यातायात मन्त्रालयको आगामी बजेट कार्यान्वयनका लागि कार्ययोजना तयार « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

यातायात मन्त्रालयको आगामी बजेट कार्यान्वयनका लागि कार्ययोजना तयार


२० जेष्ठ २०७८, बिहिबार


Bhautik

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनका लागि कार्ययोजना बनाएको छ ।

मन्त्रालयमा आयोजना भएको कार्यक्रममा भौतिक पूर्वाधारमन्त्री वसन्तकुमार नेम्वाङले आगामी आवमा लक्ष्य लिइएको कार्यक्रम समयसीमा नै सम्पन्न हुने गरी कार्ययोजना बनाइएको बताए । केही समय पहिले मात्रै मन्त्रिपरिषद्को बैठकले मन्त्रालयको सङ्गठन र व्यवस्थापन (ओएनएम) स्विकृत गरेको उनले जानकारी दिए ।

यस अघि मन्त्रालयले विसं। २०५० मा तयार भएको सङ्गठनबाटै सञ्चालन हुँदै आएको थियो । उनले भने, ‘यसबाट नयाँ कार्यक्रमहरु सम्पादन गर्न जनशक्तिको आवश्यकता पूरा भएको छ ।’

मन्त्री नेम्वाङले सरकारले पूर्व–पश्चिम राजमार्गको विस्तार र उत्तर दक्षिण जोड्ने राजमार्गहरुको निर्माण अघि बढाउने गरी बजेट बिनियोजन भएको बताए । उनका अनुसार त्योसँगै सरकारले रेल, मेट्रो रेल र सुरुङमार्ग निर्माणलाई प्राथमिकता दिएको छ ।

पूर्व–पश्चिम राजमार्गमा कमला–कञ्चनपुर र नारायणगढ–बुटवल सडकको निर्माण अघि बढाइएको छ । विस्तार भइरहेको खण्डमा सुरक्षा मापदण्डसहित चार लेनमा निर्माण भइरहेको छ । अरु खण्डमा समेत अध्ययन अघि बढाइएको उनले बताए । उनले भने, ‘विस्तार भएका सडकमा फ्लाई ओभर, सुरुङ र वन्यजन्तु टनेलको निर्माण गरिनेछ ।’

सरकारले हुलाकी, मध्यपहाडी र मदन भण्डारी राजमार्ग निर्माणसँगै स्तरोन्नति अघि बढाउने गरी बजेट विनियोजन गरेको उनले जानकारी दिए । मध्यपहाडी र मदन भण्डारी राजमार्गमा कतिपय नयाँ सडक त कतिपय बिगतमा सञ्चालनमा रहेका सडकको स्तरोन्नतिको काम भइरहेको छ । उनले भने, ‘पहिले सडक निर्माण मात्रै भए पुग्थ्यो भने अहिले आवश्यकताअनुसार चौडा सडकको माग भइरहेको छ ।’

सरकारले आगामी आवमा जनकपुर–कुर्था–बिजुलपुरा र जोगबनी–बिराटनगर खण्डमा रेल सञ्चालनको तयारी गरेको मन्त्री नेम्वाङले बताए । उनका अनुसार सरकारले सबै प्रदेशमा इम्बोस्ड नम्वर प्लेट वितरणको योजना बनाएको छ । सरकारले विभिन्न स्थानमा जल यातायात सञ्चालनका लागि अवरोध हटाउने उनको भनाइ छ ।

मन्त्रालयका सचिव रविन्द्रनाथ श्रेष्ठले कतिपय नयाँ ट्रयाक खोलिने भएपनि कतिपय भइरहेका सडकलाई राजमार्ग बनाउँदा स्तरोन्नति हुने गरेको बताए । अघिल्लो महिना सम्पन्न योजनामा समेत आर्थिक वर्षको अन्तिम महिनामा एकै पटक भुक्तानी हुने गरेको बताए । उनले भने, ‘यसले गर्दा एकै महिनामा धेरै काम भएको जस्तो देखिने गर्छ ।’

Tags :
प्रतिक्रिया दिनुहोस