मानव सृष्टि र विभेद « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

मानव सृष्टि र विभेद


१२ असार २०७८, शनिबार


ब्रह्माले धेरै जीव जीवआत्माहरुको सृष्टि गरिसकेपछि अन्तमा एक जोडी महिला र पुरुषको सृष्टि गर्नुभयो । उनीहरूलाई एउटा सुन्दर बगैँचामा लगेर छाड्दै भन्नु भयो–‘यो सुन्दर बगैँचा तिमीहरूको घर हो । यहाँ भएका सबै जीव, थलचर, जलचर सबै प्राणीहरू तिमीहरूका साथीहरू हुन् । तिमीहरू अब स्वतन्त्र छौ । जहाँ मन लाग्यो त्यहाँ जान सक्छौ । सागरमा गएर नुहाउन । यस बगैँचामा डुल्न, खेल्न, उफ्रन तिमीहरूलाई कसैले पनि रोक्न सक्दैन । यस बगैँचामा अनगिन्ती फलफूलहरू छन् । रुख, बोट बिरुवाहरू छन् । ती सबै तिमीहरूको हो । आफूलाई मन परेको फल टिपेर खान सक्छौ । यहाँ धेरै प्रकारका फलफूलहरू छन् । यी सबै फलहरूले तिमीहरूलाई आनन्द दिन्छन् । सुख भोग दिन्छन् । ‘तर होस गर’ नजिकै भएको फलको एक वृक्ष देखाउँदै ब्रह्माले भन्नुभयो–‘रुखको फल भने कदापि नखानु । यदि खायौ भने तिमीहरूको पतनको मार्ग सुरु हुने छ ।’ यति भनेर ब्रह्मा त्यो सुन्दर बगैँचा उनीहरूलाई सदाको लागि छाडेर अन्तर ध्यान हुनुभयो ।

ती दुई महिला र पुरुष निरवश्त्र थिए । तर उनीहरूलाई आफू निरवश्त्र रहेको कुनै पनि महसुस हुँदैन थियो । त्यो सुन्दर बगैँचामा उनीहरू खुसी हुँदै, रमाउँदै डुल्नथाले, त्यहाँ भएका हरेक जीवजीवआत्माहरु उनीहरूको साथी भए । त्यहाँ कहिले पनि कलह र झगडा हुँदैन थियो । उनीहरू कहिले भिर पहरा, कहिले पहाड, कहिले हिमाल, कहिले सागर, कहिले कहाली लाग्दो मरुभूमि, जताजता जान मन लाग्छ र जे जे खान मन लाग्छ स्वतन्त्र रूपमा खाँदै, रमाइलो गर्दै जीवन बिताउन थाले । त्यो सुन्दर बगैँचाको रस्वपान गर्न लागे । यसरी हजारौँ वर्ष बित्यो ।

एक दिनब्रम्हाजीले भनेको कुरा महिलाले सम्झन पुगिन् । यो बगैँचाको सबै फलहरू चाखी सकियो । आफ्नै आँखा अगाडी हेर्दै खाउँखाउँ लाग्ने यती राम्रो फलचाही किन ब्रह्माले भुलेर पनि कहिले नखानु भन्नुभएको होला । उनको मनमा कौतुहलता जाग्यो र पुरुषलाई त्यो फल खान आग्रह गरिन् । पुरुषले ब्रह्माजीको वचन त्याग्नु हुँदैन, नखाउँ भनेपछि महिलाको ढिपीको अगाडी त्यो पुरुषको केही लागेन र दुवैले त्यो फलाए । त्यो फलको आनन्द त्यो बगैँचामा खाएको अरू फल भन्दा भिन्नै थियो । जुन स्वाद उनीहरूले कहिले पाएका थिएनन् । त्यो फल खाएपछि त्यो बगैँचाको आनन्द भन्दा हजारौँ गुना आनन्द उनीहरूले प्राप्त गरे । उनीहरू आनन्दको चरम शिखरमा पुगे जुन आनन्दको महसुस कहिले भएको थिएन ।

फलको आनन्द लिई सकेर आफ्नै दुनियाँमा फर्केपछि उनीहरूको जीवनले नयाँ मोड लियो । एक छिन सृष्टि डगमगायो । नजिकै भएका सबै प्राणीहरू उनीहरूबाट टाढा हुन थाले । निर्वस्त्र ती दुवैलाई एक अर्काको शरीरको अङ्ग देखेर लाजलागेर आयो र बगैँचाको रुखका पातहरू टिपेर आफ्नो लाज छोप्न थाले । त्यस दिन देखि उनीहरूको शरीरमा अनौठो परिवर्तन हुन थाल्यो । जुन सुन्दरता शरीरमा थियो त्यो बिस्तारै हराउँदै जान थाल्यो । छालाहरूको रङ्ग फेरिए, कपालका रङ्ग फेरिए । उनीहरूको आफू जस्तै अरू सन्तानहरू हुन थाले । ती दुई महिला र पुरुषबाट ३३ कोटी अरू मानवहरूको जन्म भयो, विभिन्न, स्वभाव, आचरण र ज्ञानका ती मानवहरू सर्वत्र बगैँचामा फैलिएर बस्न थाले । ती मध्ये कोहीले फलामको काम गर्न थाले, कसैले कपडाको काम गर्न थाले, कसैले छालाको काम गर्न थाले ।

कसैले व्यवस्थापनको काम गर्न थाले । कसैले शिक्षाको काम गर्न थाले । जसलाई जे काम गर्ने इच्छा भयो । जोसँग जे ज्ञान हाँसिला भयो त्यहीँ अनुरूप उनीहरूले काम गर्न थाले । त्यो सुन्दर बगैँचाभरि छरिएर आफ्नो प्रभुत्व जमाउन थाले । आफ्नो कर्मको पहिचान गराउँदै सृष्टि गर्न थाले । कोही अधिक कामको कारणले फोहरी देखिन थाले भने काम गर्दा गर्दै खानै भ्याउँदैन थिए । कोही ध्यान र तपस्यामै सीमित हुन थाले । जोगीको भेषमा डुलेर, मागेर खान थाले । यसरी उनीहरूले त्यो सुन्दर बगैँचा भरी फैलेर बगैँचामा आ–आफ्नो हक जमाउँदै सृष्टि गर्न थाले । समय बित्दै गयो, उनीहरूको धेरै ठुलो समूहको विकास भयो ।

बिस्तारै अब आफू–आफू बिचमै दानवीय व्यवहारहरू देखाउन थाले, काम, क्रोध, लोभ र मोहले व्याप्त भए । लडाइँ झगडा, काटमार सुरु हुन थाल्यो । अहङ्कारको सृजना हुन थाल्यो । जसको शक्ति उसको भक्ति हुन थाल्यो । बगैँचा भागबन्डा गर्न थाले । आ–आफ्नो बगैँचामा आ–आफ्नो नियम, कानुन लागु गर्न थाले । सबैको विचारको मन्थन भयो । विचार मिल्ने जतिको एउटा समूह भयो । विचार नमिल्नेहरूको छुटै समूह हुन थाल्यो । सबै समूहको आ–आफ्नो भाषा, कला र संस्कृतिको विकास हुन थाल्यो ।

यसरी धेरै समयको अन्तरालमा कोही सुखी र समृद्धिको उच्च शिखरमा पुगे । कोही आजको दिनसम्म पनि उही खिचातानी ईश्र्या, लोभ, लालच, जात, धर्म, छुवाछुत थिचो, मिचो र विभेदमा अल्झिरहेका छन् । को ठुलो को सानो । मान्छे भन्दा काम ठुलो । जसले आफ्नो काममा दक्षता हाँसिला गरे र विश्वभर चिनाए ती सबै भन्दा ठुला व्यक्ति भए ।

त्यसैले आफूले कर्म गरेर अरूलाई पहिचान दिन सक्नु नै जात हो, धर्म हो । भविष्यमा उक्त पहिचानलाई सबैले पछ्याउन सक्ने बनाउन सक्नु नै मानव धर्म हो । यहाँ कुनै जात छैन । हामीले गर्ने कर्म नै हाम्रो जात हो । कर्म नै भगवान् हो । मानिसको खानपान, व्यवहार र कर्मले नै उसको जातको सृजना गर्छ । संस्कार नमिल्दा जातको कुरा हुन्छ । जात हाम्रो कर्मले, ज्ञान, कामले हामी आफैले बनाएका हौँ ।

त्यसैले आफ्नो जात कसैलाई सुनाउँदा या भन्दा गर्वले छाती उच्च बनाउनु पर्छ किनकि त्यहीँ नै हाम्रो पहिचान हो । तर यती भन्दै गर्दा मानिसको सृष्टि र उसलाई जन्म दिने उसको पुर्खासँगको नाता भने अवश्य हुन्छ । जसलाई गोत्रले चिनिन्छ । त्यसैले संस्कार बदलौँ । जातैको नाममा कसैलाई भेदभाव नगरौँ । जातकै आधारको आरक्षणको नाममा कसैको स्वभीमान खोस्न नखोजौँ ।

विश्वको हरेक मानिसहरूको समूहभित्र पहिचान अनुसारको विभेद सबै ठाउँमा छ । गरिबी नै विभेदको मुख्य कारक तत्त्व हो । गरिबलाई सबैले विभेद गर्छन् । ठुलाले सानामाथि विभेद नगरेको ठाउँ सायद कमै होला । हामीले सिकेको संस्कार नै यही छ । त्यही सानो मान्छे भोलि ठुलो भयो भने उसले फेरी सानोमाथि विभेद गर्न सुरु गर्छ । त्यही गरिब भोलि धनाढ्य भयो भने उसले पनि आफू भन्दा गरिबलाई विभेद पक्कै गर्छ किनकीत्यो मानव स्वभाव हो । यस्तो स्वभावको अन्त्य मानवमा तब मात्र हुन्छ जब सम्म गाँस, बास र कपास मानिसको नैसर्गिक अधिकार हो ।

एउटै घरमा बस्ने मलाई चाहिँ घामले पोल्ने र मेरो दाजुलाई नपोल्ने भन्ने हुँदैन । घाम र पानीबाट जोगिन अपनाइने उपाय सबैमा बराबर लागु हुनुपर्छ । यति भयो भने मात्र त्यो राज्यमा विभेदको अन्त्य हुन्छ । बाँकी कुरा त आफ्नो ज्ञान, विवेक र ओहदा अनुसार गर्ने हो । सार्वजनिक ठाउँ त्यस राज्यमा बस्ने सबैको साझा सम्पत्ति हो । त्यसमा राज्यको पूर्ण स्वामित्व हुन्छ र राज्यका हरेक नागरिकको समान हक र अधिकार लाग्छ । तर एउटा घर चाहे गरिबको होस चाहे धनीको होस । चाहे दलितको होस चाहे गैर दलितको होस त्यसमा उसको आफ्नो पूर्ण अधिकार हुन्छ ।

हाम्रो समाजमा आज दलित भनेर चिनिने जातीहरू माथि इतिहासले पक्कै विभेद गरेकै हो । किनकि मुलुकी ऐनले नै त्यस्तै व्यवस्था गरिदिएको थियो । त्यसको पछाडिको कारण उनीहरूको पछौटेपन, कर्म, रहनसहन, खानपान र दुःखले निम्त्याएको आचरण नै मुख्य कारक तत्त्व थियो । बुर्जुवा वर्गहरूले ती जातीहरूलाई कहिले माथि उठ्न नदिएकै हो । ती वर्गभित्र पनि आफ्नै खालको अर्को छुवाछुत र विभेद थियो । जुन आज सम्म कायमै छ । समयसँगै परिवर्तन भएका धनाढ्य शिक्षित दलित समूहबाट गरिब र निमुखा आफ्नै समूहमाथि अझै पनि विभेदकारी भावनाले हेर्ने गरेको पाइन्छ । त्यसैले समयको परिवर्तन सँगसँगै यो बिस्तारै अन्त्य हुने कुरा हो ।

त्यसैले यसलाई ब्यूँत्याएर यसैको नाममा कसैको व्यक्तिगत स्वतन्त्रतामाथि हस्तक्षेप गर्नु र प्रतिशोधको भावनाले अदालतसम्म जानु भनेको मूर्खता सिवाय अरू केही हैन । ईतिहासमा हामी हेपिएका थियौँ । आज कानुन र आरक्षणले हामी बलिया भएका छौँ । अब यसको बदला लिनुपर्छ भनेर शिक्षित दलित समूहबाट नै तानाबाना बुन्न थालियो भने नयाँ पुस्तामा फेरी यसको असर अवश्य पर्नेछ । हाम्रो कानुनले जातजाति र छुवाछुतको अन्त्य गरिसकेको छ ।

अधिकांशमा चेतनाको वृद्धि भैसकेको छ । नयाँ पुस्तालाई त के हो छुवाछुत थाहा पनि छैन । फोहरी र असभ्य मानिस देखे भने मात्र छि छि गर्छन् । तर हाम्रा केही अग्रजहरूमा अझै यो चेतनाको विकास हुन सकेको छैन । किनकि वहाँहरू त्यहीँ संस्कारमा जन्मे हुर्किए । यो संस्कार अब समयसँगै आफै परिवर्तन हुन्छ र भई राखेको पनि छ । बच्चा छँदा मेरो बाबाको पालामा छुवाछुत थियो । त्यो मेरो आँखाले देखे । मैले छुवाछुत मान्दै मानिन त्यहीँ भएर मेरो बच्चाहरूलाई के हो छुवाछुत, जात भात भनेको थाहा नै छैन । त्यसैले यसलाई धेरै बहस र झगडाको विषय नबनाऊँ ।

Tags :
प्रतिक्रिया दिनुहोस