एकल महिला र सुत्केरीलाई ब्ल्याङ्केट र चामल « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

एकल महिला र सुत्केरीलाई ब्ल्याङ्केट र चामल


१९ चैत्र २०७७, बिहिबार


काभ्रेपलाञ्चोक ।काभ्रेपलाञ्चोक  जिल्लाको दुई स्थानीय तहका अति विपन्न एकल महिला तथा सुत्केरीलाई समावेशी कोभिड–१९ प्रतिकार्य योजनाअन्तर्गत दुई थान ब्ल्याङ्केट र एक बोरा चामल, नुन, तेल तथा लत्ताकपडा वितरण गरिएको छ ।

सिबिएम नेपालको सहयोगमा स्रोत व्यवस्थापन तथा ग्रामीण सशक्तीकरण केन्द्र (रिमरेक) धुलिखेलले काभ्रेपलान्चोकको मण्डनदेउपुर नगरपालिका र भुम्लु गाउँपालिकाका अति विपन्न ४०० एकल महिला तथा सुत्केरीलाई जनही दुई थान ब्ल्याङ्केट, सुत्केरी सामग्री र एक बोरा चामल तथा लत्ताकपडा वितरण गरेको हो ।

उनीहरूलाई अबको तीन महिनासम्म चामल वितरण गरिने रिमरेकको सबैका लागि समावेशी परियोजनाका प्रबन्धक राजन गौतमले बताए । उनका अनुसार परियोजनाले दुवै स्थानीय तहका सबै वडा समेटिएको छ । परियोजनाअन्तर्गत सङ्कटासन्न ४०० परिवारका दुई हजार लाभान्वित भएको रिमरेकका सचिव रमेश गौतमले जानकारी दिए । उनका अनुसार राहत सामग्री दुवै स्थानीय तहका जनप्रतिनिधिले स्थानीय स्तरमै वितरण गरेका थिए ।

‘हामीले राहत सामग्री स्थानीय स्तरमै पुगेर वितरण गर्यौँ, दाता संस्थालाई विशेष धन्यवाद दिन्छौँ’, मण्डनदेउपुर नगरप्रमुख टोकबहादुर तामाङले भने । यसअघि गत माघमा सिबिएम नेपालकै सहयोगमा रिमरेकले ती दुई स्थानीय तहका अति विपन्न शारीरिक अपाङ्गता भएका व्यक्तिलाई चिसोबाट जोगाउने उद्देश्यले एक एक थान ज्याकेट र ब्ल्याङ्केट वितरण गरेको थियो ।

रिमरेकको कोभिड–१९ प्रतिकार्य कार्यक्रमअन्तर्गत भुम्लु गाउँपालिकाको १० वटा वडाका १०० र मण्डनदेउपुरका १२० अपाङ्गता भएका व्यक्तिलाई ज्याकेट र ब्ल्याङ्केट वितरण गरेको थियो । मण्डनदेउपुर नगर उपप्रमुख निर्मला शाहीले रिमरेकको सहयोगले अपाङ्गता भएका व्यक्ति, एकल महिला र सुत्केरीलाई राहत पुगेको बताइन् । उनले भनिन्, ‘नगरले पनि अपाङ्गता पहिचान भएका सबैलाई वर्षेनी न्यानो कपडा दिने योजना बनाएको छ ।’

Tags :
प्रतिक्रिया दिनुहोस