सातै प्रदेशमा अक्सिजन प्लान्ट स्थापना र खोपका लागि कूटनीतिक पहल गर्ने माओवादी केन्द्रको निर्णय « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

सातै प्रदेशमा अक्सिजन प्लान्ट स्थापना र खोपका लागि कूटनीतिक पहल गर्ने माओवादी केन्द्रको निर्णय


१० जेष्ठ २०७८, सोमबार


काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले सात वटै प्रदेशका सरकारी र सामुदायिक अस्पतालहरुको वरिपरि सातवटा अक्सिजन प्लान्ट स्थापना गर्ने भएको छ । कोरोना महामारीमा अक्सिजन नपाएर स्वास्थ्य जोखिममा परेका नागरिकका लागि सहज रुपमा अक्सिजन उपलब्ध गराउन त्यस्ता प्लान्ट स्थापना गर्न लागिएको हो ।
कोरोना नियन्त्रणको लागि माओवादी केन्द्रको स्थायी समितिले पारित गरेको नीति, कार्यक्रम र संरचना सम्बन्धी प्रस्ताव अनुसार अक्सिजन आपूर्तिलाई सहज गर्न यस खालको प्रयास गर्न लागिएको हो ।
सो पार्टीको यही जेठ ५ र ६ गते स्थायी समितिको बैठक बसेको थियो । आइतबार स्थायी समितिले पारित गरेको कार्ययोजनामाथि केन्द्रीय समितिमा समेत छलफल गरिएको थियो ।
त्यसका लागि राष्ट्रिय र अन्तर्राष्ट्रिय सहयोग जुटाउन नेतृत्वतहबाट विशेष पहल गरिनेछ । यसका साथै पिपिई देश भित्रै उत्पादनको सम्भावनाका उचित विकल्पको खोजी तथा त्यसका लागि पहल गरिने उक्त प्रस्तावमा उल्लेख छ ।
स्थायी समितिको बैठकको निर्णय सार्वजनिक गर्दै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नागरिकको जीवन रक्षाका लागि पार्टीको तर्फबाट सबै खालका पहल तथा प्रयास गरिने उल्लेख गरेका छन् ।
स्थायी समितिको बैठकको निर्णयमा भनिएको छ, “ कोभिड १९ को दोस्रो लहरको तिव्रता र भयावहतालाई दृष्टिगत गर्दा सरकारले जनताको स्वास्थ्य सम्बन्धी मौलिक हक रक्षा गर्ने तथा सङ्क्रमण रोक्ने तयारी तत्परता र प्रभावकारीतामा पूर्णत असफल भएको छ ।”
कोरोनाको तेश्रो लहर पनि आउन सक्ने सम्भावनाप्रति विज्ञले सचेत गराई रहेको पृष्ठभूमिमा सम्भावित विपत्तीलाई सामना गर्न सक्ने प्रणाली निर्माणको तयारी आजको प्रमुख विषय बन्न पुगेको माओवादी केन्द्रले जनाएको छ ।
माओवादीले पार्टीको नेतृत्वमा नै कोभिड कोष खडा गर्ने भएको छ । त्यसका लागि  यसमा पार्टीको तर्फबाट संघ, प्रदेश र स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिले पाउने पारिश्रमिक एवं मासिक भत्ता र विभिन्न राजनैतिक नियुक्ति लिएकाले आफूले प्राप्त गरेको आम्दानी बुझाउन भनिएको छ । कोषमा पार्टीका सवै सदस्यले न्यूनतम योगदान गर्नुपर्नेछ ।
उक्त कोषमा सहयोगका लागि देशभित्र र बाहिर रहेका सवै जनवर्गीय सङ्गठनहरुलाई आव्हान गर्ने, पार्टी बाहिरका सहृदयी र मनकारी महानुभाव र विभिन्न संघसंगठनलाई अनुरोध गर्ने छ भने त्यसको ठोस निर्णय भने केन्द्रीय कोभिड स्वास्थ्य एकाइले लिने भएको छ । नेपालका  अन्तर्राष्ट्रिय सीमा नाकालाई कडाइपूर्वक व्यवस्थित गर्न पर्नेमा जोड दिँदै पार्टीले सीमावर्ती क्षेत्रमा कोरोना नियन्त्रण गर्न विशेष पहल गर्नुपर्ने, जनशक्तिको आपूर्ति कमी हुन नदिन र न्यूनतम भौतिक पूर्वाधार ९हेल्थ डेस्क, होल्डिङ सेन्टर निर्माण गर्न सरकारसँग आग्रह गरेको छ ।
अध्यक्ष दाहालले आज जारी गरेको विज्ञप्ति अनुसार विश्वव्यापी महाविपत्तिसँग लड्न केन्द्र, प्रदेश र स्थानीय तहसम्म सर्वदलीय, सर्वपक्षीय सयन्त्र निर्माण गर्न पुनः आग्रह गरेका छन् । माओवादीले अध्यक्ष दाहालकै नेतृत्वमा एक विशेष समिति गठन गरेको छ । प्रदेश तथा स्थानीय तहमा पनि त्यस्ता समिति गठन हुनेछन् ।
समितिले कोभिड नियन्त्रणका लागि जनतालाई सूचित गर्न र जनस्वास्थ्यका मापदण्ड लागू गर्न उत्प्रेरित गर्नेछ । यसले एक अर्का बीच संयोजन गर्नुका साथै सूचनाहरुलाई अद्यावधिक गर्न जोड दिनेछ । सबै तहका एकाइहरुले विभिन्न जनसंगठनबाट जनशक्ति लिएर आवश्यकता अनुसार स्वयंसेवक टीम गठन गर्नेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस