विश्व राजनीतिक प्रणालीको भावी रूपरेखा « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

विश्व राजनीतिक प्रणालीको भावी रूपरेखा


८ भाद्र २०७७, सोमबार


विश्वको राजनीतिक ध्रुवीकरण तीव्र रूपमा भई रहेको छ । अठारौँ र उन्नाईसौँ शताब्दीमा युरोपको दबदबा रहेको विश्व राजनीतिक तथा आर्थिक प्रणालीमा विसौँ शताब्दी आई पुग्दा अमेरिकी दबदबा कायम भयो । एक्काइसौँ शताब्दीको पूर्वार्धदेखि नै विश्व शासनको एक मात्र नायकत्व सम्हालेको अमेरिकी शासनमा कमजोरीहरू देखा पर्न थाले ।

शक्तिको प्रयोग, श्रोत साधन माथिको कब्जा र आफू अनुकूल हुँदा अलोकतान्त्रिक चरित्रलाई समेत पक्षपोषण गर्ने र आफू प्रतिकुल हुँदा जुनसुकै शासन प्रणाली माथि धावा बोल्ने गरेका आरोप लाग्न थाल्यो । एसियाको विरासतपूर्ण इतिहासको पुनरावृत्ति गर्ने ध्येयका साथ एसियन शक्तिहरू लागि रहे । सत्रौँ शताब्दीसम्म विश्वमा सर्वाधिक शक्तिशाली देशहरू भारत र चीन नै रहेको तर विश्व शासन प्रणाली युरोपियन स्वामित्वको युगमा पछि परेका यी देशहरूको आर्थिक र राजनीतिक शक्ति बढ्दै जान थाल्यो ।

परिणमस्वरुपः एक्काईसौँ शताब्दीमा विश्वको शासन सञ्चालन गर्न अब केवल एक मात्र शक्तिका लागि सम्भव नहुने देखियो । परिवर्तित समय सन्दर्भमा विश्व शासन प्रणालीमा ठुलो हलचल पैदा हुँदै गरेको देखिएको छ । कोभिड १९ ले यस परिवर्तनलाई अझ तीव्रताका साथ गतिमान बनाउँदै गरेको छ । यसै सन्दर्भमा विश्व शासन प्रणालीको आगामी रूपरेखाको बारेमा निश्चित भविष्यवाणी त गर्न सकिएको छैन । तथापि अबको विश्व प्रणालीका सामान्य लक्ष्यणहरुको बारेमा भने विद्धत वर्गमा चर्चा हुने गरेको छ । जसलाई यस आलेखमा संक्षिप्त चर्चा गर्ने प्रयास गरिएको छ ।

१. लोकतान्त्रिक शासन प्रणालीको बाहुल्यता भएको विश्व व्यवस्था
अबको विश्व प्रणालीमा लोकतन्त्र नै मानक हुने कुरामा सबै विद्धत वर्ग एकमत देखिन्छन् । विश्व इतिहास विभिन्न सर्वाधिकारवादी निरङ्कुश शासन प्रणालीको साक्षी बनेर अहिलेको अवस्थासम्म आई पुगेको हो । लोकतन्त्रको लडाइँमा मानव जातिले ठुलो मूल्य चुकाएको छ । तथापि विश्वमा अहिले पनि केही देशहरूमा अलोकतान्त्रिक परिपाटिको शासन हाबी रहेको छ । लोकतन्त्र एक उत्तरदायी प्रणाली हो जहाँ जनताको सार्वेपरिता कायम गरिएको हुन्छ । अबको विश्वमा लोकतन्त्रको विकास र विस्तार हुँदै जाने देखिन्छ । कतिपय मुलुकहरूमा अर्ध लोकतन्त्र, साम्यवादी तथा सक्रिय राजतन्त्रका अवशेषहरू बाँकी छन् । तथापि विश्व शासनको महत्त्वाकाङ्क्षी यात्रामा लोकतन्त्रको विकल्प अर्को शासन देखिएको छैन । शान्ति, स्थिरता, विकासका लागि अबको विश्वको शासन प्रणाली लोकतन्त्र उन्मुख हुनेछ ।

२. बहु ध्रुवीय विश्व व्यवस्था
मध्यकाल र प्राचीन कालमा एसियाका भारत र चीन जस्ता देशहरूले विश्वमा अग्रणी भूमिका खेलेका थिए । पुनर्जागरण, ईन्लाईटनमेन्ट पश्चात् औद्योगिक क्रान्तिलाई आत्मसाथ गरेकोले युरोपको भूमिका बढेर गयो । बेलायत, फ्रान्स, जर्मनी जस्ता देशबाट दुई ठुला विश्व युद्ध पश्चात् विश्वको शासन प्रणाली अमेरिकातर्फ प्रस्थान गर्‍यो । शीत युद्धकालीन जति विश्व व्यवस्थामा दुई ध्रुवमा विभाजन भएको विश्वको शासन प्रणाली १९९१ पश्चात् एकल अमेरिकी ध्रुवमा समाहित भयो । तर अबको विश्वमा एकल ध्रुवीय शासन प्रणाली कायम नहुने लक्ष्यणहरु देखिएका छन् ।

विद्यमान विश्व शासनको एकल ध्रुवमा अमेरिकालाई टक्कर दिनका लागि अन्य शक्तिहरुको  उदय भएको छ । चीन, भारत, ब्राजिल, दक्षिण अफ्रिका तथा रुस जस्ता वृक्षका देशहरू मात्र होइन विश्व राजनीतिमा अरू कैयन देश तथा समूहहरूको उदय भएको छ । तथापि चीन र रुसले अमेरिकालाई हरेक क्षेत्रमा टक्कर दिने हैसियत बनाउँदै लगेको देखिन्छ । त्यसैले अबको विश्वमा एकल ध्रुवीय प्रणाली भन्दा बहु ध्रुवीय प्रणाली बढी सम्भावनायुक्त रहेको छ ।

संयुक्त राष्ट्र सङ्घ, विश्व व्यापार सङ्गठन, युरोपियन युनियन, आसियन, सार्क जस्ता सङ्गठनहरूले पनि विश्व राजनीतिलाई एकल ध्रुवबाट बहु ध्रुवतर्फ जान कम्तीमा सैद्धान्तिक रूपमा भए पनि प्रोत्साहन गरेका छन् । यस्ता अन्तर्राष्ट्रिय सङ्गठनहरूको माग भविष्यमा अझै बढ्ने निश्चित छ ।

३. चीनको उदय र गैर पश्चिमा जगतक प्रभुत्व
एक समयमा विकास भनेको गोरा जातिहरूका लागि मात्र हो । अन्य मानव जातिबाट विकास सम्भव छैन । बरु उनीहरूलाई गोराहरूको सामान्य दायित्वमा राखेर सहायता दिनु पर्दछ भन्ने मान्यता थियो । जसलाई ‘ह्वाइट मेन्स बर्डन’ भनिन्थ्यो । बीसौँ शताब्दीको मध्यमा जापानले अनपेक्षित प्रगति गर्दै पश्चिमाको दिमागमा रहेको विकास सम्बन्धी अवधारणामा प्रथम पटक प्रहर गर्‍यो । विकास गोरा बाहेकका अन्य जातिहरूबाट पनि सम्भव छ भन्ने यस पदचापमा दक्षिण कोरिया, ताइवान, हंगकंग र सिंगापुर जस्ता अर्थतन्त्रहरू अग्रसर भए । जसको फलस्वरूप बीसौँ शताब्दीको उत्तरार्धमा आइपुग्दा एसियन टाइगरका रूपमा यस्ता देशहरू विश्व प्रणालीमा प्रभुत्वकारी बन्न पुगे ।

हाल विश्व राजनीतिमा चीनको उदयले विकास गोराहरूको मात्र हो भन्ने पश्चिमा सोचमा कुलो कुठाराघात भएको छ । चीन हरेक फ्रन्टहरुमा दिनानुदिन प्रगतिपथमा लम्केको छ । अर्थतन्त्र, प्रविधि, कूटनीति, राजनीति र सामरिक शक्तिमा चीनको विकास गति तीव्र छ । यससँगै गैर पश्चिमा जगतका भारत, आसियन देशहरू पनि प्रगतिको पथमा लम्केका छन् । यसबाट अबको विश्व व्यवस्थाको केन्द्रमा केवल पश्चिमा गोराहरू मात्र रहने सम्भावना हटेर गएको छ । त्यसैले अबको विश्व शासनमा चीन र गैर गोराहरूको वर्चस्व बढ्ने सहजै अनुमान गर्न सकिन्छ ।

४. प्रभावकारी दक्षिण
विकासको आधारमा देशहरूलाई उत्तर र दक्षिणमा अनौपचारिक विभाजन गरिएको छ । युरोपियन र अ‍ेमरिकी सबै विकसित देशहरू उत्तरी गोलार्धमा पर्ने भएकाले भौगोलिक उत्तरलाई विकसित र भौगोलिक दक्षिणलाई अविकसित देशहरूको लाक्षणिक अर्थमा लिने गरिएको सन्दर्भमा उत्तर जहिले पनि विश्व मामलामा हाबी भएको देख्न सकिन्छ । तर अबको विश्व व्यवस्थामा दक्षिण दक्षिणको सहयोग र समन्वय बढ्दै गएको छ । कोरोना काल खण्डमा पनि दक्षिण दक्षिण सहयोग बढेको छ । विकास, प्रविधि, व्यापारमा समेत उत्तर दक्षिण भन्दा दक्षिण दक्षिण बिचमा सम्बन्धहरू घनिभुत हुँदै गएको आधारमा अबको विश्व शासन प्रणालीमा दक्षिणको प्रभावकारिता बढ्ने भएकाले उत्तर मात्र हाबी हुने सम्भावना निक्कै कम देखिन्छ ।

५. विश्व राजनीतिको केन्द्रमा वातावरण
अबको विश्वमा मानव समुदायले झेल्नु पर्ने एक नवीन चुनौतीका रूपमा वातावरणीय मुद्दा रहनेछ । जलवायु परिवर्तन, विश्वव्यापी उष्णता, कार्बन व्यापार जस्ता पक्षहरू अबको विश्व राजनीतिमा केन्द्रीय सरोकारका विषय हुनेछन् । अमेरिकी राष्ट्रपतिको वातावरणीय समस्या प्रतिको उदासीनता र जलवायु परिवर्तन सन्धि प्रतिको रुझानले वातावरणलाई विश्व राजनीतिमा थप चर्चित मात्र बनाएन । अबको राजनीतिमा वातावरणीय मुद्दा विना विश्वको शासनलाई हाँक्न असम्भव नै तुल्याएको देख्न सकिन्छ । त्यसैले परिवर्तनमुखी विश्व शासन प्रणालीमा वातावरणीय मुद्धाहरुमा साझा तर भिन्न रूपमा देख्न सकिने छ ।

६. कस्मोपोलिटन लोकतान्त्रिक र समाज
विश्वव्यापिकरणले सामाजिक संरचनाहरूका ठुलो परिवर्तन ल्याई दिएको छ । लण्डन, फ्रान्स, न्युयोर्क जस्ता सहरहरू कस्मोपोलिटन सहरका रूपमा विकसित भएका छन् । एसियाका विश्व आर्थिक केन्द्रहरू टोकियो, सांघाई, हंगकंग, सिंगापुरजस्ता सहरहरू पनि कस्मोपोलिटन सहरका रूपमा विकसित हुदैछन् । सहरहरूले आफ्नो परम्परागत पहिचान गुमाएर एकल जात वा भाषाबाट विश्वव्यापी मानव सम्प्रदायको स्वागत गर्ने अवस्थामा पुग्ने अवस्था कस्मोपोलिटानिज्म हो । त्यसैले अबका विश्व महानगरहरूले आफ्नो वास्तविक परम्परागत मूल्य र मान्यतामा गिरावट ल्याई वैश्विक मान्यतालाई अँगाल्ने तर्फ अगाडी बढेका छन् । यस्ता सहरहरूले विश्व शासनमा नवीनतम सोच ल्याउनेछन् । र समग्र मानव समुदायको साझा हितका लागि वकालत गर्नेछन् ।

७. बढ्दो सांस्कृतिक द्वन्द्व
अबको विश्व लोकतान्त्रिक चरित्रको त हुनेछ तर द्वन्द्व पूर्ण रूपमा अन्त्य हुने छैन । द्वन्द्वको नयाँ चरित्रहरू यस शताब्दीको अन्त्यबाट नै देखिएका थिए । हन्टिंग्टनको सभ्याताहरुको द्वन्द्वले यसलाई स्पष्ट पारेको छ कि अबको विश्वमा राजनीतिक द्वन्द्व भन्दा बढी सांस्कृतिक द्वन्द्वहरू हुनेछन् । अबको विश्वमा धर्मले मानिसहरूको बाध्यता हुने पिउ रिसर्च सेन्टरको अध्ययनमा देखिएको छ । पहिचानको राजनीतिले एका तर्फ धर्मको अवलम्बनमा सघाउ पुग्नेछ भने अर्को तर्फ केही धार्मिक सम्प्रदायहरूको तुष्टीकरणले यसलाई बाध्यता बनाउनेछ । खास गरी इस्लाम धर्मको आक्रामक स्वरूपले धार्मिक द्वन्द्वहरू बढ्नेछन् । आतङ्कवादले मानव समुदायलाई धर्मको अवलम्बन गर्न बाध्य बनाउनेछ । खास गरी हिन्दु संस्कृतिको विरुद्धमा इस्लामको द्वन्द्व नै भारतको स्वतन्त्रता देखि हाल सम्मको द्वन्द्वको इतिहास हो । काश्मीर मात्र होइन भारत भित्र पनि कैयौँ द्वन्द्वहरू भएका छन् । विश्व इतिहासमा धार्मिक द्वन्द्वले ठुलो नरसंहार मच्चाएको छ र जड धार्मिक मान्यतामा परिवर्तन र सुधारको सम्भावना नकार्नाले अबको विश्वमा धर्म नै द्वन्द्वको केन्द्रमा रहनेछ ।

हन्टिंग्टनले १९९६ मा भनेको जस्तो विश्वका सम्प्रदायहरू हिन्दु, इस्लाम, क्रिश्चियानिटी, ईस्टर्न अर्थोडक्स, कन्फ्युसियम, जापानी, अफ्रिकन र दक्षिण अमेरिकन सभ्यताका एकीकृत हुने सम्भावना देखिएको छ । ध्रुवीकरणको तीव्र वेगमा धर्मले कट्टरता हासिल गर्ने र सांस्कृतिक द्वन्द्व निरन्तर भई रहने छ । त्यसैले अबको विश्व शान्तिपूर्ण हुनेमा पूर्ण विश्वस्त हुन सकिँदैन ।

विश्व व्यवस्थामा परिवर्तन निरन्तर भइ नै रहेको छ । तर पछिल्लो शताब्दीमा विज्ञान र प्रविधिमा आएको परिवर्तनले यसको वेग बढाएको छ । निश्चित रूपमा विश्वको शासन व्यवस्थामा नवीनतम सोचहरूको विकास हुँदै गएको छ तर मानव समुदायलाई युद्धको विभिशिकाबाट जोगाउन कुनै सफल प्रयत्न भएको छैन ।

ढुङ्गाना नेपाल सरकारका शाखा अधिकृत हुन्

Tags :
प्रतिक्रिया दिनुहोस