उ वडा सचिव कि बडा सचिव ? « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

उ वडा सचिव कि बडा सचिव ?


२० भाद्र २०७७, शनिबार


बिदाको दिन थियो । केही काम नभए पछि एउटा चार वर्ष अघि निजामतीको खरदार भई र आज समायोजन भएर सहायक चौथो भएको घनिष्ठ साथीलाई भेट्न उसको घर गए। तीन घण्टा सँगै बसियो । बसाइँ सोचे भन्दा आनन्दमय भयो । साँच्चै उसको कुरा सुन्दा उ वडा सचिव होइन, बडा सचिव नै हो भन्ने अनुभूति हुन्थ्यो । उ शिष्ट र नरम भाषामा बोल्दै थियो । अनि व्यक्त गर्दै थियो आफ्ना मनका विचार, भावना र वेदनाहरू अनि आफूलाई जेनतेन ठुलो बनाउने उसका काल्पनिक विचारहरूले मलाई भित्र भित्र आनन्दको महसुस भइरहेको थियो र मनमनै मलाई पनि भन्न मन थियो, साँच्चै उ वडा सचिव होइन बडा सचिव नै हो !

उ आफ्नो भावना पोख्दै गयो, म सुन्दै गएँ..

‘निजामती कर्मचारीको भूत चढेको म र म जस्तै धेरै साथीहरूले निजामती कर्मचारीको बिल्ला भिरिसकेका थियौँ भने कोहिले स्थानीय सेवाको । जिम्मेवारीको हिमाल चढ्ने क्रममा सगरमाथासम्म पुगिसकियो होला तर पनि जिम्मेवारी घट्ने वाला छैन, जिम्मेवारीको उचाइ बढ्दै छ, कति बढ्दै छ ? र कहाँ पुगेर रोकिने हो ? म आफैलाई थाहा छैन र थाहा छैन म आफैलाई जिम्मेवारीको बिल्ला भिराउनेहरूलाई पनि ।

सानो पदमा ठुलो मन लिएर कार्यालय भित्र पस्न नपाउँदै कामको डङुरमा पुरिएको म आफैलाई थाहा हुँदैन, यतिसम्म कि कहिलेकाहीँ खाजा खान पनि भ्याइँदैन । भोक लागेर पनि कति बेला भोक मरिसक्यो थाहै हुँदैन । खाजा समय २ः००–३ः०० भन्ने त ठुला कार्यालय र सरकारी क्याम्पसमा मात्र हो कि झैँ हुन्छ किनकि त्यहाँ खाजाको समयको पूर्णरुपमा पालना हुन्छ । कार्यालयको काम सकिएन भने ६ बजेसम्म पनि काम गरिन्छ । तर पनि अतिरिक्त भत्तादेउ भनेर बिलौना गरिँदैन । अफिस भित्र म सधैँ अन्य ५ जना तलबी करार कर्मचारीकोबीचमा घेरिएको हुन्छु। जति बेलादेखि जनप्रतिनिधिलाई मासिक तलब दिन थाल्यो त्यसपछि म उनीहरूलाई तलबी करार कर्मचारी भन्न थालेको छु । त्यो भन्दा मलाई केही सन्तुष्टि भए झैँ हुन्छ । पी पाँचै जनाको चित्त बुझाउनु पनि म आफ्नो जिम्मेवारी ठान्छु र काममा तल्लीन हुन्छु । तर पनि काम सकिने वाला छैन ।

प्रायः म एउटा कार्यालय सहयोगीको साथमा काममा भिडिरहेको हुन्छु । तर पनि म आफूलाई वडाको हाकिम सम्झन भने पछि पर्दिन। कुनै कार्यक्रममा परिचय दिँदा नमस्कार म … यति नम्बर वडाको वडा सचिव भन्दा मेरो छाती ठुलै भएको महसुस हुन्छ ।’

उ भन्दै गयो … म सुन्दै गए… ‘२ वर्षसम्म गाविसको पुरै हाकिम र अध्यक्ष भएर काम गरेको म, एउटा लुडो खेलेको खेलाडी ९९ मा पुग्दा सर्पले खाएर सिधै १२ मा पुगेको झैँ सबै पद गुमाएर वडा सचिवमा घटुवा हुँदा मन साह्रै अमिलो भयो । तर पनि राष्ट्रको युगान्तकारी परिवर्तनको लागि संघीय राज्य सफल बनाउनका लागि म र म जस्ता सयौँ साथीहरूका लागि यो बलिदान नै हो भन्दा फरक नपर्ला यस्तो कार्यमा म गर्व गर्छु । मेरो पद भन्दा ठुलो कुरा देश हो देश बन्नु पर्छ ।’ मलाई उसको राजनीतिक भाषाले हाँसो लाग्छ तर नहाँसी मुस्कान मात्र दिन्छु ।

उ थप्दै जान्छ …

‘मनमा गुनासोका पोकाहरू धेरै छन् । चित्त बुझाउन पर्ने पात्रहरू धेरै थपिएका छन् । पहिला घरकै गृहमन्त्रीको चित्त बुझाए मात्र पुग्थ्यो । अहिले गृहमन्त्री भन्दा शक्तिशाली मन्त्रीको आगमन वडामा भएको छ । सङ्ख्या ठुलै छ । गुनासोको भण्डार छ । प्रशासनिक गुनासो सुन्ने यही एउटा ज्यान मात्र छ, जस्तो लाग्छ । लाग्छ म एउटा स्थायी कर्मचारी होइन । स्थायी लेखनदास हुँ । वडा अध्यक्षको स्वकीय सचिव हुँ । मेरो काम लेख्नु हो । चाहे त्यो सेतो कागजमा होस् या कम्प्युटरमा होस् । भनेको समयमा आफ्नो कलम, मन, मस्तिष्क र हातका औँलाहरूलाई अभ्यस्त बनाउनु मेरो दैनिकी हो र कर्तव्य पनि त्यही। म अधिकारको पछि होइन कर्तव्य पुरा गरेर मात्र अधिकारको खोजी गर्ने चेतनशील प्राणी हुँ ।’

‘म बिदामा बस्न शनिवार होइन बिरामी हुनुपर्छ । औषधि नखाए पनि खाएको बहाना गर्नु पर्छ । शनिवार श्रीमती सङ्ग घुम्न जाने पाँच दिनदेखिको मेरो योजना त्यति बेला चकनाचुर हुन्छ । जति बेला वडाध्यक्ष ज्यूले ‘‘सचिवजी ल ! भोलि मिटिङ बस्नु पर्‍यो है’’ भनी शुक्रवार फोन गर्छन् । मैले नाइँ भन्न सक्दिन बरु श्रीमतीलाई अर्को शनिवारको पुर्जी थमाएर म्याद थप्न लगाउँछु । तर त्यो म्याद धेरै पटक थपिन्छ । जसरी अनमिनको नेपालमा म्याद थपिएको थियो ।

यति लोडको वाबजुत पनि म लोक सेवाको विज्ञापन हेर्न छुटाउँदिन । नाम चलेका लेखकका किताब दराजमा भए पनि थन्काउनु र कहिलेकाहीँ बाहिरी कभर हेरेर चित्त बुझाउनु मेरो मुख्य बानी बनिसकेको छ । यो गन्जागोल भित्रबाट पनि अफिसर बन्ने मेरो तीव्र इच्छा भने मरिसकेको छैन । कहिलेकाहीँ पहाडको विकट पालिकामा काम गर्ने वडा सचिव साथीले महिनामा १५ दिन घरमै बस्छु भनेर गफ लगाएको सुन्दा मनमनै रिसाउँदै उसलाई पनि मेरै अफिसमा चाँडै सरुवा होस भनेर आशिष दिन्छु ।

एक दिन गाडीमा अफिसबाट घर आउँदै थिए । अगाडि एक विवाहित महिला थिइन् । म झैँ कुनै पालिकाको वडा सचिव रहिछन् उनी । एक अधबैँसे पुरुषलाई आफ्नो वडाको चरम गुनासोको भारी बिसाउँदै थिइन् । म नबोली नबोली सुन्दै गए, सुन्दा धेरै आनन्दको महसुस भयो । उनी त्यो मान्छे सङ्ग बोल्दा पनि म सँगै बोलेको आभास भयो । सबै गुनासो एउटै, एउटै भावना, विचार र वेदनाहरू । किन किन उनले व्यक्त गरिरहेको वेदनामा मलाई आनन्दको अनुभूति भइरहेको थियो । अरू वडा सचिवको लोडको गुनासोले मलाई पीडामा पनि खुसी हुन सिकाएछ । उनी कतिखेर झरेर गई मलाई थाहै भएन।’

उ लामो श्वास फेर्छ…

‘मन्त्रीले हामीलाई थाङ्नेको बिल्ला भिराइदिएका छन् । एउटा कर्मचारीलाई काम गर्ने वातावरण नबनाई भिरबाट घचेटिदिएका छन् । हामी हुत्तिँदै आयौँ र एक ठाउँ ठोकियौँ । अनि जहाँ ठोकियौँ, त्यही रोकियौँ । जाने धेरै बाटोहरूमा पर्खाल लगाइयो । अनि एउटा साँघुरो गोरेटो देखाई गन्तव्यमा पुग्न भनियो । तर त्यो गोरेटोबाट अरू गोरेटोमा जोडिन सकिँदैन भन्ने सबैलाई थाहा छ । सबै कर्मचारीलाई एउटै टोकरीमा राखेर घुस्याहाको संज्ञा दिइएको छ ।

त्यसकै आधारमा तिमीले मलाई वडा सचिव भनेर हेपेका हौला ? म वडाको एक्लो कर्मचारी भए पनि म वडाको हाकिम नै हो बुझ्यौ तिमिले ? मलाई थाहा छ, आजकल मलाई नमस्कार गर्नेको सङ्ख्या ह्वात्तै घटेको छ । पहिला म पुरै गाविस हेर्थे । तर चुनाव पछि यो नमस्कारमा भारी गिरावट आएको छ । तर पनि जति नमस्कार खाइन्छ । त्यो भलादमी पाराले खाइन्छ ।

सेवाग्राहीमा गाउँ गाउँमा सिंहदरबारको भूत चढेको छ । कर्मचारी नभए पनि तुरुन्तै सेवा प्रवाह चाहिएको छ । यो त पार्टीको चुनावी नारा मात्रै हो । भन्ने कुरा सोझा जनतालाई के थाहा ? थाहा हुन्थ्यो भने सरकारले सबैभन्दा पहिला वैज्ञानिक तरिकाले कर्मचारीको व्यवस्थापन गर्नु पर्थ्यो । एक जना कर्मचारी वडामा पठाएर उसकै भरमा सिंहदरबार ल्याउन खोज्नु कत्तिको हास्यास्पद कुरो हो ? तिमि आफै भन । अस्ति एक जना सेवाग्राही जन्म दर्ता सच्याउन आए तर म सँग नबोली सिधै वडाध्यक्षकोमा गए । पछि यो काम त सचिवको हो नि ! भनेपछि बल्ल नमस्कार गर्दै म सँग आए । आजभोलि हामीलाई सेवाग्राहीले गन्न छोडेका छन् । यो सम्झिँदा त संघीयता किन आएको होला ? झैँ हुन्छ ।’

म फेरि मुसुक्क हाँस्छु ।

उ फेरि जङ्गिन्छ । ‘म कसरी सानो मान्छे भए भनत ? म बिना पञ्जीकरणको सबै काम रोकिन्छ । म बिना बुढाबुढीले सामाजिक सुरक्षा भत्ता खान पाउँदैनन् । म बिना वडाको साना योजनाको सबै काम रोकिन्छ । अनि रोकिन्छ भुक्तानीको सिफारिस प्रक्रिया पनि । म बिना कम्प्युटरबाट हुने सबै सिफारिस रोकिन्छ । म बिना वडा समितिको बैठक बस्दैन । मलाई अनलाइनबाट सबै काम गर्न आउँछ । अनलाइनबाट राजस्व सङ्कलन गरी पालिकाको राजस्व वृद्धि गर्नुमा मेरो ठुलो योगदान छ । हरेक सिफारिस र राहतको फाइल म बिना कसैले मिलाउन सक्दैन । म नआउँदासम्म मलाई वडामा कुर्नेको भिड लाग्छ । आएपछि देखावटी भए पनि सबैले नमस्कार गर्छन् । चाहे काम होस या नहोस् !

यी शब्द, मैले भोगेका कठिनाइहरू, सबै योगदान अनि काम कर्तव्य र अधिकार हेर्दा म कसरी सानो भए ? भन त ल ।’

म नाजवाफ भएर फर्कन्छु र मनमनै भन्छु उ साँच्चै वडा सचिव होइन बडा सचिव नै हो ।

Tags :
प्रतिक्रिया दिनुहोस