कर्णालीका एमाले मन्त्रीहरूले मंगलबार राजीनामा दिने « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

कर्णालीका एमाले मन्त्रीहरूले मंगलबार राजीनामा दिने


२३ चैत्र २०७७, सोमबार


सुर्खेत । कर्णाली प्रदेश सरकारमा मन्त्री रहेका नेकपा एमाले का तीन जना मन्त्रीहरूले मंगलबार राजीनामा दिने भएका छन्।

यसअघि आइतबार बसेको एमाले संसदीय दलको बैठकले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको सरकारलाई दिएको समर्थन फिर्ता लिँदै मन्त्रीहरूले राजीनामा दिने निर्णय गरेको थियो

उक्त निर्णयअनुसार मन्त्रीहरूले आजसम्म राजीनामा दिने बताएका थिए। प्रदेशका सामाजिक विकास मन्त्री दल रावलले भोलि बस्ने संसदीय दलको बैठकअघि आफूहरूले राजीनामा दिने बताए।

शाहीको मन्त्रिमण्डलमा एमालेबाट प्रकाश ज्वाला अर्थमन्त्री, दल रावल सामाजिक विकास मन्त्री र नन्दसिंह बुढा उद्योग मन्त्री छन्। यसअघि चैत ४ गते बसेको एमाले संसदीय दलको बैठकबाट नै सरकारलाई दिएको समर्थन फिर्ता लिइएको घोषणा गरिएको थियो।

उक्त निर्णयमा माधवकुमार नेपाल समूहका सांसद उपस्थित थिएनन्। केही सांसदले समर्थन कायमै रहेको बताउँदै आएको थिए। आइतबारको बैठकमा भने दुबै पक्षका १९ जना सांसद सहभागी थिए।

चैत ५ गते नै प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले मुख्यमन्त्री शाहीलाई संसदबाट विश्वासको मत लिन भनिसकेका थिए। ४ गतेको एमाले संसदीय दलको बैठकले गरेको समर्थन फिर्ताको निर्णय चैत ५ गतेदेखि लागु गर्ने भनिएको छ।

संविधानमा भएको व्यवस्था अनुसार सरकारलाई समर्थन गरेको दलले समर्थन फिर्ता लिएमा ३० दिनभित्र संसदमा विश्वासको मत लिनका लागि सरकार प्रमुखले प्रस्ताव गरिसक्नुपर्छ।

२०७४ मा नेकपा एमाले र माओवादी केन्द्रको एकताको पूर्वतयारीका बेला कर्णालीमा रहेका २० जना एमाले सांसदमध्ये १९ जनाको समर्थनमा माओवादी केन्द्रको नेतृत्वमा सरकार गठन गरिएको थियो।

Tags :
प्रतिक्रिया दिनुहोस