प्राविधिक शिक्षा र व्यावसायिक तालिम सीपलाई रोजगारीसँग जोड्दै « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

प्राविधिक शिक्षा र व्यावसायिक तालिम सीपलाई रोजगारीसँग जोड्दै


१४ कार्तिक २०७७, शुक्रबार


नेपालमा प्राविधिक शिक्षा र व्यावसायिक तालिमको विकास क्रमलाई हेर्दा सन् १९३० देखि प्राविधिक तालिम शिक्षालय(हालको पुलचोक क्याम्पस) बाट सुरुवात भएको देखिन्छ । यसै गरी वि.सं. २०१८ मा मेकानिकल प्रशिक्षण केन्द्र (हालको बालाजु स्कुल अफ इन्जिनियरिङ एन्ड टेक्नोलोजी) र वि.सं. २०१९ मा बुटवल टेक्निकल इन्स्टिच्युटको स्थापनापश्चात् औद्योगिक क्षेत्रका लागि आवश्यक आधारभूत तहका प्राविधिक जनशक्ति उत्पादन गर्न शुरु गरेको पाइन्छ ।

आधारभूत, मध्यम स्तरीय तथा उच्चस्तरीय प्राविधिक जनशक्ति उत्पादन गर्ने, सीपको स्तर निर्धारण एवं प्रमाणीकरण गर्ने, प्राविधिक तथा व्यावसायिक शिक्षा एवं तालीम प्रदायक निकायहरूसँग समन्वय गरी कार्यक्रमहरू सञ्चालन गर्ने मुख्य उद्देश्यका साथ प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् ऐन, २०४५ बमोजिम स्थापित परिषद् एक स्वायत्त संस्था हो । परिषद्ले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम कार्यक्रमहरूको विकास, विस्तार, समतामूलक पहुँच, गुणस्तरको प्रत्याभूति, पाठ्यक्रम निर्माण तथा परिमार्जन, स्तर निर्धारण एवं प्रमाणीकरण, प्रशिक्षकहरूको क्षमता अभिवृद्धि, अध्ययन तथा अनुसन्धान, अनुगमन तथा मूल्याड्ढन गर्नुका साथै सरोकारवाला निकायहरू बिच समन्वय गर्दै आएको छ ।

परिषद् कार्यालयले उद्देश्य अनुरूपका कार्यक्रमहरू प्रभावकारी ढङ्गले सञ्चालन गर्नका लागि विभिन्न महाशाखाहरू, प्रादेशिक कार्यालय र प्राविधिक शिक्षालयहरू स्थापना गरेको छ । कृषि, वन, इन्जिनियरिङ, स्वास्थ्य र होटेल व्यवस्थापन जस्ता कार्यक्रमहरूमा डिप्लोमा तथा प्रमाणपत्र तह र प्राविधिक एसएलसी तहका कार्यक्रमहरू सञ्चालनका लागि आङ्गिक, साझेदारी, सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा र सम्बन्धन प्राप्त निजी समेत गरी जम्मा १०४२ ओटा संस्थाहरू सञ्चालनमा छन् । त्यसै गरी छोटो अवधिको सीपमूलक तालिम सञ्चालनका लागि परिषद्सँग सम्बन्धन लिई देशभरि ११३१ ओटा संस्थाहरू सञ्चालनमा छन् । परिषद् कार्यालयका विभिन्न महाशाखा, प्रदेश कार्यालय र प्राविधिक शिक्षालयहरूबाट आर्थिक वर्ष २०७५।०७६ मा सञ्चालन भएका कार्यक्रमहरू र उक्त कार्यक्रमहरूबाट प्राप्त उपलब्धि र हालसम्मको प्रगतिलाई समेटेर यस प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्, वार्षिक प्रतिवेदनको पाँचौँ संस्करण, २०७६ प्रकाशन गरिएको छ ।

नेपाल सरकारको दीर्घकालीन सोच ”समृद्ध नेपाल, सुखी नेपाली“लाई मूर्तरूप दिन सहयोग सिद्ध हुने गरी परिषद्ले गुणस्तरीय प्राविधिक तथा व्यावसायिक शिक्षाएवं तालिममा सबै नागरिकहरूको समतामूलक र समावेशीपहुँच वृद्धि गरी श्रम बजारको मागअनुसार सक्षम एवं प्रतिस्पर्धी दक्ष प्राविधिक जनशक्ति उत्पादन गर्दै आएको छ । प्राविधिक शिक्षा लिई उत्तीर्ण जनशक्तिलाई राष्ट्रिय उत्पादन तथा उत्पादकत्वमा वृद्धि र उत्कृष्ट सेवामा संलग्न गराई देशको आर्थिक एवं सामाजिक विकासमा योगदान पुर्‍याउने उद्देश्यले वार्षिक तथा दीर्घकालीन योजना तथा कार्यक्रम तय गरी कार्यान्वयन गर्दै आएको छ ।

युवाहरूको क्षमता विकास र उद्यमशीलता अभिवृद्धिका लागि छोटो अवधिका सीपमूलक तालिमहरू सञ्चालन गर्दै आएको छ । दिगो प्राविधिक शिक्षा प्रदान गर्न सिक–कमाऊतिरको अवधारणबाट आयआर्जन गरी नेपालको संविधानमा व्यवस्था भए अनुसार शिक्षालाई क्रमशः निशूल्क उपलब्ध गराउने तर्फ प्रयत्नशील रहेका छौँ । साथै उद्योगमा सम्मानजनक पारिश्रमिकसहित औद्योगिक प्रशिक्षार्थी तालिम, कार्यगततालिम सहितको तालिम कामदारको लागि तालिम र वृत्ति परामर्श सम्बन्धी कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ ।

मूलतः परिषद्ले प्राविधिक तथा व्यावसायिक शिक्षा एवं तालिम सम्बन्धी नीति निर्धारण, कार्यक्रमको कार्यान्वयन, कार्यक्रमहरूको समन्वयन, गुणस्तरको प्रत्याभूति, पाठ्यक्रम निर्माण तथा परिमार्जन, प्रशिक्षकको क्षमता अभिवृद्धि, अध्ययन अनुसन्धान, छोटो अवधिको सीपमूलक तालिम सञ्चालन, औपचारिक तथा अनौपचारिक रूपमा सिकेका सीपको प्रमाणीकरण, प्राविधिक एसएलसी र डिप्लोमा तथा प्रमाणपत्र तहको प्रशिक्षण, परीक्षा सञ्चालन र प्रमाण पत्र वितरण लगायतका कामहरू गर्दै आएको छ ।

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम कार्यक्रमहरू  प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्ले ३ वर्षे डिप्लोमा तथा प्रवीणता प्रमाणपत्र तह र १८ महिने प्राविधिक एस.एल.सी. गरी दुई किसिमका लामो अवधिका कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ । प्राविधिक एसएलसी तहमा २८, डिप्लोमा तहमा ४८ कार्यक्रम तथा १९९ विषयमा छोटो अवधिका कार्यक्रमहरू सञ्चालित छन् । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिममा छात्रवृत्ति नेपालमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम अध्ययनरत विद्यार्थीलाई आवश्यकता र योग्यताका आधारमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्ले सबै कार्यक्रमहरूमा जेहेन्दार छात्रवृत्ति, वर्गीकृत छात्रवृत्ति र निर्वाह छात्रवृत्तिको व्यवस्था गरेको छ । परिषद्को छात्रवृत्ति कार्यक्रम अन्तरगत प्रत्येक वर्ष ८०४६ जन विद्यार्थी लाभान्वित हुने गरेका छन् ।

शैक्षिक कार्यक्रमको मान्यता/समकक्षता तथा उच्च अध्ययन
प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्ले हालसम्म प्राविधिक एस.एल.सी. तह र तीनबर्षे डिप्लोमा र प्रमाणपत्र तहका कोर्सहरू सञ्चालन गरेको छ । टी एसएलसी पास गरेका विद्यार्थी सरकारी सेवामा राजपत्र अनङ्कित द्वितीय श्रेणी, प्राविधिक सेवाका (खरिदार सरह) को रोजगारीको लागि योग्य मानिन्छन् भने तीनबर्षे डिप्लोमाका विविध कोर्सहरू पास गरेका विद्यार्थीहरू सरकारी सेवामा राजपत्र अनङ्कित प्रथम श्रेणी प्राविधिक (सुब्बा सो सरह)को लागि योग्य मानिन्छन् ।

तीन बर्से डिप्लोमाका विविध कोर्सहरूलाई त्रिभुवन विश्वविद्यालयले प्रमाणपत्र तहको समकक्षता प्रदान गरेको छ । डिप्लोमा कोर्सहरू पूरा गरेका विद्यार्थीले उच्चशिक्षा (व्याचलर डिग्री) हासिल गर्न आ–आफ्नो विधाअनुसार कतै सिधै र कतै केही पूर्व अवस्था पूरा गर्नुपर्ने हुन्छ । हालसम्म परिषद्ले आफ्नै व्याचलर्स डिग्री कोर्सहरू सञ्चालन नगरेकोले विद्यार्थीहरू आफ्नो रुचि र क्षमताअनुसार अन्य शैक्षिक संस्थाहरूमा गएर आफ्नो अध्ययनलाई निरन्तरता दिन सक्छन् ।

अहिले प्राविधिक शिक्षालय सिटिइभिटिले पनि प्राविधिक र व्यावसायिक शिक्षा र प्रशिक्षण टिभेट (टेक्निकल भोकेशनल एजुकेसन ट्रेनिङ)लाई आम नागरिक समक्ष पुरयाउनको लागि सामाजिक मिडिया अभियान सुरु गरेको छ । सामाजिक मिडिया अभियानको उद्देश्य आम नागरिकमा प्राविधिक र व्यावसायिक शिक्षा सम्बन्धी सकारात्मक धारणाको विकास गरेर  दक्ष जनशत्ती उत्पादन गर्ने रहेको अनुसन्धान र सूचना डिभिजन, सिटिइभिटिका सूचना अधिकारी अनिलमुनि बज्राचार्यको भनाई छ ।

हालका टिभेट सम्बन्धी सार्वजनिक सूचनाहरू यसकाकोर्ष र प्रशिक्षण प्रदान गर्ने संस्थाहरू फेसबुक पेजको माध्यमबाट अभियानको रूपमा सन्देश दिइएको छ । यसकासाथै अवसरहरू, करियर सम्भावनाहरू, टिभेटको महत्त्व, पाठ्यक्रम र प्रशिक्षण, रोजगार बजारमा भएका माग र आपूर्तिका पक्षका मुद्दाहरू, नीति निर्माताहरूको विचार र परिवर्तन निर्माताहरूको आवाजलाई समेत उजागर गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस