जीवित भगवान् आमा « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

जीवित भगवान् आमा


२८ बैशाख २०७८, मंगलबार


“बाह्र छोरा तेह्र नाति बुढाको धोक्रो काँधै माथि”भन्ने उखान अहिले चरितार्थ भएको पाइन्छ । जति छोरा छोरी भए पनि बुढेसकालमा एक्लो हुनुपर्ने बाध्यताबाट नेपाली समाज पनि अछुतो रहन सकेको छैन । गाउँ घरदेखि लिएर सहर बजारसम्म वृद्ध बा, आमा जीर्ण शरीर लिएर एक मुठी सासलाई जसोतसो जोगाएर छोरा छोरीको उन्नति प्रगति सम्झेर रमाई रहेका भेटिन्छन् जतिसुकै दुख, कष्ट र एक्लोपनाको भुमरीमा परे पनि आफ्ना सन्तानप्रति गर्व गरिरहेका छन् ।

मेरो ७० वर्षको आमा पनि एक्लै बस्नुहुन्छ, हेर्दा हट्टाकट्टा देखिनुहुन्छ तर उहाँलाई लागेका रोगहरू हातका औलाले मात्रै गन्न सकिदैन् । वृद्ध अवस्था एवं मक्किएको शरीर जेनतेन घिसार्दै एक्लोपना र औषधीको सहारामा आफ्नो जीवन रुपी नैया खियाउँदै हुनुहुन्छ । बुढेसकालमा छोरा, छोरी र नातिनातिनाका साथमा रमाएर बस्नु पर्नेमा रोगहरूसँग डराउँदै ढुङ्गा माटोको चारदिवार भित्र एक्लै गुम्सिएर बस्नु भएको छ । मन भित्र उम्लने खुसी, दुख, पीडा, तनावका ज्वारभाटाहरूमा एक्लै तैरिरहनु भएको छ । तर पनि सन्तानका कुरा आउना साथ कोहिनुर हिरा झैँ उहाँका आँखा चम्किला हुन पुग्छन् भने बोली र शरीरमा पनि अचम्मको तेज वा स्फूर्ति देख्न सकिन्छ । तर थाहा छैन हामी सन्तानहरू के को मृगतृष्णाको पछि पछि भागिरहेका छौँ । क्यारियर, शक्ति, पद र पहिचानको मोहमा दौडँदै गर्दा आमाले गरेका त्यागहरूलाई मूल्यविहीन बनाउँदै गई रहेका छौँ ।

खोक्रो आडम्बर र दम्भमा देश आफैले हाँकेको अनुभूतिले गमक्क परेर बेलुन फुले झैँ फुलेका छौ । सामाजिक सम्बन्धहरूलाई नजरअन्दाज गर्दे पदको क्षणिक आनन्दको लोभमा नराम्रोसँग फसिरहेका छौँ ।

प्रत्येक शुक्रवार म आमाकोमा बस्नेगरी जाने गर्छु । शुक्रवारको दिन शायद मेरो आमाको सबै भन्दा प्रिय दिन हो भन्दा फरक नपर्ला । त्यो दिन उहाँलाई पुरै घर झलमल भएको आभास हुन्छ रे । बिहानैदेखि शरीर हलुङ्गो भएर फुलको थुँगा नै बन्छ रे । सन्तानप्रति आमाको माया पनि अपरम्पार छ । छोरा छोरीको खुसीको लागि जति सुकै दुख कष्ट पनि हाँसी हाँसी सहिदिन्छन् ।

अफिस पुग्न पाएको हुँदैन फोन आई पुग्छ “तिमी कति खेर आउँछौँ ” भनेर । शनिवार घर फर्किने तरखर गर्दा आमा भन्नुहुन्छ “खाना खाएर जाऊ” “हस्” भन्दाको खुसीले उहाँलाई दिने आनन्द सायद अरू केहीले पनि दिदैन् होला । खाना खाए पछि भर्खर त खाना खाएको खाने वितिक्कै हिँड्न हुँदैन अब खाजा खाएर जाऊ भन्नुहुन्छ । खाजा खाए पछि अहिले घाम छ बेलुका शीतल हुन्छ अनि जाउली भन्नुहुन्छ र बेलुका भएपछि मलिन र रुन्चे स्वरमा भोलि बिहानै गए हुँदैन भन्न थाल्नु हुन्छ ।

आमाले हामीसँग अरू केही चाहना राख्नु हुन्न सिर्फ हाम्रो साथ माया, प्रेम र सामिप्यता चाहनुहुन्छ । हाम्रो बाध्यता बुझेर व्यक्त गर्न नसेको मात्रै हो । जसरी स्वस्थ रूपमा बच्चा हुर्कन आमाको माया, प्रेम, स्नेह र साथको आवश्यकता पर्छ त्यसरी नै बृद्घ बा आमालाई सन्तानको साथको जरुरत पर्दछ ।

आज हामीसँग हाम्रा जीवित देवीदेवताहरू आमाबुवा छन् तर उनीहरूलाई दिने समय छैन । उनीहरूका भावना सुन्ने, मायाले सुमसुम्याउने र उनीहरूको वरिपरि झुम्मिएर वार्तालाप गर्ने फुर्सद छैन । भोलि हामीसँग प्रशस्त समय हुनेछ तर हाम्रा भगवान् हामीबाट धेरै टाढा अर्को लोकमा कहिल्यै भेट नहुने गरेर गई सकेका हुनेछन् । त्यति बेला पश्चताप सिवाय केही गर्न सक्दैनौँ ।

उनीहरूको नाममा ब्राह्मण, वृद्धाश्रममा दान, कोष खडा गरेर हाम्रो आत्माले शान्ति त पाउला तर आमावाले अन्तिम अवस्थामा एक्लोपनाको कारणबाट दुखाएको चित्तले अवश्य पनि शान्ति पाउने छैन । तसर्थ आधुनिक युगको नयाँ संस्कार वार्षिक तिथि, माता तीर्थे औशी र बाबुको मुख हेर्ने दिनमा श्रवण कुमार बनेर मुहार पुस्तिका आमाबुबाको नाममा रङाउने र आज्ञाकारी सन्तानको रूपमा आफूलाई समाजमा चिनाउने ढोङ गर्नुभन्दा केही समय उहाँहरूको लागि छुट्ट्याएर बाचुन्जेल माया र ममता दिने प्रयासको सुरुवात गरौँ । ती चाउरिएका अनुहारको खुसी र चमक नै हाम्रो जीवनको सार हो, न कि पद, शक्ति र प्रतिष्ठा ।

सम्पूर्ण आमाहरूमा हार्दिक नमन !

 

Tags :
प्रतिक्रिया दिनुहोस