कार्यालयमै गएर कर्मचारीको स्वास्थ्य परीक्षण « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

कार्यालयमै गएर कर्मचारीको स्वास्थ्य परीक्षण


गणेश मौनी

५ चैत्र २०७७, बिहिबार


डोटी । सुदूरपश्चिम प्रदेश सरकारले सुरु गरेको ‘म हिँड्छु मेरो प्रदेश हिँड्छ’ भन्ने अभियानअन्तर्गत स्वास्थ्य कार्यालय डोटीले सरकारी कार्यालयमा गएर कर्मचारीको स्वास्थ्य परीक्षण अभियान सुरु गरेको छ ।

अभियानको पहिलो दिन बुधवार जिल्ला प्रशासन कार्यालय डोटीमा गएर डोटीका प्रमुख जिल्ला अधिकारी भीम प्रसाद भटराई, सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशी, प्रशासकीय अधिकृत लगायतका सबै कर्मचारीहरूको स्वास्थ्य परीक्षण गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

वर्तमान समयमा नसर्ने रोगहरूको भार बढ्दै गएका कारण कर्मचारीहरूमा पनि अल्छी पना, मोटोपना नहोस्, स्वास्थ्य परीक्षणमा सबैले ध्यान दिउन् भन्ने हेतुले अभियानको सुरुवात गरिएको स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलासीले बताए । उनले भने,‘हाम्रो प्रदेश सरकार अन्तर्गतको अभियान हो, यसलाई सार्थक तुल्याउन निरन्तरता दिइनेछ ।’

कर्मचारीहरूको स्वास्थ्य परीक्षण अन्तर्गत प्रेसर, मोटोपना, बी एम आई, ग्लुकोज, कोलेस्ट्रोल, केटीनाईन लगायतका रोगहरूको परीक्षण गरिनेसमेत प्रमुख मलासीले बताए । स्वास्थ्य परीक्षण पश्चात् बोल्दै डोटीका प्रमुख जिल्ला अधिकारी भीम प्रसाद भटराईले स्वास्थ्यले सञ्चालन गरेको अभियान सबैका लागि सन्देशमूलक र कमचारीहरुका लागि फाइदाजनक रहेको बताए ।

उनले भने, ‘नसर्ने रोगहरूको भार दिनानुदिन बढ्दै गइरहेको समयमा यस्तो सकारात्मक अभियानको सुरुवातले प्रत्येक व्यक्तिमा हामी स्वस्थ्य हुनुपर्छ, सक्रिय हुनुपर्छ, खानपिनमा पनि ध्यान दिनुपर्छ ।’ कर्मचारीहरूको स्वास्थ्य परीक्षण पश्चात् कर्मचारीहरूको स्वास्थ्य अवस्थाको बारेमा स्वयः थाहा हुनु आफैमा राम्रो हो । अझ आगामी दिनमा स्वास्थ्य क्षेत्रमा निर्माण हुने नीति निर्माणमासमेत यस्ता अभियानले सहयोग पुग्नेसमेत प्रजिअ पौडेलले बताए ।

स्वास्थ्य परीक्षण टोलीमा ल्याबका कर्मचारी, नसर्ने रोग सम्बन्धी तालिमप्राप्त स्वास्थ्यकर्मी रहने छन् । पहिलो चरण अन्तर्गत जिल्ला स्थित सरकारी कार्यालय र दिपायलमा रहेका सङ्घ तथा प्रदेश सरकार मातहतका कार्यलयहरुमा कार्यरत कर्मचारीहरूको स्वास्थ्य परीक्षण गरिने भएको छ । आगामी दिनमा स्थानीय तहका स्वास्थ्यशाखाहरुको समन्वयमा जिल्ला व्यापी बनाउने योजना रहेकोसमेत स्वास्थ्य कार्यालयले जनाएको छ ।

पछिल्लो समयमा स्वास्थ्य कार्यालय डोटी सुदूरपश्चिम प्रदेश भरीको गुणस्तरीय रूपमा छिटो छरितो स्वास्थ्य सेवा प्रवाह गर्ने जिल्लाको रूपमा चिनिँदै आएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस