लोक सेवा आयोगको साख र कर्मचारीतन्त्रका हाँक « प्रशासन
prasaLogo
५ भाद्र २०७७, शुक्रबार

लोक सेवा आयोगको साख र कर्मचारीतन्त्रका हाँक


प्रकाशित मिति : 21 August, 2020 11:45 am

परिवेश
स्वनिम इतिहासको विरासत भएको आयोगले आफ्नो विरासत जोगाउन अहिले पहिलेको जस्तो आदेश दिएर सेवा दिने होइन कि सेवा दिएर शासन गर्न सिकाउन कर्मचारी चाहिन्छ भन्ने सार्वजनिक प्रशासनका पछिल्ला आयाम सँग एकाकार हुन अमेरिकी प्रशासनविद् विल्सनले भने झैँ पुरानो युद्ध लड्न तयार पारिएको सिपाहीहरूको जमात होइन कि पूर्वानुमान गर्न नसकिने परिस्थितिमा पनि सेवा दिन सक्ने कर्मचारीहरूको छनौटको सक्षमता विकास गर्नु पर्दछ । अहिलेको अति जटिल सामाजिक परिवेशमा सेवा दिन सक्ने कर्मचारीहरूको छनौट र भर्ना गर्न योग्यता प्रणालीका नवीन परीक्षण विधिहरू पहिल्याउने काम भने जटिल हुदैछ । विश्वव्यापीकरणको प्रभावका कारण भर्ना र छनौटका विधि, सिद्धान्त र प्रविधिहरूमा आमूल परिवर्तन हुँदै गएको छ । योग्यता प्रणालीका तत्त्वहरूमा अन्तर सांस्कृतिक सक्षमता र विविधताका लाभहरूको प्रयोगको दबाब बढिरहेको छ । अबको कर्मचारीतन्त्रबाट २१ औ शताब्दीमा खोजिएको नयाँ सार्वजनिक शासन (एनपिजी) सञ्चालन भई लोकतन्त्रका उपलब्धिहरू जनता माझ पुग्ने अपेक्षा गरिएको छ ।

लोक सेवा आयोग
वि.स. २००८ आषाढ १ मा स्थापना भई भाद्र १८ बाट योग्यता प्रणालीको सुरु गरेको सबैभन्दा पुरानो र ऐतिहासिक पहिचान बनाउन सफल संवैधानिक निकाय हो लोक सेवा आयोग । नेपालको संविधानको भाग २३ मा व्यवस्था गरिएको यो निकाय लोक सेवा आयोग ऐन २०६६ ले निर्दिष्ट गरेको मार्गदर्शनमा अघि बढिरहेको छ । हाल सम्म करिब ७ दशक योग्यता प्रणालीको सुनिश्चितता गर्ने क्रममा विभिन्न खालका समसामयिक सुधार गर्दै विभिन्न मुलुकको योग्यता प्रणाली सापेक्ष बनाउन कोसिस गरिरहेको छ । संघीयताको कार्यान्वयन पूर्वको वृहत् कार्य क्षेत्र हाल नेपालको संविधानमा निजामती सेवा, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल र अन्य संघीय सरकारी सेवाको पदमा पदपूर्तिका लागि लिइने लिखित परीक्षा लोक सेवा आयोगले सञ्चालन गर्ने गरी व्यवस्था गरिएको छ । आयोगले कार्यसम्पादनका क्रममा प्रयोगमा ल्याउने योग्यता, निष्पक्षता, स्वच्छता, समान अवसर, समावेशी, दिअन्ध, परिचय शून्यता, असंलग्नता र गोपनीयताका सिद्धान्तहरूको बलमा योग्यता प्रणालीको बलियो संरक्षकको इतिहास बनाएको छ ।

लोक सेवा आयोगको विज्ञापनमा दरखास्त दिनेहरूको पछिल्लो दशकको दरखास्तको मात्रा हेर्दा आर्थिक वर्ष २०७३/७४ मा सबैभन्दा धेरै ८,४४,२९७ र आर्थिक वर्ष २०७५/७६ मा सबैभन्दा कम १,४४ ,१७९ (११७४ पदका लागि) दरखास्त परेकोबाट आयोग प्रतिको विश्वास र प्रतिस्पर्धाको तह सहजै अनुमान गर्न सकिन्छ । योग्यहरूको वृहत् भिडबाट उत्कृष्ट छनौट गर्ने विषय आफैमा चुनौतीपूर्ण मानिन्छ । लोक सेवा आयोगले योग्यता प्रणालीमा योग्यताको परख गर्ने तत्त्वहरूको पहिचान गरी परीक्षण विधि द्वारा कार्यान्वयनमा ल्याएको छ । यस्ता पक्षहरू पहिल्याउँदै अनन्त अन्वेषण अनुसन्धानबाट योग्यताका थप आधारहरू समावेश गर्दै गएको पाइन्छ । मुख्य रूपमा सामर्थ्य, झुकाव, ज्ञान, सीप, अनुभव, उपलब्धि, व्यक्तित्व, भावावेग, सृजनशीलता र गतिशीलता र चरित्र जस्ता गुणहरूलाई योग्यताका आधारभूत तत्त्वका रूपमा लिएको छ ।

आयोगका साखहरुः
क) प्रसिद्ध एवम् स्थापित संवैधानिक निकाय
ख) योग्यता प्रणालीको संरक्षक
ग) उत्कृष्टताको पर्याय
घ) सर्वसाधारणको आस्था र भरोसाको केन्द्र
ङ) डगमगाउन नसकेको विश्वास
च) कार्यसम्पादनमा वस्तुनिष्ठता र वैधता
छ) योग्यतामा आधारित, स्वच्छ, खुला र सम न्याय केन्द्रित सिद्धान्तहरूको अवलम्बन
ज) विश्वव्यापी सफल अभ्यासहरूलाई समयानुकूल समायोजन र कार्यान्वयन
झ) पाठ्यक्रममा क्रमिक सुधार र अद्यावधिकता
ञ) कार्यसम्पादन र कार्यशैलीमा प्रभावकारिता र पारदर्शिता
ट) सञ्चार तथा सूचना प्रविधिको प्रयोग क्षमता
ठ) विश्वसनीयतामा सृजित चुनौतीहरूको समयमै सम्बोधन क्षमता

योग्यता प्रणालीका आधारमा उत्कृष्ट कर्मचारीहरूको छनौटमा लोक सेवा आयोगले हासिल गरेको साखलाई नेपाल सरकारका विभिन्न निकायहरूमा कर्मचारीहरूको पदस्थापन पश्चात् उनीहरूको कार्यसम्पादन देखिएको विरोधाभास भने अकल्पनीय र कहालीलाग्दो छ ।

प्रतिस्पर्धाको श्रङ्खलामा एउटा महत्त्वपूर्ण दृष्टान्त आयोगको आर्थिक वर्ष २०७५/७६ मा विज्ञापन गरिएका विभिन्न पदमा दरखास्त दिनेहरूको योग्यताको विश्लेषण गर्दा तोकिएको न्यूनतम योग्यता मात्र भएका परिक्षार्थीहरु जम्मा ११ प्रतिशत र उपल्लो योग्यता भएका परिक्षार्थीहरु ८९ प्रतिशत हुनुले उत्कृष्टताको दौडमा उच्च योग्यता हुनेहरूको वर्चस्व देखिन्छ । यसरी योग्यता प्रणालीमा आधारित उत्कृष्टहरूको ठुलो जनसंख्याबाट (अनुमानित न्यूनतम औसत १:४० हुँदा पनि करिब ५५ लाख) संघमा ४८,३३४, प्रदेशहरूमा २२,२३० र स्थानीय तहहरूमा ६६,६७० स्वीकृत दर बन्दीमा मुलुकभर कुल १,३७,२३४ कर्मचारीहरू कार्यरत रहेको वर्तमान अवस्था छ ।प्रतिस्पर्धाको गहिराई हेर्दा आर्थिक वर्ष २०७५/७६ मा सबैभन्दा बढी प्रतियोगी भएको नायव सुब्बा पदमा १:३२९ रहेको देखिन्छ ।

यति ठुलो संख्यामा रहेका उत्कृष्टहरूको क्षमता र ऊर्जाको राष्ट्र निर्माण अपेक्षित सकारात्मक प्रभाव नदेखिनु आफैमा दुःखद र लज्जाको विषय हो । अन्य विकसित मुलुकहरूमा सेवा निवृत्त कर्मचारीहरू पछि मुलुकको राजनीतिक बागडोर समालेका उदाहरणहरू छन् तर हाम्रो मुलुकमा १ जना राजनेता नभएर मुलुकको प्रगति नभएको भनिरहेका छौ तर उत्कृष्टहरूको उत्कृष्टतालाई मुलुकको समृद्धिको योजना कार्यान्वयनमा ल्याउन के ले रोकेको कहीँ कतै उचित जवाफ पाइँदैन । कर्मचारीतन्त्र नै मुलुकको शासन प्रक्रियाको कार्यकारी भूमिका रहेको इतिहास पनि हामी कहाँ रह्यो तर उक्त अवधि पनि उल्लेखनीय हुन नसकेकोले कर्मचारीहरूको योग्यताको प्रयोग लोक सेवा आयोगको परीक्षा पास गर्ने आधार मात्र त भएन ? प्रश्न स्वाभाविक देखिन्छ ।

यसरी योग्यहरूको विशाल समूहबाट छनौट भएका सक्षम, सबल, प्राज्ञिक, बौद्धिक नमुनाहरूबाट मुलुकको सार्वजनिक सेवा प्रवाहमा प्रत्यक्ष अन्य क्षेत्रमा पनि विभिन्न भूमिकामा रहेको करिब ७ दशक लामो इतिहास भएको स्थायी सरकारको सन्दर्भमा सार्वजनिक भएका अभिव्यक्तिहरूको अवलोकन गरौँ ।

क) मुलुकको समग्र नतिजा हेर्दा सार्वजनिक सेवा प्रवाहको अवस्था, आर्थिक विकास, बाह्य सम्बन्ध, सामाजिक सांस्कृतिक रूपान्तरण राज्यको लगानीको तुलनामा सन्तोषजनक छैन । यदि मुलुक योग्यता प्रणालीमा चलिरहेको छ भने किन समग्र अवस्था यति दयनीय छ त ?
ख) एक दशक अवधिमै कयौँ मुलुकले आफ्नो पुरानो स्थितिमा ठुलो छलाङ्ग लगाउँदा हिजो हाम्रो मुलुक सामु कमजोर ठानिनेहरू सफलताका उदाहरण बनिसक्दा हाम्रो माग्ने शैलीमा मात्र परिष्करण आइरहेको छ ।
ग) कर्मचारीतन्त्रको प्रतिज्ञा र प्रस्तुति, नीति र कार्यान्वयन, सिद्धान्त र अभ्यास बिचमा उचित तालमेल देखिँदैन ।
घ) कर्मचारीहरूको आफूलाई सर्वज्ञानी ठान्ने प्रवृत्ति, जिम्मेवारी पन्छाउने प्रवृत्ति, जनताको सेवक होइन मालिक संस्कृति, हैसियतलाई प्राथमिकता दिने प्रवृत्ति, आत्मप्रशंसा गर्ने प्रवृत्तिका कारण उनीहरूको निष्पक्षता र तटस्थमा प्रश्न उठिरहेको छ ।
ङ) कर्मचारीतन्त्रलाई यथास्थितिमा रमाउने, परिवर्तन प्रतिरोधी, पक्रिया केन्द्रित, निष्क्रिय, निष्ठाविहीन र भ्रष्ट कार्यशैली, परम्परागत चिन्तन, व्यावसायिकताको अभाव र असक्षमहरूको गठ जोडको उपमा दिएको छ ।
च) कर्मचारीतन्त्रले आफ्नो कार्यशैलीमा सक्षमता र पारदर्शिता कायम गर्न नसक्दा कुनै दिघकालिन महत्वको विषयमा निर्णय लिदा संभावित जोखिम मात्र कल्पना गर्दछ, सुरक्षित अवतरण खोज्दछ तर अवसर देख्दैन ।
छ) कमजोर संस्थागत क्षमता र स्मृतिका कारण हरेक विषयमा विषयगत प्रवृत्ति र प्रकियालाई महत्त्व दिन्छ तर नतिजालाई गौण ठान्दछ ।
ज) कर्मचारीतन्त्र भित्रको तहगत उत्तरदायित्व माथिल्लो लाई रिजाउने, तल्लोलाई कजाउने र आफूलाई सजाउने प्रवृत्ति र शैलीमा सीमित रहेको।
झ) काम पन्छाउने, परिवर्तन हुन नचाहने, ढिला ढाल गर्नमा रमाउने आजको कर्मचारी प्रशासनको संस्कृति भएको छ ।
ञ) राजनीतिक मुद्धाहरुको कानुनी हैसियत हेरी लगाम लगाउने कर्मचारीतन्त्र राजनीतिक लगाममा बाँधिन मन पराउने भैसकेको छ ।
ट) सस्थागत क्षमताको अभाव र विस्तारवादी मानसिकताका कारण ऊर्ध्व (भ्रेटिकल स्ट्रक्चर) संगठन संरचनामा निर्माणमा जोड दिन्छ ।
ठ) राजनीतिक स्वार्थ र गलत प्रवृत्तिलाई चिर्ने र रोक्ने जिम्मेवारीमा रहेको प्रशासनले आफ्नो लाभ जोडेर तरक्की गरेको शैलीमा कमजोर कानुनी छिद्रहरू देखाउनमा गर्वको महसुस गर्दछ ।
ड) अन्य पक्षबाट भएका कमीकमजोरीलाई कर्मचारीतन्त्रले बाहिर ल्याउन नसक्दा र कमजोरी गर्नेहरूको सहयोगी बन्दा राष्ट्र सेवक र सेतो सर्ट शब्दावली बदनाम भएको स्थिति छ ।

माथि उल्लेखित आलोचनाहरू आलोचनाका लागि मात्र नभई वास्तविकताका नजिक छन् । उत्कृष्टहरूबाट उत्कृष्ट कार्यसम्पादनको अपेक्षा हुनु स्वाभाविक हो । तसर्थ अबको कर्मचारीतन्त्रका हाँकहरू निम्नानुसारका हुन सक्दछन् ।

कर्मचारीतन्त्रका हाँकहरुः
क) सार्वजनिक सेवा प्रवाहमा जनता सँगको सुमधुर सम्बन्ध र विश्वासको सुनिश्चितताबाट जनताको प्रिय (डार्लिङ अफ द पिपल) हुनुपर्ने ।
ख) राजनीति सँगको स्पष्ट सिमाङ्कनबाट प्राप्त अधिकार क्षेत्रमा प्रभावकारी भूमिका निर्वाह सँगै राजनीतिक विश्वासको आर्जन गरी राजनीतिक प्रतिवद्धताहरुको वास्तविक कार्यान्वयन गर्ने जिम्मेवार पात्रको हैसियत सृजना गर्नुपर्ने ।
ग) समकालीन समाजमा कर्मचारीहरूबाट प्रस्तुत हुने नमुना भूमिका (रोल मोडल) बाट हरेक परिवारले आफ्ना भविष्य छोराछोरीमा कर्मचारीतन्त्रमा विकसित उत्कृष्टताको नमुना अनुसार उत्कृष्टताको अपेक्षा गर्ने वातावरणको विकास गर्नुपर्ने ।
घ) राजनीतिक नेतृत्वको सबैभन्दा विश्वास पात्रको हैसियत प्राप्त गरी राजनीतिक नेतृत्वले देखेको सपनालाई वास्तविकतामा परिणत गर्ने सबैभन्दा प्रतिबद्ध सक्षम र सबल निकायको पहिचान हासिल गर्ने।
ङ) राजनीतिक नेतृत्वका सही कदममा आफू प्रतिबद्ध हुँदै र गलत कदमलाई कानुनी लगाम लगाई विद्यमान नीतिहरूको प्रभावकारी कार्यान्वयनका माध्यमबाट लक्षित राष्ट्रिय संकल्प हासिल गर्ने मार्ग प्रशस्त गर्ने कुशल इन्जिनियर को भूमिकामा हुनुपर्ने ।
च) समकालीन विश्व परिवेशमा विकसित ज्ञान सीप र प्रविधि सँग अद्यावधिक हुँदै कल्पना भन्दा बाहिरको परिवेशमा पनि सेवा प्रवाह गर्न सक्ने सामर्थ्य राख्ने विकल्पको रूपमा तयार हुने ।
छ) हालको कार्य संस्कृति र संस्कारमा ३६० डिग्रीको पुनरावलोकन गरी कर्तव्य सहितको सादा जीवनशैलीबाट गुमेको विश्वास आर्जन गर्ने गरी अहिलेको शैली र संस्कारमा व्यापक फेरबदल ल्याउने।
ज) ‘हामी कोही अरूलाई वा कुनै अरू समयलाई पर्खियौ भने परिवर्तन आउँदैन’ भन्ने तथ्यलाई हृदयम गर्दै परिवर्तनको पूर्वानुमान गर्न सक्ने सक्षमताको विकास गरी आफै परिवर्तनको बाहक बनेर गरिएका भूमिकाले सकारात्मक प्रभावको वातावरण तयार गर्नुपर्ने ।
झ) परम्परागत प्रकियामुखी कार्य प्रकृतिका कारण कथनी र करणीका बिचमा सृजित ठुलो खाडललाई कम गर्न आधुनिकीकरण र विनिर्माणको चेतलाई सन्तुलन गरी सूचकमा आधारित नतिजा केन्द्रित कार्य पद्धतिको विकास र परिपालना ।
ञ) सूचनात्मक अपारदर्शिता तथा प्रविधिको प्रयोग भन्दा परम्परालाई निरन्तरता दिने हालको कार्यशैलीमा यु टर्न ल्याई सूचना प्रविधिको बहु उपयोगिता र सूचनाको शक्ति विश्लेषण क्षमताको विकासले कार्यप्रकियामा नवीनता र प्रभावकारिता प्रदर्शन गर्ने ।
ट) जनता सँगको निकटस्थ संरचनाको तहबाट सार्वजनिक उत्तरदायित्व र जबाफदेहिता वहन गरी सृजित सम्बन्धबाट कर्मचारीतन्त्र प्रति सार्वजनिक रूपमा हुने तिता अभिव्यक्तिहरूलाई सकारात्मक तथा रंगिला बनाउने ।
ठ) भनिन्छ असल प्रणालीको विकासले खराब व्यक्तिलाई पनि राम्रो गर्ने बनाउँछ ।व्यक्तिवादी सोच र प्रवृत्तिलाई भन्दा बलियो प्रणालीको स्थापना र कुशल परिचालनले वर्तमानमा मात्र नभई दीर्घकालीन रूपमा सही गन्तव्य र उपलब्धि हासिल गर्ने ।
ड) कर्मचारी तन्त्रका हालका मानकहरू, मूल्यहरू, प्रणालीहरू, सिद्धान्तहरू, चिन्तन र अभ्यास शैलीको फरक ढङ्गले विश्लेषण गरी नतिजा केन्द्रित, सक्षम, प्रभावकारी, आकर्षक, जबाफदेही, समर्पित, अनुशासित, विकास मैत्री, नवप्रवर्तनकारी शैली र सोचको कार्यान्वयनबाट नयाँ पहिचान स्थापना गर्ने ।
ढ) सार्वजनिक कोषबाट दुर्लभ स्रोत रित्याउने सेतो हात्तिको संज्ञा पाएको हालको कर्मचारीतन्त्रले प्रजातान्त्रिक मूल्य र खुसीलाई साधारण जनतामा बाँड्दै सार्वजनिक सेवा प्रवाह एवम् सशक्तीकरणका माध्यमबाट राष्ट्र निर्माणको दिशामा योगदान गर्ने सुचालकको रूपमा भूमिका निर्वाह गर्ने ।
ण) परम्परागत दिमागी ढाँचाबाट भविष्यवाणी गर्न सक्ने दिगामी ढाँचामा छलाङ लगाउन (पाराडाइम सिफ्ट इन थिङ्क प्याटर्न) विलम्ब नगरी आधुनिक सीप र मूल्यको विकास गर्नुपर्ने ।
त) वर्तमानको तितो तर सत्यको आत्म विश्लेषण गरी सार्वजनिक सेवा प्रवाहमा व्यापक पुनरावलोकन गरी प्रतिबद्ध कर्मचारीतन्त्रको विकास गर्ने।
थ) भनिन्छ व्यक्तिहरू अरू बदलिएको हेर्न चाहान्छन तर आफू बदलिन चाहँदैन । शासन सञ्चालनमा भित्रबाट बाहिर र बाहिर बाट भित्र दुवै आयामलाई समाहित गरी क्षमता विकासका सबै विकल्पहरूलाई उपयोग गरी ज्ञान, सीप तथा प्राविधिक ज्ञानबाट सक्षमताको विकास गर्ने।
द) राजनीतिक कर्मीहरूलाई अयोग्य देखि योग्यताको प्रश्न उठाउनेहरूले एक पटक आफ्नो योग्यता र क्षमतामा निर्मम मूल्याङ्कन गरी वास्तविक क्षमताको पहिचान गरी उक्त क्षमताको बहु उपयोगमा ढिलाइ गर्न हुँदैन । राजनीतिकर्मीहरूमा कर्मचारीतन्त्रको सकारात्मक क्षमताको आभास दिन सक्नु पर्दछ ।
ध) समग्र शासन प्रणालीमा आफूलाई वास्तविक राष्ट्रसेवकको पहिचान स्थापित गरी बहु सरोकारवालाहरुलाई आफ्ना कमीकमजोरी सुधार गर्न अभिप्रेरित गर्ने ।

अन्तमा, एउटा अङ्ग्रेजी उखानमा भनेझैँ कसैले पनि पछाडि फर्केर नयाँ सुरुवात गर्न सक्दैन, जो सुकैले पनि अहिलेबाट सुरु गरेर बिलकुल नयाँ समापन गर्न सक्दछन् भन्ने मान्यतालाई आत्मसाथ गरी माथि उल्लेखित विकल्पहरूमा गहिरो विश्लेषण गरी हालको श्रङ्खलामा क्रमभङ्गता अनिवार्य भएको छ अन्यथा योग्यता प्रणालीको उपहासले आउँदो पुस्तामा शिक्षा र योग्यता प्रति नै वितृष्णा सृजना हुने निश्चित छ ।

  (यी लेखकका निजी विचार हुन् )

 

Tags :
प्रतिक्रिया दिनुहोस