सपना र विकास « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

सपना र विकास


२६ कार्तिक २०७७, बुधबार


नेपालमा विकास, समृद्धि र सुशासनका कुराहरू असम्भव मात्रै होइन, हाँसो र ठट्यौलीभन्दा माथिको हैसियतमा पर्दैनन् । मुर्छित सपनाहरूमा नागरिकहरू बाँच्न अभिसप्त छन् । लाग्छ, विकास नेपालमा वर्जित छ । यो त युरोप, अमेरिका, मध्यपूर्व र अन्य देशहरूकै पेवा हो । सिमखेतमा पो धान फल्छ । नेपाल त लहलह धानका बाला झुलाउने सिमखेतको बीचमा रहेको बञ्जर भूमि न हो । बञ्जर भूमिको उपयोगिता खेतीका लागि हुँदैन । मानो छरेर मुरी उब्जाउने परिश्रमी किसानहरूको थकाइ बिसाउने स्थलकोरूपमा यो सीमित रहन्छ ।

अमेरिकामा एउटा व्यक्ति दुई कार्यकालभन्दा बढी राष्ट्रपति पदमा दोहोरिँदैनन् । कम्युनिष्ट शासन प्रणाली अंगालेको चीनमा पनि दुई कार्यकालभन्दा बढी एउटै व्यक्ति कार्यकारी पदमा दोहोरिएको देखिँदैन । बेलायत, रुस, जापानलगायतका देशहरूमा यस्तै स्थिति देखिन्छ । यी देशहरूमा कार्यकारीसँग देशको विकास र सुशासनको कार्यकालभरिको खाका हुन्छ । जनताले प्रतिबद्धता र कार्यान्वयनको प्रगति हेर्छन् । ५ वर्षमै बिदाइ गर्ने कि अर्को कार्यकाल पनि निजलाई कार्यकारी हुन दिने फैसला गर्छन् ।

अमेरिकामा बिल क्लिटन र जर्ज डब्ल्यु बुस क्रमशः सन् १९९३ देखि २००० र २००१ देखि २००९ सम्म दुई कार्यकाल राष्ट्रपति बने । चीनमा देङ् स्याओ पिङ्ले १९७०—१९९७ शासन गरे । वास्तवमा आधुनिक चीनको विकास देङ स्याओ पिङको देन हो भन्दा अत्युक्ति हुँदैन । हु जिन्ताओ सन् २००३ देखि २०१२ सम्म दुई कार्यकाल राष्ट्रपति भए । चीनको विकासमा हु को नाम पनि उल्लेखनीय मानिन्छ ।

चीनमा वर्तमान राष्ट्रपति सी जिङ पिङ सन् २०१२ मा निर्वाचित भएर सन् २०२२ सम्मका लागि अनुमोदित भइसकेका छन् । सन् २०१४ मा प्रकाशन भएको उनको पुस्तक ‘दि गभर्नेन्स अफ चाइना’ विश्वविख्यात मानिन्छ । सन् २०४९ मा चीनले क्रान्तिको एक सय वर्षगाँठ मनाइरहँदा समृद्धि, प्रजातन्त्र, स्वतन्त्रता, समानता, एकता, न्याय, विधिको शासन, राष्ट्र प्रेम र भ्रातृत्वको लक्ष्य प्राप्ति गरी चीन विश्वकै नेतृत्व गर्न सफल हुने खाका ‘सी’ले प्रस्तुत गरेका छन् । सिंगापुरका ली क्वानले ३१ वर्ष शासन गरे तर एउटै पुस्तामा देशको कायापलट गर्न सकिन्छ भन्ने उदाहरण विश्व समुदायलाई छोडेर बिदा भए ।

संसारमा यस्ता थुप्रै दृष्टान्तहरू देखिन्छन् । सन् १९७५ सम्म अल्मलिएका देशहरूले विकासको बाटो समातिसके । फरक यति हो कि कोही रफ्तारमा छन् कसैको हिँडाइ सुस्त छ । विडम्बना, नेपालले विकासकोबाटो हराएको छ । पहिलो कार्यकालै बदनाम भइसकेकाहरू दोस्रो, तेस्रो, चौथो र पाँचौँ पटक प्रधानमन्त्री भए । अहँ विकासको माखो मारेनन् । बरू विकृति र विसङ्गति भित्र्याएर देशलाई थला पारे । सांसदहरूलाई प्राडो र पजेरो बाँडे । आफ्ना कार्यकर्ताहरूलाई राज्यको ढुकुटीबाट रकम वितरण गर्न थाले । प्रधानमन्त्री भएर असफल भइसकेकाहरू फेरि पनि प्रधानमन्त्री बन्न खोजिरहँदा उनीहरूलाई ‘किन’ भन्ने प्रश्न कसैले गर्दैन ।

लाग्छ, नेपालमा प्रधानमन्त्रीको पद क्षमता, योग्यता, विकासका एजेण्डा र नीतिले होइन परम्पराले चलेको छ । त्यसैले प्रधानमन्त्री पदको बिँडो जसले थामे पनि हुन्छ । तर बुढ्यौली, पार्टी अध्यक्ष वा सभापतिजस्ता योग्यता भने हुनुपर्छ । सामान्य लेखपढ भएको नागरिक होस् तथा राजनीतिमा कपाल फुलाएर पार्टी अध्यक्ष भएको व्यक्ति, उनीहरू प्रधानमन्त्री हुनुमा उमेरबाहेक तात्त्विक भिन्नता केही पनि हुँदैन ।

२०७२ असोज ३ गते संविधान जारी भएपछि केपी शर्मा ओली प्रधानमन्त्री भए । नेपालको संसदीय इतिहासमा उहाँ अलि फरक देखिनु भयो । नेपालले आफ्नो इच्छा विपरीत संविधान घोषणा गरेको रिसमा नाकाबन्दी लगाउने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दिएको भ्रमणको निम्तालाई ओलीले तिरस्कार गर्दै ‘नाकाबन्दी नहटाएसम्म तपाईँको देशमा पाइला टेक्दिन’ भन्ने आँट गरे । नाकाबन्दी विरुद्ध उनले दिएका कडा अभिव्यक्तिहरूले यसअघि ठूलदाइको प्रभुत्व देखाउँदै आइरहेको भारतका प्रधानमन्त्री हार गुहार गर्दै युरोपेली युनियनसम्म पुगे । तर मोदी जहाँ पुगे, त्यहाँ एउटा स्वाधीन र सार्वभौम राष्ट्रकोरुपमा नेपालको आवाज गुञ्जियो ।

विश्व समुदाय अगाडि भारतको कुनियत उदांगियो । भारत नेपालको असल होइन, नजिकको मात्रै मित्र रहेछ भन्ने प्रमाणित भयो । यस कुराले नेपालको परराष्ट्र नीतिमै बदलाव ल्याउनुपर्ने देखियो । मित्र राष्ट्रहरूसँग सम्बन्ध गर्न डराउने पराधीन मानसिकता रहेको समाजमा ‘एक्काइशौँ शताब्दीको नेपाल आफ्नो विकास, परराष्ट्र नीति र सार्वभौम निर्णयका लागि स्वतन्त्र छ’ भन्दै केपी ओलीले चीनसँग व्यापार तथा पारवहन सम्झौता गरे । उनले केरुङ छिचोल्दै काठमाडौँ, पोखरा र लुम्बिनीसम्म चिनियाँ रेल गुडाउने योजनामा हस्ताक्षर गरे । अन्ततः समुद्रपार देशहरूसँग व्यापार तथा कुटनैतिक सम्बन्ध गर्न भारतवेष्ठित भूराजनीतिक चुनौतीलाई परास्त गर्दै खुल्ला स्वतन्त्र र स्वाधीन भूराजनीतिको ओलीले संखघोष गरे ।

ओलीले प्रशान्त महासागरमा नेपाली ध्वजा बाहक पानी जहाज तैराउने योजना सुनाए । हावाबाट बिजुली निकाल्ने र स्वदेशमै प्राकृतिक ग्याँस उत्खनन गरेर पाइप लाइनबाट घर घरमा इन्धन आपूर्ति गराउने कुरा गरे । देशमा खनिज पदार्थको खोजी, उत्खनन र प्रशोधन गरी देशलाई औद्योगिकीकरण गराई विकासको मूल फुटाउने सपना देखाए । मुर्छित सपनामा निदाइरहेको समाजका केही कथित बुद्धिजीवी र राजनीतिज्ञहरू ओलीका योजना र सपना देखेर हाँस्न थाले भने कोही रिसले मुरमुरिए ।

सङ्घीय संरचनामा सबै तहको निर्वाचन सम्पन्न भयो । नेकपा एमाले र ए माओवादी पार्टी एकीकरणको एजेण्डालाई जनताले भारी मत दिएर अनुमोदन गरे । जनतालाई विकासका सपना बाँड्ने उनै खड्गप्रसाद ओली प्रधानमन्त्री बन्नु भएको शुभारम्भमै नेपालको भूराजनीति बदलावका सङ्केतहरू देखिन थाले ।

‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको पहिलो कम्युनिष्ट सरकारले नेपालमा विकासको मूल फुटाउने काम ग¥यो । विश्वकै कंगाल देशहरूको अग्र पङ्क्तिमा पर्ने नेपालले १५ वर्षको छोटो अवधिमै कायापलट गरेको छ । नेपालको बिजुली भारत, चीन, बंगलादेश, पाकिस्तान र मंगोलियासम्मका बजारमा खपत भई अर्वौँ आम्दानी गर्न सफल भएको छ ।

पेट्रोलियम पदार्थ, तामा, फलाम र सुनबाट नेपाल आत्मनिर्भर बनेको छ । निर्यातमुखी बन्ने रफ्तारमा खनिज पदार्थको उत्खनन भइरहेको छ । प्रदेश नं. ६ को राजधानी सुर्खेतसँग कर्णाली क्षेत्र केबलकारले जोडिएको छ । मानसरोवर जाने पर्यटकहरूको मुख्य प्रवेश मार्ग नेपाल भएको छ । हिमालको १५% भूगोललाई औषधि भण्डारको रूपमा विकसित गरिएको छ । त्यहाँ खुलेका जडीबुटी र पशुजन्य उद्योगहरूले मात्रै नेपालको बेरोजगारी समस्या आधा समाधान गरेको छ ।

६८% पहाडी क्षेत्रलाई फलफूल भण्डारकोरुपमा विकास गरिएको छ । दक्षिण एशिया, अफ्रिका र युरोपका बजारहरू नेपालका फलफूलको वर्चस्व देखिन्छ । तराईको १७% भूगोल अन्न भण्डारको रूपमा समुद्रपारका देशहरूमा खाद्यान्न निर्यात गर्न सफल भएको छ । सरकारले हिमाल, पहाड र तराई सबै क्षेत्रका कृषकहरूले प्रति इकाई न्यूनतम उत्पादकत्वको मापदण्ड पूरा गर्नै पर्ने नियम तोकेको छ ।

मापदण्ड पूरा गर्न नसक्ने किसानहरूको जग्गा लिजमा लिएर स्वयं सरकारले खेती गर्छ, जसले गर्दा चमत्कारीढंगले कृषि रोजगारी बढ्न गई कोरिया, चीन, इण्डोनेशिया, फिलिपिन्स, भारत, पाकिस्तान, बङ्गलादेश, भुटान आदि देशहरूका १० लाख वैदेशिक कामदारहरूलाई नेपालले रोजगार दिइरहेको छ ।

महाकालीदेखि मेचीसम्म निर्माण गरिएको ४ लेनको सडकमा उत्तर र दक्षिणतिर दुई–दुई मोहडा पर्ने गरेर सिङ्गो तराईलाई एउटै सहरमा जोडिएको छ । यसबाट एकीकृत बस्ती व्यवस्थापन भई बाढीले तराईमा बर्सेनी गरिरहने डुबान समस्या पूर्ण रूपले समाधान भएको छ । सडकदेखि १ किमीको दूरीमा उत्तरतिर रहेको रेलमार्गले काँकडभिट्टादेखि वनबासासम्मको दूरी १० घण्टामा सीमित बनाएको छ । भ्रष्टाचारमा शून्य सहनशीलताको नीति लिइएको छ ।’

‘नेपाली ध्वजा बाहक पानी जहाजहरू प्रशान्त र आन्ध्र महासागर छिचोल्दै अमेरिका, युरोप र चीनका बन्दरगाहमा लामबद्ध छन् । सम्पूर्ण औद्योगिक उत्पादनमा देश आत्मनिर्भर हुँदै छ । औद्योगीकरणको वृद्धि दर २०% रहेको छ । गरिबी ५% मा झरेको छ । १० वटा सडक चीनसँग जोडिएका छन् । स्थल मार्गबाट हुने कूल वैदेशिक व्यापारको ६०% व्यापार उत्तरी नाकाबाट र ४०% दक्षिणबाट हुने गरेको छ ।

लुम्बिनी, पोखरा, निजगढ, विराटनगर, नेपालगन्ज र काठमाडौँ गरी ६ वटा अन्तर्राष्ट्रिय विमानस्थलहरूबाट दैनिक सयौँको सङ्ख्यामा जहाजहरूले उडान भरिरहेका हुन्छन् । समग्रमा तीव्र गतिको वेगमा नेपालको विकास दौडिरहेको छ ।’ उफ् ! यस्तो भन्ने दिन कहिले आउला ? कस्तो मीठो सपना परेछ, आज !

Tags :
प्रतिक्रिया दिनुहोस