कोभिडलाई केही होइन भन्ने तान्जानियाका राष्ट्रपति संक्रमणबाट सिकिस्त « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

कोभिडलाई केही होइन भन्ने तान्जानियाका राष्ट्रपति संक्रमणबाट सिकिस्त


एजेन्सी

२७ फाल्गुन २०७७, बिहिबार


एजेन्सी । कोरोना भाइरस(कोभिड १९) लाई केही होइन भन्दै वेवास्ता गर्दै आएका तान्जानियाका राष्ट्रपति संक्रमणबाट सिकिस्त भएका छन् । राष्ट्रपति मागाफुली कोरोना भाइरसबाट संक्रमित भइ सिकिस्त हालतमा केन्याको राजधानी नाइरोबीस्थित एक अस्पतालमा रहेको तान्जानीयका मुख्य विपक्षी दलका नेता टुडु लिसुले जनाएको बीबीसीले उल्लेख गरेको छ ।

पूर्वी अफ्रिकी मुलुक तान्जानियाका राष्ट्रपति मागाफुलीले उनको देशले कोरोनाभाइरसमाथि विजय प्राप्त गरेको दाबी गरेका थिए । उनले खोपको खरिद आदेश दिन पनि अस्वीकार गर्दै आएका थिए।

६१ वर्षीय राष्ट्रपति मागाफुलीले भाइरसलाई हराउन बरू प्रार्थना गर्न अनि जडिबुटीसहित बाफ लिन आह्वान गर्दै आएका थिए।

मृत्यु भएका एकजना वरिष्ठ सहयोगीको अन्तिम संस्कारमा केही साता अगाडि बोल्दै राष्ट्रपति मागाफुलीले तान्जानियाले कोभिडलाई गत वर्ष पनि पराजित गरेको र यो वर्ष पनि पराजित गर्ने बताएका थिए।

देशको अर्ध स्वायत्त जन्जिबार टापुका उपराष्ट्रपतिको कोभिड(१९) को उपचारका क्रममा मृत्यु भएको केही घण्टापछि ती सहयोगीको मृत्यु भएको थियो।

मागाफुलीको सरकारले कोभिड–१९ को व्यवस्थापनलाई लिएर निकै आलोचना बेहोरिरहेको छ। बीबीसी

Tags :
प्रतिक्रिया दिनुहोस