कोरोना नियन्त्रण गर्ने उपाय र आत्मबल « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

कोरोना नियन्त्रण गर्ने उपाय र आत्मबल


२६ बैशाख २०७८, आइतबार


कोरोना भाइरसको सङ्क्रमण विश्वभर फैलिएसँगै यसबाट बच्नका लागि विभिन्न सावधानी अपनाउन थालिएको छ । विश्वका विभिन्न सरकारहरूले कोरोनाको सङ्क्रमणबाट बच्नका लागि विभिन्न प्रतिबन्धका घोषणाहरू गरेका छन् । यसका साथै आम नागरिकले पनि कोरोनाबाट जोगिन सावधानी अपनाइरहेका छन् । केवल ज्वरो आउनु र खोकी लाग्नु मात्रै कोरोनाका लक्षण होइन गन्ध र स्वाद थाहा पाउने क्षमतामा कमी आउनु पनि यसको लक्षणकारूपमा देखा परेको छ।

कोरोना सङ्क्रमित मानिसहरूलाई ज्वरो आउने, गला दुख्ने, सुख्खा खोकी लाग्ने, मांसपेशी दुख्ने, पखाला लाग्ने, स्वाद थाहा नहुने, हातका पञ्जाको रङ्ग परिवर्तन हुने, श्वासप्रश्वासको समस्या, टाउको दुखाइ र अन्य समस्या हुन पनि सक्छ। अति गर्मीमा, अति जाडो वा हिमालमा, सबै प्रकारका हावापानीमा पनि एकनासले असर गर्न सक्ने मानवनिर्मित जैविक हतियार जस्तो जुनसुकै हावापानीमा पनि अनुकूलित हुने खै कस्तो खालको भाइरस हो । यसलाई वैज्ञानिकहरूले व्यापक अनुसन्धान गरिरहेका छन् । अनुसन्धान पछि जानकारी हुने नै छ । तर जस्तो सुकै भाइरस होस यसलाई सबै मिलेर परास्त गर्नु जरुरी छ ।

कोरोना सङ्क्रमणको जोखिम बढ्नुमा हामी आफैँ पनि यसको भागिदार छौँ। मास्कको अनिवार्य प्रयोग, साबुन पानीले हात धुने, सामाजिक दूरी कायम गर्ने, भिडभाडमा नजाने भनेर बारम्बार चिकित्सक तथा विज्ञहरूले सुझाव दिँदै आएका छन् । तर जनस्वास्थ्यका यी मापदण्ड पालना गर्ने कमै मात्र भेटियो । हामी आफैँ जनस्वास्थ्यका कुरालाई पटक्कै ख्याल नगर्ने, मास्क पनि नलगाउने, भिडभाड गर्ने, यो अवस्थामा पनि भोजभतेर गर्ने, भिडभाड गरी विवाह, पूजाआजा गर्ने आदि गतिविधिले गर्दा कोरोनाको सङ्क्रमण बढ्दै गयो र यसले अहिले महामारीको रूप लिन पुग्दै छ । हाल तीव्र गतिमा बढिरहेको सङ्क्रमणलाई व्यवस्थित गर्न भौतिक पूर्वाधार र जनशक्ति पनि हामी कहाँ पर्याप्त छैन।

जटिल खालका कोरोना सङ्क्रमितको सङ्ख्या दैनिक बढिरहँदा देशका विभिन्न अस्पतालहरूमा आइसीयू र भेन्टिलेटर भरिएका छन्। बिरामीले सहजैरूपमा आइसीयू, भेन्टिलेटर पाउने अवस्था छैन। स्थानीय तहले तयार गरेका कोभिड विशेष अस्पताल समेत खचाखच हुन पुगेका छन् ।

बढ्दो कोरोना सङ्क्रमण दरका कारण बिरामीहरू अस्पताल चहार्दा चाहार्दै मृत्युवरण गर्न पुगेका छन् । अस्पतालको क्षमता भन्दा बढी बिरामी भर्ना लिन नसक्ने विभिन्न अस्पतालहरूले बताइरहेका छन्। कोभिड बिरामीको चाप अस्पतालहरूमा थेगी नसक्नु छ । उता अक्सिजनको अभाव पनि त्यत्तिकै छ । बिरामीको उपचारमा खटिनु पर्ने विज्ञ वा चिकित्सक अक्सिजनको व्यवस्थापनमा खटिनु पर्ने अवस्था छ ।

विज्ञहरूका अनुसार कोरोना लाग्ने बित्तिकै आइसीयू चाहिँदैन तर फोक्सोमा समस्या आई अक्सिजनको कमी सुरु हुन सक्छ त्यो बेला बिरामीले तत्काल उपचार पाउन सके जटिल अवस्थालाई रोक्न सकिन्छ। सङ्क्रमित व्यक्तिको घरमै समय समयमा पल्स अक्सिमिटरको सहायताले अक्सिजन मात्रा नापिरहनु पर्छ। शरीरमा अक्सिजनको मात्रा कम देखिए विशेषगरी दुई कुरामा जोड दिनुपर्छ। अक्सिजनको मात्रा ९२ या यो भन्दा कम भए बिरामीलाई चिकित्सकसँग सल्लाह लिई डेक्सामिथासोन औषधि दिनको खाना वा खाजापछि ६ एमजीको ट्याब्लेट खान सकिन्छ वा सुई पनि दिन सकिन्छ ।

कोभिड-१९ भाइरसले लाग्ने रोग हो तर हामीले आफूखुसी ब्याक्टेरिया रोगका लागि खाने औषधि खाइरेका छौँ। यसले तत्काल र दीर्घकालीन रूपमा असरहरू गर्छ। यो निकै डरलाग्दो विषय हो। त्यसैले चिकित्सकको सल्लाह लिनु जरुरी हुन्छ । अक्सिजनको व्यवस्था गर्न सकिन्छ भने घरमै अक्सिजन प्रयोग गर्ने र शरीरमा अक्सिजनको कमी भए घोप्टो परेर सुत्नुपर्छ । पेटमा २ वटा सिरानी, टाउकोमा एउटा सिरानी र खुट्टाको गोलिगाँठानेर एउटा सिरानी राखेर पेटको बलमा सुतेमा यसले फोक्सोको क्षमता बढाउँछ भन्ने विज्ञहरूको भनाई छ । यी दुई उपचार घरमै बसेर पनि गर्न सकिने उपायहरू चिकित्सकहरूले बताउँदै आएका छन् । कोरोना लागेपछि भिटामिन सी २ पटक, जिङ्क २ पटक, भिटामिन डी हप्ताको १ पटक खानु पर्छ । आवश्यकता अनुसार पारासिटामोल, कफ सिरप र ट्याब्लेट खान पनि सकिन्छ। यसमा सबै भन्दा ठुलो उपचार त आत्मबल नै हो ।

तातो तातो घरको खानासँग दूध, गेडागुडी, अण्डा, सुप, प्रोटिनयुक्त खाना, तातो पानीमा हल्का मह राखेर खाने, उमालेको मनतातो पानीमा कागती राखेर खान पनि सकिन्छ, ज्वानो पानी, बेसार पानी, अदुवा, तुलसी, गुर्जो, जेठ मधु, तातो पानी आदि प्रशस्त मात्रामा खाने र समय समयमा पानीको बाफ लिँदा आराम हुन्छ। उच्च मनोबल बनाउने गर्नु पर्दछ । नआत्तिने र आत्मबल बढाउन सकेमा कोभिड–१९ भएका प्रायः व्यक्ति पूर्ण रूपले आफै निको हुन सकिन्छ । उदाहरणका लागि बाघ भन्दा हरिणको गति तीव्र हुन्छ, बाघले हरिणलाई लखेट्छ तर हरिणले बाघ भन्दा म कमजोर छु भन्ने ठानेर चिन्ता, डर र त्रासले गर्दा अघिपछि हेर्दैमा समय खर्चेर कमजोर हुँदै जान्छ अनि बाघले हरिणलाई भेटाएर मारेर खान्छ। नआत्तिने र आत्मबल बलियो बढाउन नसक्ने हो भने बिरामी मात्र होईन स्वास्थ्य कर्मीहरूले पनि उपचार गर्न अप्ठेरो हुन सक्छ । सबै भन्दा ठुलो सकारात्मक सोच र बलियो आत्मबल नै हो ।

अहिले सङ्क्रमण दर अत्यन्त बढिरहेको र मृत्युदर पनि बढी रहेको अवस्था छ । पहिलो अस्पतालमा कोभिडका सङ्क्रमितले भरिँदै जानु, अहिलेको सिकिस्त बिरामीको चापलाई अस्पतालले थेग्न नसक्ने भई रहेको छ । अक्सिजन दिनु पर्ने खालका जटिल प्रकृतिका बिरामीलाई अक्सिजनको अभावका कारण उपचार गर्न कठिन भई रहेको छ । बिरामीले अस्पतालको बेड नपाएर खोज्दा खोज्दै एम्बुलेन्स मै बिरामीको मृत्यु भएको छ । बिरामीलाई महँगो खर्चमा हेलिकप्टर चार्टर गरेर आइसीयू र भेन्टिलेटरको खोजीमा काठमाडौँ लैजाने गरिरहेका छन् । अक्सिजनको अभाव कृत्रिम हो वा वास्तविक हो बुझ्न सकिएको छैन । नियमनकारी निकायबाट अनुसन्धान भइरहेको होला। मेरो विचारमा अक्सिजन सम्बन्धी गम्भीर रूपमा अनुसन्धान हुन जरुरी छ ।

अहिले कोरोना सङ्क्रमण नियन्त्रणका लागि थुप्रै समस्या र चुनौतीहरू छन्। स्थानीय तहमा कोरोना महामारीका लागि भनेर खासै धेरै बजेट छुट्टयाएका छैनन् । पुँजीगत बजेटलाई चालूखर्चमा रकमान्तर गर्न मिल्दैन। कोरोना महामारीका लागि भनेर प्रदेश सरकारसँग पनि सीमित मात्रामा बजेट छ । सङ्घीय सरकारसँग भएको बजेटले स्वास्थ्य उपकरण, औषधि खरिद, संरचना निर्माणलाई खर्च व्यवस्थापन गर्न अप्ठेरो छ । तर अहिले जसरी भए पनि यो महामारी नियन्त्रण गर्न र मानवको जीवन रक्षा गर्नु जरुरी छ । निःशुल्क स्वास्थ्य परीक्षण गर्नु पर्ने, बिरामीहरूको लागि पर्याप्त मात्रामा अस्पताल शय्याको व्यवस्थापन र उपचार गर्नु पर्ने, असहाय, गरिब र निमुखालाई जीवन निर्वाह गर्न राहतको व्यवस्थापन गर्नु पर्ने जस्ता टड्कारा समस्या र चुनौतीहरू हाम्रो सामु खडा भएका छन् ।

सङ्क्रमण नियन्त्रण र बिरामीको उपचारका लागि राजनीतिक दल, जनप्रतिनिधि, कर्मचारी, सुरक्षाकर्मी, नागरिक समाज, उद्योगी, व्यापारी, समाजसेवी, सञ्चारकर्मी, पत्रकार, सङ्घ संस्था, बैङ्क, वित्तीय संस्था, बीमा कम्पनी लगायतका सबैले एकजुट भएर लाग्नु पर्ने जरुरी छ । बजेट हामी कहाँ कमी छैन । नेपाल सरकारले हालसम्म ठेक्का नलागेका र सम्झौता नभएका विकास योजनामा छुट्टिएको पुँजीगत बजेटलाई कोरोना महामारी नियन्त्रण र उपचारमा खर्च गर्न सक्ने नीतिगत निर्णय गरेमा स्थानीय तह, प्रदेश सरकारले अस्पताल शय्या, उपचार र परीक्षण गर्न, स्क्रिनिङ लगायतका कार्यमा बजेट खर्च गरी महामारी नियन्त्रण र मानवको जीवन रक्षा गर्न सकिन्छ ।

यसै गरी अक्सिजनको अभाव हुन नदिन सरकारले नयाँ ल्पान्टको स्थापना गर्ने, अक्सिजनको चोरी निकासी र कालो बजारीलाई निर्मूल गर्न अधिकारसहितको विशेष टोली गठन गरी परिचालन गर्ने, अक्सिजन प्लान्टहरूमा डेडिकेटेट विद्धुत लाइनको व्यवस्था गर्ने र प्लान्टमा काम गर्ने कामदारहरूलाई उत्साहित, उत्प्रेरित गर्ने किसिमका स्किम वा प्याकेजको व्यवस्था गर्ने, हाललाई अस्पताल, कोरोना उपचार केन्द्र जस्ता अत्यावश्यक क्षेत्रमा मात्र अक्सिजन उपलब्ध गराउने व्यवस्था मिलाउने, अवकाश प्राप्त चिकित्सक, पारामेडिक्सहरूलाई कम्तीमा एक वर्षका लागि करारमा लिने, अध्ययन सकेका तर इन्टर्नसिप गर्न बाकी रहेका मेडिकल विद्यार्थीहरूलाईसमेत विशेष ग्राह्यताका साथ उपचारमा समावेश गर्ने व्यवस्था गर्ने, हरेक पालिकामा कम्तीमा जनशक्ति सहित १० शय्याको अक्सिजन समेतको आइसोलेसन, चार वटा एचडी मनिटर शय्या, दुईवटासम्म आइसीयू र एउटा सम्म भेन्टिलेटर समेतको अस्पताल व्यवस्था गर्न जरुरी छ ।

हाल सञ्चालनमा रहेका सरकारी, निजी, सामुदायिक अस्पताल र मेडिकल कलेजहरूका ८० प्रतिशत शय्या अनिवार्य रूपमा कोरोना सङ्क्रमितको उपचार गर्न नेपाल सरकारले नीतिगत र संस्थागत व्यवस्था गर्न जरुरी छ । यसो भएमा कोरोना सङ्क्रमणको भयावह स्थितिको सामना गर्न सजिलो हुने र मानवीय क्षति कम गर्न सकिनेमा विश्वास गर्न सकिन्छ।

अहिले विकासका अन्य पूर्वाधार एक वर्ष नबन्दा खासै फरक पर्दैन । तर यहाँ तुरुन्त जनताको जीवन रक्षा गर्नु जरुरी छ । हाल उपलब्ध सङ्घ संस्थाका भवन, सभा हल, निजी क्षेत्रका भवन, पार्टी प्यालेस लगायतका संरचनामा नेपाल सरकारले कर छुट गरेर भए पनि तत्कालका लागि अक्सिजन सहितको आइसोलेसन सञ्चालन गरी मानवको जीवन रक्षा गर्न लाग्नु पर्दछ । सबै एक जुट भई कोरोना महामारीलाई परास्त गर्नु जरुरी छ । जीवन रहे धन, सम्पत्ति, नातागोता, इष्टमित्र, भाइभतिजा, राजनीति, सत्ता, विकास, शिक्षा, कृषि, आफन्त सबै हुन्छ । यसैले कोरोनाको महामारीमा सबै एकजुट भई सङ्क्रमण फैलिन नदिई जसले जे सहयोग गर्न सकिन्छ सहयोग गर्न र कोरोना महामारीलाई परास्त गर्न सबैलाई हार्दिक अपिल गर्दछु । महामारीमा कोही पनि नआत्तिकन सकारात्मक सोच र बलियो आत्मबल बनाएमा घरबाटै परास्त गर्न सकिनेमा विश्वास गर्न सकिन्छ ।

(लेखकः नेपाल सरकारका उपसचिव एवं सैनामैना नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हुनुहुन्छ ।)

Tags :
प्रतिक्रिया दिनुहोस