सातामा दुई दिन र व्यवस्थित सार्वजनिक बिदा « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

सातामा दुई दिन र व्यवस्थित सार्वजनिक बिदा


२० कार्तिक २०७७, बिहिबार


‘सातामा दुई दिन सार्वजनिक बिदा र चाडबाड लगायतका अन्य बिदाहरू व्यवस्थित हुँदा कर्मचारीको सकारात्मक मनोविज्ञान र उत्पादकत्व बढ्ने हुँदा सेवाप्रवाहमा रूपान्तरण ल्याउन सकिन्छ’

केही समय अघि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको तर्फबाट मन्त्री योगेश भट्टराईले आन्तरिक पर्यटन प्रवर्द्धन गर्न दुई दिने सार्वजनिक बिदा दिने प्रस्ताव गरेपछि सरकारी तहमा नै यसले उच्च स्थान पाएको छ । संघीय निजामती विधेयक माथि संशोधन राख्दै सांसद गगन थापाद्वारा दुई दिन सार्वजनिक बिदाको कानुनी व्यवस्थाको लागि प्रस्ताव पेस भएको छ । यस सँगै सार्वजनिक बिदाको सम्बन्धमा पक्ष विपक्षको बहसले पूर्व प्रशासक, कर्मचारी, अर्थशास्त्री तथा निजी क्षेत्रलाई आकर्षित गरेको छ ।

सार्वजनिक बिदाको विषयले दसैँ तिहार लगायतका महत्त्वपूर्ण चाडपर्व र अन्य दिवसहरूमा निकै चर्चा पाउँछ । कुनै अवसरमा सार्वजनिक बिदा दिनु त्यसलाई उच्च मान्यता दिएको अर्थमा विभिन्न जाति समुदायले व्याख्या गर्ने गरेको पाइन्छ । संघीय तथा प्रादेशिक सरकारले कुनै धर्म विशेष वा सानो समुदायले मनाउने दिनलाई सार्वजनिक बिदा तोक्ने र बहुसङ्ख्यक समुदायले मनाउने दिनलाई सार्वजनिक बिदा नदिने वा थोरै दिन बिदा दिने गरेको भनेर गुनासाहरू सुनिने गर्दछन् ।

दसैँको पर्सिपल्ट अनि तिहारको भोलिपल्ट नै कार्यालयहरू खुल्ने गर्छन् । कार्यालयहरू खुलेपछि कर्मचारीको उपस्थितिको विषयलाई मिडिया, बुद्धिजीवी तथा नागरिकहरूले निकै महत्त्वका साथ गम्भीर आलोचना गर्ने गरेको पाइन्छ । यस आधारमा हेर्दा नेपालमा पर्याप्त अध्ययन र आधार बिना सार्वजनिक बिदाहरू निर्धारण गर्ने गरिएकोले यी बिदाहरू व्यवस्थित तथा सर्वस्वीकार्य हुन सकिरहेका छैनन् । हप्ताको दुई दिन सार्वजनिक बिदाको व्यवस्था अधिकांश मुलुकमा दिने गरिएको पाइन्छ । जापान, दक्षिण अफ्रिकाले त सार्वजनिक बिदा सम्बन्धी कानुन (पब्लिक सर्भिस एक्ट) लागु गरेर सार्वजनिक बिदालाई व्यवस्थित गरेका छन् । नेपालमा विश्व अभ्यास जस्तै कुनै कानुनी व्यवस्था गरेर सार्वजनिक बिदाको व्यवस्थापन गर्ने गरिएको छैन ।

नेपालमा दुई दिन सार्वजनिक बिदाको अभ्यास यस अघि पनि गरिएको हो । तथापि त्यस अनुसार आवश्यक व्यवस्थापन गर्न र त्यसको महत्त्व बुझाउन नसक्दा सार्वजनिक बिदा सम्बन्धी ती व्यवस्थाहरूको प्रभावकारी कार्यान्वयन हुन सकेन । भीमशमसेरले सुरु गरेको सार्वजनिक बिदाको दिन र समय राणाकालमा नै पटक पटक परिवर्तन भए । वि. स. २०५६ सालमा त्यस बेला अदालतमा भएको अभ्यास जस्तै उपत्यकाका सरकारी कार्यालयहरूमा साताको दुई दिन सार्वजनिक बिदा र कार्यालय समय बिहान ९ बजे देखि ५ बजेसम्म कायम गरिएको थियो । प्रशासनिक खर्च घटाउने, ऊर्जा सङ्कट कम गर्ने, प्रदूषण कम गर्ने, कर्मचारीको उत्पादकत्व बढाउने लगायतका उद्देश्य राखेर सातामा दुई दिन बिदा दिइएकोमा लक्षित उद्देश्य प्राप्त हुन नसकेको भन्दै व्यवस्था हटाइएको थियो ।

अझै पनि हाम्रो परिणामलाई भन्दा समय र भौतिक उपस्थितिलाई महत्त्व दिने सोच परिवर्तन हुन सकिरहेको छैन । आराम गर्ने संस्कृति हामीमा विकास भएको छैन । निजी क्षेत्रमा त अझ कार्य बोझ र काम गर्ने समयको कुनै सीमा हुँदैन । कर्मचारी हरेक दिन कार्यालय समयमा कार्यालयमा हुनु मात्र प्रभावकारी सेवा प्रवाह भइरहेको पक्कै होइन । बिहान ८ बजेदेखि रातीसम्म काममा खट्ने सरकारी कार्यालय तथा कर्पोरेट क्षेत्रका कर्मचारीको मनोदशाको बारेमा नीति तथा नागरिक तहमा कुनै सवाल छैन ।

पंतिकार स्वयंको सरकारी सेवामा प्रवेश गर्नु अघि निजी कलेजहरूमा प्राध्यापन गर्दाको बिदा सम्बन्धी तितो अनुभव छ । सरकारले दिने सबै सार्वजनिक बिदा त्यहाँ दिईदैनथ्यो । दसैँ तिहार लगत्तै र आन्तरिक परीक्षा सकिएपछि कलेजमा विद्यार्थी नै नहुँदा वा कक्षामा दुई तीन जना विद्यार्थी हुँदा पनि कलेज खुल्थ्यो र शिक्षक कक्षामा अनिवार्य जानु पर्थ्यो । त्यहाँ शिक्षकको भौतिक उपस्थिति शैक्षिक संस्था सञ्चालकहरूको लागि महत्त्वपूर्ण र सन्तुष्टिको विषय हुन्थ्यो । शिक्षकहरूको मनोविज्ञान र यसले उनीहरूको क्षमता र तत्परतामा पार्ने असरको बारेमा कुनै मतलब हुँदैनथ्यो । शिक्षक साथीहरू निकै भारी देखिन्थे र वर्किङ आवर घटाउनु पर्ने छलफल हुन्थ्यो । यो निजी क्षेत्रको प्रतिनिधि उदाहरण मात्र हो । सायद अहिले पनि परिस्थितिमा कुनै परिवर्तन आएको छैन ।

सरकारी सेवामा प्रवेश गरेपछिको पनि केही अनुभव छन् । कर्मचारी काम गर्दैनन् भन्ने धारणा नागरिकहरूसँग छ । सरकारी कार्यालयमा हुने ओभर लोड र ईमान्दार कर्मचारीको मनोविज्ञान बुझ्ने कोही छैन । दसैँको पर्सि र तिहारको भोलि कर्मचारी कार्यालय जानुपर्छ । दसैँ तिहार सबैको जस्तै कर्मचारीका पनि महत्त्वपूर्ण पर्वहरू हुन् । दसैँको पूर्णिमासम्म र तिहारको भोलिपल्ट सेवाग्राही पनि खासै आउँदैनन । अन्य केही सांस्कृतिक पर्वहरू पनि छन् जसमा सरकारी कार्यालय खुल्छन् तर सेवाग्राही आउँदैनन् । तर ती दिन बिहान देखी नै मिडियाका क्यामरा कार्यालयका कुर्सी कुर्सीमा डुल्छन् र कार्यालय खुले पनि कर्मचारी आएनन् भन्ने समाचार बन्छ । अनि नागरिक, बुद्धिजीवी र सामाजिक सञ्जालमा कर्मचारीप्रति आलोचना र गालीगलौज सुरु हुन्छ ।

महत्त्वपूर्ण दिनहरूमा राष्ट्रिय बिदा, सातामा दुई दिन सार्वजनिक बिदा र कर्मचारीको लागि सुविधा सहितका साता भन्दा बढीका भ्रमण बिदाहरू विश्वका अधिकांश मुलुकहरूमा पाइन्छ । दक्षिण अफ्रिका, जापान, अमेरिका लगायतका देशमा सातामा सार्वजनिक बिदा हुने दुई दिनमा कुनै अर्को सार्वजनिक बिदा परेमा त्यस पछिको वर्किङ डेमा सार्वजनिक बिदा हुन्छ । अझ जापानमा त यदि दुई वटा सार्वजनिक बिदाको बीचमा कुनै दिन परेमा त्यो दिन पनि सार्वजनिक बिदा दिने गरिन्छ ।

सार्वजनिक बिदा अथवा कार्य समयमा यति धेरै लचक देशहरू सेवा प्रवाहमा उत्कृष्ट छन् र हामी आफै सेवा प्रवाह तथा विकासको सवालमा ती देशहरूको नै उदाहरण दिने गर्दछौँ ।

विगतमा सातामा दुई दिनको सार्वजनिक बिदा असफल भएको भनेर आज सोही नीति अख्तियार नगर्ने भन्ने हुँदैन । यस प्रकारका नीतिको कार्यान्वयनसँगै आवश्यक पूर्वाधारको निर्माण गर्दै यसलाई व्यवस्थित गर्ने हो भने दीर्घकालमा यसका सकारात्मक पक्षहरूबाट फाइदा लिन सकिन्छ । अहिले सातामा दुई दिनको बिदा आन्तरिक पर्यटन प्रवर्द्धन गर्न भनिएको छ । यो महत्त्वपूर्ण कारण हो तर यसका साथै अन्य थुर्पै महत्त्वपूर्ण आर्थिक, सामाजिक तथा मनोवैज्ञानिक कारणहरूले सातामा दुई दिन सार्वजनिक बिदा उपयुक्त छ ।

कर्मचारीको उत्पादकत्व र मनोविज्ञानसँग त यो प्रत्यक्ष सरोकार हुन्छ । यसलाई कर्मचारी वा मजदुरको शारीरिक तथा मानसिक स्वास्थ्य, कार्यालयमा कर्मचारीको कामप्रतिको तत्परता र कामको प्रभावकारितामा सकारात्मक परिवर्तन ल्याउने महत्त्वपूर्ण नीतिको रूपमा अङ्गीकार गर्नु पर्दछ । त्यसै गरी आरामले सृजनात्मक क्षमतामा पार्ने असर, कर्मचारीका सामाजिक सांस्कृतिक सम्बन्धहरू र यसले आन्तरिक पर्यटन र चलायमान बजार मार्फत व्यापार र उत्पादकत्व वृद्धि गरी अर्थतन्त्रमा पार्ने प्रभाव को आधारमा पनि सार्वजनिक बिदाको विश्लेषण गर्न जरुरी छ ।

थोरै समयको कामले मानव स्रोतको प्रभावकारी परिचालन गर्न सक्ने, आम्दानीको समान वितरणमा सघाउने र अन्ततः श्रम र स्रोतको बजारलाई प्रतिष्पर्धी बनाई अर्थतन्त्रलाई दीर्घकालीन फाइदा बनाउन । पर्याप्त आरामको कारण कर्मचारीमा सकारात्मक मनोविज्ञान सृजना भई कामप्रतिको उसको तत्परता बढ्ने र यसले कार्यालयमा सृजनशीलता र कार्यसम्पादन अभिवृद्धि गर्दछ । यी तथ्यहरूलाई विभिन्न अध्ययनहरूले पनि प्रमाणित गरेका छन् ।

हाल विगतमा असफल नीति फेरी लागू नगरौँ भन्ने धारणा केही पूर्व प्रशासकहरूले नै राखिराख्नु भएको छ । विगतमा कार्यालयको प्रशासनिक खर्च घटाउने, ऊर्जा तथा इन्धन सङ्कटको समाधान गर्ने, प्रदूषण कम गरी वातावरण संरक्षण गर्ने प्रधान उद्देश्यको जगमा सार्वजनिक बिदाहरू घोषणा गरिएको थियो । सूचना तथा प्रविधि र प्रविधिमैत्री जनशक्तिको अभाव, जिल्ला सदरमुकाम केन्द्रित अधिकांश सेवाहरू, सार्वजनिक यातायातको भरपर्दो व्यवस्था नहुनु, सेवाग्राहीको सेवा प्रतिको चासो र सचेतना कम जस्ता कारणले सेवा प्रवाहमा चाप र समय बढी लाग्ने अवस्था थियो । सेवा माग र आपूर्तिको लागत उच्च थियो । सेवा प्रवाहलाई प्रभावकारी र मितव्ययी बनाउन आवश्यक नीति, पूर्वाधार र जनशक्तिका विषयमा कुनै पनि ठोस व्यवस्था गरिएको थिएन ।

सेवा प्रवाहमा प्रभावकारिता नबढाउँदा यसले समय र लागत कम गरी नीतिको सान्दर्भिकता पुष्टि गर्न सकेन । सेवा प्रवाहसँग सम्बन्धित पूर्वाधारलाई ध्यान नदिई गरिएको यस अघिको सातामा दुई दिन सार्वजनिक बिदाले अबको नीतिगत परिवर्तनलाई परिपक्व र सफल बनाउन सघाउँछ । सातामा दुई दिन बिदा र अन्य बिदा व्यवस्थापन गर्दा सेवाग्राहीमैत्री हुन सक्दैन भन्ने आशङ्कालाई पनि व्यवस्थापन गरेर जान सकिन्छ ।

हाल सार्वजनिक तथा निजी क्षेत्रमा उच्च स्तरीय प्रविधिको प्रयोग गरी सेवालाई प्रभावकारी बनाउने धेरै प्रयासहरू भएका छन् भने दक्ष र प्राविधिक ज्ञान सहितको जनशक्तिले काम गरिरहेको छ । सरकारी वा निजी क्षेत्रका कार्यालयहरूमा सेवा प्रवाहको लागि एप, फेसबुक ट्विटर जस्ता सामाजिक सञ्जाल र डिजिटल नागरिक बडापत्रहरूको प्रयोगले सेवा प्रवाहको सूचना र पक्रियामा नागरिकको पहुँच अभिवृद्धि हुँदै गइरहेको छ । उदाहरणको लागि भर्खर यातायात व्यवस्था कार्यालयले सेवाग्राहीका लाइसेन्स हुलाक मार्फत पठाउने व्यवस्था गरेको छ । बैङ्किङ क्षेत्रमा डिजीटलाईजेसनको प्रतिस्पर्धा नै चलिरहेको छ । अनलाइन भुक्तानीको अवस्थामा निकै सुधार भइरहेको छ ।

प्रविधिले सेवा केन्द्रको दुरी, समय र लागत घटाउँदै लगेको सन्दर्भमा कम समय कार्यालय खोल्नुपर्छ भन्ने तर्क थप सान्दर्भिक हुन्छ । संघीयतासँगै सेवा प्रवाहको पनि विकेन्द्रीकरण भएको छ । सिफारिस, कर भुक्तानी, योजना पक्रिया लगायत जनताका अधिकांश सेवाहरू सबैभन्दा नजिकका सेवा केन्द्रहरू वडा कार्यालयबाट हुने गरेका छन् । बिस्तारै मालपोत सम्बन्धी सेवा प्रवाह पनि स्थानीय तह वा वडा तहबाट नै हुने व्यवस्था हुँदैछ । नजिकका सेवा केन्द्र र आफूले निर्वाचित गरेका जनप्रतिनिधीहरु सँगको निकटताले नागरिकहरूमा सेवा सम्बन्धी सूचना र सचेतना बढेको छ । अधिकांश अत्यावश्यक सेवाहरू एक दिनमा नै लिन सकिने अवस्था छ । जिल्ला सदरमुकाम जानुपर्ने एकाध सेवाको लागि पनि सार्वजनिक यातायातको अवस्था सुधारोन्मुख छ ।

सातामा दुई दिन सार्वजनिक बिदा दिँदा सेवा प्रवाहसँग अन्तर सम्बन्धित विषयमा नीतिगत तथा पूर्वाधारको विकास गर्न जरुरी छ । सबै भन्दा महत्त्वपूर्ण कुरा साताको दुई दिन बिदा दिने विषय सरकारी तथा निजी कर्पोरेट दुवै क्षेत्रमा एकैनासले लागु गर्नु पर्दछ । यस प्रकारको बिदाले प्रभाव गर्ने केही निश्चित क्षेत्रहरू जस्तै खानेपानी, स्वास्थ्य, विद्युत् तथा बैङ्किङ, अदालतमा गर्नुपर्ने अत्यावश्यक सेवाहरू उपलब्ध जनशक्तिलाई चक्रीयरूपमा काम तोक्ने र अतिरिक्त सुविधा उपलब्ध गराउने गरी व्यवस्थापन गर्न सकिन्छ । अनौपचारिक क्षेत्रमा काम गर्ने मजदुरको लागि सार्वजनिक बिदा दिँदा उनीहरूको दैनिक जीवन यापन र सामाजिक सुरक्षाको सुनिश्चितता गर्न जरुरी छ ।

प्रविधिको विकास र यसको ग्यापलाई कम गर्न अझै बाँकी छ । तथापि प्रविधिको प्रयोग बढ्दै गइरहेको आजको परिस्थितिमा सार्वजनिक बिदालाई व्यवस्थित गर्न प्रविधि ठुलो सहयोगी हुन सक्छ । यससँगै सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउन हाम्रा सेवा केन्द्रहरूलाई स्मार्ट बनाउन जरुरी छ । सेवाग्राही पटक पटक कार्यालयमा आउने र फर्कनु पर्ने अवस्थामा सुधार गर्न सक्नुपर्छ । डिजिटल नागरिक बडापत्र, सेवा माग गर्ने निवेदन र आवश्यक कागजात अनलाइन पेस गर्ने व्यवस्था तथा सेवा प्रवाहमा सेवाग्राही कार्यालयमा सेवा लिन आउने दिन र समय निर्धारण (अप्वाईन्टमेन्ट टाइम) गर्न सकिन्छ ।

कार्यालय भित्र सेवा प्रवाहको एकद्वारा प्रणाली तथा सेवाग्राहीले सेवा लिने ठाउँ र प्रक्रिया स्पट उल्लेख गरिएको स्टेयान्डर्ड अपरेटिङ प्रोसिडिउर (एसओपी) को व्यवस्था गर्न सक्नुपर्छ। यसले सेवाग्राहीको चाप र कार्यालयभित्र हुने दौडधुपलाई न्यूनीकरण गर्दछ । सबैभन्दा महत्त्वपूर्ण विषय त सेवा प्रवाहमा सहभागी हुने जनशक्तिलाई उत्प्रेरित गर्ने, उनीहरूको क्षमता अभिवृद्धि गर्ने र आफ्नो काम प्रति प्रतिवद्ध बनाउन जरुरी छ ।

सातामा दुई दिन सार्वजनिक बिदा र चाडबाड लगायतका अन्य बिदाहरू व्यवस्थित हुँदा कर्मचारीको सकारात्मक मनोविज्ञान र उत्पादकत्व बढ्ने हुँदा सेवाप्रवाहमा रूपान्तरण ल्याउन सकिन्छ । कम दिनमा पनि सेवा प्रवाहमा थप प्रभावकारिता बढाउनको लागि अर्को महत्त्वपूर्ण पक्ष सेवाको माग पक्ष अथवा सेवाग्राही हो । सरकारी वा निजी क्षेत्रमा प्रवाह हुने सेवामा सेवाग्राहीको सचेतना र जागरूकताले सेवाको आपूर्ति पक्षलाई सुधारको लागि सकारात्मक दबाब दिने गर्दछ । सेवा प्रवाहमा प्रयोग गरिएका नागरिक बडापत्र तथा प्रविधिमा सेवाग्राहीको पहुँच, यसको प्रयोगमा उनीहरूलाई सक्षम र अभ्यस्त बनाउन सेवा प्रदायक निकायले आवश्यक कार्यक्रमहरूलाई अभियानको रूपमा सञ्चालन गर्नुपर्दछ ।

यसले सेवाग्राहीलाई कार्यालय, प्रवाह हुने सेवा र कर्मचारीप्रति निकटता र अपनत्व सृजना गर्दछ जसबाट थप व्यवस्थित सार्वजनिक बिदाको औचित्य सहज पुष्टि गर्न सकिन्छ । समयमा नै सेवा माग गर्ने, सो कामको लागि कार्यालयमा लाग्ने समय र केही संवेदनशील सेवामा प्रमाणहरूको अध्ययनको आवश्यकता सेवाग्राहीले बोध गर्ने हो भने पूर्व निर्धारित सार्वजनिक बिदाहरू केही बढी भएता पनि सार्वजनिक सेवा, यसको समय, लागत र सेवाग्राहीको दैनिकीमा प्रतिकुल असर गर्दैन।

कमजोर पूर्वाधार र सेवा प्रवाह गर्ने कार्यालयहरूमा काम गर्ने शैलीमा परिवर्तन नहुँदा हिजोको नीति सफल नभएको तर्कमा दम छ । नेपालमा सार्वजनिक बिदा सम्बन्धी कानुनको निर्माणको लागि सुझाव दिन विज्ञसहितको कार्यदल गठन गरी त्यसको आधारमा बिदा घोषणा गर्ने अधिकार, सार्वजनिक बिदाका आधारहरू, लागु हुने क्षेत्र तथा कार्यालयहरू र कार्यसम्पादन तथा सेवा प्रवाहमा सुधार गर्न आवश्यक पूर्वाधारहरू स्पष्ट गर्नुपर्छ ।

सार्वजनिक बिदाको संख्याले भन्दा यसको व्यवस्थापनको प्रभावकारिताले आर्थिक गतिविधि र दैनिक जीवनमा पार्ने प्रभावको निर्धारण गर्दछ । अहिलेको नयाँ प्रविधिको प्रयोगसँगै नेपालमा पनि समयमा आधारित कार्यप्रणालीलाई काम र परिणाममा आधारित बनाउँदै कर्मचारीलाई लचक कार्यतालिकामा काम गर्ने प्रणाली विकास गर्न आवश्यक छ । विश्वका अधिकांश मुलुकहरूको अभ्यास जस्तै नेपालमा पनि धार्मिक सांस्कृतिक र आकस्मिक बिदाहरू व्यर्विस्थत गर्ने र हप्तामा दुई दिन बिदाको सुरुवात गर्न जरुरी छ ।

Tags :
प्रतिक्रिया दिनुहोस