सात दशकको यात्रा पुरा गरेको रेडियो नेपाल                    « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

सात दशकको यात्रा पुरा गरेको रेडियो नेपाल                   


२० चैत्र २०७७, शुक्रबार


१.वार्षिकोत्सवको सन्दर्भ
आजैदेखि रेडियो नेपाल आफ्नो स्थापना कालको ७० वर्ष पुरा गरी ७१ औ वर्षमा प्रवेश गर्दै छ । सत्तरी वर्ष पुरा गर्नु आफैँमा परिपक्व र अनुभवको खानी हुनुको पर्यायवाची पनि हो । यस अर्थमा पनि रेडियो नेपाल प्रसारण प्रभावकारिताका दृष्टिले अब्बल हुनुपर्ने भन्नेमा विवाद छैन । यद्यपि के कति प्रभावकारी र लोकप्रिय छ भन्ने सवाल श्रोता सर्वेक्षण र अनुसन्धानको पाटो हुन सक्छ । जुन रेडियो नेपाल बाहिरका व्यक्तित्वहरूबाट हुनु न्यायोचित हुन सक्तछ ।

हरेक वर्ष रेडियो नेपाल आफ्नो वार्षिक उत्सव मनाउँछ । आफ्ना गतिविधिहरूको फेहरिस्त सुनाउँछ, आफ्ना प्रसारित समाचार तथा कार्यक्रमहरूको समीक्षा गर्दछ, सरोकारवालासङको प्रतिक्रियालाई समेट्दछ अनि सम्बन्धित नीति निर्माताहरूको अपेक्षाहरूलाई शुभकामना सन्देश मार्फत श्रोता समक्ष पुर्‍याउँदछ । यो क्रम सात दशकदेखि निरन्तर चलिआएको पाइन्छ । यद्यपि के कति उद्देश्य पूरा भए, कति पुरा हुने क्रममा छन् र कति आगामी दिनमा सम्पन्न गर्नु छ भनी बस्तुगत रूपमा साङ्गोपाङ्गो विश्लेषण र ठोस अनुगमन प्रतिवेदनहरू अझैसम्म पनि उजागर भैसकेका छैनन् ।

२.रेडियो नेपालको विगतको पाटो
वि.सं. २००७ सालमा रेडियो नेपालको प्रसारण आरम्भ गर्दा २५० वाटको सर्ट वेभ ट्रान्समिटरबाट दैनिक साढे ४ घण्टा रेडियो सेवा प्रदान गर्दै आएको रेडियो नेपालले २०२४ सालदेखि १०० किलोवाट क्षमताको सर्ट वेभ र १० किलोवाट क्षमताको मिडियमवेभबाट प्रसारण गर्न थालियो त्यसैगरी २००४ साल देखि २०४६/४७ सम्म जापान सरकारको सहयोगमा तत्कालीन पाँचै विकास क्षेत्रमा मिडियम वेभ स्टेसनहरू र स्टुडियोहरू पनि स्थापना भएपछि प्रसारणको क्षेत्र निकै फराकिलो भयो  । २०५२ कार्तिकमा एफ. एम. प्रसारणबाट प्रविधिमा नयाँ फड्को मारेको रेडियो नेपाल २०५६ देखि इन्टरनेट मार्फत विश्वभरि नै सुन्न सकिने भयो । वि. सं. २००७ देखि २०१७ को बिचमा रेडियोलाई नेपाली समाजको आधुनिकीकरणमा प्रयोग गर्ने हेतु दूर शिक्षा र अन्य विकास सम्बन्धी सामग्री प्रसार गर्ने माध्यमका रूपमा पनि अघि बढाइयो । वि. सं. २०२८ सालमा विकासका लागि सञ्चार भन्ने मूल नाराका साथ सञ्चार योजना आएपछि रेडियो नेपालले कृषक, मजदुर, युवा, बालबालिका आदिलाई लक्षित गरी कार्यक्रमहरू प्रसार गर्न थाल्यो ।

मुलुकको जेठो प्रसारण संस्था रेडियो नेपाल, रेडियो प्रसार सेवा विकास समितिको रूपमा २०४१ भदौ १ गतेदेखि नेपाली जनताको अभिव्यक्ति स्वतन्त्रता तथा सूचनाको हकलाई सम्मान गर्दै मुलुकको आर्थिक, सामाजिक, सांस्कृतिक तथा अन्य महत्त्वपूर्ण गतिविधिहरूलाई आम नेपालीको बिचमा पुर्‍याई राष्ट्रको सार्वभौमसत्ता तथा अखण्डतालाई अक्षुण राख्न सघाउ पुर्‍याउने खालका रेडियो कार्यक्रमहरू उत्पादन तथा प्रसारण गर्ने सोचका साथ रेडियो प्रसारण सेवाको विस्तार गर्ने, प्रसारण सेवाको नीति निर्धारण गर्ने, स्वावलम्बी बन्न विज्ञापन सेवालाई व्यापारिक दृष्टिकोणबाट सञ्चालन गर्ने, विभिन्न जाति, भाषा, धर्म, वर्ग तथा सम्प्रदायकाबीच भावनात्मक एकता अभिवृद्धि गर्न सहयोग पुग्ने खालका कार्यक्रमहरू प्रसारण गर्ने लगायतका उद्देश्यहरू राखी गठन भएको कुरा रेडियो प्रसार सेवा विकास समिति गठन आदेश २०४१ बाट प्रष्ट हुन्छ । यिनै कामहरू सहज ढङ्गले सम्पन्न गर्न हालसम्म २१ भाषामा समाचार र २० भाषामा विविध कार्यक्रमहरू सञ्चालन हुँदै आएका छन् ।

२०४१ सालमा विकास समितिमा रूपान्तरण भए पछि रेडियो नेपाललाई आर्थिक रूपमा सुदृढ बनाउन रेडियो नेपालको सुधार र सुदृढीकरण योजना पनि तर्जुमा गरिएको थियो । फलस्वरूप कार्यक्रमहरू प्रायोजन गर्न दिने नीति आयो । वि. सं. २०४६ को राजनैतिक परिवर्तन पछि नेपाली भाषा बाहेक अन्य भाषाहरू पनि प्रसारणमा आउन थाले । जस्तै २०४७ साल असार १५ बाट नेवारी र हिन्दी भाषाको पुनः प्रसारण सुरु भयो । त्यस्तै २०५१ सालमा राष्ट्रिय भाषाहरूमा समाचार प्रसारण गर्ने नीति नै बन्यो । यसरी २०४६ सालपछि रेडियो नेपालले एकल भाषिक नीतिबाट बहुभाषिक नीतिलाई बढवा दिन थाल्यो ।

वि. सं. २०४९ सालमा लागू भएको सञ्चार नीतिका कारण क्षेत्रीय प्रसारणहरूको अवधारणा आयो । फलस्वरूप २०५० सालदेखि देशका पाँचै विकास क्षेत्रहरूबाट क्षेत्रीय भाषाका समाचार तथा कार्यक्रमहरू प्रसारण हुन थाले । तत्कालीन अवस्थामा विकेन्द्रीकरणको नीतिलाई पनि यी क्षेत्रीय प्रसारण केन्द्रहरूले केही हदसम्म सघाएका थिए । २०४९ को सञ्चार नीतिकै कारण कार्यक्रम उत्पादन तथा प्रसारणमा निजी क्षेत्रको पहुँच पनि स्थापना भयो । नतिजास्वरुप रेडियो नेपालको प्रसारण क्षेत्रको एकाधिकार समाप्त भई गैरसरकारी स्वामित्वमा रेडियो प्रसारण आरम्भ भयो । यसरी रेडियो नेपालले आफूलाई सबल र सक्षम बनाउन प्रतिस्पर्धा गर्नुपर्ने नयाँ परिस्थिति सृजना हुन पुग्यो । यसै बेलादेखि रेडियो नेपाल सरकारी अनुदानमा प्राप्त बजेटमा भर पर्दै हरेक आगामी वर्ष आत्मनिर्भर हुने हर सम्भव प्रयास गर्दै आएको देखिन्छ ।

३. रेडियो नेपालको वर्तमान अवस्था 
राष्ट्रिय एकता र समग्र मुलुकको विकासमा होस्टेमा हैँसे गर्न तथा “सुखी नेपाली सम्बृद्ध नेपाल”को चाहनालाई सञ्चार माध्यमको तर्फबाट सघाउन विश्वसनीय, गुणस्तरीय र अग्रणी प्रसारण संस्थाको रूपमा क्रियाशील रहँदै २४ वटा एफ. एम., ६ वटा मिडियम वेभ र अनलाइनको माध्यमबाट आफ्नो प्रसारण सेवालाई समयक्रमसंगै परिमार्जित र परिष्कृत हुँदै प्रसारण पहुँच वृद्धि गर्दै आइरहेको पाइन्छ ।

रेडियो नेपालले आफ्नो सञ्चालन खर्चको ठुलो हिस्सा नेपाल सरकारबाट प्राप्त अनुदान रकमबाट प्राप्त गर्दै आएको छ । जसबाट यसले साधारण खर्च र प्रसारण पहुँच विस्तार खर्च समेत जुटाउनु पर्दछ । यद्यपि यो रकम अपर्याप्त नै देखिन्छ । नेपाल सरकारले देशको शतप्रतिशत भूभागमा रेडियो सेवा विस्तार गर्ने नीति लिए पनि आर्थिक सर्वेक्षण २०७६-७७ अनुसार कुल जनसङ्ख्याको ८७ प्रतिशतमा मात्र रेडियो नेपालको प्रसारण पुग्न सकेको छ । २०७३ भदौदेखि हालसम्म रेडियो नेपाल २४ सै घण्टा सञ्चालनमा छ । यसले टेरेस्ट्रियल प्रविधिमा एफ. एम. र मिडियम वेभ मार्फत सेवा दिएको छ भने डिजिटल प्रविधिमा अनलाइन मार्फत सेवा दिँदै आएको छ ।

रेडियो नेपालले आफ्नो प्रसारण प्रभावकारिता मूल्याङ्कन गर्न देशव्यापी श्रोता सर्वेक्षण र कभरेज म्यापिङ् गर्ने प्रयास थालनी गरे पनि त्यसको अन्तिम नतिजा प्राप्त भई सकेको छैन । सन् २०१९ अप्रिलमा बिबिसी मिडिया एक्सनले भूकम्पबाट प्रभावित १४ जिल्लाहरूमा गरेको सर्वेक्षणमा रेडियो नेपाल सबैभन्दा बढी श्रोताले सुनेको र प्राकृतिक प्रकोप सम्बन्धी जानकारीहरू प्राप्त गरेको देखाएको छ । यसबाट पनि रेडियो नेपालको साख घटेको छैन कि रु भन्न सकिएला । रेडियो नेपालले आफ्ना पुराना गीत सङ्गीत तथा श्रव्य सामग्रीहरूको डिजिटाइजेशन तथा अर्काइभ गरी थप आय आर्जन गर्ने रणनीति पनि बनाएको छ जुन आगामी दिनमा उसलाई आत्मनिर्भर गराउन सहयोगी हुन सक्दछ ।

सात दशकको यात्रामा रेडियो नेपालको स्थायी दरबन्दी संरचना घटबढ हुने क्रम जारी नै रह्यो । हाल ५५८ स्थायी दरबन्दी भए पनि कार्यरत कर्मचारी ३८४ मात्र भएका कारण करार, बुलेटिन र ज्यालादारीमा कामगर्नेको सङ्ख्या पनि पर्याप्त नै छ । २४ वटा एफ. एम. स्टेसन, ६ वटा मिडियम वेभ स्टेसन अनि अनलाइनमा काम गर्ने जनशक्ति पक्कै पनि स्थायी संरचनाबाट मात्रै सम्भव पनि छैन । रेडियो नेपालले आफ्नो नियमित प्रसारणका अलावा साङ्गीतिक प्रशिक्षण जस्तो थप कार्यक्रम पनि वार्षिक रूपमा सञ्चालन गर्दै आएको छ । यस बाहेक रेडियो प्रसारणका अग्रज स्व. तारिणी प्रसाद कोइरालाको स्मृतिमा विराटनगरमा तारिणी प्रसाद कोइराला स्मृति सञ्चार ग्राम स्थापना गरी विविध क्रियाकलापहरू मार्फत व्यावसायिक रूपले अघि बढ्ने र कला, गीतसङ्गीत, संस्कृति, मौलिक सङ्गीतको पहिचान लगायत सञ्चारकर्मीहरूको क्षमता अभिवृद्धि गरी सञ्चार ग्रामलाई आधुनिक मिडिया हबको रूपमा विकास गरी सञ्चार सम्बन्धी सबै खाले गतिविधिहरू सञ्चालन गर्ने जमर्को समेत गर्दै छ ।

यस्तै चलअचल सम्पत्तिको उचित सदुपयोग गरी सकेसम्म आत्मनिर्भर हुने प्रयास पनि जारी छ । यद्यपि आ. व. २०७७/७८ सम्मको आय व्यय हेर्दा नेपाल सरकारबाट प्राप्त अनुदान रकम ७० प्रतिशत र रेडियो नेपालको आम्दानी हिस्सा ३० प्रतिशतको हाराहारीमा देखिन जान्छ । यो अन्तरलाई घटाउन रेडियो नेपालले व्यावसायिक सुधार योजना अन्तरगत अल्पकालीन, मध्यकालिन र दीर्घकालिन गरी ३ थरिमा विभाजन गरी कार्यान्वयन गर्दै अघि बढेको छ । राष्ट्रिय आमसञ्चार नीति २०७३ आई सकेपछि रेडियो नेपालले विगतमा भन्दा अझ बढी सार्वजनिक सरोकारका विषयहरुलाई समाचार तथा कार्यक्रममा प्राथमिकता दिदै लोक कल्याणकारी प्रसारणको अवधारणा अघि सार्दै आएको छ । वि. सं. २०७२ को महाभुकम्पको समयमा रेडियो नेपाल २४ सै घण्टा प्रसारण सञ्चालन गरी आम श्रोता वर्गको रुची, इच्छा र आवश्यकता अनुसार तथा सरोकारवाला र सरकारी पक्षको नीति, कार्यक्रम एवम् सूचनालाई जन समक्ष पुर्याउन खेलेको भूमिका उल्लेख गर्न लायक छ । त्यस्तै गत वर्ष देखि हालसम्म पनि निर्मूल हुन नसकेको कोभिड-१९ को महामारी तथा सो सम्बन्धी खोपका विषयलाई आम नागरिक समक्ष जानकारी र रोकथामका उपायहरु प्रसार प्रचार गर्दै सार्वजनिक प्रसारकले खेल्नुपर्ने भूमिकालाई व्यवहारमा ल्याएको छ भन्नमा अत्युक्ति नहोला । यसबाट प्राकृतिक प्रकोप र महामारीका बेला राज्यकोे रेडियो कति आवश्यक र उपयोगी हुन सक्दो रहेछ भनेर रेडियो नेपालले आम श्रोता र सम्बन्धित पक्षलाई अनुभूत गराएको हुन सक्दछ ।

४. रेडियो नेपालका चुनौतीहरू
हाल नेपालमा ६५० भन्दा बढी एफ. एम. रेडियोहरू सञ्चालनमा रहेको पाइन्छ । यसरी हेर्दा २०५२ साल अघि र त्यसपछिको अवस्थामा रेडियो नेपाल पनि अन्य एफ. एम. हरूसँग सामग्रीका हिसाबले होस वा प्रविधिका हिसाबले होस प्रतिस्पर्धामा खरो उत्रनु पर्दछ भन्ने आम धारणा पाइन्छ । यद्यपि विज्ञापन बजारको अस्वस्थ प्रतिस्पर्धाका कारण पनि रेडियो नेपालले चाहे जति आय आर्जन गर्न नसकेको अवस्था छ । सङ्गठनात्मक संरचनाका कारणले पनि हुन सक्दछ, निजी क्षेत्रको जस्तो चुस्त-दुरुस्त व्यापारिक व्यावसायिकता अपनाउन नसकिरहेको अवस्थामा पनि रेडियो नेपालले आफ्नो आम्दानी बढाउन हर सम्भव प्रयास गरिरहेको पाइन्छ । प्रतिस्पर्धाका नाममा समाचार र जन चेतनामूलक कार्यक्रमहरूको प्रसारण समयमा व्यापारिक सम्झौता गर्न नसक्नु अर्को ठुलो चुनौती छ रेडियो नेपाललाई ।
रेडियो नेपाल सार्वजनिक प्रसारण संस्थाका रूपमा अघि बढ्ने क्रममा छ । आफू पूर्ण आत्म निर्भर हुन नसकेका कारण सरकारको नीति अनुरूप शतप्रतिशत भूभागमा रेडियो सेवा विस्तार गर्न नसक्नु पनि चुनौती छ । यसका लागि पर्याप्त स्रोत र साधन छैनन् । वार्षिक बजेट अभावका कारण विद्यमान प्रविधिलाई आवश्यक पर्ने जगेडा उपकरणहरू खरिद हुन सकेका छैनन् । हालको प्रसारण प्रविधिलाई क्रमशः डिजिटल प्रविधिमा रूपान्तरण गर्न पनि उत्तिकै चुनौती रहेको छ रेडियो नेपालको आफ्नो बजेटबाट । समावेशी र जनमुखी कार्यक्रमहरूलाई पर्याप्त समय दिनुपर्ने कारणले पनि रेडियो नेपाल पूर्ण व्यावसायिक र प्रतिस्पर्धी हुन नसकेको तितो यथार्थ हामी सामु छ । रेडियो नेपालको स्वामित्वमा रहेका चल अचल सम्पत्ति(जस्तै जग्गा जमिन आदि) को व्यापारिक उपयोगमा कानुनी अड्चनहरू यसलाई व्यावसायिक बन्नमा अवरोधका रूपमा देखा परेका छन् ।
सरकारबाट प्राप्त निश्चित बजेटबाट देशैभरका सात प्रादेशिक प्रसारण कार्यालयहरू, तीन प्रसारण केन्द्रहरू, चौबिस एफ. एम. स्टेसनहरू र अनलाइन सेवा सञ्चालन तथा अन्य प्रशासनिक कार्यहरू सम्पन्न गर्नमा ठुलो चुनौती देखा परेको छ । यद्यपि रेडियो नेपालले वर्षैपिच्छे आफ्ना प्रसारण सेवा विस्तार गर्ने क्रम जारी छ । जस अनुसार यस वर्ष दोलखाको चरिकोटमा यही चैत्र महिनाको पहिलो हप्तादेखि नै एफ. एम. सेवा सुचारु भएको छ । स्थायी कर्र्मचारीहरुको सङ्ख्या दरबन्दी भन्दा निकै घटी भएको अवस्थामा करारका कर्मचारीहरूबाट प्रसारण सेवा सञ्चालन गर्नमा बजेटको उचित प्रबन्ध हुन नसक्नु आफैँमा अर्को थप चुनौती देखा पर्दै छ । प्रादेशिक प्रसारणको समय ३ घण्टाबाट यस वर्ष देखि ४ घण्टा पुर्‍याएको रेडियो नेपालले व्यावसायिक सुधार योजना ९अल्पकालीन, मध्यकालीन र दीर्घकालीन० को माध्यमबाट आफ्नो समाचार, कार्यक्रम र प्रसारण प्रविधिमा समयानुकूल परिमार्जन गर्दै आइ परेका चुनौतीहरू सामना गर्ने सोच बनाएको छ ।
५.सार्वजनिक प्रसारण सेवा सम्बन्धी चर्चा
विगत धेरै वर्षहरूदेखि रेडियो नेपाल संरचना परिवर्तनको सँघारमा रहेको चर्चा सुन्न पाइन्छ । आ. व. २०७१/७२ को बजेट वक्तव्य मार्फत नेपाल सरकारले रेडियो नेपाल र नेपाल टेलिभिजनलाई हालको संरचना परिवर्तन गरी सार्वजनिक प्रसारण सेवाको रूपमा विकास गर्ने योजना अनुरूप आवश्यक गृहकार्य पछि हाल सार्वजनिक प्रसारण सेवा सम्बन्धी विधेयक राष्ट्रिय सभामा पुगेको छ । यसभन्दा अघि २०६३ भदौमा गठित उच्चस्तरीय मिडिया सुझाव आयोग र २०६३ पौषमा गठित सरकारी सञ्चार माध्यमहरूको पुनर्संरचना र स्वायत्तता सम्बन्धी उच्च स्तरीय सुझाव कार्यदलले पनि रेडियो नेपालको वर्तमान संरचना परिवर्तन गरी सार्वजनिक प्रसारण सेवाको बाटोमा लैजान सुझावहरू दिएको पाइन्छ । यसरी हेर्दा सन् १९९० को दशकमा विश्वमा रहेका प्रायजसो सबै सरकारी सञ्चार माध्यमहरूलाई सार्वजनिक सेवा प्रसारणमा रूपान्तरण गर्ने विश्वव्यापी लहर नै चलेको पाइन्छ । जसले दक्षिण एसियाका देशहरू मध्ये नेपालमा पनि यसको प्रभाव पर्‍यो । त्यस्तै सन् २०१० नोभेम्बरदेखि २०१३ अक्टोबरसम्म सञ्चालित मिडिया फर पिस प्रोजेक्टले पनि सञ्चार माध्यम सम्बन्धी नीति नियम र कानुनहरूलाई सरलीकृत, एकीकृत र संहिताकरण गरी आगामी दिनमा सार्वजनिक प्रसारण माध्यमको रूपमा विकास गर्दै रेडियो नेपालमा कार्यरत सञ्चारकर्मीहरूको क्षमता विकासमा सघाउ पुर्‍याउने उद्देश्य सहित विभिन्न कार्यशाला, सेमिनार र तालिमहरू सञ्चालन गरेको थियो ।
त्यस्तै राष्ट्रिय सञ्चार नीति २०७३ ले पनि रेडियो नेपाल र नेपाल टेलिभिजनलाई संरचनागत रूपान्तरण गरी सार्वजनिक सेवा प्रसारणको रूपमा विकास गर्ने लक्ष्य लिएको पाइन्छ । यति धेरै आयोग, कार्यरत परियोजना र सरकारको नीति तथा कार्यक्रममा समावेश भैसकेको सार्वजनिक प्रसारण सेवा सम्बन्धित विषयले पनि मूर्तरूप पाउन विविध कारणले ढिला भैरहेकोे आभास हुन्छ । जसले गर्दा संस्थागत काम कारबाहीमा दोहोरापना, स्रोत साधनहरूको उपयोग गर्नमा समस्या, वृत्ति विकास र सेवा सुविधामा एकरूपता नहुने समस्या, सरोकारवालाको दृष्टिकोणमा फरकपना, प्रसारण संस्थाहरूको योजना र काम कारबाहीमा अन्योल, व्यवस्थापनको लक्ष्य र प्रगतिमा एकरूपता नहुने समस्या लगायत संलग्न जनशक्तिमा समेत उत्प्रेरणा जाग्न नसकी दीर्घकालीन लक्ष्य प्राप्तिमा द्विविधा हुने सङ्केतहरू नआउलान् भन्न सकिन्न । रेडियो नेपालले उत्पादन गरेका आफ्ना समाचार, कार्यक्रम र जानकारीमूलक सामग्रीहरू तथा प्रसारण पहुँचका हिसाबले पनि विस्तार गर्दै लगेको रेडियो सेवा आदिलाई दृष्टिगत गर्दा निकट भविष्यमा नै सार्वजनिक प्रसारण संस्थाका रूपमा विकास गर्न सहायक सिद्ध नै हुनेछ । हालसम्मका प्रयासहरू सार्वजनिक प्रसारणमैत्री नै देखिन्छन् । तसर्थ चर्चा अनुरूप कानुनी संरचना निर्माण भई निकट भविष्यमा सार्वजनिक सेवा प्रसारणको रूपमा अघि बढ्ने अपेक्षा गर्दछ रेडियो नेपाल ।
६. रेडियो नेपालको अबको बाटो
सार्वजनिक प्रसारण सम्बन्धी सरकारले हालसम्म गरेका क्रमबद्ध प्रयासहरू, जाइकाको सहयोगमा मिडिया फर पिस प्रोजेक्ट अन्तरगत भए गरेका उपलब्धिहरू र विज्ञ सहित सरोकारवाला र आम श्रोताको क्रिया प्रतिक्रिया सबैलाई एकीकृत गरी आगामी दिनमा रेडियो नेपाललाई सार्वजनिक प्रसारकका रूपमा विकास गर्नु नै एक मात्र विकल्प हो भन्नेमा सायदै दुई मत होला । सरोकारवाला निकायबाट प्राप्त योजना र माग अनुसारको वार्षिक बजेट, कार्यक्रम कार्यान्वयनको अवस्था र उपलब्धि सहितको फेहरिस्त आम श्रोता समक्ष पेस गर्न पाए वार्षिक उत्सवमा गरिने समीक्षा आफैमा नतिजामुखी हुन सक्ने थियो होला ।
विभिन्न कोणबाट रेडियो नेपाललाई राज्यले नीतिगत एवं आर्थिक रूपमा हालसम्म पनि सघन रूपले भरथेग गर्दै आएकै छ भने अबका दिनमा यसै परिवेशलाई सार्वजनिक प्रसारकको कसीमा ढालेर सोही अनुरूपको नीति तथा बजेट कार्यक्रम मार्फत सम्बोधन गर्न सके यथार्थमा आधुनिक नेपालको समावेशी आवाज सहित राष्ट्रिय रेडियो राष्ट्रको सञ्चार, रेडियो नेपाल सार्वजनिक प्रसारण हुनमा कुनै कसर बाँकी रहने छैन । जुन विगत वर्षहरुदेखिको राज्यको अथक प्रयास पनि व्यवहारमा ल्याउने मूल कडी हुन सक्छ । यसका लागि चुस्त दुरुस्त कर्मचारी व्यवस्थापन र विद्यमान पूर्वाधारहरू, भौतिक संरचना र चल अचल सम्पत्तिको उचित सदुपयोग पनि उत्तिकै टड्कारो आवश्यकताहरू हुन् । यसर्थ विद्यमान अवस्थाको रेडियो नेपालको जनशक्ति, साधन स्रोत, भौतिक पूर्वाधार र प्रयोगमा रहेको प्रविधिलाई समयानुकूल परिमार्जन गर्दै संसारमा विकसित भएका सार्वजनिक प्रसारकहरूका विविध नमुनाहरुमध्ये हाम्रो देशको लागि उपयुक्त हुनसक्ने व्यवहारिक नमुना(मिश्रित नमुना नै किन नहोस्) छनौट गरी यथाशीघ्र कानुनी संरचना तयार गरी सात दशकदेखि प्रसारणको क्षेत्रमा क्रियाशील राज्यको अग्रणी संस्थालाई जनकल्याणकारी सार्वजनिक प्रसारण संस्थामा रूपान्तरण गर्न अबचाहिँ ढिला गर्न हुँदैन । यसैमा राज्य, समाज र श्रोताको हित हुनेछ भन्नुमा सायद अन्यथा नहोला ।
अन्त्यमा नेपालमा विद्युतिय सञ्चार माध्यमको अग्रणी संस्थाको रूपमा रहेको रेडियो नेपाल आजैदेखि ७० वर्ष पूरा गरी ७१ औँ वर्षमा प्रवेश गर्दै छ । यस अवसरमा रेडियो नेपाललाई आजसम्मको अवस्थामा ल्याई पुर्‍याउन प्रत्यक्ष अप्रत्यक्ष सहयोग गर्ने तमाम रेडियो प्रेमी मनहरू र शुभेच्छुक सबैमा आभार व्यक्त गर्दछु ।
सन्दर्भ सामग्री
१. रेडियो नेपालको सामाजिक इतिहास (२०६१)
२. रेडियो नेपालका आवधिक सुधार योजनाहरू
३. रेडियो नेपालको मुख पत्र झङ्कारका विभिन्न अङ्कहरू
४. उच्चस्तरीय मिडिया सुझाव आयोग प्रतिवेदन (२०६३)
५. रेडियो नेपाल र जाइका÷ मिडिया फर पिस प्रोजेक्ट (२०१०–२०१३)
६. रेडियो प्रसार सेवा विकास समिति, गठन आदेश (२०४१)
७. आर्थिक सर्वेक्षण २०७६-७७
के.सी. रेडियो नेपालका कार्यकारी निर्देशक हुन्

Tags :
प्रतिक्रिया दिनुहोस