नेताहरूले इतिहास बनाउँछन्, कि इतिहासले नेता बनाउँछ ? « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

नेताहरूले इतिहास बनाउँछन्, कि इतिहासले नेता बनाउँछ ?


२७ पुस २०७७, सोमबार


‘नेताहरूले इतिहास बनाउँछन् कि इतिहासले नेता बनाउँछ’ यो सताब्दीयौं देखी चलेको विवाद हो । मण्डेला‚ गान्धी‚ लेनिन‚ माओत्सेतुङ आदि नेता इतिहासका निर्माता हुन् कि इतिहासका उपज । यस्ता प्रश्नहरू जन्मिए‚ अध्ययनहरू भए विरोधाभासहरू आए तर एउटा कुरा सत्य के हो भने दुरदृष्टि युक्त प्रभावशाली नेतृत्वले चमत्कार गर्न सक्छ भन्ने कुरा उल्लेखित नेतृत्वहरुले प्रमाणित गरिदिए ।

वर्तमान नेपालको सन्दर्भमा नेतृत्व को हो ? नेतृत्वले के गर्छ ? नेतृत्व के हुने ? के जान्ने ? कस्तो हुनुपर्ने ? नेतृत्वको विकास कसरी गर्ने एवं के भिजिनरी नेतृत्व नभएकै कारण नेपालको सामाजिक‚ आर्थिक‚ राजनीतिक रूपान्तरणको अवस्था निराशाजनक भएको हो ? नेपालीहरूले गरेका सङ्घर्षमय विद्रोह‚ क्रान्ति र आन्दोलनको लक्ष्य‚ सीमित वर्गको बर्गोउत्थानका लागि मात्र हो ? संविधानसभाबाट नयाँ संविधान‚ राज्यको पुनर्संरचना‚ शासकीय स्वरूपको परिवर्तन शासन प्रणालीमा पात्र मात्र फेर्न थिएन‚ सम्पूर्ण प्रकारका विभेद‚ उत्पीडन‚ शोषण एवं अन्यायबाट मुक्त एक आधुनिक नयाँ नेपाल निर्माण पनि थियो ।

विडम्बना मुलुक तीव्र परिवर्तनको गतिसँगै अकल्पनीय जटिलतातर्फ उन्मुख भइरहेको छ‚ जनताको निरन्तरको सङ्घर्षको उर्लँदो आकाक्षां छोटो अवधिमै घोर निराशामा बदलिँदै गएको छ‚ बलिदानीपुर्ण आन्दोलनको विरासत बोकेका नेतृत्वहरु नै सत्तामा पुगे पनि किन दुरदृष्टि राख्न तथा नेपालको रूपान्तरण गर्न सकेनन् । अहिलेको दुरवस्थाका लागि जिम्मेवार नेतृत्व हो या अन्य केही हो । के राजनीतिक नेतृत्व असफलतातर्फ गएको हो या रूपान्तरणको बाधक को हो ? यावत प्रश्नहरू आज खडा भएका छन् । नेतृत्व हस्तान्तरण‚ पुस्तान्तरण या रूपान्तरण भन्ने डिस्कोर्षहरु चल्न थालेका छन् ।

निश्चय नै नेतृत्व समाज‚ राजनीति‚ संस्था‚ अवयवहरूको व्यवस्थापनको कार्य हो तर पद होइन । न्याय प्रेमी‚ मेलमिलाप‚ अनुशासन‚ खुबी‚ अन्तरवैयत्तिक आचरण‚ परिस्थितिको अनुकूलता र मार्गदर्शनको प्रतीक हो । परिवर्तनको वाहक हो । तर गफ‚ बखेडा‚ खिचातानी‚ षडयन्त्र‚ जालसाजी‚ बेइमानी एवं लम्पटपन होइन । नेपालमा नेतृत्वको जन्म नै नभएको भने होइन पृथ्वीनारायण शाह‚ विश्वेश्वर प्रसाद कोइराला‚ पुष्पलाल श्रेष्ठहरूले नेपाली समाजको राजनीतिक रूपान्तरणमा योगदान दिएकै हुन । महावीर पुनले म्याग्दीका निरक्षर महिलाहरूलाई कम्प्युटर र इन्टरनेटसँग साक्षात्कार गराउने देखी राष्ट्रिय आविष्कार केन्द्र खोलेर अनुसन्धान तथा विकासको जग बसाउन खोजेकै छन् । सन्दुक रुइतले हजारौँ दृष्टि अर्पण गरेका छन् । उज्यालोको अभियान लिएर नेपालको आर्थिक क्षेत्रमा तथा नेपालीको जन जीवनमा कुलमान घिसिङले ठूलो गुन लगाएका छन् । गोविन्द केसी जनताको शिक्षा र स्वास्थ्य हेतु दीनःदुखीका सहारा बनेर सामाजिक‚ सांस्कृतिक रूपान्तरणमा भूमिका निभाइरहेकै छन् । यस्ता उदाहरणीय नेतृत्वहरुले समाज रूपान्तरणमा योगदान दिएको भएतापनि मूलतः राजनीतिक नेतृत्वमा विभिन्न प्रश्नहरू उठ्ने गरेको छ ।

हाम्रो राजनीतिक संस्कारले पनि कस्तो नेतृत्व जन्मायो/बनायो भन्ने तय गर्दछ । कुनै उम्मेदवारले मतदातालाई मलाइ भोट देऊ म सरकारमा पुगे भने कर घटाउँला भन्यो भने त्यो के हो ? त्यस्तै कुनै उम्मेदवारले म मदिरा‚ मासु चिउरा खुवाउँछु मलाइ भोट देऊ भन्यो भने त्यो के हो ? दुवैमा राजनीतिक विनिमय त देखिन्छ तर के दुवै भ्रष्टाचार हुन/होइनन् ? हाम्रो जस्तो राजनीतिक संस्कार भएको समाजमा राजनीतिको ध्येय भन्नका लागि राजनीतिक विचारधारा भने पनि यथार्थमा निजी लाभ नै भएको पाइन्छ । वर्तमान सन्दर्भमा त झन् विश्वमा नै विचारधाराको सङ्कट परिरहेको अवस्था छ ।

अमेरिकामा भएका रङ्गभेद सम्बन्धी भड्काव‚ भारतमा भएको किसान आन्दोलन‚ भेनेजुएला‚ इरान‚ इराक‚ युरोपियन मुलुकहरू‚ अफ्रिकन मुलुकहरू तथा कतिपय द्धन्द्धग्रस्त मूलकहरूमा हुने गरेका समय समयका आन्दोलनहरूले पनि नेतृत्व सङ्कट भोगिरहेको पाइन्छ । नेपालमै पनि ‘इनफ इज इनफ’‚ अकुपाइ टुँडिखेल‚ उखु किसानको आन्दोलन/मागलाई लिन सकिन्छ । यस्ता मुभमेन्टहरु नेतृत्व सङ्कटबाट गुज्रेका मात्र छैनन् ‘फिलोसोफिकल क्राइसिस’को परिणाम समेत हुन ।

डेभिड एच. रोसेनब्लूम र रोबर्ट एस. क्रभचुक आफ्नो पुस्तक सार्वजनिक प्रशासनमा उदाहरण दिन्छन् किः एउटा पार्टी कुनै पनि पालिका/संचरनाको सत्तामा छ । यसले धेरै सार्वजनिक निर्माण र सुधारको काम गर्नुपर्ने छ । सत्ताधारीहरुले सुटुक्क कुनै स्थानमा पार्क‚ मल‚ स्टेडियम‚ बसपार्क बनाउन लागेको जानकारी निकटका (व्यापारिक/व्यावसायिक क्रोनिज) व्याक्तिहरुलाइ दिन्छन् र कमाउने अवसर देख्छन् । त्यसपछि सो क्षेत्रको आसपासमा जग्गा खरिद गर्ने‚ आफ्नो समेत छदम भेषमा लगानी गर्ने गर्छन् । त्यसपछि सम्बन्धित बोर्डबाट निर्माण गर्ने निर्णय गरी सार्वजनिक गर्छन् । त्यसपछि सो स्थानको जग्गा किन्न भिड लाग्छ । सुरुमा कौडीको मूल्यमा किनेको जग्गा करोडौँ/अरबौँ मूल्यको हुन्छ । माग बढेको बेला राम्रो मोलमा बेचेर नाफा कमाउनु के नराम्रो हो र ? हो भने पनि यो ठगी नै हो इमानदार प्रकारको । यसरी निजहरूले दिएको उदाहरण हाम्रो राजनीतिक संस्कारमा पनि मिल्छ ।

आफ्नो स्वार्थ गाँसिएको विषयमा आफैँले निर्णय गर्न मिल्दैन तर यहाँ आफै संलग्न भई निर्णय गरिने र त्यस्तो निर्णयको आधारमा राष्ट्रिय सम्पत्तिको हानी नोक्सानी हुने (नीतिगत भ्रष्टाचार) जस्ता कार्य बढ्दै गएको भनी पूर्व प्रशासक शारदाप्रसाद त्रिताल बताउँछन् (हेर्नुहोस् कामाद जर्नल‚ इस्यू ३४‚ २०७७ पेज ५३) । सरकारी नीतिकार्यक्रमको भित्री सूचनालाई भजाएर व्यक्तिगत शुभलाभ गर्नु स्वाभाविक मान्न सकिन्न । अधिकांश राजनीतिक‚ प्रशासनिक नेतृत्व यस्तै कार्यको वरिपरि पाइने गरेको‚ मूल्यको राजनीति गर्ने नेता र इमानदार कर्मचारी पाउन यहाँ अत्यन्तै गाह्रो रहेको भनी बौद्धिक वर्ग तथा जनस्तरबाट तीव्र आलोचना हुने गरेको छ । राष्ट्रिय दैनिकहरू अख्तियार दुरुपयोग र भ्रष्टाचारका समाचारले दैनिक जसो भरिएकै हुन्छन् । अरू त अरू न्यायिक क्षेत्र समेत आलोचना मुक्त रहन सकेको छैन ।

यसै गरी नेतृत्व निर्माणका सन्दर्भमा बिहारीकृष्ण श्रेष्ठ र योगेश ढकाल आलोचना गर्दै लेख्छन् ‘हाम्रो जुन किसिमको निर्वाचन प्रक्रिया छ‚ त्यसमा पैसाले ठूलो भूमिका खेल्ने भएकोले यो निर्वाचनको दुष्प्रभावले कुनै पनि राजनीतिक व्यक्तिले घुस नखाई धरै पाउँदैन । अर्थात् हाम्रो जस्तो लोकतान्त्रिक व्यवस्थाले स्टेटम्यानको अभ्युदय हुने ठाउँ नै दिँदैन’ अर्थात् यस कारणले धेरै जसो अवस्थामा एक जना सफल राजनीतिक नेतृत्व बाध्यतावश घुस्याहा नै हुने गर्दछ’ । (हेर्नुहोस् ‘अबको नेपाल‚ सम्भावना र कार्यदिशा’ पुस्तकको भूमिका २०७४) ।

व्यक्तिगत स्वार्थका लागि सार्वजनिक विश्वासलाई धोका दिनु‚ आदर्शबाट विचलित हुनु‚ सार्वजनिक शक्ति‚ पद वा साधन स्रोतको निजी लाभका लागि गर्ने दुरुपयोग भ्रष्टाचार हो । आज पनि कुनै व्यक्ति/नेतृत्वले कसरी पैसा कमायो भनेर हामी खोजीनिती गर्दैनौ‚ पैसा छ भने उ स्वतः इज्जतदार भइहाल्छ । बक्सिस‚ गवन‚ घुस‚ नजराना भ्रष्टाचारकै द्योतक हो यस्तो घुस्याहा संस्कारबाटै आएकाहरू‚ इज्जतदार र इमान्दारहरु बेवकुफ भएको अवस्था रहेकोले उच्च राजनीतिक इच्छाशक्ति भएको चमत्कारिक नेतृत्वको कुशल नेतृत्व कलाको माध्यमबाट मात्र अव यो नियन्त्रण गर्न सकिएला ।

नेपालमा आफूलाई प्राप्त अधिकार तथा शक्तिको कुशल प्रयोग गर्ने क्षमता भएको‚ मानिसहरूको आवश्यकता‚ चाहना र मनोविज्ञान बुझ्न सक्ने‚ मानवीय क्षमताको कदर‚ सम्मान र उत्प्रेरित गर्न सक्ने‚ दुरदृष्टि भएको‚ साहसिक‚ दूरगामी र सही निर्णय गर्ने सक्ने‚ फराकिलो सकारात्मक सोच भएको‚ व्यवहारिक तथा पथप्रदर्शक‚ भविष्य वेत्ता‚ लक्ष्योन्मुख‚ परिवर्तन कामी/अग्रगामी विचारले ओतप्रोत भएको‚ योग्य‚ क्षमतावान्‚ सच्चा‚ इमानदार‚ निष्ठावान्‚ लगनशील‚ विश्वासिलो‚ स्वच्छ‚ सरल‚ उच्च नैतिक चरित्र भएको एवं मुलुक/सङ्गठनको कायापलट गर्न सक्ने मन‚ बचन र कर्मले नै जनसारथि बन्न योग्य नेतृत्वको आवश्यकता छ । आज सम्म पनि युग सापेक्ष नेतृत्व विकास नहुनु‚ ‘जुन जोगी आए पनि कानै चिरेको’ साबित हुनु हाम्रो लागि विडम्बना हो । अहिलेको युवा पुस्ता‚ नेपाली समाजले उक्त पुस्तासँग गरिरहेको अपेक्षा एवं नेतृत्व र विचारको सङ्कटबारे अब त हाम्रो मथिङ्गलमा उब्जिएका प्रश्नहरूलाई नै प्रश्न गर्ने बेला भएन र !

Tags :
प्रतिक्रिया दिनुहोस