निजामती दिवसका नाराहरुको सार्थकता « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

निजामती दिवसका नाराहरुको सार्थकता


२९ भाद्र २०७७, सोमबार


भदौ २२ गते निजामती सेवा दिवस मनाइयो । २०१३ साल भाद्र २२ गते पहिलो पटक निजामती सेवा ऐनको प्रादुर्भाव भएको सम्झनामा २०६१ सालबाट यो दिवस मनाउन थालिएको हो । प्रत्येक वर्ष एउटा नयाँ आकर्षक नारा सृजना गर्ने र दिवस मनाउने प्रचलन जस्तै बनेको छ ।

कोभिड) १९ को महामारीका कारण यो वर्ष तामझामका कार्यक्रमहरू नभए पनि नारा भने सुझाइएको छ । यो वर्षको नारा ‘स्वच्छ र सक्षम निजामती प्रशासन : समृद्धि र सुशासन’ भन्ने रहेको छ ।

निजामती सेवा राज्य, इच्छा र जन इच्छालाई जोड्ने महत्त्वपूर्ण कडी हो । सरकारले निजामती सेवामार्फत आफ्ना कार्यक्रमहरू लागू गर्छ भने जनताले निजामती सेवा मार्फत नै आफ्ना इच्छा र चाहनाहरू सरकार समक्ष प्रसारित गर्दछन् । सरकारी कामको प्रभावकारिता र नागरिक सन्तुष्टिको मापन गर्ने/हुने साझा बिन्दु पनि निजामती सेवा नै हो भन्न सकिन्छ । राष्ट्र सञ्चालन र नागरिक सेवाका लागि मुलुकमा अन्य विभिन्न सेवाहरू समेत भए पनि निजामती सेवा अन्य कतिपय सेवाहरूको मार्गदर्शक र परिचालकसमेत रहेको छ ।

सरकारी सेवा प्रवाह गर्ने महत्त्वपूर्ण अवयव हुनुको नाताले यो सेवाको प्रभावकारिता, काविलियतता, सक्षमता र स्वच्छताजस्ता गुणहरू जन अपेक्षित मानिन्छन् । आफूलाई धेरै जसो सेवा उपलब्ध गराउने कर्मचारीहरू स्वच्छ, सक्षम, पारदर्शी वा तटस्थ हुन् भन्ने अपेक्षा सर्वसाधारणको जायज अपेक्षामा पर्दछ । तर नेपालको निजामती सेवा अपेक्षाकृत स्वच्छ, काबिल र प्रभावकारी बन्न नसकेको गुनासो सर्वत्र व्याप्त छ ।

२००७ सालको राजनैतिक परिवर्तनसँगै नेपालको निजामती सेवालाई सक्षम, काबिल र प्रभावकारी बनाउन विभिन्न प्रयासहरू गरिए । २०१३ सालको निजामती सेवा ऐन त्यसकै एक कडी मान्न सकिन्छ । विभिन्न समयका प्रशासन सुधार आयोगहरू, समितिहरू, विभिन्न योजना तथा सोचहरू निजामती सेवाको सुधार र सुदृढीकरणमा केन्द्रित छन् । यद्यपि यो सेवालाई गुनासोरहित बनाउन सकिएको छैन ।

निजामती सेवामा राजनीति हाबी भएको, कर्मचारीहरूमा स्वेच्छाचारिता र अराजकता बढेको, स्रोत साधनको व्यापक हिनामिना हुने गरेको, काम पन्छाउने, अपारदर्शी ढङ्गले काम गर्ने, सुविधा मात्र खोज्ने, जनताका पिर मर्का गुनासा र कन्सर्नहरुको बेवास्ता गर्ने, सेवा प्रदायक भन्दा पनि आफूलाई शासकको रूपमा प्रस्तुत गर्नेलगायतका आरोपहरू दिन प्रतिदिन बढ्दै गइरहेका छन् ।

मुलुकको अर्थतन्त्र सञ्चालनको मियो तथा विकास र समृद्धिको मेरुदण्डकोरुपमा रहेका निजामती कर्मचारीहरूको वैयक्तिक र पेसागत बानी व्यवहारमा प्रश्न खडा हुनु आफैमा विडम्बना हो । समाजवाद उन्मुख मुलुक निर्माणको दिशामा सकारात्मक भूमिका खेल्नु पर्ने कर्मचारीहरू नागरिकको आशङ्का र अविश्वासको घेरामा पर्नु लज्जास्पद कुरा हो ।
निजामती दिवसको यो वर्षको नारा ‘स्वच्छ तथा सक्षम निजामती प्रशासन : समृद्धि र सुशासन’ भन्ने नारामा पनि माथिका कुराहरू सन्निहित देखिन्छन् । एकातिर कर्मचारी प्रशासन स्वच्छ र सक्षम बनाउन जरुरी छ भने अर्कातिर मुलुकको समृद्धि र सुशासनको मूलाधार पनि यो सेवा नै देखिन्छ ।

स्वच्छ र सबल नभएसम्म यो सेवाबाट समृद्धि र सुशासन सम्भव छैन वा समृद्धि र सुशासनकका लागि स्वच्छ र सक्षम निजामती प्रशासन अनिवार्य छ भन्ने आशय यसले बोकेका देखिन्छ ।

अर्थ जे पनि लगाउन सकिन्छ । नाराका सर्जकहरूले यसको राम्रो विश्लेषण गर्न सक्लान् । तथापि स्वच्छता र सक्षमताको प्रसङ्गले निजामती सेवामा यी कुराहरू छैनन् वा कम छन् भन्ने तर्फ अवश्य सङ्केत गर्दछ । सर्वोत्कृष्ट कर्मचारी पुरस्कारका लागि कर्मचारी नभेटिनु वा छनौट हुन नसक्नु यसकै सङ्केत होइन र ?

निजामती सेवा भित्र सुशासनको प्रश्न बारम्बार किन उठ्छ ? निजामती सेवा ऐन, नियमावली लगायत सान्दर्भिक ऐन कानुनमा निजामती सेवाको पारदर्शिता, उत्तरदायित्व, सरोकारवालाको सहभागिता, मितव्ययिता, कार्यकुशलता, उत्पादनशीलता लगायतका विषयमा तमाम व्यवस्था गरिएका छन् ।

यसका लागि थुप्रै नियामक निकायहरूको व्यवस्था र परिचालन गरिएकै छ । तथापि यो सेवामा भ्रष्टाचार मौलाउँदै गएको र कर्मचारीको निष्ठा, उत्प्रेरणा, साझा हित र देश प्रेमको भावना पालिँदै गएको कुरा सेवा भित्रैबाट विभिन्न ढङ्गले स्विकारिएको देखिन्छ ।

यति बेला विश्व नै कोभिड–१९ को महामारीले थल्लिएको छ । जनसेवा प्रवाह गर्ने निकायहरूले बनिबनाउ नियमित तौरतरिकाको सट्टा वैकल्पिक र आधुनिक प्रविधियुक्त रणनीति तथा उपागमहरु अवलम्बन गर्न थालेका कुराहरू यत्रतत्र सुनिन थालेका छन् । तर निजामती दिवसको मूल नारामा हामीले यस्ता विषयतर्फ सोच्नै भ्याएनौँ । किन ? यो वर्षको नारामा कोभिड कहर को विषय वा कोभिडसँग जुझ्ने रणनीति सम्बन्धी विषय जोडेको भए अझ सान्दर्भिक हुन्थ्यो कि ?

तर हाम्रो स्तर उस्तै छ । उही असक्षम,अस्वच्छ (दूषित), कुशासनयुक्त आदि आदि ।

खैर¸ हामीले यो सेवालाई इमान्दारीतापूर्वक असक्षम, दूषित, कुशासनयुक्त मानेकै हौँ भने पनि स्पष्टताका साथ स्विकार्दै त्यसका विरुद्धका रणनीतिहरू अघि सार्न जरुरी थियो । अन्यथा उही भाव र भङ्गीका शव्दजालहरु मार्फत आफै धामी आफै बोक्सीको रोइलो गर्नु हास्यास्पद मात्रै हुने छ ।

अहिलेको आवश्यकता प्रशासनिक संघीयताको प्रभावकारी व्यवस्थापन हो । अहिलेको आवश्यकता प्रविधि युक्त जनसेवा प्रवाहको हो । अहिलेको आवश्यकता परम्परागत कर्मचारीतन्त्रमा कहीँ न कहीँ ब्रेक थ्रु गर्दै लचिलो सेवा प्रवाहको मेकानिज्म खोजी गर्नु पनि हो । तर निजामती सेवा दिवसको यो महत्त्वपूर्ण अवसरमा पनि आफ्नो सेवालाई निचो देखाउने बाहेक हामीले केही गर्न सक्यौँ जस्तो लागेन । यो दिवसमा निजामती सेवा भित्रका उचोनिचोका विषयमा बहस हुनु पर्थ्यो, एउटा निरीह कर्मचारी राजनीति र समाजको बदनियतको चक्रमा कसरी पिल्सिएको छ भनेर खोजिनु पर्थ्यो । समायोजनको नाममा जबरजस्ती पेलिएका कर्मचारीहरूलाई निहारिनु पर्थ्यो । कोही किन भ्रष्टाचारी बन्छ भनेर भित्री पाटाहरू खोतल्नु पर्थ्यो । तर विडम्बना यो वर्ष पनि यस्तो भएन वा हुन सकेन । कर्मकाण्ड चाहिँ पूरा गरियो शायद ।

निजामती सेवा आफैमा एउटा वृहद सेवा हो । यस भित्र थोरै मान्छेहरू फटाहा हुन सक्छन् । घुस खोर हुन सक्छन् । कामचोर र चाटुकार हुन सक्छन् । तर धेरै कर्मचारीहरू राष्ट्र सेवाको भावले ओतप्रोत छन् । निस्वार्थ रूपमा सेवारत छन् । खुल्ला छन् र सक्षम पनि छन् । सबैलाई एउटै चस्माले हेरिनु राम्रो होइन । धमिलो पानी मिसाएर सिङ्गो सङ्लो तलाउ बिटुल्याउने प्रवृत्तिलाई निस्तेज पार्न यस्ता दिवसहरू सहायक हुनु पर्छ ।

निजामती दिवस सेवा भित्रका विकारहरू चिरफार गर्ने र भावी यात्राको लागि मार्ग प्रशस्त गर्ने अवसर बन्नु पर्छ । निजामती दिवसका नाराहरू सेवाको श्रीवृद्धि गर्ने र सेवाको गुड विल बढाउने सिम्वोल बन्न जरुरी छ ।

गौतम शिक्षा विकास तथा समन्वय इकाई रुकुम पूर्वका इकाई प्रमुख हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस