महिला सशक्तीकरणको आधार « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

महिला सशक्तीकरणको आधार


२५ मंसिर २०७७, बिहिबार


राजधर्मको बेडीको परिबन्दमा पर्दा पनि सीता माताले दोहोर्‍याएरपवित्रताको परीक्षण दिन इन्कार गर्नुभयो । शायद त्यतिकी साहसी, पवित्र र कर्तव्य परायण महिलाको दोस्रो उपस्थिति यस कलियुगमा नभएर होला, सीता माताको जतिको साङ्केतिक विम्ब सृजना गर्न सक्ने महिलाको अभाव खड्किएको होला । त्यसै गरी महिलाहरूका आवश्यकता, सम्भावना र यथार्थहरूलाई प्राज्ञिक बहसमा ल्याउने मध्येकी प्रोफेसर नैला कविरले महिलाहरूलाई साहसी, कर्मयोगी र कर्तव्यपरायण बनाउन शिक्षा, रोजगारी शक्ति संरचनामा रूपान्तरणको आवश्यकता रहने तर्क गरेकी छन् । यस आलेखमा महिला शिक्षा, रोजगारी र शक्तिमा साझेदारीका पक्षहरू मार्फत वैवाहिक संस्थालाई के कसरी महिला सशक्तीकरण गर्न सकिन्छ ? भन्ने विषयको सामान्य विश्लेषण गरिएको छ ।

नेपाली समाजको महिला शिक्षा आज पर्यन्त धेरै हदसम्म भानु भक्तीय वधू शिक्षा प्रणालीमा आधारित छ । वधुशिक्षा आफैमा तत्कालीन समयमा एउटा क्रान्तिकारी उपज नै थियो । तर कालान्तरमा यसले गहिरो गरी छोरा श्रेष्ठ र छोरी कनिष्ठ भन्ने खालको पारिवारिक पदसोपान सृजना गर्‍यो । यो पारिवारिक पदसोपान शहरी क्षेत्रमा न्यून र ग्रामीण क्षेत्रमा हालसम्म पनि अधिक छ । आजको हाम्रो शैक्षिक, सामाजिक, आर्थिक, राजनीतिक एवम् प्राविधिक प्रणालीले कसरी समानता, सक्षमता र स्वामित्व भावमा आधारित बनाउने ? भन्ने चुनौती थपेको छ ।

नैला कविरले मूलतः सामाजिक संरचना र संस्थाहरूले महिलाको शिक्षा आर्जन रोजगारी संरचना र राजनीतिक प्राविधिक प्रक्रियालाई गहिरो गरी प्रभाव पर्ने तर्क अगाडि बढाएकी छन् । नेपाली समाजको सोच र संरचनामा विद्यालय शिक्षामा गरिएको लगानी, निजी शैक्षिक संस्थाहरूको उन्नयन, प्रविधिमा आएको नवीन परिवर्तनले गर्दा केही हदसम्म परिवर्तन भएकै हो । तथापि महिला र पुरुषको व्यक्तिगत, पारिवारिक र सामाजिक जीवनमा क्रमशः शिक्षा, रोजगारी र प्रतिनिधित्वमा सारभूत भिन्नता रही आएको छ ।

यसलाई चिर्नको लागि हाम्रा केही सामाजिक सोचहरूलाई परिवर्तन गर्नु परेको छ । उदाहरणको लागि कुलकी छोरी र मूलको पानी । यो सोच अर्ध सत्य मात्र हो । किन भने सबै कुलका छोरीहरू असल, सक्षम र विनयी हुँदैनन् । यसको अर्को पाटो कुलकी मात्रै छोरी हुनु पर्ने ? कुलको छोरो हुन नपर्ने ? त्यसै गरी खाडी मुलुकमा रोजगारीको सिलसिलामा बलात्कृत भई आएकी नेपाली चेलीबाट जन्मिएकी छोरीले चाही कुलघरान नभएकै कारणले पुस्तौँ सास्ती पाउन पर्ने अवस्था कसरी अन्त्य गर्ने ?

यी तमाम महिलाको सवालहरूलाई धेरै हदसम्म असर गर्ने सामाजिक संस्था विवाह हो । यो युवा युवतीको जैविक आवश्यकता र वंश परम्परा, सम्बन्धित परिवारको वैभव र भविष्य एवं समाजको लागि परिपक्व नागरिकको आपूर्ति गर्ने पद्धति पनि हो । वैवाहिक संस्थालाई दरिलो बनाउन शिक्षा, सीप र रोजगारीले युक्त दामाली केटा र केटीको सङ्ख्या बढाउन वैयक्तिकरुपमा शिक्षा र प्रशिक्षा, समाजमा रोजगारी र राज्यको तहमा निर्णय प्रक्रियामा महिला पुरुषको सक्षम र समानुपातिकरुपमा उपस्थिति आवश्यक हुन्छ ।

अलिक मसिनो रूपमा बुझ्दा महिला शिक्षा, महिला रोजगारी, महिला प्रतिनिधित्व बढाउन सकेमा वैवाहिक संस्था बलियो हुँदै जान्छ । महिला अधिकार र कर्तव्यको सन्तुलनबाट उच्च तहको समझदारीसहितको समाज निर्माण हुन सक्दछ । पश्चिममा सभ्यताको सुख र पूर्वी सभ्यताको खुसीको संयोजन गर्ने गरी महिला सशक्तीकरणका लागि वैवाहिक संस्थालाई दरिलो बनाउँदै अगाडि बढ्नु परेको छ ।

रेग्मी नेपाल सरकारका उपसचिव हुन् ।

 

 

Tags :
प्रतिक्रिया दिनुहोस