मुख्यसचिवको दावेदारीमा अब घिमिरे र वैरागी « प्रशासन
Logo १४ चैत्र २०७९, मंगलबार
   

मुख्यसचिवको दावेदारीमा अब घिमिरे र वैरागी


६ आश्विन २०७७, मंगलबार


काठमाडौँ । मुख्यसचिव लोक दर्शन रेग्मी अनिवार्य अवकाश हुने दिन नजिकिँदै गर्दा नयाँ मुख्य सचिवका लागि सम्भावित दावेदारीको धेरा पनि साँघुरिँदै गएको छ । यसअघि प्रतिस्पर्धामा रहेका भनिएका करिब आधा दर्जन सचिवहरूमध्ये दुई जना मात्रै सम्भावित मुख्य सचिवका दाबेदार देखिएका छन् । सरकारले नियमित प्रक्रियाबाट नै बनाएको अवस्थामा उद्योग, वाणिज्य तथा आपूर्ति सचिव चन्द्रकुमार घिमिरे मुख्यसचिव हुनेछन् भने असोज २२ भन्दा भन्दा अघि नै नियुक्त गर्ने निर्णय गरेको अवस्थामा परराष्ट्र सचिव शंकर दास वैरागीले बाजि मार्न सक्ने वालुवाटार उच्च स्रोतको दावी छ ।

‘जे जति चर्चा भए पनि अबको प्रतिस्पर्धी घिमिरे र वैरागी नै हुन्’ बालुवाटार छलफलबारे जानकार ती अधिकारीले भने, ‘बाँकी सब रिङ आउट भई सके’ । यद्यपि निर्णय नभइसकुन्जेल जे पनि हुन सक्छ भन्दै असोज २२ मा परराष्ट्र सचिव वैरागीसँगै अनिवार्य अवकाश लिने पर्यटन सचिव केदार बहादुर अधिकारी र सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिव मोहनकृष्ण सापकोटाले पनि प्रयत्न भने छोडेका छैनन् । अहिले बन्ने मुख्यसचिवले यसपछि को हुने भन्ने तय गर्ने भएकोले अनुकुलको व्यक्तिलाई बनाउन पायो भने आफूपनि दावेदारीभित्र पर्ने भन्दै पछिका सम्भावित सचिवहरुलेसमेत आफू लबी जारी नै राखेका छन् । तर पछिल्लो अपडेट अनुसार अब दुई जनामा मात्रै सीमित भएको छ ।

दौड कुन हदसम्म लैजाने भन्ने भूमिका मुख्यसचिव रेग्मीकै पोल्टोमा भएपनि त्यसको मियो भने प्रधानमन्त्रीकै हातमा छ । प्रधानमन्त्री केपी शर्मा ओलीले मुख्यसचिव रेग्मीलाई आकर्षक नियुक्ति दिएर असोज २२ अगावै राजीनामा गर्न लगाएको अवस्थामा सम्भावित तीन जनामध्येबाट कुनै एकलाई नयाँ मुख्यसचिव नियुक्त गर्न सक्छन् भने रेग्मीलाई नियुक्ति दिईकनै पनि पुरै कार्यकाल काम गराएको अवस्थामा त्यसपछिका एक्ला दाबेदार उद्योग, वाणिज्य तथा आपूर्ति सचिव घिमिरेलाई नियुक्त गर्नुपर्ने हुन्छ ।

यसैबिच मुख्यसचिव रेग्मीले १५ गते नै पदबाट राजीनामा दिने र १८ गते उनलाई बेलायतको राजदूतमा सिफारिस गर्ने निर्णयसँगै परराष्ट्र सचिव वैरागीलाई मुख्यसचिवमा नियुक्त गर्ने चर्चा पनि उच्च राजनीति र प्रशासन वृत्तमा चर्चा छ ।

तर यसअघि झैँ सुटुक्कै नियुक्ति गरिहाल्ने पक्षमा प्रधानमन्त्री ओली नभएको बालुवाटार स्रोत बताउँछ । सचिवालय तथा किचन क्याबिनेटकै विश्वास पात्रको सल्लाहमा यसअघि गरिएका अधिकांश निर्णयले सरकारले चर्को आलोचना खेप्नु परेको बारे प्रधानमन्त्री सचेत र सजग रहेको ती स्रोतको भनाई छ  । ‘प्रहरीतर्फ जुन वरिष्ठकै आधारमा आइजी नियुक्तिपछि सरकारले वाहवाही पाएको थियो, मुख्यसचिवको हकमा पनि नियमित प्रक्रियाबाटै निर्णय हुने सम्भावना पनि उत्तिकै छ’ ती अधिकारीले भने ।

तर, बाहिर आएको चर्चा अनुसार मुख्यसचिव रेग्मीलाई बेलायतको राजदूतमा नियुक्त गर्ने निर्णय गरेकै दिन नयाँ मुख्यसचिव नियुक्तिको पनि निर्णय हुन सक्ने भएकोले सो अवस्थामा घिमिरे रोकिन सक्ने पनि उनको भनाई छ ।

२०७४ कात्तिक ४ गते मुख्यसचिवमा नियुक्त भएका रेग्मी २०७७ कात्तिक ४ गते तीन वर्षे पदावधि पुरा गरी नियमित अवकाशमा जाँदैछन् । रेग्मीले आफ्नो पुरा कार्यकाल खाएर ससम्मान बिदा लिएमा २०७७ माघ ८ गते ५ वर्षे सेवा अवधिले अवकाश हुने उद्योग सचिव घिमिरे मुख्यसचिवका एकल दाबेदार हुनेछन् । घिमिरे २०७९ मङ्सिर १५ गते मात्रै ५८ वर्ष पुग्छन् ।

सम्बन्धित समाचार : को बन्ला मुख्यसचिव ?

तर मुख्यसचिव रेग्मीले असोज २२ अघि नै राजीनामा दिएको अवस्थामा असोज २२ गते ५ वर्षे सेवा अवधिका कारण सेवा निवृत्त हुँदै गरेका सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिव मोहनकृष्ण सापकोटा, पर्यटन सचिव केदारबहादुर अधिकारी र परराष्ट्र सचिव शंकरदास वैरागीमध्ये एक जना मुख्यसचिवमा नियुक्त हुने सम्भावना रहन्छ । जसमध्ये वैरागीको पल्ला भारी छ । अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्र संघको स्थायी नियोगमासमेत नगई जसरी पनि मुख्यसचिव बन्छु भनेर बसेका वैरागीलाई नै मुख्यसचिव बनाउन परराष्ट्र मन्त्री प्रदीप कुमार ज्ञवाली र प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराईको जोड बल रहेको चर्चा यसअघि नै बाहिर आइसकेको छ ।

हाल बेलायतका राजदूत रहेका राजदूतको कार्यकाल केही दिनमै सकिँदै छ । त्यसपछि सो ठाउँमा मुख्यसचिव रेग्मीलाई पठाउने करिब करिब निश्चित जस्तै भएको बालुवाटार उच्च स्रोत बताउँछ । यद्यपि रेग्मीलाई राजदूत बनाउने विषयमा पार्टी तथा सचिवालयका सदस्यहरूमा एकमत भने छैन । ‘एउटै व्यक्ति अर्थ र गृह सचिव हुँदै मुख्यसचिव सम्म भए, अब फेरी उनैलाई राजदूत दिनुपर्ने कारण के हो ?’ सचिवालयका एक नेताको भनाई उद्धृत गर्दै स्रोतले भने,– ‘पदमा रहँदा उल्लेखनीय र उदाहरणीय काम भएको भए व्यग्लै थियो तर त्यसो नदेखिँदा पार्टीकै अर्को व्यक्तिलाई अवसर दिँदा राम्रो हुन्छ भन्ने हो’

व्यक्तिगत सम्बन्ध बनाउन असाध्यै सफल मुख्यसचिव रेग्मीप्रति प्रधानमन्त्री सकारात्मक छन् । आफूलाई पूर्णपुरमा सहयोग गरेकाले अवकाशपछि पनि ‘विशेष उपहार’स्वरूप नियुक्ति दिएर पठाउने बचन प्राप्त भएको मुख्यसचिव निकटस्थको भनाई छ । यद्यपि राष्ट्रपतिदेखि प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा र अर्का अध्यक्षसमेत रहेका पुष्पकमल दाहाल ‘प्रचण्ड’सम्मै उनले खास सम्बन्ध कायम राख्न सकेका छन् । त्यसैले मुख्यसचिव रेग्मीले कुनै आकर्षक नियुक्ति पाउनेमा शंका नभएको सिँहदरवार विशेष स्रोतको दाबी छ ।

घिमिरे र वैरागी को कस्ता ? 
घिमिरे र वैरागी दुवै आ-आफ्नो क्षेत्रमा उत्तिकै दखल राख्दछन् । मुख्यसचिवको पद समन्वयकारी नै रहेको र कानुनले खासै अधिकार नदिएकोले पनि व्यक्तिगत अनुभवका आधारमा उ भित्रको इच्छाशक्तिले अझ बढी काम गर्छ ।

सचिव घिमिरेका सबल पक्ष
घिमिरेका समकक्षीका अनुसार उनी अत्यन्तै व्यवसायीक र इन्टिग्रिटि कायम राख्न सकेका सचिव हुन् । अध्ययनशील छन्, असाध्यै पढ्न खोज्छन् । स्थानीय तहमा पनि काम गरेका छन् । उद्योग मन्त्रालय, वाणिज्य तथा आपूर्ति मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोगलगायत क्षेत्रमा काम गरेको अनुभव उनीसँग छ । कलकत्ताको महावाणिज्यदूत भइसकेका हुन् ।

तल्लो तहमा बसेको जिल्ला स्तरको अनुभव पनि छ, केन्द्रको अनुभव पनि छ र अन्तराष्ट्रियस्तरको अनुभव पनि छ । नीति निर्माण, योजनाका काममा संलग्न हुनेदेखि देश विदेशसँगै प्रशासनिक क्षेत्रको पनि फराकिलो ज्ञान भएका घिमिरे त्रिभुवन विश्व विद्यालयका गोल्ड मेडलिष्ट हुन् । नर्वेबाट एमफिल गरेको उनको एकेडेमिक हाइट छ । ट्रेड पोलिसि, नेगोसियसनलगायतमा हार्वर्ड युनिभर्सिटीको कोर्ष गरेका छन् र सबैका कुरा सुनेर आफ्नो तर्क पेस गर्न सक्ने क्षमता राख्दछन् ।

दुर्बल पक्ष
उनको आफ्नो ग्याङ छैन, त्यसैले ग्रुप मोबिलाईज त्यति धेरै गर्न सक्दैनन् भन्छन् उनका सहकर्मीहरू । कुन आइडोलोजी हो भन्ने खुलाउँदैनन् । उनलाई एकदमै नजिकबाट चिन्ने एक समकक्षीका अनुसार घिमिरे ठोस निर्णयमै तत्काल पुगी हाल्न सक्दैनन् । तर कुनै प्रस्तावहरू ल्याउँदा भने कैयन पटक प्रश्न गर्छन् । र, जनता र राष्ट्रिय महत्त्वका हिसाबले ठिक छ कि छैन भनेर निर्णयमा पुग्ने गर्छन् । उनी कुरा अलि बढी गर्छन् । तन्तुलाई तन्काउन भने मज्जाले सक्दछन् । आफूलाई चित्त नबुझेको कुरा भरङ्गै रिसाई हाल्ने उनको बानी छ । उनी एकोहोरो खालका साहित्यिक मनका छन् ।

सचिव वैरागीका सबल पक्ष 
उनी नरम छन् । प्रोफेसनल पनि छन् । कुटनीतिक क्षेत्रको भएकोले अन्तर्राष्ट्रिय सम्बन्धका बारेमा जानकार छन् । उनका एक समकक्षीका अनुसार वैरागी शालीन, भद्र र कसैलाई नबिझाउने खालका सचिव हुन् । उनको इमान्दारताको बारेमा पनि प्रश्न उठेको छैन भन्छन् उनलाई जान्ने बुझ्नेले । साथीहरूसँग घुलमिल गर्न सक्ने स्वभावका उनी कानुनका विद्यार्थी हुन् ।

दुर्बल पक्ष 
उनी सुरुदेखि नै परराष्ट्र सेवाका कर्मचारी भएकोले उनीसँग फराकिलो ढङ्गले काम गरेको अनुभव छैन । प्रशासन, प्राविधिक, जिल्ला, तल्लो तहमा बसेको, प्रशासन सेवाजस्तो फराकिलो हिसाबले काम उनले गरेका छैनन्, जसले गर्दा स्थानीय तथा प्रदेशलगायत निकायका जनप्रतिनिधिहरूसँगको सम्बन्ध धेरै छैन, उनीसँग धेरै चिनजान, सम्पर्क र सम्बन्ध पनि छैन ।

सम्पूर्ण निजामती क्षेत्रको अनुभव नभएकोले निर्णायक क्षमता कमजोर छ । विकास व्यवस्थापन, आर्थिक व्यवस्थापन, खर्च व्यवस्थापन, कर्मचारी व्यवस्थापन विषयहरूमा अनुभव नभएकोले मुख्यसचिव जस्तो मल्टिडायमेन्सन पदमा रहेर काम गर्न सक्दैनन् कि भन्छन् समकक्षीहरू । उनलाई नजिकैबाट चिन्ने एक समकक्षीका अनुसार ‘उनी सज्जन र भलादमी भएकोमा त शंकै छैन तर उनले विकास, लेखा प्रणाली, खरिद प्रक्रिया, बजेटिङ सिस्टम, सामान्य प्रशासनलगायतको बारेमा अनुभव नभएको र एउटा सेवाको मात्रै घेराभित्र बसेर काम गरेको आधारमा समग्र कर्मचारीतन्त्रको नेतृत्व गर्न सक्छन् या सक्दैनन् ? भन्ने प्रश्न उठ्ने बताउँछन् ।

मुख्यसचिव करिब करिब राजनीतिक पद जस्तै भएकोले पनि सरकारले आफूले चाहेको व्यक्तिलाई मुख्यसचिव नियुक्त गर्न सक्छ तर त्यसका पनि केही मापदण्डहरू भने छन् । अन्य पक्षहरूसँगै ज्येष्ठ सचिवमध्येबाट मुख्यसचिव बनाइने परम्परा छ तर करिब दुई दशक अघिबाट तत्कालीन सरकारले केही आफ्ना व्यक्तिलाई मुख्यसचिव बनाउन कार्यकाल सकिनु अघि नै मुख्यसचिवलाई अन्तै पठाएर या पन्छाएर उ भन्दा कनिष्ठ बनाउने खेल सुरु गर्‍यो, आकर्षक पद दिएर आफ्नाका लागि खाली गराउँदा एक अर्थमा भन्नुपर्दा ‘घुस खुवाउने’ चलन बसाल्यो । त्यसकै निरन्तरताको पछिल्लो घटना हालका मुख्यसचिव लोक दर्शन रेग्मी हुन् । सपनामासमेत नसोचेका राजेन्द्र किशोर क्षत्रीलाई मोहडा बनाएर हालका मुख्यसचिव रेग्मी यो पदमा पुगे । र, अहिले तिनै मुख्यसचिव रेग्मी बेलायतका लागि राजदूत मागेर सरकारलाई सजिलो बनाइ दिन लागेको सिँहदरवार स्रोत बताउँछ ।

मुख्यसचिव पदका लागि राजनीतिक रूपमा पनि उत्तिकै दौडधुप चल्ने गर्छ । हालका सम्भावित दुई सचिवमध्ये घिमिरेको हकका कहाँबाट के कति राजनीतिक तथा अन्य पावर लगाइरहेका छन् भन्ने बाहिर सुन्नमा नआए पनि वैरागीको हकमा भने परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले प्रधानमन्त्री समक्ष ‘स्टोङ रेकोमेन्डेसन’ गरेको बुझिन आएको छ । यद्यपि पछिल्लो समय प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराईसमेत लागि परेकोले ज्ञवाली अलि रुष्ट भएको पनि मन्त्रालयमा कानेखुसी गरेको सुनिन्छ ।

प्रशासनिक चक्र तोडिनेमा चिन्ता
पुरा अवधि भन्दा अगाडी नै आफ्नो मान्छे ल्याउन प्रशासनिक चक्र तोड्ने काम मुलुकका लागि हितकर नहुने र यसले प्रशासन चक्र तोड्ने प्रशासनविद्हरूको ठहर छ । ‘पुरा पदावधि भन्दा अगाडी नै आफ्नो मान्छे या अमुक व्यक्ति ल्याउन प्रशासन चक्रलाई तोड्ने काम हितकर हुँदैन’, एक पूर्व मुख्यसचिव भन्छन्, ‘यसले प्रशासनमा गरिने अनुमानकारिता हराएर जान्छ र जो शक्तिमान हुन्छ त्यसले केही समय अगावै राजीनामा गराएर आफू हुने दाउँदा पुग्छ, जसले गर्दा एउटा विकृत खेल सुरु हुन्छ’ । आफूभन्दा कनिष्ठ सचिव मुख्यसचिव भएपछि वरिष्ठ सचिवहरूले राजीनामा दिएका उदाहरण पनि छन् ।

मुख्यसचिवमा देखिएको यो रोग बिस्तारै अरूमा पनि सर्दै जाने उनको भनाई छ ।

त्यसो त नियुक्ति प्रक्रियामा सरकारको भनाई र गराइमा पनि फरक पर्छ । एकापट्टि सरकारी कर्मचारीले पदावधि सकिएपछि तत्काल जागिर खान हुँदैन, अन्त जान हुँदैन र छ महिना, वर्ष दिन कुलिङ पिरियड राख्नुपर्छ भन्ने गरिन्छ तर अर्कोतर्फ सरकारले नै राजीनामा गराएर नियुक्ति दिँदा भनाई र गराइमा मेल खाएको देखिँदैन । र, पदको बार्गेनिङ हुने अवस्थासमेत सिर्जना गर्छ ।

कस्तो हुनुपर्छ मुख्यसचिव
मन्त्रिपरिषदमा बोल्न सक्ने मुख्यसचिव भएको अवस्थामा राष्ट्र र सरकारलाई धेरै ठुलो सहयोग पुग्छ । किनकी मुख्यसचिवले मन्त्रिपरिषदमा आउने प्रस्तावहरू ऐन कानुन मिच्दै तत्काल संशोधन गरेर लाभ लिने कुराहरूलाई रोक्ने हो । नयाँ काम गर्ने भन्दा पनि विकृति रोक्ने र नीतिगत कुराहरूमा शुद्धता दिन मुख्यसचिवको भूमिका अहम् रहन्छ । कर्मचारीतन्त्रको अभिभावक भएकोले त्यो जिम्मेवारीलाई महसुसीकरण गर्दै सरकारको भिजनलाई कार्यान्वयन गराउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने हो ।

राजनीतिक तहको कन्फिडेन्स र कर्मचारीतन्त्रको ट्रस्टलाई मुख्य सचिवले संयोजन गर्नुपर्छ । काम लगाउने मानिसलाई पनि स्वीकार गराउनु पर्छ र काम गर्नेलाई पनि मान्य हुनुपर्छ । यो दुई वटाको बिचको संयोजन गर्न सक्यो भने मात्रै मुख्यसचिव असाध्यै सफल भएर जान्छन् ।

पोलिटिकल भिजन सचिवहरूलाई प्रवाह गर्न सक्ने क्षमता राख्नुपर्दछ मुख्यसचिवले । यसैबिच मुख्यसचिवको छनौट प्रक्रिया नै पनि परिवर्तन गरिनुपर्छ कि भन्ने बहस पनि सचिव वृत्तमा हुने गरेको छ । ‘सचिव बन्नका लागिसमेत तीन वरिष्ठ सहसचिवबाट छान्ने प्रक्रिया रहे पनि मुख्यसचिव जस्तोको हकमा झन् त्यो किन लागू नहुने ?’ एक सचिव भन्छन् ‘ज्येष्ठता भन्ने मात्रै भन्दा पनि कार्यक्षमताको आधारमा तीन, पाँच या सात जनामध्येबाट छनौट गरिँदा त्यो अझ बढी प्रभावकारी देखिन्छ कि ?’

यसपछिको मुख्यसचिवका दाबेदार को ?  
चन्द्र घिमिरे मुख्यसचिव भएको अवस्थामा त्यसपछिको मुख्यसचिवको लाइनमा वैकुण्ठ अर्याल, यादव प्रसाद कोइराला र रामप्रसाद थपलियाको ब्याजबाट आउँछ । र, यदि शंकर दाश वैरागी मुख्यसचिव हुँदा तीन वर्षे कार्यकाल पुरै खान पाउने भएकोले सूर्य गौतम, देवकुमारी गुरागाई, केबल पौडेल, डा. हरि पौडेल र सुरेश अधिकारीको ब्याजबाट एक जना मुख्यसचिव हुनेछन् ।

Tags :
प्रतिक्रिया दिनुहोस