विराटनगरबाट खोटाङ सरुवा भएर आएका ६ प्रहरीमा कोरोना पुष्टि « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

विराटनगरबाट खोटाङ सरुवा भएर आएका ६ प्रहरीमा कोरोना पुष्टि


३१ श्रावण २०७७, शनिबार


खोटाङ । विराटनगरबाट सरुवा भएर जिल्ला प्रहरी कार्यालय खोटाङ आएका छ प्रहरी जवानमा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

मोरङस्थित पूर्वाञ्चल क्षेत्रीय प्रहरी कार्यालय रानी, विराटनगरबाट यही साउन २३ गते सरुवा भएर खोटाङ कार्यक्षेत्र बनाई आएका ११ प्रहरी जवानमध्ये छ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

सरुवा भएर खोटाङ आएका सबै प्रहरी जवान क्वारेन्टिनमा रहेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमरियाले जानकारी दिए । ‘सरुवा भएर खोटाङ आएलगत्तै उनीहरु सबै जनालाई जिल्ला प्रहरी कार्यालयमै निर्माण गरिएको क्वारेन्टिनमा राखिएको छ’, उनले भने, ‘साउन २९ गते पिसीआर परीक्षण गर्न उनीहरुसँगै १३ जनाको स्वाब सङ्कलन गरेर पठाइएकामा ६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।’

सङ्क्रमित हुने प्रहरी जवानमा २३ र २५ वर्षीय दुई/दुई तथा २० र २१ वर्षीय एक/एक जना पुरुष रहेका छन् । सङ्क्रमित सबैलाई जिल्ला अस्पताल खोटाङमा निर्माण गरिएको आइसोलेसन वार्डमा राखेर उपचार गर्ने तयारी गरिएको प्रमुख जिल्ला अधिकारी शालीग्राम शर्मा पौडेलले जानकारी दिए ।

कोरोना सङ्क्रमण पुष्टि भएका सबै जना क्वारेन्टिनमै रहेकाले उच्च सतर्कता अपनाउँदै दैनिक कामकाजलाई समेत निरन्तरता दिइने जनाएको छ । जिल्ला बाहिरबाट सरुवा भएर आएकालाई पिसीआर परीक्षण गरेर मात्र ड्युटीमा खटाउने गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता प्रहरी निरीक्षक गोविन्द साहले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस