सानोकान्छाको सपना र बिपना « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

सानोकान्छाको सपना र बिपना


५ असार २०७८, शनिबार


ॐ आदित्याय नम:, ॐ आदित्याय नम:, ॐ आदित्याय नम: …,” आफ्नो बगैँचाका रुखका हाँगाहरुको बीचबाट देखिएको उदाउँदो सूर्यका किरणहरुमा हेर्दै सानोकान्छा हात जोडी स्तुति गर्दैछन्। यो उनको नियमित अभ्यास हो जुन एक प्रमुख संस्कारका रुपमा उनमा बालककालदेखि नै गडेको छ आफ्नो पूज्य बुवाको नित्य नियमबाट प्रभावित भई। विज्ञान विषयको पृष्ठभूमि भएका सानोकान्छाको आध्यात्मिक रुचि रोचक छ। उनी प्रायः विज्ञान र अध्यात्मको अन्तर्सम्बन्ध केलाउने र प्रस्ट्याउने प्रयास गर्ने गर्छन्। तुलसी, पीपल, नदी लगायत अन्य जलाशय आदिलाई पूजनीय मान्ने उनको संस्कारमा सूर्यको महत्व, महिमा र गरिमा सर्वाधिक छ— सूर्यनारायण नै सम्पूर्ण चराचरको अस्तित्वका आधार हुन्।

सानोकान्छाको परिवार हाल बस्ने काठमाडाैँको त्यस बस्तीमा कलधाराको पानी हप्तामा दुई दिन मात्र आउँछ, त्यो पनि केवल २-३ घन्टाका लागि। आज धारामा पानी आउने दिन-सानोकान्छालाई अकस्मात स्मरण हुन्छ। श्रीमती पर सरेका बखत थपिने यो जिम्मेवारी निर्वाह गर्नु उनको अनिवार्यता हो। त्यसो त केही छिनमा खाना पनि तयार गर्नु पर्छ, छोराछोरी विद्यालय पठाउनु अघि नै। रजश्वला भएका महिलाले सो अवधिभर अरुले पिउने पानी नछुने र खाने भोजन नबनाउने परिपाटी उनको घर-परिवारमा केही गरी कायमै रहन गएको छ।

सानोकान्छाले आफ्नो जन्मथलो सुदूर-पश्चिमका केही भागमा छाउपडी-गोठ प्रथाको कट्टर र कठोर अभ्यासले कैयन दुःख-कष्ट र कटु आलोचना उब्जाइरहेको भएपनि रजश्वलासम्बन्धी केही पथ-परहेजमा भने परिवारले केही सकारात्मक दृष्टिकोण राखेको छ— पुरुषहरुलाई महिलाको घरायसी घरधन्दाको बोझबारे प्रत्यक्ष्य जानकारी हुने, खाना बनाउने अभ्यास हुने र स्त्रीहरुलाई केही मात्रामा विश्रामको अवस्था सिर्जना हुने जस्ता कुरालाई सानोकान्छा परिवारले यस परम्पराका सकारात्मक पक्षका रुपमा लिएको छ।

आँगनमा पुगेर हेर्दा सानोकान्छा नलमा पानी रसाएको देख्छन्। तान्ने यन्त्र तुरुन्तै नचलाए पानी आउने सम्भावना रहन्न, किनभने छिमेकका सबै घरहरुमा पानी तान्ने यन्त्र चलाइन्छन्। सानोकान्छाले हतारपतार गर्दै यन्त्र जडान गरी चलाइहाल्छन्। तर १५-१५ लिटर अट्ने दुई घडा भर्न पनि झन्डै तीन घण्टा लाग्छ ! जे होस्, घरमा पिउने पानी भयो, सबै सन्तुष्ट !

माघको अति ठिहिर्‍याउने जाडोमा खाना खाइवरि सानोकान्छा बाहिर आँगनमा घाम ताप्न निस्केका मात्र के थिए नजिकै कतैबाट प्लास्टिक बालेको धूवाँ आइपुग्छ। हरियो वन-जंगल, सेता मनोरम हिमाल र स्वच्छ हराभरा खेतबारीहरु धेरै देखिने सुन्दर र शान्त परिवेशलाई विषाक्त र खपिनसक्नु दुर्गन्धित धूवाँले विचलित पार्दा घरका सबै सदस्य तत्काल घरभित्र पस्दै झ्याल-ढोका थुन्न पुग्छन्। “कहिले सुध्रिएला हाम्रो समाज?! फोहोरमैला संकलकलाई केही पैसा तिर्नु पर्ने डरले आफै प्लास्टिक आदि फोहोर डढाएर टोल-छिमेकको स्वास्थ्य र सुविधामा हानी पुर्‍याउनु कतिसम्मको अज्ञान र अचाक्ली हो!” सानोकान्छाको यस प्रत्यक्ष प्रतिक्रियामा घरका सबै सदस्यले सहमतिका शब्द थप्छन्।

केही न केही लेखिरहने र पढिरहने बानी भएका सानोकान्छा छोराछोरीलाई विद्यालय पठाइसक्ने बित्तिकै आफ्नो अध्ययन कोठामा पस्छन्। आज उनलाई एउटा कथा लेख्ने विचार आयो, आफ्नै सपना र बिपना अनि आफ्नै देश र परिवेशमा आधारित। श्रीमतीको राय लिँदा सोही सहमति पाएपछि उनको हौसला स्वतः थपियो । उनले तत्कालै कथा सोच्न र लेख्न शुरु गरिहाले।

एक दुर्गम बस्तीमा जन्मे-हुर्केका सानोकान्छा धेरै दाजुदिदीमा कनिष्ट भएकाले सो नाम पाएका थिए । प्रमुख रूपमा कृषिमा आश्रित उनको परिवार शिक्षा र सामाजिक प्रतिष्ठामा पनि अग्रस्थानमा रहिआएको थियो । त्यही अनुकुल वातावरणकै फलस्वरूप उनी प्रतिभाशाली र सधैँ प्रथम स्थान हासिल गर्ने विद्यार्थीकोरूपमा दह्रिन पुगेका थिए। प्रथम भएकोमा विद्यालयबाट दिइने लेखन-पुस्तिका, कलम, सिसाकलम र मसी जस्ता पुरस्कारले उनलाई अत्यन्त हर्षित पार्थे। सानो उमेर र ठाउँमा ती नै वास्तवमा प्रशस्त प्रेरणादायी उपहार बन्थे।

त्यस्तै, विद्यालयको विश्राम समयमा खेल्न पाइने, कपडा गुथेर बनाइएको, भकुण्डो उनका लागि विशेष महत्व र मायाको वस्तु हुन्थ्यो। उनी आफै पनि त्यस्तो भकुण्डो बनाउने र घरमासमेत खेल्ने गर्थे। काठको भुरुङ्गॊ बनाउनु र घुमाउनु पनि उनको विशेष सोख थियो।

कैयन दशकअघिका आफ्ना बाल्यकालका रुचि र सम्झनाबाट उत्प्रेरित भई हालै उनले आफ्ना छोराछोरीका लागि त्यस्तै भुरुङ्गॊ बनाएर चलाए। त्यसमा उनलाई निकै खुसी र सन्तुष्टि भएपनि मुहार-पुस्तक (फेसबुक) जस्ता आधुनिक सुविधा, साधन र माध्यम प्रयोग गर्न र ब्याडमिन्टन, फूटबल आदि खेल्न अभ्यस्त छोराछोरीलाई भने त्यस सामग्रीले खासै प्रभाव पार्न नसकेको कुरा उनले तुरुन्तै प्रत्यक्ष अनुभव गरे।

सानोकान्छालाई अध्ययन र कामको सिलसिलामा टाढा विदेशमा बढी समय बस्दा जसरी आफ्नो देशको सम्झना र मायाले सताउने गर्थ्यो त्यसैगरी उनलाई सदैव आफ्नो जन्मे-हुर्केको सामान्य ग्रामीण परिवेशप्रति अगाध सम्मान, सद्भाव र सम्झना छ। वर्ष-दुईवर्षमा अनुकुल पारी, खासगरी मेला-जात्राको अवसरमा, उनी आफ्नो गाउँ-घर पुग्छन्, घुम्छन्, रम्छन् र केही दिनमा काठमाडौँ फर्किन्छन्।

सानो छँदाका साथीहरु, नाताकुटुम्ब, छरछिमेकी र वरपरका बस्तीका परिचित व्यक्तिहरु, मेलापात जाँदाका, पँधेरोमा साथीसंगीहरुसँग ‘ओहोरो-दोहोरो, लामखुट्टे बाँदरको छोरो’ जस्ता केही आयातित खेलहरु खेल्दाका, माघे संक्रान्तिका दिन एका बिहानै पँधेरोमा काठका ठूल्ठूला मुढोहरु बाल्दै ठूलो समूहमा आगो ताप्दाका, गाउँ-घरका समूहसित शिवरात्री मेला भर्न कैयौँ घण्टा हिँडेर नदीकिनार जाने गरेको, बगरमा आफन्त र परिवारजनसँग बसी निस्पिसे (भुक्के रोटी) तिलोँट (तील र अदुवाको चटनी)सित खाएको जस्ता अत्यन्त सुखद अनुभूतिहरु सानोकान्छाका मनमस्तिष्कमा अझै तरोताजा छन्।

आजभोली आफ्नो गाउँ पुग्दा सानोकान्छा जति रोमाञ्चित हुन्छन् त्यतिनै उनी केही आश्चर्य, केही खुसी र केही मात्रामा विष्मात र पीडा पनि अनुभव गर्छन्—

प्राथमिक पाठशाला मात्र भएको स्थानमा उच्च माध्यमिक विद्यालय संचालित भएको निकै वर्ष भैसकेको छ। सदरमुकाम समेत सडकले नछोएको त्यस बेलाको दाँजोमा आफ्नै गाउँमा आजभन्दा करिब दुई दशकअघि नै सडक पुगेको छ। झन्डै महिना दिनको जोखिमपूर्ण र कष्टकर यात्रा गरी सीमावर्ती भारतका हाटबजारबाट नुन-गुड, लत्ता-कपडा, भाँडा-बर्तन, यन्त्र-औजार, फाली-फलाम आदिको गरुङ्गो भारी पिठ्युँमा बोक्नु पर्ने विगतको बाध्यताबाट सर्वसाधारण हटेरुहरु धेरै मात्रामा मुक्त भएका छन्।

केही वर्षअघि गाउँ गएका बखत घरघरमा बिजुलीबत्ति बलेको देखेर सानोकान्छालाई अचम्म लागेको थियो र अत्यन्त प्रसन्नता पनि। उनले त्यहाँ पढ्दा भने मट्टीतेलको टुक्कीकै उज्यालोमा पढ्नु पर्ने बाध्यता थियो, अन्य विकल्प थिएन। राति यताउति जाँदा झरो (सल्लाको दाउराको चोइटो) सल्काएर बोकी उज्यालो पर्ने गरिन्थ्यो। व्यापार, विवाह-व्रतबन्ध आदि जस्ता ठूला कारबारमा भने हुनेखानेले ग्यास बत्ति बाल्ने गर्थे, जुन सबैका लागि निकै आकर्षक परिदृश्य भएको पाइन्थ्यो।

पहिले सानो अतिरिक्त हुलाक मात्र रहेको त्यस ठाउँमा आज हात-हातमा मोबाइल फोन देखिन्छन्। हुलाकको कारोबार घटेर शून्यप्रायः भएको छ यद्यपि अहिले त्यहाँको हुलाकले इलाका हुलाकको स्तर हासिल गरिसकेको छ। मादक पदार्थबारे धेरैलाई जानकारी नै नभएको र थाहा हुनेले समेत त्यसको सेवन वर्जित ठान्ने गरेको केही दशकअघिको त्यहाँको परिवेश फेरिएर हाल त्यहाँ मादक पदार्थले व्यापकता पाएको परिस्थिति छ। उखु पेलेर सखर, खुँदो आदि बनाउने; निबुवा, ज्यामिर, दारिम, कागती आदिबाट चुक निकाल्ने र प्रशोधन गर्ने प्रविधि प्रायः पुरै हराएको छ।

खरानी, असुरोको पात, रिठ्ठा जस्ता वस्तुहरुको प्रयोग गरी लुगा धुने प्रक्रिया र प्रचलन त अझै केही अघि नै लोप भैसकेको हो। जितरा (जाँतो) र ओखल-मुसल झन्डै लोप भएका छन्। त्यसै गरी पानी घट्ट पनि। तोरी पेलेर तेल निकाल्ने कोल (परम्परागत यन्त्र) भने केही स्थानमा पुनर्जागृत भएको पनि पाइन्छ।

सानोकान्छा गम्दैछन्— कतिपय कुरामा प्रगति भएर सुविधा पनि बढेकै हो तर खानपानमा सुधारको साटो विचलन बढी देखियो, यद्यपि पौष्टिकता, स्वास्थ्य र सरसफाइ जस्ता पक्षमा भने चेतना र जागरण बढेको पनि छ | उनी सम्झिन्छन्— उहिले त प्रायः सबैले खोला-खोल्सामै दिसा-पिसाब गर्ने गर्थे, थोरै मात्रले बोराले बारेको चर्पिसम्म बनाएर प्रयोग गरेको पाइन्थ्यो। दिसा गर्न जाँदा लोहोटा वा ट्वाकमा पानी भरेर लग्नु वा केहीले त केवल ढुंगा र पात-पतिङ्गरले शौच कर्ममा काम चलाउने गर्नु सामान्य कुरा थियो। त्यस्तै, साबुन-पानीले हात धुने चलन नै थिएन; खरानी र पानी वा माटो र पानीले काम चलाइन्थ्यो।

सानोकान्छाको चित्त अत्यधिक तब दुख्छ जब उनी पुर्खाको अपार र अमूल्य परिश्रम, पौरख, सीपको लगानीबाट निर्मित पुराना तर पक्की घरहरु; फराकिला, समथर, उर्बर र आकर्षक गराहरुका व्यापक फाँटहरु वर्षौं बाँझो रहेका देख्छन्। सडकको पहूँचले गर्दा विशेषगरी युवाशक्ति र थुप्रै मात्रामा परिपक्व र अनुभवी जनासम्पदाका साथै ठूलो धनराशी बाहिरिनमा बढी सघाउ पुगेको छ। श्रमशक्तिको अभावले खेतीपातीको काममा गम्भीर अवरोध पुर्‍याएको छ। कुलोहरु भासिएका छन्, अत्यधिक अवस्थामा। अर्मापर्मा प्रणाली सुस्ताएको मात्र हैन व्यावहारिक दृष्टिले अस्ताएको छ, श्रमशक्तिको अभावका कारण र राजनीतिक आस्थामा आधारित सामाजिक विभाजन, विभेद र विद्वेषका कारण।

करिब दुई दशकअघि नै निर्माण भई संचालनमा रहेको (आफ्नो गाउँ पुग्ने) सडक हालसम्म कालोपत्रे हुनु त परै जावस्, वर्षेनी झन्-झन् बिग्रँदै गएको र २० कि.मि. पार गर्न स्थानीय गाडीले घच्याक-घुचुक गर्दै तीन घण्टा लगाएको भोग्दा सानोकान्छा स्वाभाविकैले विह्वल हुन्छन्— ‘तीन घन्टामा त पहिले हिंडेरै पुग्थौँ नि!’ प्रत्येक पटकको त्यहाँको यात्रामा उनले गाडीका सहयात्रीमध्येबाट सम्वन्धित निकायप्रति झन्डै एकै प्रकारको गुनासो र कहिले-कहीँ गाली पनि सुन्दै आएका छन्— ‘उसोइ त बजेट लक् कम आउनो, ताइमि कतिका भुणी भर्रिनाइमि ठिक्क, कतिका तराइमि घर-घरेडी जोड्डाइमि !’ (त्यसै त बजेट पनि कमै आउँछ, त्यसैमाथि कतिको भुँडी भर्नमा र कतिको तराइमा घरेडी किन्नमा ठिक्क !) आदि आदि।

त्यस विषयमा गहन अध्ययन-अनुसन्धान र निष्कर्षको आवश्यकता हुनसक्ला तर त्यस सडकमा ट्रयाक्टरहरुका पांग्राले चिरेका खाल्टाहरुको गहिराइ र धुलो र हिलोको परिमाण भने बढ्दै गएको प्रस्ट देखेका छन् सानोकान्छाले। त्यसैगरी, यात्रुले तिर्नु पर्ने भाडा र यात्राको अवधि र अप्ठेरो पनि।

ग्रामीण भेगतिर पुगिरहने, त्यहाँको परिवेश र परिस्थितिसँगै बढी सरोकार राख्ने सानोकान्छाले माथि वर्णित अवस्थालाई एक प्रतिनिधि दृष्टान्त मान्दछन् हाम्रो देशको सन्दर्भमा। हो पनि, उनले देखे-सुनेका छन्— हाम्रा कतिपय दुर्गम बस्तीहरुमा अझै पनि बिरामीका लागि, चोट-पटकबाट सख्त घाइतेका लागि, सुत्केरी हुनलागेका र पाठेघर झरेका महिलाका लागि, कुपोषित बालबालिकाका लागि र अशक्त र असहाय वृद्ध-वृद्धाका लागि यथोचित औषधोपचार सेवा र सुविधा-सुश्रुषा उपलब्ध छैन। नदी, खोला तर्न पुल-पुलेसो अझै पनि धेरै ठाउँमा कि त छँदै छैनन्, कि भने जीर्ण र जोखिमपूर्ण अवस्थामा छन्। त्यस्ता बस्तीहरुमा आधारभूत शिक्षाको उज्यालो समेत झुल्किन पाएको छैन, उच्च तह र गुणस्तरको कुरै छाडौँ।

कुपोषण, रक्तअल्पता, अन्ध-अपाङ्गपन, पाठेघर झर्ने जस्ता स्वास्थ्य समस्या, सर-सफाइसम्बन्धी चेतना र सुविधाको अभाव, बाल-विबाह, छाउपडी गोठ, बोक्सी मान्ने आदि जस्ता अन्धविश्वास र कुसंस्कार अझै व्याप्त छन् कैयन बस्तीहरुमा। कतै पिउने पानीको अभाव छ भने धेरै बस्तीहरुमा सिंचाइको सुविधा अत्यन्त न्यून वा शून्य छ।

माथि उल्लेखित भावनाहरुका बीच सानोकान्छालाई केही वर्षअघि एक पटक खप्तड मेला भर्न गएको बेला त्यस मेलामा त्यहाँका महिलाहरुले देउडा खेल खेल्दै डोटेली भाखामा गाएको एक अत्यन्त मार्मिक गीत पनि स्मरण हुन्छ र त्यसले उनलाई थप भावविभोर पार्दछ—
उई आलुको खानु, उई आलु तरकारी खानु; मु जन्माउने ईश्वरको आँखो रैछ कानु ।
[हाम्रालागि खाना भने पनि तरकारी भने पनि उही आलु मात्र छ। मेरो जन्म यहाँ गराउने ईश्वर कानो रहेछन् (ब्यर्थै यस्तो विकट ठाउँमा जन्म दिएछन्)।

उदेक मान्दै सानोकान्छा आफ्नो देशको समष्टिगत दुर्दशालाई विकसित देशहरुको उच्च स्तरको समुन्नति र समृद्धिसँग तुलना गर्छन्— हाम्रो देश प्राकृतिक र सांस्कृतिक विविधता र सम्पदामा विश्वका अन्य धेरै मुलुकहरुभन्दा तुलनात्मक रुपमा धेरै धनी भएर पनि हामी अझै आर्थिक-सामाजिक विपन्नताको अवस्थामा छौँ। अन्य सबै श्रोत-साधनको समुचित परिचालन, प्रयोग र वाञ्छित परिणामका लागि मानव संसाधन (human capital) सर्वाधिक महत्वको हुन्छ। मानव संसाधनको सुदृढीकरण र सुशासनको अभ्यास एवं अनुभूति एक-अर्काका परिपूरक हुन्। आजका समृद्ध र सुखी देशहरुले यस तथ्यलाई मनन गरी सार्थक तुल्याएका छन्। तर हामी यसमा धेरै चुकेका छौँ र अझै चुक्दै गएका छौँ।

सानोकान्छाले प्रशस्त मात्रामा देखेका, सुनेका र भोगेका पनि छन् आफ्नो देशका शासन र विकाससम्बन्धी विकृति र विसंगति— शिक्षा, स्वास्थ्य, योजना, निर्माण जस्ता अत्यन्त महत्वपूर्ण र संवेदनशील सेवा क्षेत्रमा समेत अधिकांश नियुक्ति र अन्य निर्णयहरु राजनीतिक (दलगत) स्वार्थ र प्रभावबाट प्रेरित भई गरिनु उनलाई राष्ट्रको घोर विडम्बना र दुर्भाग्य लाग्दछ। त्यस्तै अविवेकीपन, अन्याय र अनियमितता विकास कार्यक्रम तर्जुमा र खर्चपर्चको प्रक्षेपण र वितरणमा हुनु, पिछडिएका क्षेत्र र जनता झन्-झन् पछाडि पर्दै जानु, योग्यता र क्षमता भन्दा पहूँच र पैसाको बलले मात्र काम/पद/जिम्मेवारी पाउन सकिने परिपाटी प्रखर रुपमा फस्टाउनु आदि जस्ता कुशासनका प्रवृत्ति प्रबल भैरहेको स्थितिले सानोकान्छालाई मर्माहत र आक्रोशित पनि पार्दछ, यद्यपि उनी धैर्य र संयम गुमाउँदैनन् ।

कतिपय महान उक्तिहरुले पनि उनलाई सदैव सान्त्वना, सुख र सन्तुष्टि दिइरहेका हुन्छन्, जस्तै— Mark Twainको प्रख्यात भनाइ, “It is better to deserve honours and not have them than to have them and not deserve them” त्यसबाट अत्यन्त प्रभावित सानोकान्छाले अहिले भन्ने गरेका छन्, “It is better to deserve positions and not have them than to have them and not deserve them.” त्यसो त उनको ‘Patience pays’ र ‘सत्यमेव जयते’ जस्ता अमूल्य उक्तिहरुमा पनि अटल विश्वास छ।

तर सानोकान्छा प्रायः गम्छन्— के उनका यी सोचअनुसार चल्नु हाल विदेश पलायन भएका हजारौँ नेपाली युवाहरुको जीविका र घरव्यवहार स्वदेशमै रहेर चलाउन खोज्नु सम्भव छ आज देशमा व्याप्त यस असहज र प्रतिकुल परिस्थितिमा ? उनी विश्वस्त भैसकेका छन्, उनले स्वदेश फर्की सेवा गर्ने आँट गरेझैँ गर्न खोज्दा आजकै अवस्थामा भने धेरैलाई धोका र पश्चाताप नै हुने सम्भावना बढी छ, यद्यपि केही अपवाद पनि हुन सक्लान्।

सानोकान्छालाई राम्ररी थाहा छ, राजनीतिक दलमा कुनै न कुनै प्रकारले आबद्ध र समर्पित नहुने र नभएकाहरुका लागि यहाँ रोजगारी र वृत्ति विकासको बाटो झन्डै पूरै बन्द छ। विज्ञापन विरलै हुन्छन्, भइहाले पनि आफ्नाका लागि पूर्वनिर्धारित। उत्कृष्ट योग्यता, उपयुक्तता, लेखन र प्रस्तुतिको अवमूल्यन हुन्छ, ‘हाम्रा’को छनोट। देशको यस्तै विडम्बनापूर्ण अवस्था देख्दा, भोग्दा र साँचो विकासका सपना बोक्दा सानोकान्छाका अभिव्यक्तिहरु समेत उनका लेखन र प्राध्यापनमा प्रतिविम्बित भैहाल्छन्।

एक पटक उनले ‘दादागिरी, दासता र दल-दलमा देशको दुर्दशा’ शीर्षक राखी एउटा लेख तयार पारेर एक पुरानो र नाम चलेको पत्रिकामा प्रकाशनका लागि पठाए। पहिले नै उनका लेख-रचना रुचाएको र छापिसकेको उक्त पत्रिकाले यो लेख भने थन्क्याइदियो। केहीपछि सोही लेख त्यस्तै अर्को पत्रिकालाई पठाउँदा केही दिनमै प्रकाशित भयो; शीर्षकमा केही परिवर्तन भएपनि विवेचनामा कुनै फेरबदल थिएन।

अनुसन्धानलाई श्रोत-साधन र समयको व्यर्थ प्रयोग मान्ने र आलोचना/समालोचनालाई सिधै विरोध र बेइज्जती ठान्ने प्रवृत्तिले प्रगति पथमा पक्कै वाधा पुर्‍याउँछ, यो शाश्वत सत्य हो। बरु निष्पक्ष, निर्भीक, तथ्यपरक, प्रस्ट र परिष्कृत विचार-विश्लेषणको सही र सशक्त संप्रेषणले नै समष्टिगत समाज र राष्ट्रलाई समुन्नति र समृद्धिको यथोचित दिशा र गतिमा अगि बढ्न सघाउँछ विभिन्न महत्वपूर्ण तवरले। यस पक्षमा उल्लेखित चेतना अभिवृद्धि र व्यावहारिक प्रगति भइरहेको भने सानोकान्छाले अनुभूति गर्दैछन् हिजोआज। साथै, उनको धारणा छ, विकाससम्बन्धी विशेषज्ञ विश्लेषण र विवेचनाले अझै वाञ्छित महत्व र स्थान पाइसकेको छैन हाम्रो संचार माध्यममा ।

राजनीतिक किचलो र दलीय बहसले नै अत्यधिक प्रधानता पाएको र प्रभाव पारेको छ; राष्ट्रिय स्वार्थ/भलाइभन्दा दलीय अभिष्टमा मलजल पुगेको छ। सानोकान्छालाई लाग्छ, ‘वसुधैव कुटुम्बकम्’को प्राचीन उदार अवधारणाको अभ्यास अपनाउनु त कता हो कता, ‘जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी’ जस्तो महान उक्तिले समेत केही वृत्तमा सार्थक महत्व नपाएको देखिन्छ हामीकहाँ; कस्तो निकृष्ट अवस्था !

मोटामोटी नियाल्दा सानोकान्छा देख्छन्, देशमा कतिपय पक्षमा हालका दशकहरुमा प्रगति नभएको होइन— प्रजातन्त्र; नयाँ संविधान; नौलो राज्यव्यवस्था प्रणाली; शहरका केही सुव्यवस्थित र समृद्ध क्षेत्र; केही गगनचुम्बी भवनहरु; कतै-कतै चिल्ला सडक र तिनमा गुड्ने कैयन आरामदायी, आकर्षक, आयातित र अत्यन्त मूल्यवान वाहनहरु; विश्वस्तरीय सुविधा दिने र चर्को खर्च लाग्ने केही शिक्षण संस्था र स्वास्थ्य सेवाहरु।

अर्कातर्फ भने शहरमै पनि अव्यवस्थित, अनुपयुक्त र अभावग्रस्त बसोबास; सडकको अनियन्त्रित र विकराल धुलो-हिलो समस्या; सवारी साधनको अत्यधिक चाप र गतिरोध; अति उच्च प्रदूषण परिमाण; फोहोर-मैलाका डङ्गुर र चर्को दुर्गन्ध; यत्रतत्र छाडा पशुका बथान आदि । उता ग्रामीण भेगका जनताका कारुणिक अवस्थाको व्यापकता अझै विकराल।

सानोकान्छालाई ज्ञात छ र उनी विश्वस्त छन्, समस्या र सम्भावनाको पहिचान नै समृद्धितर्फको प्रयास र प्रतिफलको आधार हुनसक्छ । उनलाई यो पनि जानकारी छ, हामीकहाँ भने समस्याबारे अभिव्यक्ति दिनु वक्ताका लागि प्रायः प्रत्युत्पादक र यदाकदा पीडादायी पनि हुनेगर्छ।

शासक, सत्ता र शक्ति केन्द्र प्रति निहित स्वार्थ प्रेरित, आधारहीन र अस्वाभाविक स्तुतिगानबाट तत्काल वृहत् लाभ आर्जन गर्नेहरुको भीडमा इमान्दार, सोझा, श्रम-प्रेमी, श्रमजीवी सज्जनहरुले अवमूल्यन मात्र हैन कुनै न कुनै प्रकारले अपमान समेत बेहोर्नु र सहनु परेका कथा र व्यथाहरु सानोकान्छाले थुप्रै सुनेका, देखेका र स्वयं भोगेका पनि छन्। तथापि तिनले सानोकान्छालाई पूरै विचलित र बेचैन पार्न सकेको भने छैन । विकाससम्बन्धी समस्या र सम्भावना दुवै देखाउने प्रयास गर्ने उनको स्वभाव, शैली र संस्कार उनलाई भने सकारात्मक र सुखदायी नै लाग्छन् यद्यपि तत्कालका लागि र अन्य केहीका दृष्टिमा प्रत्युत्पादक र क्षतिपूर्ण हुन सक्दछन् र भएका पनि छन् उनका निम्ति कुनै प्रकारले।

संचार माध्यममा सानोकान्छा कमै सुनिन्छन् र देखिन्छन्। उनको व्यक्तिगत स्वभाव, पेशागत स्थिति र चलनचल्तिको राजनीतिजन्य वा राजनीतिप्रिय प्रवृत्ति जस्ता कारक तत्वहरुले असर पारेको हुनसक्छ। जे होस्, उनको विषयवस्तु सान्दर्भिक र उपयोगी नभएको वा उनको रुचि नै नरहेको भने होइन। हालै प्रसारित रेडियो अन्तर्वार्ता सुनेर धेरैले उनलाई बधाई दिएका थिए।

‘मैले सुनें’ भन्नेहरुमध्येका एक जनालाई सानोकान्छाले ‘कस्तो लाग्यो त’ भनेर सोध्दा उत्तर थियो, “धेरै राम्रो थियो, तर ‘मलाई कसैसँग लिनु-दिनु छैन, निष्पक्षताका साथ भन्दैछु’ भन्नु भएकोले भने केहीलाई स्वतः मन परेन पनि होला ।” हो, हामीकहाँ ‘राम्रो’ विचारभन्दा ‘हाम्रो’ विचार र वक्ता मात्र मन पराउने गर्छन् कैयनले । सानोकान्छालाई यसबारे पूरै अनुभव छ। यी विविध परिवेश र परिस्थिति बीच सानोकान्छाले आफ्ना केही विशिष्ट ‘विकासे’ सपनाहरु साँचेका छन् र अन्ततोगत्वा ती साकार पनि हुने दृढ आशा, विश्वास र कामनाका बाँचेका र कर्मपथमा डटेका छन्। उनका ती सपनाको बारम्बार पुनरावृत्ति, विस्तार र विकास भइरहेको उनको जीवन्त अनुभूति छ। आज पुनः सानोकान्छा आफ्ना हार्दिक कामनायुक्त भावना र सपनाहरु यसरी स्मरण गर्दै र संगाल्दै छन्—

देशमा सन्तुलित र दिगो विकासको नव जागरण छावस्, भनाइ र लेखाइमा सीमित नरहोस्, परिणाममै प्रस्ट रुपमा प्रकट होस्। भ्रष्टाचारप्रति शून्य सहनशीलता व्यवहारबाटै देखियोस्। भ्रष्टाचार निवारण मात्र हैन, पूरै निर्मूल होस्। जनताले सबै प्रकारका जायज स्वतन्त्रता, न्याय, सुरक्षा, मानव अधिकार, वाञ्छित आवश्यकता र आकांक्षाको परिपूर्ति र प्रगतिका लागि अवसर निर्वाध र पूर्ण रुपमा प्राप्त गर्न सकुन्। संकीर्ण स्वार्थचाहिँ राष्ट्रिय एकता र विकासको वृहत्तर लक्षमा परिणत हुन पुगोस्। दुर्गम स्थान र पिछडिएका जनताको उत्थान र विकासका लागि विशेष कार्यक्रमहरु पूरै परिणाममुखी तवरले कार्यान्वित होउन्।

शिक्षा, स्वास्थ्य, खाद्यान्न, लत्ताकपडा, आवास, पानी, इन्धन, यातायात, सिंचाई जस्ता अत्यावश्यकीय सेवा-सुविधाहरु सर्वसाधारण जनताका लागि समेत यथोचित प्रकारले र यथेष्ट मात्रामा उपलब्ध हुन सकुन्।

बाँझिएका खेतपाखाहरु रसिला, हराभरा र अत्योत्पादक उत्पादन भण्डार बन्न सकुन् अन्न, फलफूल, तरकारी र जडिबूटीका । देश पुनः साँच्चै नै सही अर्थमा ‘कृषि प्रधान’ बन्न सकोस्। त्यसैगरी, ‘नेपालको धन, हरियो वन’ उक्ति चरितार्थ बन्न सकोस्। नदी-नाला, ताल-तलैयाहरुमा निर्मल पानी बगोस्/रहोस्। विदेशी विवादित र बिराना वादहरुले हैन स्वदेशकै माटो र सुसंस्कारमा जन्मे-हुर्केको ज्ञान-विज्ञान, वुद्धि-विवेकको गहकिलो प्रयोगले व्यावहारिक व्यापकता र वृद्धि हासिल गर्न सकोस्।

बाह्य विद्वता, विज्ञान, वित्त र प्रविधिको सजगतापूर्ण छनोट र यथोचित सदुपयोगमा सम्बन्धित सबैको ध्यान पुगोस्। देशभित्रका जलश्रोत, जंगल-जडिबूटी, जनशक्ति जस्ता अमूल्य संसाधनहरुको भरपूर, समुचित र सन्तुलित परिचालन, प्रयोग र संरक्षण हुन सकोस्।

ग्रामीण क्षेत्रमा सुख-सुविधा बढ्दै र शान्त परिवेश प्रवर्धन हुँदै शहरवासी समेत त्यहाँ आकर्षित र आमन्त्रित हुने अवस्था सिर्जना हुन सकोस् अहिंसा, दया, करुणा सम्पूर्ण नेपालीको साझा संस्कार र संस्कृतिको मूल धरोहर हुन सकुन्। शान्तिका अग्रदूत, एसियाका तारा गौतम बुद्धको देश नेपाल विश्व शान्तिको प्रेरक मियोको रुपमा उभिन सकोस्। नेपाल दिव्यभूमि र यहाँका जनता मानवोचित ज्ञान-विज्ञानका गरिमामय स्रोत हुन सकुन्।

सानोकान्छालाई थाहा छ— यी यावत सपनाहरु सार्थक र साकार पार्नका लागि सर्वाधिक महत्व र भूमिका भने सकारात्मक, सिर्जनशील, सक्षम, स्पष्ट, शुद्ध र समर्पित राजनीतिक सोच, संस्कार र संरचनाकै हुन्छ। त्यसैबाट सुशासनको पूर्ण अभ्यास र अनुभूति सम्भव हुन्छ जसको फलस्वरूप विकासका वाञ्छित लक्षहरुको प्राप्ति पनि हुन सक्दछ। वास्तवमा, विकासको सही खाकाको निर्माण र सफल कार्यान्वयनमै त कुनै पनि राष्ट्रको समृद्धि र सुख निर्भर हुन्छ। यस सन्दर्भमा सानोकान्छाले प्लेटोको प्रसिद्ध भनाइ पनि सम्झे— “No country can be happy which is not designed by artists who imitate the heavenly pattern”.

उनका भावना र सपनाप्रति कतिसम्म र किन सहमत हुने वा नहुने भन्नेचाहिँ उनका कथाका पाठकको व्यक्तिगत सोच र स्वतन्त्रतामा निर्भर रहने नै भयो भन्ने आशयका साथ आफ्नै सपना र बिपनाको सेरोफेरोमा आधारित त्यो संक्षिप्त कथा टुङ्ग्याउनतिर लागे। त्यो कथा लेख्दा पनि उनले Blaise Pascal ले आफ्नो साथीलाई लेखेको चिट्ठीको अन्त्यमा थपेका यी दुई ख्यातिप्राप्त वाक्यहरुको मर्म र महत्व स्मरण गरेकै थिए— “I’m sorry I wrote you such a long letter. I didn’t have time to write a short one.”कथा लेखिसकेर सन्तुष्ट सानोकान्छा तब यी निम्न भावना र उच्चारणका साथ सुस्ताए— सत्यमेव जयते; ॐ शान्तिः शान्तिः शान्तिः।

डा. ओझा ग्रामीण तथा क्षेत्रीय विकास योजना विज्ञान विषयमा स्नातकोत्तर (१९९०), विद्यावारिधि (१९९५) र कृषि विज्ञान विषयमा स्नातक (१९८४), विगत ३० वर्षदेखि विकास विषयको प्राध्यापन, अनुसन्धान, प्रकाशन र परामर्श सेवामा संलग्न छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस