ? « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

नेपालमा बुस्टर डोज खोप आवश्यक छ ?


१६ कार्तिक २०७८, मंगलबार


विश्वका केही देशमा कोभिड-१९ (कोरोना भाइरस)को सङ्क्रमण बढ्न थालेपछि कोभिड विरुद्धको ‘बुस्टर डोज’का बारे चासो बढेको छ । केही देशमा बुस्टर डोज दिन पनि सुरु गरिएको छ भने केही देशमा अनुमति प्रदान गरिएको छ । बुस्टर डोज सम्बन्धी बहसहरूमा वैज्ञानिकहरू एकमत भैसकेको देखिँदैन भने यसबारे अनुसन्धान पनि जारी छ ।

तर, खोप लगाइसकेकाहरूमा सङ्क्रमण भएपनि सङ्क्रमितहरूको अवस्था गम्भीर नभएको पाइएकाले बुस्टर डोज लगाउँदा उपयुक्त हुने विज्ञहरूले सुझाएका छन् । कोरोना भाइरसको सङ्क्रमणले दीर्घरोगी तथा ज्येष्ठ नागरिकलाई बढी जोखिम हुने हुँदा विभिन्न देशका सरकारले बुस्टर डोजको सिफारिस गरेका छन् । नेपालको सन्दर्भमा लक्षित जनसङ्ख्याको ठुलो हिस्साले एक पटक पनि पूर्ण मात्रा खोज लगाउन नपाइरहेको अवस्थामा बुस्टर डोज खोपको आवश्यकता छ या छैन भन्ने बारेमा चर्चा र बहस हुन थालेको छ । कोरोनाको बुस्टर डोज खोपका बारेमा खोप विशेषज्ञ प्रा. डा. जीवनबहादुर शेरचनसँग प्रशासन डटकमले गरेको कुराकानी ।

बुस्टर डोज खोप भनेको के हो ?
बुस्टर डोज खोप भन्नाले खोपको अतिरिक्त डोज हो । जसले पहिले लगाएको खोपबाट प्राप्त इम्युनिटीलाई थप बुस्ट गर्ने काम गर्छ । कोरोना-१९ को सन्दर्भमा पनि बुस्टर डोज खोपले कोरोना भाइरसविरुद्ध इम्युनिटी बढाउने काम गर्छ । जसले संक्रमणविरुद्ध थप सुरक्षा प्रदान गर्छ । खोपको बुस्टर डोजले रोग प्रतिरोधात्मक प्रणालीको सुरक्षात्मक प्रतिक्रिया कायम राख्न सहयोग गर्छ ।

पहिलो मात्रा खोप लगाएपछि इम्युनिटी बढेका व्यक्तिका लागि बुस्टर डोज खोप आवश्यक छ ?
सबैलाई बुस्टर डोज खोप आवश्यक नपर्न पनि सक्छ । खोप लगाएपछि कसै कसैलाई काम नगरेको पनि हुन सक्छ । उनीहरूको इम्युनिटी नबढेको हुनसक्छ । त्यस्तोलाई बुस्टर डोज खोप आवश्यक छ । अर्कोतर्फ विभिन्न रोगले इम्युनिटी कम भएकाहरूलाई पनि बुस्टर डोजको आवश्यकता पर्छ । मध्यम स्वास्थ्य समस्याहरू भएका, दीर्घ रोगी तथा ज्येष्ठ नागरिकलाई बुस्टर डोज आवश्यक छ । हामीले लगाएको कोरोनाविरुद्धको खोपको प्रभाव ८÷१० महिनापछि क्रमशः कम हुने भनिएकाले पनि अहिले बुस्टर डोज लगाउनु पर्छ भन्ने धारणा विकास भएको पाइन्छ ।

अहिलेसम्म बुस्टर डोजको प्रभावकारिता कस्तो छ ?
केही देशमा बुस्टर डोज लगाउन सुरु भइसकेको छ भने केहीमा लगाउने तयारी भइरहेको छ । विकसित राष्ट्रहरूमा अहिले बुस्टर डोज दिने काम भएको छ र यसको प्रभावकारिता बारे अध्ययन पनि भइरहेको छ ।

नेपाल लगायतका देशमा देखा परेको डेल्टा भेरियन्टमा अहिलेको खोपले कति काम गरिरहेको छ भन्ने बारेमा पनि अध्ययन अनुसन्धान भइरहेको छ । कोरोनाको नयाँ भेरिअन्ट आयो भने बुस्टर डोज आवश्यक पर्न सक्ने आधारहरू पनि देखा परेका छन् । खोपको मात्रा पुरा गरेका र बुस्टर डोज खोप लगाएकाहरूमा सङ्क्रमण भइहाले पनि उनीहरू गम्भीर बिरामी भएका छैनन् ।

नेपालको सन्दर्भमा बुस्टर डोज लगाउने चर्चा चल्दै गर्दा यसको असर कस्तो रहन्छ ? कति समयसम्म यसले सुरक्षा प्रदान गर्छ ? भन्ने विषय अझै पनि परीक्षणमै छ । तर खोप लगाएकाहरू गम्भीर अवस्थामा पुग्ने र अस्पताल भर्ना हुने क्रममा कमी आएको छ ।

कोरोना विरुद्धको खोप लगाएका व्यक्तिहरूमा साइड इफेक्ट कम नै देखिएको छ । केहीलाई माइल्ड ज्वरो आउने, टाउको दुख्ने, खाना खान मन नलाग्ने भएपनि गम्भीर प्रकारको असर देखा परेको छैन । खोपको प्रभावकारिता राम्रो नै देखिएको छ ।

नेपालको सन्दर्भमा खोपले कस्तो काम गरेको छ ?
नेपालमा कोभिशिल्ड र भेरोसेल खोप दुई मात्रा लगाइएको छ । यसैगरी जोनसन एन्ड जोनसन एक मात्रा लगाइएको छ । नेपाल हेल्थ रिसर्च काउन्सिलले गरेको एक अध्ययनअनुसार कोभिशिल्ड र भेरोसेल खोपको पहिलो डोजको तीन महिनासम्म एन्टिबडी बनेको पाइएको छ । ६ देखि ८ हप्तासम्म अधिकतम रहेको पाइयो । त्यसपछि दोस्रो मात्रा खोप लगाउनु पर्ने देखियो ।

दोस्रो मात्रा लगाउँदा एन्टिबडी बढेको पाइयो । खोपले कति समयसम्म एन्टिबडी बनाइ राख्छ भन्ने विषय अहिले पनि अध्ययनकै क्रममा छ । अहिलेसम्मको अध्ययनलाई हेर्ने हो भने ८ देखि १० महिनासम्म एन्टिबडी राम्रो रहेको पाइएको छ ।

नेपालमा बुस्टर डोज खोप आवश्यक छ ?
नेपालको सन्दर्भमा बुस्टर डोज खोप आवश्यक छ कि छैन भन्ने विषय सोचनीय अवस्थामा छ । खोप आउने क्रम र लगाउने क्रम जारी छ । देशका सबै क्षेत्रमा खोप लगाइसकेको अवस्था छैन ।

प्रत्येक नागरिकले खोप लगाइ सकेपछि मात्र बुस्टर डोजको बारेमा सोच्न सकिन्छ किनकि कसैलाई खोप नै उपलब्ध नहुने, कसैले बुस्टर डोज पनि लगाउने भयो भने यसले राम्रो सन्देश दिँदैन । अर्कोतर्फ आर्थिक भारको कुरा पनि रहन्छ । खोप धेरै खर्चालु भएकाले सरकारले कतिसम्म निःशुल्क उपलब्ध गराउन सक्छ भन्ने विषय पनि छ ।

खोपको बुस्टर डोज आफ्नो ठाउँमा आवश्यक छ तर त्यो भन्दा पनि हामीले सङ्क्रमण फैलिन नदिनका लागि अपनाउनु पर्ने स्वास्थ्य मापदण्ड पनि पालना गर्नु उत्तिकै जरुरी छ ।

विश्व स्वास्थ्य सङ्गठनले पनि ९० प्रतिशत जनताले खोप लगाइ सकेपछि मात्र बुस्टर डोज खोप आवश्यक छ-छैन भन्ने बारेमा सोच्नु पर्ने जनाएको छ । तर, इम्युनिटीपावर कम भएका व्यक्तिलाई आवश्यकता हेरेर बुस्टर डोज खोप दिनु पर्ने हुन्छ ।

अहिलेको तत्कालीन अवस्थाको कुरा गर्ने हो भने बुस्टर डोज खोप लगाउने विषयमा अध्ययन गर्न जरुरी छ । यसले पार्ने आर्थिक भार, खोपबाट हुनसक्ने साइड इफेक्ट, खोपभन्दा सहजरुपमा अपनाउन सकिने स्वास्थ्य मापदण्ड पालना लगायतका विषयमा अध्ययन गरेर निर्णय लिनुपर्छ । फ्लुको खोप वर्षेनी लगाए जस्तै कोरोनाको खोपपनि वर्षेनी लगाउनु पर्ने पनि हुन सक्छ ।

Tags :
प्रतिक्रिया दिनुहोस