“स्यानी” ले दिएको ठुलो सन्देश « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

“स्यानी” ले दिएको ठुलो सन्देश


१ कार्तिक २०७८, सोमबार


पढिसकेपछि जानकारी हुन्छ कि यो सानो उपन्यासले कति ठुलो सत्यताको पर्दाफास गरेको छ । आफूलाई जन्मदिने बाबुआमासँग सिकेका कुरा, बिताएका पलहरू र हामी हुर्के बढेको स्थानको कति महत्त्व छ र हुनुपर्दछ भन्ने विषयको वरिपरि मौलिक भाषामार्फत वास्तविक चित्रण प्रस्तुत छ यसमा । पुस्तक देख्दा जति सानो लाग्छ पढिसकेपछि पाइने प्रतिफल भने अदृश्य तर महान् छ । जीवनको घटनालाई सामाजिक परिवेश र आफ्नो खासगरी बाल्यकालसँग उनेर जे जस्तो एउटा जबर्जस्त साहित्यिक भाष्य पेस गरिएको छ यो सामाजिक उपन्यासमा ।

आमालाई वोलाइने नाम “स्यानी” बाट पुस्तकको नामाकरण भएको छ । लेखक स्वयम् पनि उपन्यासका पात्र हुन् । उनै स्यानीका खासमा माइला तर बोलाउँदा कान्छा भनिएका छोरा । उनको नाम कक्षा ९ पछि खमराजबाट खगराज भएको रहेछ अनि खगराजको अर्थ आकाशका राजा हुँदो रहेछ । सबैले चिन्ने गरी भन्नुपर्दा यस पुस्तकका लेखक उनै पूर्व सचिव डा. खगराज बराल, चिन्तनशील र सृजनशील व्यक्तित्व । हाल नास्ट सेवा आयोगका अध्यक्षका रूपमा कार्यरत तथा स्थापित लेखक नै हुन्। यो पुस्तक अगाडि प्रकाशित सिकाउने शैली नामक पुस्तक धेरैले रुचाएको कृतिमा पर्दछ ।

“स्यानी” को आयतन भनौँ वा क्षेत्र आमाको स्वास्थ्य गम्भीर भएको खबरबाट सुरु भएर आमा स्वर्गे भएको तेह्र दिनको पुण्य तिथिको कार्जे सकुन्जेल रहन्छ । पाँच वटा सन्तानलाई जन्म दिएर सुपात्र बनाएकी र समुदायमा सबैकी सहयोगी उनै आमा केन्द्रीय पात्र हुन् उपन्यासमा । लेखक स्वयंलाई पनि जन्माउने, हुर्काउने र समाज एवम् संस्कार पढाउने पात्र हुन् उनी । उनै आमाका माइला सन्तान खगराज सुरुमा एक जना ज्योतिषेका कारण जोगीको छोरा बन्न बाध्य भए किनभने जोगीको झोलामा हालिदिएमात्र बाँच्छ भनिएको रहेछ। पछि ठुला ज्योतिषेले “उनको ग्रहदशा राम्रो छ, खोला बगेको उल्टो दिशामा समेत हिँड्न सक्छ” भनेपछि मात्र आमाबाबु आश्वस्त भएको प्रसङ्ग कम रोचक
छैन ।

साथीभाइसँग गाईबस्तु चराउन गएको, लुकामारी खेलेको, जङ्गलमा भेटिएको सर्प साथी भाइ एक भएर मारेर पुरेको अनि घरमा पनि सर्प देखिएको, बिमारी भएको, साँझ साँझ आँगनमा ढुङ्गाको वर्षा भएको विषयलाई एक आपसमा जोडेर हेर्दा सर्पहरू र अन्य प्राणीहरू देख्दैमा मार्न हुन्न भन्ने सन्देश पनि नजानिँदो गरी सम्प्रेषण गरिएको छ ।

कास्की, स्याङ्जामा प्रयोग हुने बोलीको लवज प्रयोग भएको छ अधिकांश कुराकानीमा । आमा स्वर्गे भएपछि सिर्जना भएको शून्यतालाई बिचमा राखी मालाजस्तै उनेर २५७ पेजभित्र लेखकले धेरै प्रसङ्ग उठाएका छन् विगतका घटनाहरू, सामाजिक परिवेश र वास्तविकताहरूलाई ।

अन्तिममा लेखकको चिन्ता प्रकट भएको छ कि “आमा विनाको घर पाखा पखेरा र चाडपर्व के कसरी स्वीकार गरुँला ?” उपन्यासमा बालक्रिडाका प्रसङ्गहरू, आमाको पछि लागेर मामाघर गएको, हात भाँचिएपछि पोखरा जाने मौका मिलेको, घरमा फलेको लौका बेच्न गएको तर नबिकेको, दाइँ लगाउन गोरु छोपेर बाँधेको, रत्यौली, स्वस्थानीको कथा र भजन गाएको प्रसङ्ग पनि सजिवढंगले समेटिएको छ ।

घरमा भएको कालीभैंसीको प्रसङ्गले मन नै छुन्छ र मेहनतको फल मिठो हुने सन्देश दिन्छ । बुबाले चिठ्ठी लेखिदिने र चिठ्ठी आउँदा पढेर सुनाउने गरेको प्रसङ्ग, झलकमान सन्दर्भको हे वरै बाबाले सोध्लाननि खोइ छोरा भन्लान्…..भन्ने गीतमा आमा रोएको प्रसङ्ग, चिन्नेको रुख धेरै पुस्ताको साक्षी भएको प्रसङ्ग कम गहिरा लाग्दैनन् ।

हाम्रो जीवनकालमा गरिने संस्कारहरूको उल्लेख पुस्तकमा बाक्लै छ । त्यसो त मृत्यु संस्कार १३ दिनलाई पुस्तकका तेह्र अध्याय जस्तो बनाइएको छ । ती १३ भित्र अरू थुप्रै संस्कार र सिकाइहरू समेटिएको प्रतीत हुन्छ । जस्तो की झाँक्रिदेवताको भाकल र पूजा गरेको, कर्‍याङकुरुङ चरा देखिएपछि खेती लगाउनु भनेर आमाले छोरीलाई सिकाएको प्रसङ्ग, बिहान चार बजे उठ्दा मट्टिखानको डाँडामा तीन तारा हुन्छन् भनेर आमाले सिकाएको प्रसङ्ग । वर्तवन्धको दिन कपाल खौरन नमानेको प्रसङ्ग तथा आमाको देहान्तपछि सबै दाजुभाइ कपालदेखि आँखीभौँसम्म खौरेको प्रसङ्ग मन छुने खालका छन्।

कान्छो पुराणका रूपमा रहेको गरुड पुराणले के कस्ता प्रसङ्ग उठान गरी शोक सन्तप्त मनलाई शान्त बनाउने शास्त्रीय रणनीति उपलब्ध गराएको छ भन्ने पुस्तकमा उल्लेख भएको गरुण पुराण वाचन तथा व्याख्याबाट थाह हुन्छ । जति रोए कराए पनि मरेको व्यक्ति फर्केर आएको उदाहरण नभएको हुँदा मृतात्माको शान्तिका लागि पनि हामीहरू शोकमा डुविरहनुभन्दा सत्कर्ममा लाग्नु र त्यसरी संसार छाडेर जानेका राम्रा प्रसङ्गहरू याद गर्नु उपयुक्त हुने सन्देश पाउन सकिन्छ । “अष्टादश पुराणस्य व्यासस्य: वचनम् द्वयम् । परोपकार पुण्याय पापाय परपिडनम् ।” सबै पुराणहरू पढे पनि सारमा राम्रो काम गरेमा पुण्य मिल्छ भन्ने नै रहेछ ।

आफ्नो बाल्यकाल, जन्मस्थान, संसार चिन्नका लागि लड्दै, पढ्दै, बढ्दै गर्दा घटित भएका मन छुने घटनाहरूले कसको मन छुँदैन होला र ? हो तिनै मन हुनेहरूले यो उपन्यास पढ्दा विगततर्फको यात्रा गर्नेछन्, जीवनको वास्तविकता महसुस हुनेछ अनि यो जीवन कति क्षणभङ्गुर छ भन्ने पनि कुरा मसिनो गरी बुझ्नेछन् ।

पुस्तकको कुनै पृष्ठ पढ्दा पाठकले गहभरी आँसु लिएर पुस्तकलाई छातीलाई टाँस्नेछन् र कुनै कुनै बखत तिनै पाठक पुस्तककै अक्षरहरूका कारण हाँस्ने वा प्रफुल्लित समेत हुन पुग्छन् । आखिर जीवन भनेकै यही न हो । आमा महान् हुन् र हुन्छिन् भन्ने विषय यो पुस्तकमा प्रत्यक्ष वा अप्रत्यक्षरुपमा सम्प्रेषित गरिएको छ । उच्च शिक्षा लिँदै गर्दा वा जागिरे भएपश्चात् पनि आफ्नो घरमा पुगेर आमालाई वारीपाखामा खोज्न गएको अनि आमाले एकघान मकै र साजी मोही खुवाएर मात्र पठाएको प्रसङ्गले आफ्नो जन्मदिने आमा र जन्मस्थानप्रतिको ममतालाई पुष्टि गरेको छ ।

उपन्यास मार्फत लेखकले पस्कन खोजेको विषय पढ्नेभन्दा पनि पढेपछि बुझ्ने विषय जस्तो लाग्दछ। यति राम्रो उपन्यासका लागि लेखकलाई बधाई सहित लेखनमा निरन्तरताको कामना छ । गत वर्ष परिवारकै सदस्य गुमाएको कारण टीका नभएको सालको दसैँ बिदामा यो पुस्तक पढ्न पाउँदा समयको सदुपयोग भएको महसुस भएको छ । सबै आमाहरूमा सतत् नमन् । अस्तु ।

Tags :
प्रतिक्रिया दिनुहोस