विपद् र विपद् व्यवस्थापनका ‘आर’ विधि « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

विपद् र विपद् व्यवस्थापनका ‘आर’ विधि


८ असार २०७८, मंगलबार


नेपालीमा एउटा उखान छ-‘दशा बाजा बजाएर आउँदैन’। उखान सुन्दा छोटा भए पनि लामो समयको अध्ययन र व्यवहारको निरीक्षण पश्चात् सिर्जना गरिएका हुन्छन्। ‘दशा’ मानवीय संवेदनामा हेर्ने र बुझ्ने हो भने ‘विपद्’ भन्ने विषय हो भन्ने यकिन गर्न सकिन्छ। विपद् एक किसिमको निरन्तरताको क्रमभङ्गता हो । उल्लेखित उखानको आशय हेर्ने हो भने विपद् कुनै पूर्व सूचना दिएर आउँदैन । तसर्थ विपद्को जानकारी प्राप्त गर्नु पनि एक किसिमको चुनौती नै हो। विपद्को क्षतिको दायरासमेत पूर्ववत अवस्थामा होस या विपद् पश्चातको समयमा मौद्रिक वा कुनै परिमाणात्मक मात्रामा मापन गर्न सकिन्न । तसर्थ ‘विपद्’ कुनै द्रव्यवाचक नाम नभई एक भाववाचक नाम हो । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ मा ‘कुनै स्थानमा आपतकालीन अवस्था सिर्जना भई जनधनको क्षति साथै जीवनयापन र वातावरणमा प्रतिकुल असर पार्ने प्राकृतिक वा गैर प्राकृतिक विपद् सम्झनु पर्छ’ भनी उल्लेख गरेको छ ।

विपद्का प्रकार

१. प्राकृतिक विपद् : प्रकृतिको गतिशीलतामा देखा परेको कुनै किसिमको वाधा अवरोध वा नकारात्मक शक्तिको प्रवेशले प्रकृतिमै निम्त्याएको खलल नै प्राकृतिक विपद् हो। प्राकृतिक विपद् कतिपय अवस्थामा स्वसिर्जित हुन्छन् भने कतिपय मानवीय व्यवहारको परोक्ष सिकार बनेको हुन्छ। प्राकृतिक विपद् अन्तर्गत बाढी, पहिरो, अल्प वृष्टि, अतिवृष्टि,अनावृष्टि, हुरी बतास, डढेलो आदि पर्दछन्।

२. गैर प्राकृतिक विपद् : गैर प्राकृतिक विपद्लाई मानवीय व्यवहारको नकारात्मक असरको उपजको रूपमा लिइन्छ। यस्ता विपद् अन्तर्गत प्यान्डेमिक फ्लु, विस्फोट, अनिकाल, भौतिक संरचनाको क्षति, वातावरण प्रदूषण, विकिरण चुहावट आदि पर्दछन्।

विपद् व्यवस्थापनका चरण : विपद् जस्तो भए पनि मानव जातिको लागि एक शिथिल समय हो। यसले मानवीय संवेदनामा गहिरो शारीरिक, मानसिक तथा भावनात्मक असर पुर्‍याउँछ। यसको उचित व्यवस्थापनका निम्ति देहायका उपायअबलम्बन गर्न सकिन्छ, जसलाई यस लेखको स्तम्भकारले ‘आर’ विधिको संज्ञा दिएका छन् ।

क) विपद् कारकको पहिचान – कुनै पनि विपद्को समय निर्धारण गरेको हुन्न। तसर्थ यसको आगमन जस्तोसुकै अवस्थामासमेत हुन सक्छ। मानव जातिले यसको लागि पूर्वतयारीसमेत नगरेको हुन सक्छ। तर उचित व्यवस्थापनका निम्ति विपद्का हरेक स्वरूप(भेरियन्ट)सँग सामिप्यता राख्ने, सम्भावित जोखिमको पहिचान गर्ने, कारक पत्ता लगाउने र त्यसतर्फ उचित र विवेकशील कदम चाल्ने आदि विषय यस चरण भित्र पर्दछन्। यसका लागि आवश्यक सरकारी तथा निजी संयन्त्र, विशेष कार्यदल(स्पेसल टास्क फोर्स) लाई हरबखत परिचालन गर्नुपर्दछ।

ख) शीघ्र प्रतिकार्य – विपद्को क्रम जारी भएको अवस्थामा होस या विपद्को समय शीघ्र देखिन लागेको समय वा विपद् देखिएको तत्कालको समय, कुनै पनि अवस्थामा उद्धार प्रतिकार्य, राहत प्रतिकार्य, विपद् न्यूनीकरण प्रतिकार्य गर्नुपर्ने हुन्छ। यसले राज्यको हरेक क्षेत्रको संयन्त्रको सबल उपस्थिति र राज्यको उपार्जनात्मक क्षमता (एक्सट्र्याकटिभ क्यापेबिलिटिज), र प्रतिकात्मक क्षमता(सिम्बोलिक क्यापेबिलोटिज) देखा पर्दछ।

ग) उद्धार र राहत- विपदबाट गुज्रेका नागरिकलाई राज्यको सबल उपस्थिति देखाउन विपद् त्रासदीबाट शीघ्र टाढा राख्ने, त्यसको भयबाट मानसिक र शारीरिक असरलाई व्यवस्थापन गर्ने संयन्त्रको स्थापना, सचेतना अभियान सञ्चालन जस्ता कार्य राहत अन्तर्गत पर्दछन्। मानिसको दैनिक जीवनयापनतर्फ उन्मुख गराउन मौद्रिक वा कुनै पनि भौतिक सहयोगको व्यवस्था गर्ने, मानवीय सदासायताको अनुभूति गर्ने आदिले उद्धार कार्यलाई जनाउँछ। उद्धार कार्यले विपदग्रस्त नागरिकको मानसपटलमा सकारात्मक ऊर्जा प्रदान गर्दछ।

घ) पुनर्निर्माण – विपदग्रस्त क्षेत्रमा भएका धनजनको क्षतिको अनुमान गरेर सम्भावित क्षतिको पूर्ति गर्ने कार्य, क्षतिग्रस्त भौतिक संरचनाको निर्माण, मनोविज्ञानको पुनर्निर्माण आदि कार्यबाट मानव जातिलाई विपदपूर्वको अवस्था पुर्‍याउने कार्य यस विषय अन्तर्गत पर्दछन्। यसले मानव जातिलाई सामान्यीकरणको अवस्थामा पुर्‍याउन मद्दत पुर्‍याउँछ।

ङ) पुनर्वास र पुनरुत्थान – विपदबाट क्षतिग्रस्त भएका संरचनाको निर्माण पश्चात् मानवजातिलाई सुरक्षाको अनुभूति हुन पुग्छ। यसले मानिसलाई आफ्नो पुरानो स्थानमा पुनर्वास गर्ने साहस र ऊर्जा मिल्छ। पुनर्वासको कार्यले मानव जातिको दैनिक क्रियाकलापको निर्बाध सञ्चालनको सुनिश्चितता गर्दछ। तर विपद् यस्तो विषय हो। जसबाट पूर्णतः पूर्ववत् अवस्थामा फर्कन असम्भवप्राय रहेको छ। यो विषयले जैविक विविधताको पूर्व क्रियाको अवस्थालाईसमेत ईङ्कित गर्दछ। जैविक विविधताको विना अवरोध सञ्चालन हुनु समग्र प्राणीजगतको पुनरुत्थान हो।

निष्कर्ष 

विपद् मानव संवेदनामाथिको कडा प्रहार हो। यसको पीडा अवश्यम्भावी रहेको हुन्छ। विपद्का हरेक चरण असाध्यै महत्त्वपूर्ण र संवेदनशील रहेका छन्। नेपालको सन्दर्भमा पूर्वतयारको पाटो निकै कमजोर रहेको आरोपसमेत लाग्ने गरेको छ। विपद् व्यवस्थापनको सम्पूर्ण जिम्मेवारी सरकारी पक्षको हो भन्ने धारणा पनि यत्रतत्र सर्वत्र रहेको पाइन्छ। विपद् प्रतिकार्यको नैतिक जिम्मेवारी भलै सरकारको भए तापनि मानवीय नाताले प्रथम दर्शी जो हो उसैको हुन्छ। यसका लागि सबै सरोकारवाला पक्षले आफ्नो कम्फर्ट जाेनबाट माथि उठेर सेवा गर्न अपरिहार्य रहेको छ। तब मात्र विपद् पश्चातको मानवीय कम्फर्ट जाेनको पुन: प्राप्ति हुन जान्छ।

Tags :
प्रतिक्रिया दिनुहोस