केशवराज प्रवृत्तिले गाँजेको प्रशासन « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

केशवराज प्रवृत्तिले गाँजेको प्रशासन


३१ भाद्र २०७७, बुधबार


केशवराज अर्थात् विश्वेश्वर प्रसाद कोइराला लिखित दोषी चस्मा कथाको पात्र । लगाएको चस्माले जर्साव सवार मोटर ठम्याउन नसकी स्वस्ति गर्न नसक्दा केशवराज मानसिक पीडाले ग्रस्त हुन्छ । त्यो स्वस्ति अन्तस्करणबाट ससम्मान निसृत भावना नभई चाकरी र चाप्लुसीको उपमा हो । यस कथा मार्फत कोइरालाले नेपाली समाजमा रहेको चाकरी प्रथा दर्साएका छन् । नियम र पद्धतिको तेजोवध गरी नातावाद, कृपावाद र आसेपासे पोस्ने संस्कृति नेपाली समाजमा यत्रतत्र सर्वत्र व्याप्त छ ।

यसबाट अन्य क्षेत्र जस्तै कर्मचारी प्रशासन पनि अछुतो रहन सकेन । व्यक्तिगत स्वार्थका लागि उपल्लो तहको राजनीतिक र प्रशासनिक छहारी खोज्ने विषय सामान्य भएको छ । जनता र सरकारबीच प्रभावकारी सम्बन्धको पुल बन्नु पर्ने प्रशासनिक संयन्त्र ओइलाएको छ । सरुवा, बढुवादेखि भत्ता र सेवा सुविधाका लागि भनसुन र सोर्सफोर्सले गाँजेको छ ।

लोकतान्त्रिक लाभांशको वितरकको रूपमा सार्वजनिक प्रशासन संयन्त्रलाई हेर्ने गरिन्छ । नीति तर्जुमामा राजनीतिक तटस्थता र निष्पक्षतासहितको रचनात्मक सल्लाह सुझाव दिनेदेखि ऐन नियमको प्रतिबद्ध कार्यान्वयन गर्ने जिम्मेवारी सार्वजनिक कर्मचारी प्रशासनको रहन्छ । प्रशासनिक व्यावसायिकता र सक्षमतामा नै सबल राज्य संयन्त्रको निर्माण सम्भव हुन्छ ।

सार्वजनिक प्रशासन सुधारको उद्देश्य वि.स. २००८ को बुच कमिसन हुँदै समयसमयमा विभिन्न समिति गठन गरी गर्ने प्रयास खासै सार्थक हुन सकेन । कर्मचारी संयन्त्रको कार्य संस्कृति र कार्य सम्पादनमा उल्लेखनीय सुधार हुन सकेन । पटक पटक गठन गरिएका समितिका प्रतिवेदन हात्तीका देखाउने दाँत मात्र भए । ती प्रतिवेदन कार्यान्वयन गर्ने न त राजनीतिक इच्छाशक्ति देखिए, न त समयसँगै सिकेर स्वपरिवर्तन हुने कर्मचारीकै  प्रतिबद्धता।

प्रशासनको आन्तरिक चित्र
राजनीतिक नेतृत्वले कर्मचारीतन्त्रले काम गर्न साथ दिएन वा प्रशासनिक संयन्त्रले ज्यादा राजनीतिक हस्तक्षेप भयो भन्ने अभिव्यक्ति कुनै नैलो विषय होइन । एकले अर्कोलाई दोषारोपण गरी पानी माथिको ओभानो देखिन खोज्ने संस्कृति छर्लङ्ग छ । बाहिर जति दोष लगाए पनि प्रशासनको आन्तरिक क्यानभास सलल छैन । गिजिमिजि र असरल्ल छ । कर्मचारीहरू बिच कमजोर समन्वय र सहकार्य, जिम्मेवारी पन्छाउने संस्कृति, एकले अर्कोलाई नामेट पार्न खोज्ने प्रवृत्ति, नयाँ विचार र नवीन शैली प्रति विकर्षण, अड्डातन्त्रीय संस्कृति र ऐसम्यान पात्रताले व्याप्त प्रशासन नै हाम्रो प्रशासन संयन्त्रको वास्तविकता हो । यद्यपि केही फरक पात्र र प्रवृत्ति भएता पनि समग्रमा यी र यस्तै संस्कारले अलङ्कृत छ प्रशासन संयन्त्र ।

किन केशवराजहरू बन्छन् वा बनाइन्छ ?
राष्ट्रकवि माधव घिमिरेले केही नौलो काम नगरी नजाउँ भने जस्तै जोशजागरले प्रेरित कर्मचारीहरू पनि किन सानै लाभका लागि पनि व्यावसायिक मूल्य र मान्यतालाई तिलाञ्जली गर्दै त्वमं शरणम् गर्दछन् ? यी प्रश्नको सेरोफेरामा रहेर प्रशासन संयन्त्रको आनीबानी, कार्य संस्कृति र वातावरण बारे गहिरो चिन्तन मनन आवश्यक छ । केशवराज प्रवृत्तिलाई विश्लेषण गर्दा व्यक्तिगत संस्कार र सङ्गठनात्मक संस्कारबारे विश्लेषण गर्नु उपयुक्त देखिन्छ । व्यक्तिगत संस्कार बारे विश्लेषण गर्दा महाकवि लक्ष्मी प्रसाद देवकोटाको कालजयी कविता मृत्युशय्या दुई हरफ सम्झनु उपयुक्त हुन्छः
संस्कार आफ्नो सब नै गुमाए
म शून्यमा शून्य सरी बिलाए ।।

कुनै पनि कर्मचारी कुन संस्कार र संस्कृतिमा हुर्कियो भन्ने विषयले उसले गर्ने व्यवहार, लिने निर्णय सेवाग्राहीप्रतिको धारणा जस्ता दैनिक प्रशासनिक अभ्यासलाई प्रेरित गरेको हुन्छ । अत्यन्तै तडक भडक र विलासी जीवन प्रेमी कर्मचारीले नेपाल सरकारको तलबमान भित्र बसी जीवन जिउन सम्भव नै छैन । अब उसले त्यहाँ लुफहोल्सहरु चियाउन थाल्छ । परिणामतः ऊ चाप्लुसी, देवत्वकरण वा दानवीकरण, भ्रष्टाचार जस्ता कुकृत्य अँगाल्न पुग्दछ । त्यसबाट प्राप्त लाभहरूमा लालसा झुल्दछन् ।

यही व्यक्तिगत संस्कारलाई सेवामुखी तथा बृहत्तर राष्ट्रिय हीतका लागि प्रेरित गर्न विश्वका धेरै देशहरूमा राष्ट्र सेवक कर्मचारीहरूलाई ध्यान, योग, आध्यात्मिक शिक्षा, उत्प्रेरणामुलका प्रवचनहरूमा सहभागी गराउने प्रचलन बढ्दो छ ।
एकातिरबाट सिद्धार्थ बुद्ध पठाउँदा पनि अर्कोतर्फ चाल्स शोभराज निस्कने सङ्गठनात्मक संरचना, संस्कृति र संयन्त्रमा अपवाद बाहेक उत्तम आशा गर्नु व्यर्थ छ । जहाँ नियुक्ति, सरुवा, बढुवा, बिदा, छात्रवृत्ति जस्ता हरेक पक्षमा उपल्लो तहको तथास्तुको खाँचो पर्छ, त्यहाँ राजनीतिक तटस्थता, प्रशासनिक प्रतिबद्धता र पेशागत व्यावसायिकता डाइनोसर हुन्छ । सामान्य सवारी पास सिफारिसका लागि पनि केन्द्रीय तहको नेताबाट फोन आउने परिपाटिमा के नै आशा गर्न सकिन्छ र ! जहाँ सामान्य काममा पनि भनसुन र भनिदिने दाताको प्रबन्ध आवश्यक हुन्छ, त्यहाँ कर्मचारी र राजनीतिक दलहरू बिच लुटको नेक्सस प्रकट हुन्छ ।

त्यसपछि कर्मचारी संयन्त्रले गर्ने भनेको शक्ति केन्द्रहरूको स्तुतिगान र महिमा मण्डन हो, जन्मने केशवराजहरु नै हुन्, न कि पेशागत मूल्य, मान्यता र आदर्शको जप गर्ने विदुरहरू । यही र यस्तै प्रवृत्तिले कर्मचारी संयन्त्रलाई यति कमजोर बनायो कि स्वास्थ्य सङ्कटको बेलामा पनि आवश्यक औषधी तथा स्वास्थ्य उपकरण खरिद गर्न नसकी सेनाको जिम्मामा लगाउनु पर्‍यो ।

अबको बाटो
सम्माननीय प्रधानमन्त्रीद्वारा अगाडि सारिएको समृद्ध नेपाल सुखी नेपालीको चाहानालाई मूर्तरूप दिने एक दरिलो खम्बा कर्मचारी संयन्त्र हो भन्ने कुरामा सायदै कसैको विवाद नहोला । प्रश्न छ त केबल के साँच्चै यही र यस्तै कर्मचारी संयन्त्रले आवश्यक भूमिका खेल्न सक्ला त ? सङ्कीर्ण सोच र संस्कारबाट माथि उठी बृहत्तर राष्ट्रिय हित र भलाइका लागि प्रतिबद्ध होला त ? न्युटनको गतिको नियमजस्तै अहिलेको प्रशासन संयन्त्र स्थीर छ । चलायमान हुने स्टीमुलस रित्तिएर खोक्रो छ । त्यो स्थिर संयन्त्रलाई गतिशील र वेगमय बनाउन बाह्य बल (एक्स्टर्नल फोर्स) आवश्यक छ । त्यो बाह्य बल जति छिटो दिन सकियो त्यसमा नै राष्टको कल्याण हुनेछ । बाह्य बल रुपी खोपमा दुई तत्त्वको संयोजन हुनु पर्दछः उत्प्रेरणामूलक तत्त्व (मोटिभेस्नल फ्याक्टर) र बाध्यकारी तत्त्व (कम्पल्शन फ्याक्टर) ।

नेपाली समाजमा प्रचलित लोकोक्ति ‘सरकारी काम कहिले जाला घाम’ले धेरै हदसम्म सार्वजनिक प्रशासनको वास्तविक चित्रण गर्दछ । प्रभावकारी उत्प्रेरणको अभावमा कर्मचारीहरू मुर्झाएका छन् । न त जिम्मेवारी पूरा गर्ने जाँगर छ न त केही नौलो काम गर्ने उत्साह नै । असल कार्य वातावरण, सेवा सुविधा, पुरस्कार तथा दण्ड, पदोन्नति, प्रशंसा, प्रतिष्ठा जस्ता तत्त्वहरूले कर्मचारीहरूमा साङ्गठनिक लक्ष्य प्राप्त गर्ने उत्साह भर्दछ । नेपालको सार्वजनिक प्रशासनको सन्दर्भमा स्वप्रेरित भई काम गर्ने जाँगर भर्ने व्यवस्था अत्यन्तै न्यून छ । न्यून पारिश्रमिक, प्रशासन संयन्त्रको गिर्दो साख, नातावाद, हाकिमवाद र भनसुन, अनावश्यक दबाब र हस्तक्षेपले कर्मचारीहरू काम गर्न प्रोत्साहित छैनन् ।

अगाडिबाट घाँस देखाएर भएन भने पछाडि बाट खेद्न पर्छ डियाबाच्छालाई भने जस्तै केही हदसम्म डर त्रासको माध्यमबाट कर्मचारीहरूलाई काम गर्न बाध्य पार्नु आवश्यक हुन्छ । यो अभ्यासप्रति गुनासो सुनिएता पनि संसार भर सार्वजनिक प्रशासनमा भएको छ र हुन पनि पर्छ । यो नेसेसरी एभिल हो । काम नगर्नेलाई सेवाबाट अलग गर्ने, तलब रोक्का, बढुवा रोक्का तथा घटुवा जस्ता अभ्यासहरू प्रचलनमा छन् । नेपालको सन्दर्भमा पनि कानुनतः यस्तो व्यवस्था भएता पनि कार्यान्वयनको पाटो अत्यन्तै फितलो र निम्छरो छ । पहुँचका आधारमा जुनसुकै दण्ड सजाय पनि पन्छाउन सकिने वातावरणले सार्वजनिक प्रशासन गिजोलिएको छ । यसर्थ कर्मचारीहरू काममा भन्दा उच्च राजनीतिक तथा प्रशासनिक छहारी मा बसी उनीहरूकै महिमा गान र आफ्नो दुनो सोझ्याउने काममा बढी व्यस्त छन् ।

नेपालको प्रशासन संयन्त्रलाई वास्तविक सुधार गरी देशहितमा प्रतिबद्ध गर्न उत्प्रेरणामूलक तत्त्व र बाध्यकारी तत्त्वहरू एकसाथ इन्जेक्ट गर्नुपर्दछ । पे फर वर्कको मान्यतालाई हृदयङ्गम गरी हाम्रोलाई भन्दा राम्रोलाई मलजल गर्ने संस्कृति बसाल्नु पर्दछ । जुन ढर्राले प्रशासन संयन्त्र चलिरहेको छ, त्यही तौरतरिकाले समृद्ध नेपाल सुखी नेपाली आकाशको फल आँखा तरी मर हुनेछ । बेला आएको छ केशवराजहरूलाई नै राज गर्न दिने कि क्षमतावान् कर्मवीरहरूले विस्थापित गर्ने ।

लेखक गलकोट नगर कार्यपालिकाको कार्यालय, बागलुङमा शाखा अधिकृत पदमा कार्यरत छन् ।

 

Tags :
प्रतिक्रिया दिनुहोस