डाक्टर नानी « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

डाक्टर नानी


१८ जेष्ठ २०७८, मंगलबार


कोरोना नेगेटिभ भएको १५ दिन पछि ….
शरीर पुरै तङ्ग्रिसकेको थिएन मानसिक र शारीरिक स्वास्थ्य लाभको लागी घरमै आराम गर्दै थिए, डाक्टरको फाेन आयो : ‘आमा ! कस्तो छ अहिले ? हजुरको सबै रिपोट राम्रो छ केही आराम गर्नुस् मैले भने अनुसारको खानपिन गर्नुस् कुनै चिन्ता लिनुपर्दैन ।’’ मलाई फेरि पनि लाख भयो । यो कोरोनाको कहरले सहर मात्र होइन पुरै देश र विश्व आक्रान्त छ । म एउटा साधारण बिमारीलाई डाक्टरले त्यो पनि डिस्चार्ज भए पछि घरमै फोन गरेर यत्ति भन्नु मेरो लागी सानो कुरा थिएन । डाक्टरले फोन राख्नु अघि भनिन् ’’आमा म हजुरलाई शनिवार लिन आउँछु मेरो ममीले हजुरलाई भेट्ने र सँगै खाना खाने भन्नुभएको छ । नाइँ नभन्नुहोला नि । म मेरी ममीको कुनै पनि कुरा नाइँ भन्न सक्दिन आमा ।’’

यति भनेर फोन काटियो । बडो अचम्म लाग्यो अस्पतालमा आफ्नो ज्यानै जोखिममा राखेर मेरो उपचार गरेर नपुगेर फेरि किन यति धेरै चासो र माया गरेकी होलिन् यी डाक्टर नानीले । जीवनमा कहिलेकाहीँ यस्ता डाक्टर पनि भेटिदा रहेछन् । साँच्चीकै डाक्टर भनेका भगवानै हुँदा रहेछन् । त्यो भन्दा पनि बढी त के कुरा भने जीवनमा पहिलो पटक उपचारको क्रममा भेट भएकी यी नानीले मलाई आमा भनेकी थिइन । यी डाक्टर नानी नभएको भए म बाच्ने थिइन यो कुरा अस्पतालका सबैले भनेका थिए उपचार गर्दा र डिस्चार्ज हुँदा पनि ।

गम्भीर लक्षण भएकोले अस्पतालले शुरुमै भर्ना लिन मानेको थिएन रे । अनि मेरो अनुहार देख्ने वित्तिकै यिनै डाक्टर नानीले आफ्नो जिम्मेवारीमा रहने गरि भर्ना लिन लगाएकी रहेछिन् अस्पताललाई धेरै कर गरेर । हुन पनि यिनले डाक्टर भएर मेरो उपचार गरिन, छोरी जस्तै भएर पुरै ख्याल गरिन नर्स भएर स्याहार गरिन किनकि कोरोनाको बिमारीको नजिक कोही नर्स पनि जाँदैनथे ढोकैबाट हेर्थे भेन्टिलेटरको सबै काम नै डाक्टर नानी आफैले गरिछन । यो कोरोनाको बिमारी नै यस्तै खालको थियो ।

दैनिक मानिसहरू मर्थे, यही अस्पतालमा पनि मरे कोरोनाकै कारण । तर खै किन हो मलाई यी डाक्टर नानीले मर्न दिईनन । डाक्टरको डिउटी सके पछि पनि अरूको सट्टा थप डिउटी लिएर अस्पताल छाडिनछिन । कानेखुसी गर्थे रे यति ख्याल त कसैले आफ्नै आमालाई पनि गर्दैनन् । झन् कोरोना बिमारीको त परिवारका सदस्य र आफन्त नै नजिक पर्दैनथे । विजय र पूजाले विदेशबाट अस्पतालमा फोन गरेर भन्थे रे ’जति खर्च लागे पनि हामी गर्छौ तर ममीलाई जसरी पनि बचाइदिनुहोला’ । एक दिन त यिनै डाक्टर नानीलाई पनि फोनमा रुँदै त्यही भने रे । बुहारी र ज्वाइँले पनि त्यसै भनेछन् । उता पनि कोरोनाको कहर उस्तै थियो पुरै लकडाउन, त्यसैले आई हाल्न पनि सम्भव त थिएन । यता खर्चको त कुनै चिन्ता थिएन, सरकारले निःशुल्क उपचार गरेकै थियो ।

यस्तो महामारीमा उपचार भन्दा पनि परिवार वा आफन्तको साथ र पुरै रेखदेख एवं हौसला चाहिँदो रहेछ । मनोबल खस्कियो भने बाच्न गारो हुने रहेछ । झन् यो कोरोना त बिमारीले भन्दा पनि मनोबल खस्केर, उपचार नपाएर, खानेकुरामा ध्यान नपुगेर वा डिप्रेसनमा गएर यस्तै कारणले धेरैको ज्यान जाने रहेछ । उति वेला मैले पनि कोरोना समक्ष आफूलाई आत्मसमर्पण गरिसकेकी थिए । अरू वेला हाम्रो लागी जे पनि गर्न तयार हुने छिमेकी, नातेदार, समाजसेवी र राजनीतिक कार्यकर्ता कोही पनि नजिक परेनन् । उनीहरूले कुनै खास खोजखबर गरेको जानकारी प्राप्त भएन । साथ दिनेहरूले पनि सहज दिनमा मात्र साथ दिने रहेछन्, मुखले जे बोले पनि व्यवहारमा चाही सबैलाई आफ्नै ज्यू ज्यान प्यारो हुँदो रहेछ पहिला ।

वास्तवमा यो सन्सारमा म एक्लै रहेछु भन्ने कुरा पहिलो पटक महसुस गर्दै थिए । ढिलै भए पनि यो समाज र संसारको एउटा ठूलो सत्य र तथ्य थाहा भयो मलाई । त्यो वेला मलाई दिवङ्गत श्रीमानको अभाव खट्कियो । पहिलो पटक उसको अभाव महसुस गरेकी थिए मैले । भगवानमा विश्वास गर्थे । सायद त्यसैले होला भगवान् स्वयं आउन नसकेर यी नानीलाई मेरो लागी पठाएको । भन्थेः अरू कोही नहुनेको लागी भगवान् हुन्छन् । मेरो लागी भगवानकै साक्षात् दूत भएर प्रकट भइन यिनी । जीवनमा कुनै उपाय नलागे पछि भगवानको झन् धेरै आस र विश्वास लाग्दो रहेछ । यिनै देवदूतलाई अनुभव गर्दै जाँदा मलाई जीवनको लोभ पनि लाग्दै गयो यी डाक्टर नानीको मेहनत र भरोसा खेरा नजाओस् भनेर पनि ।

ममा देखिएको लक्षणहरू यति कडा रहेछन् कि ती लक्षण हुने बिमारीहरू प्रायः फर्किदारहेनछन । अहिले कोरोना सम्बन्धी भिडियो, रिपोट र समाचारहरू हेर्दा पढ्दा आफ्नै आङ सिरिङ्ग हुन्छ । जीवनमा एकै पटक धेरै खालका अचम्मका अनुभव लिँदै थिए म, दोस्रो जीवन पाए सरह आफूलाई भाग्यमानी सम्झिन्थे र दङ्ग पर्थे । मैले उनको अनुहार पनि राम्रोसँग ख्याल गर्न सकिन, जतिवेलै अनुहार पुरै ढाक्ने मास्क लगाएको हुन्थ्यो । १६ दिन अस्पतालको बसाइ पछि डिस्चार्जको वेला म एम्बुलेन्समा बसे पछि बाहिरबाट मास्क खोलेर मुसुक्क हाँस्दै वाई वाई गरेको देखेकी थिए । अनुहार चाही उज्यालो र चम्किलो थियो ।

उमेर भर्खर ५५ कटेको थियो । कालगतीले मरिहाल्ने उमेर पनि होइन यो र कुनै खास दिर्घरोग पनि थिएन शरीरमा । तर, बढी उमेरकालाई कोरोनाले सजिलै मृत्युसम्म पुर्याउँछ भन्थे । अनि सवैजना डराउँथे, म पनि डराए सुरु सुरुमा तर पछि लक्षणले च्याप्दै लगे पछि केही मेसो नै भएन के भयो कस्तो भयो । सबै कुरा वेहोसीमा, सपनामा अनि अर्कै संसारमा भए जस्तो लाग्थ्यो । अरू वेला पनि पनि कहिलेकाहीँ साह्रै पट्यार लाग्थ्यो जिन्दगीमा । सारै एक्लो महसुस हुन्थ्यो यो जीवन । वहाँको याद याद आउँदा रातभरि निदाउन सक्दिनथे ।

छोराछोरीहरू सँगै हुँदा धेरै सजिलो लाग्थ्यो, धेरै कुरा भुलिन्थ्यो । जब छोराछोरी चराका बचेरा जस्तै पखेटा लागे जसै भुरुरु उडेर गए । म फेरि एक्लै थिए । साँच्चीकै श्रीमान् श्रीमती चाहिने त बुढेसकालमा पो रहेछ जस्तो लाग्थ्यो । अरू कसैलाई साथमा राख्ने पनि मन आएन भित्रै देखि । मलाई मेरो निजी भाग्यले दिएको एकल जीवन नै स्वीकार गर्ने निर्णय गरेकी थिए । वाकी जीवन वहाकै याद र स्मृति संगालेर बस्ने बाहेक अरू कुनै रहर र उमङ्ग बाँकी थिएन मनमा ।


पटक पटक स्मृतिमा आइरहन्छ । विए पढ्ने धोको हुँदा हुँदै २० वर्षकै उमेरमा विवाह भयो ४२ सालमा पुरै मागी विवाह । नजिकको नातेदार आउनुभएको थियो माग्न, बुबाले नाइँ भन्नु भएन, आमाको राय लिने चलन थिएन छोरीले विद्रोह गर्न सक्ने सामर्थ्य पलाइसकेको थिएन । आई ए पढेकै भए पनि एउटा परम्परागत बुहारी भएर म भित्रिए सुवेदीको घरबाट अर्यालको घरमा थर नै थपेर । वहाँले पढ न त भन्नु भएको थियो तर खै म मा नै पढ्ने जोस र उमङ्ग हराएर नितान्त बुहारी भएर रमाएकी थिए भनौँ ।

हाम्रो उमेर २ वर्ष मात्र फरक थियो । वहाँले विवाह गर्दा नै विए पास गरिसक्नुभएको थियो र पृथ्वीनारायण क्याम्पसमा एमए पढ्दै स्कुलमा पढाउन थाल्नुभयो । एमए सक्ने बित्तिकै संयोग नै भन्नुपर्छ वहाले पृथ्वीनारायण क्याम्पसमै पढाउने अवसर पाउनु भयो र छोरो जन्मियो । नाम राखियो विजय । परिवारमा खुसीयालीको वर्षा भयो । दुई वर्ष पछि ४७ सालमा छोरी जन्मी अनि त्यही साल वहाँको विश्वविद्यालयको जागिर पनि स्थायी भयो । छोरीको नाम राखियो पूजा । खुसीका साथ जीवन चलेको थियो । हामी भन्दा भाग्यमानी कोही छैन जस्तो लाग्थ्यो । अरू पनि यसै भन्थे । घर, माइती सबै तिर हाम्रो लोभलाग्दो जीवनको चर्चा हुन्थ्यो । तर अचानक के झोक चल्यो कुन्नि वहाले ५० सालमा क्याम्पसको स्थायी जागिर अचानक छाडेर काठमाण्डौमा एउटा निजी बैङ्कमा शाखा प्रबन्धकको जागिर सुरु गर्नुभयो । क्याम्पसको जागिर छाड्ने र बैङ्कमा जागिर खाने अवधिमा वहाँ निकै तनावमा हुनुहुन्थ्यो तर यसबारे कहिलेही केही कुरा खुलाउनुभएन हामी बिच । हामी सबै जना सँगै काठमाडौँ आयौ र कुलेश्वरमा एउटा फ्ल्याटमा बस्न थाल्यौ । भर्खर प्लस टु को माहौल सुरु भएकोले होला काठमाडौँ सरे पछि बिहानको समयमा वहाँको व्यस्तता निजी क्याम्पसमा नि ह्वात्तै बढ्यो । क्याम्पस छाड्दा खेरि पाएको रकम, बैङ्कको आकर्षक तलब अनि प्लस टु को आम्दानी ।

आर्थिक रूपमा हामीलाई धेरै सहज भयो र ५८ सालमा नै केही सापटी सुविधा बैङ्कबाट लिएर हामीले आफ्नै घर बनायौ सुकेधाराचोक नजिकै । जीवनको रथ गज्जबले चल्दै थियो । विजय र पुजाको पढाई राम्रो थियो राम्रै नाम चलेका विद्यालयमा पढेका थिए । वहाँलाई बैङ्कले गाडी सुविधा दिएको थियो, आफै चलाउनुहुन्थ्यो । अफिस आउन जान सजिलो भएको थियो । सानो परिवार, सुखी परिवार अनि भाग्यमानी परिवार भनेको हाम्रै हो कि जस्तो लाग्थ्यो । जीवनमा कुनै अभाव थिएन, परेको वेला अरूलाई सहयोग गर्न सक्ने सम्मको व्यावसायिक र व्यक्तिगत हैसियत वनेको थियो । तर जीवनको त्यो गाडी अर्को मोडमा कसरी पुग्छ भन्ने कसलाई के थाहा हुँदो रहेछ र रु हाम्रो जीवनमा समयले उल्टो गति लिँदै छ भन्ने कसलाई के थाहा !

सधैँ झैँ अफिस निस्कनु भएको वहाँ २०६० साल मङ्सिर २९ गते, त्यस पछि फर्केर आउनु भएन । म अस्पताल पुग्दा एक पटक आँखा चलाए जस्तो गर्नुभयो अनि नजर स्थिर भयो । त्यो कसरी भयो किन भयो, त्यसपछि के भयो मलाई केही थाहा भएन । अन्तिम संस्कारका धमिला दृश्यहरू मात्र स्मृतिमा छन् अहिले सम्म ।

वहाँ अफिस जान बिहान निस्के पछि सुकेधारावाट धुम्वाराही नपुग्दै वहाँको गाडीले पछाडिबाट पानी ट्याङ्करले जोडसँग हानेको रहेछ अचानक । स्पिडमा रहेको त्यो ट्याङ्करको धक्काले वहाँ चढेको गाडी सडकबाट उफ्रिएर पर्खालमा ठोक्किँदा त्यसैको चोटले वहाँको जीवन समाप्त भएको रहेछ । उति खेरै ट्याङ्कर चालक आफैले उद्धार गरेर वहाँलाई अस्पताल लैजान खोजेको रहेछ र पछि प्रहरीले लगेछ, तर स्थानीयले ट्याङ्कर चालकलाई नराम्रोसँग पिटेछन्, ट्याङ्कर जलाएछन् अनि चालकलाई मुस्किलले प्रहरीले जोगाएर हिरासतमा राखेछ ।

यो दुर्घटना भए पछिको १३ औ दिन सम्म माहौल केही शान्त थियो अर्थात् शोकले मुर्दा शान्ति जस्तो थियो । घरी होस खुल्ने घरी वेहोसी हुने यस्तै गरी क्रियाकाजको काम सकियो । मलाई घरीघरी आत्महत्या नै गरूँ जस्तो लाग्थ्यो । तर ९ कक्षा र ७ कक्षामा पढ्ने ती साना छोराछोरीको अनुहारले मलाई रोक्थ्यो । अहिले पनि सम्झिँदा यस्तो लाग्छ, तिनीहरूको मुख हेरेर म बाचे नत्र बाच्न सक्ने थिइन ।

एकातिर शोकको यस्तो अवस्था थियो, सारा जीवन नै समाप्त भएको थियो । उता तिर चौकीमा केश थियो । ट्याङ्कर चालक हिरासतमा थियो । मेरा आफन्त, नातेदार, शुभचिन्तक, छिमेकी, बैङ्कका स्टाफ सवैजना त्यो चालकलाई हत्यारा सरह जेलमा हाल्नुपर्ने, ट्याङ्कर साहुले क्षतिपूर्ति सरह २० लाख दिनुपर्ने र मेरा छोराछोरी पढाउनुपर्ने भन्थे । अरू कुरा बुझे पनि यो क्षतिपूर्ति भनेको के रहेछ मैले बुझ्न सकेकी थिइन । मेरो लागी मेरो लोग्ने मसँग थिएन, मेरा छोराछोरी टुहुरा वनेका थिए यसको क्षतिपूर्ति के रहेछ खै मैले सोधिन पनि उनीहरूले वताएनन पनि । म केही बोल्न र सोच्न सक्दिनथे । हरेक दिन मलाई मेसिन सरह चौकीमा लान्थे, केही बोल्न भन्थे मेरै मान्छेहरूले, म केही सोच्न बोल्न सक्दिनथे । चालकलाई कडा सजाय दिनुपर्ने कुरामा जोड दिएर मानिसहरू हामी प्रति सहानुभूति देखाएको अनुभव गर्थे । म मेरा छोराछोरीको अनुहार र अँध्यारो भविष्य मात्रै सम्झेर भक्कानिन्थे भित्रभित्रै । प्रहरीलाई पनि खुब दबाब थियो कि कडा भन्दा कडा सजाय प्रस्ताव गरेर मुद्दा लैजान अनि धेरै रकम क्षतिपूर्ति सरह दिलाउन । प्रहरीको हाकिमलाई मिडिया र राजनीतिकर्मीले पनि च्याप्दै लगेका थिए र मलाई सहानुभूति दिए झैँ गर्थे । म कुहिराको काग झैँ थिए ।

मेरो पक्षमा सबै जना भए पनि उता तिर चालकको पक्षमा कोही खुलेर वोल्दैनथे । उसको भनाई र ट्राफिक प्रहरीको प्रतिवेदन अनुसार ट्याङ्करले व्रेक फेल भएर दुर्घटना भएको रहेछ । त्यही भएर चालक विरुद्ध ज्यान लान सकेको रहेनछ । तर, हामी माथि सहानुभूति राख्ने नाममा सबै तिरबाट ज्यान मुद्दा लैजान दबाब रहेछ । क्षतिपूर्तिको लागी ट्याङ्कर साहु तयार भएन, जे गर्ने हो डाईभरलाई गर, त्यही ट्याङ्करलाई गर भन्दै उ चौकी आउनै छाड्यो । उसको ट्याङ्करै जलेको थियो, आफै पीडित थियो, ट्याङ्कर पनि ऋणमा किनेको रहेछ बिचरो । साहु आउन छाडे पछि चालकको पक्षमा वोलीदिने त के भेट्न आउने समेत कोही भएनन् । घर सिन्धुलीको कुनै गाउँ रहेछ । सुरुमा आफन्तहरू आएका थिए र पछि उनीहरू पनि आउन छाडेछन् । घरमा भएका बुढाबुढी आमा बुवा आउन सक्दैनन् रे । दुई वटा साना छोराछोरी लिएर उसकी श्रीमती आउँथी खाना लिएर । छोरी १० वर्ष जति र छोरो त्यो भन्दा पनि सानो थियो । मेरै अगाडिबाट जाँदा पनि उ मसँग आँखा जुधाउदैनथी, बरु छिटो छिटो पाइला चाल्थी ।

मानिसहरूलाई उसले नै मेरो श्रीमानको हत्या गरेको हो कि झैँ गरेर श्रीमती समेतलाई आँखा तरेर हेर्थे । उ आफै पनि एक थकित, गलित र आफै अपराध स्विकारे जस्ती देखिन्थी । छोराछोरीहरू स्कुल जान्थे रे तर बाऊ हिरासतमा परे पछि जाने वातावरण भएन रे र स्कुलले पनि नआइदिए हुन्थ्यो जस्तो गरेछ र जानै छाडेनछ । सुनियो कि घरबेटीले पनि डेरा छाड भन्न सुरु गर्‍यो रे । केटाकेटीको अनुहार हेर्दा पनि सारे थाकेका, पाकेका, भोकले ग्रस्त भए जस्ता, हप्तौँ ननिदाए जस्ता अनि ओठ नै कलेटी परेका रहेछन् । नुहाइधुवाई नभएर होला, सारै फोहोरी देखिन्थे ।

कपडाका बटन पनि सबै थिएनन्, पुराना चप्पल लगाएर आउँथे । कसै कसैले केही खाएको देखे पनि घुटुक्क थुक निले जस्तो गर्थे । बिचराहरू अरू मान्छे देख्दा पनि परैबाट तर्सिन्थे, खै किन हो डराउँथे । खाना खाइन्जेल बाउको अनुहार पालो पालो हेर्थे, केही बोल्दैनथे । रुँदा पनि रुन्थेनन, रुँदा रुँदा थाकेर होला । चालक बाउको अनुहारमा पनि याचना र पश्चात्ताप बाहेक केही देखिदैन्थ्यो । एक दुई पटक मेरो सामुन्ने परेको थियो छलफलको क्रममा । उसले केही भनेर केवल रुन्चे अनुहार लिएर हात मात्र जोड्थ्यो । मैले केही नभने पछि धोको फेरेर रोएको थियो दुई पटक त । उसकी श्रीमती उमेरमा म भन्दा सानै होली तर विवशता, जिन्दगी र परिस्थितिको जाँतोमा निरन्तर पिँधिएर होला, म भन्दा पाकी देखिन्थी, स्याहार नगरेको अनुहारले झनै उसलाई रोगी जस्ती देखाउँथ्यो ।

चौकी आउने जाने क्रममा त्यो चालक, उसकी श्रीमती उसका छोराछोरी र आफन्तविहिन सहाराविहीन उनीहरूको सम्भावित भविष्य सम्झेर मैले मेरो व्यथा सानो लाग्न थालेको थियो । उनीहरूलाई हेर्दा हेर्दै मैले आफूलाई सम्झेँ मेरो आफ्नै घर छ, बैङ्कमा केही रकम छ, बैङ्कले ५० लाखको ईन्सुरेन्स गरेको रहेछ, ढिलो चाँडो त्यो पैसो पनि आउला, बैङ्कले मलाई बैङ्कमै जागिर दिन्छु पनि भनिसकेको छ । नत्र पनि केही पढेकी छु, केही गर्न सकुँला । उसका भन्दा मेरो छोराछोरी केही वर्ष भए पनि ठुला छन् । मेरा आफन्त नातेदार, घर माइती सबैले साथ दिएका छन् दिन्छु भनेका छन् ।

एकाएक उ भन्दा म आफू निकै सक्षम र सजिलो भविष्य रहेको अनुभव गर्न थाले । मसँग दुर्घटनावश मेरो श्रीमान् नभए पनि मेरा बच्चाको बाबु नभए पनि उसले हाम्रो लागी सुरक्षित जीवन दिएर गएको रहेछ । तर, यी अभागीहरूको बाऊ जिउँदै हुँदा पनि उनीहरूको जीवन नर्क भएको थियो, त्यो पनि मेरो जीवनको एउटा दुखद घटनासँग अनायास जोडिएर ।

एक दिन फेरि चौकीमा मिलापत्र गर्नुस् भन्दै बोलायो प्रहरीको हाकिमले । म हाकिमको कोठाको मेचमा बसेकी थिए । चालक आयो बयानै गर्न नसकिने भाव, भङ्गी र अनुहार लिएर । उसकी श्रीमती पनि आएकी थिई, छेउमा टुक्रुक्क बसी, छोराछोरी उभिए र आफ्नी आमालाई समाते । चालक उंधोमुण्टो लगाएर उभिएको थियो । मेरा आफन्त र शुभचिन्तकहरू मैले उसको अनुहारमा थुकिदिए हुन्थ्यो, गाली र घृणा गरिदिए हुन्थ्यो अनि कडाइका साथ आफुलाई पेस गरिदिए हुन्थ्यो भन्ने भावमा प्रस्तुत भएका थिए ।

तर, मैले उनीहरूको अनुहार हेर्नै सकिन, मलाई अर्कै खाले भाउन्न भयो र निस्कन जुरुक्क उठे केही नबोली । लौ आजै छिनोफानो गर्ने सबै कुरा भन्दै थिए सबैले र मेरो अन्तिम कुरा सुन्न चाहन्थे । कहिलेकाहि केही नबोल्ने उसकी श्रीमतीले च्याप्प मेरा दुई खुट्टा समाई र एकोहोरो ग्वां ग्वां रुन थाली, उ राेएको सुनेर उसका छोराछोरी पनि छाँद हालेर रुन थाले । केही बोलिन र खुट्टा पनि नछोडी रोइरही, एकोहोरो । लोग्नेचाही उभिएकै ठांउमा थचक्क बस्यो । मैले खुट्टा छुटाएर अघि वढदै गर्दा उसका लोग्नेको अनुहारमा नजर पर्‍यो । आँखा भरि आशु लिएर फेरी जुम्लाहात गरिरह्यो । म बस्न सकिन त्यहावाट हिँडे ।

त्यो रातभर म निदाउन सकिन । मेरो जीवनमा ठूलो आघात परेको थियो । त्यसको कुनै नापो र क्षतिपूर्ति थिएन, उपाय थिएन । र, मेरो जस्तै त्यो परिवारको पनि जीवन सकिन लागेको थियो तर त्यसको केही उपाय वाकी थियो । मेरो क्षतिसँग उनीहरूको जीवन र भविष्य गाँसिएको थियो । तर, उसको सकिएको जिन्दगी अरू निचोरेर मैले के पाउन सक्थे होला र बरु त्यसबाट हरेक दिन थप तनाव र मानसिक दुख थप्नु थियो ।

आखिर उसले पनि जानी जानी दुर्घटना गराएको वा मेरो श्रीमानसँग कुनै रिसईवी साध्नको लागी पनि गरेको हैन नि । जसरी मेरो श्रीमान् आफ्नो डिउटीमा जाँदै थियो, उसै गरिकन उसले पनि आफ्नो डिउटी गदैं थियो । दुर्घटना दुवैका लागी थियो, फरक यत्ति हो कि मेरो श्रीमानको ज्यान गयो उसको बच्यो । त्यो दुर्घटनामा यसको उल्टो पनि त हुन सक्थ्यो । उसले दुर्घटना पछि पनि त मेरो श्रीमानलाई बचाउन सक्दो कोसिस गरेकै रहेछ । मेरो क्षतिसँग उसको जिन्दगी जोडियो तर यसमा उसको के दोष ? यस्तै सोच्दै निदाएछु । वहाँ बितेको १ महिना पछि पहिलो पटक सपनामा देखे वहाँलाई ।

चालकको छोराछोरीलाई आइसक्रिम किनेर ख्वाउँदै हुनुहुँदो रहेछ । मैले भने किन अर्काको बच्चालाई खुवाउनुभएको चिसो लाग्यो भने ! वहाले उसको छोरी चाहीलाई मुसार्दै भन्नुभयो यो तिम्रो छोरी जस्तै होइन र ? यति भनेर वहाँ कता हराउनु भो कता । म व्युझिहाले । फेरि सम्झे त्यो आइमाईको एकोहोरो रुवाई, छोराछोरीको अवस्था अनि उसको लोग्नेको विवशता । म निदाउन सकिन त्यसपछि ।

भोलिपल्ट १० बजे नै चौकी पुगेर प्रहरीको हाकिमलाई दुई हात जोडेर भने : ‘सर! यिनीहरूलाई कुनै ठूलो सजाय दिएर मेरो श्रीमान् फिर्ता आउनुहुन्छ भने त्यो सजाय दिनुस्, उसले जानी जानी मेरो श्रीमानलाई मारेको हो भनेर मेरो मनले मान्दैन । मेरो त श्रीमान् बित्नु भयो र म अवाला भए होला, तर म मेरा बच्चालाई टुहुरा हुन दिन्न, तर उ जिउँदै हुँदै विना कारण ती बालबच्चाहरूलाई टुहुरो बन्न नदिनुहोला ।

यो केश पुरै फिर्ता गरिदिनुस् म शान्तिसँग बाच्न चाहन्छु र वहाँको आत्मालाई पनि वैकुण्ठमा शान्तिका साथ रहेको अनुभव गर्न चाहन्छु । उसको गल्ती नै भए पनि उसको परिवारले सजाय पाउनु हुँदैन ’’ । प्रहरीका हाकिमले चालकलाई बोलाउन लगाए अनि फाइल निकाले । उनले जहाँ जहाँ भने उही उही मैले सही गरेर हिडदै थिए । उसले मेरा खुट्टा च्याप्प समातेर निधार नै राख्यो । केही बोलेन उ पनि म पनि केही बोलिन । उसकी श्रीमती खाना लिएर बाहिर उभिएकी रहिछ, केही नबोली दुई हात जोडेर हेरिरही मलाई ।

गेटमा पुगेर हेरे केटाकेटीहरूको निधारमा चुम्मा खादै थिई उ । त्यसपछि फटाफट म घर आए । अहिले सम्म उनीहरूसँग भेट भएको पनि छैन र कहाँ के गर्दैछन, त्यो पनि थाहा छैन । कसले के भने मैले कुनै वास्ता नगरी १७ वर्षको अवधिमा छोराछोरी हुर्काए, पढाए, बिहेवारि गरिदिए र अहिले उनीहरू विदेशमा खुसीका साथ सपरिवार सेटल भएका छन् ।

मैले मेरो श्रीमान् गुमाए पनि बहकाउ र भावनामा नलागेर एउटा परिवारलाई अन्यायमा पर्नबाट जोगाएको प्रति मलाई गर्व महसुस गर्छु । आज कोरोना जितेर आउनुको पछाडि पनि त्यही पुण्यले काम गरेको जस्तो लागेको छ मलाई ।


शनिवार बिहानै उसैले फोन गरेर कस्तो छ आमा भनी । मैले ठिकै छ छोरी भने । खै किन हो यसपालि छोरी भन्न पुगेछु अनायास । उसले घरको लोकेसन सोधी मैले लोकेसन बताए पछि ९ बजे आउँछु आमा तयार भएर वस्नुसहै भनी । मैले हुन्न भन्न सक्ने ठाउँ नै थिएन । तयार त के नै हुनु थियो र फोन राखेर ९ बजेको समय पर्खेर बसे । नभन्दै ९ बजे गाडी लिएर उ आई । मलाई पछाडिको सिटको ढोका खोलिदिएर उ चालक सिटमा बसी । म केही सोच्न सकिरहेकी थिइन । साङ्ग्रिला अपाटैमेण्टको गेटबाट गाडी भित्र छिर्‍यो । आमा सिँढीबाट हजुरलाई गारो होला लिफ्टबाटै जाऔ है भन्दै लिफ्टको ३ नम्बर बटन दबाइन । लिफ्ट खुल्न केही बेर लाग्यो । यसै वेला उनले भनिन आमा हजुरको केशलाई सबैले क्रिटिकल भनेका थिए तर मैले हजुरलाई चिनिहाले अनि मेरो डिउटी सकिएको भए पनि भर्ना गरेर मात्र म घर आएको थिए त्यो दिनमा ।

बुबा ममीलाई यो कुरा भने पछि वहाहरुले मलाई हप्काउँदै भन्नु भयो : लौ, जसरी नि बचाउनु पर्छ यो जिम्मा तिम्रो हो । वहाँलाई निको नभए सम्म नछोड्नु, फर्किहाल भन्नुभयो । उनको ज्यान बचाएर मात्र फर्कनु भनेर कडिकडाउ आदेश दिनुभयो । मैले हेरेका हरेक बिमारीको बारेमा म मेरो ममीलाई बताउँछु । तर यति सारो चासो लिनुभएको र मलाई अत्यन्त कडा रूपमा आदेश दिनुभएको यो पहिलो पटक थियो । त्यै भएर मैले पनि सिरियसली लिएको आमा । अनि हजुर डिस्चार्ज नभए सम्म म हस्पिटल नै बसे, हजुर निको नभए सम्म ममीको नजिक आउने आँटै आएन ।

डिउटी भएको वेला डिउटी गरे डक्टर भएर, अरू वेला हजुरको नजिक बसे छोरी भएर, फरासिलो भएर मुसुक्क हाँसिन उनी मास्क बाहिरै वाट अनुभव गर्ने गरी । यति भनिसक्दा हामी लिफ्टबाट बाहिर निस्किसकेका थियौ । यिनले के भन्दै थिइन मैले केही मेसो पाउन सकेकी थिइन र केही बोलकी पनि थिइन म । मलाई असहज लाग्दै थियो, तर पनि सँगै छिर्‍यौ हामी उनको अपार्टमेन्ट भित्र । भित्र फराकिलो बैठकमा वस्नुस आमा भनेकी मात्र थिइन, मेरो आँखा सिधै अगाडि भित्तामा टांगिएका पांचवटा ठुला फ्रेमका तस्वीरमा गयो, त्यसामा शिव, पार्वती, लक्ष्मी, सरस्वती अनि दुइटा मानिसका आकृति थिए । ती मध्ये एउटामा चिटिक्कको माला थियो । मलाई भाउन्न भयो ।

अर्धचेत जस्तै भएर थुचुक्क बसे सोफामा । ती तस्वीर मध्ये एउटा म र अर्को मेरो दिवङ्गत श्रीमानको थियो, भगवानका तस्बिरसँगै राखेर तिनलाई पूजा गरिएको थियो त्यहाँ । भित्रबाट एउटा प्रौढ जोडी निस्किए जस्तो लाग्यो । त्यो जोडी म बसेको सोफा अगाडि आएर थुचुक्क बसे अनि भन्न थालेस् ‘आज हामीले साक्षात् देवीको दर्शन पायौ, हामी अव जिउँदै स्वर्ग पुग्यौँ भन्दै धरधरी रुन थाले ।

मास्क खोलेर राख्दै डाक्टर नानीले भनिन् -आमा हाम्रो परिवारले हजुरहरुलाई साक्षात् भगवानकै कोटीमा राखेको छ । मेरो बुवाले वहाँलाई बचाउन नसके पनि हजुरले हाम्रो परिवारलाई वचाउनुभो, नयाँ जीवन दिनुभयो । मैले हजुरलाई बचाउन सहयोग गर्न पाए, एउटा डक्टर छोरी हुनुमा मलाई गर्व छ आमाु भन्दै उनी पनि मलाई अँगालो हाल्दै सुँक्क सुँक्क गर्न थालिन, आखिर नारी ह्रदय नै थियो त्यो, डाक्टर नै भए पनि ।

मलाई पुरै याद आयो, मेरो श्रीमानको दुर्घटनासँग जोडिएको ट्याङ्कर चालकको जोडी थियो त्यो, जसलाई मैले ६० सालको हिउँदमा प्रहरी कार्यालयमा यस्तै हालतमा छोडेर आएकी थिए । म पुरै सपनामा हराए । मलाई भाउन्न भयो, कोरोना भन्दा पनि कडा भाइरस मेरो शरीर भित्र प्रवाहित भयो । मेरा पनि आँखा छचल्किएर काखमा लडवडिएकी डाक्टर नानीको शरीर चिसो बनायो ।

बैठकको अर्को भित्तातिर लगेर आफूलाई भुलाउन खोजे, ठूलो स्किृनको टिभीमा राष्ट्रपतीले मेलम्चीको पानी उद्घाटन गरेको भिडियो आइरहेको थियो । के सोच आयो कुन्नि मलाई यस्तो लाग्यो : ‘यदि यो मेलम्ची पहिलेही आइदिएको भए यी चालकले पानी ट्याङ्कर चलाउनै पर्दैनथ्यो होला …..।’

अचानक याद आयो र उनीहरूलाई पालैपालो स्नेहका साथ उठाउँदै बिस्तारै सोधे -अनि वावु खै त रु डाक्टर नानी वोलिनः उसको आज १ बजे सम्म डिउटी छ आमा, एक छिनमा आउँछ । उ पनि नेपाल बैङ्कको जागिरे छ, एक वर्ष भयो उ व्राञ्ज मेनेजर भएको । त्यस पछि म बोल्नै सकिन । हामी बिच धेरै बेर सन्नाटा छायो ।


………………….डा. सिमाको सङ्घर्षमय डाक्टरी यात्रा उनकै डायरीबाट क्रमशः ………….

Tags :
प्रतिक्रिया दिनुहोस