कोरोनालाई गरिबीको पुकारा « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

कोरोनालाई गरिबीको पुकारा


३१ श्रावण २०७७, शनिबार


कति खतरनाक, भयावह, शक्तिशाली
अदृश्य रूप जो कोही चाहेर पनि देख्न सक्दैन
लाखौँ अस्त्रले पनि नष्ट गर्न नसक्ने
औषधीमूलकले पनि कत्ति पनि गलाउन नसक्ने

कोरोना तिमी !
आविष्कारको दुनियाँमा मै हुँ भन्ने मानवलाई क्षणभरमा
गलायौँ उफ्! ढलायौँ सदाका लागि निदाउने बनायौँ ।
साँच्चै ! तिमी सुटुक्क बिस्तारै, बिस्तारै
विश्वलाई शोकमय बनायौँ ।
संसार जितेको मानवको
शरीरभित्र कतै लुकी, लुकी हिसाब गरी, गरी
तड्पाई, तड्पाई ठुला ठुला अस्पतालको बन्द कोठाभित्र
लडाइरहेका छौँ र
आफू कतैबाट टुलु टुल रमिता हेरिरहेका छौँ ।
प्रसङ्ग सडक र झुपडीको जीवन
तिम्रो उपस्थितिमा कति छट्पटाईरहेको छ ।
धन,सम्पत्तिमा ऐस आराम गरेकाहरू त घुँडा टेकी सके
धिक्कार मेरो हालत कस्तो भए होला
के थाहा छ ? कोरोना तिमीलाई
मैले रगत र पसिनासँग श्रम साटेर
मात्र दुई दिनको गर्जो टार्नका लागि
खाद्यान्न जुटाउने गर्दथे ।
आशाको किरण खोज्न विदेशिएको टुक्रालाई पनि निमोठी दियौँ ।
तर, आज पाँच महिनासम्म मेरा बाँकी आशाका टुक्राहरू
भोक खप्न नसकी रोइरहेका छन् ।
मेरी अर्धाङ्गिनी बर्षौदेखिको दमको बिरामी

कठै! च्व च्व! दमको औषधी खुवाउन सकेको छैन ।
त्यो औषधी सकिएको पनि महिनौँ भयो ।
ऊ सकी नसकी बर्षेनी जन्मेका छोरा छोरीलाई
दूध चुसाउन खोज्छे ।
बिचरा! दूध कसरी आउँछ र?
उँ पनि त धेरै दिनदेखि
भोकसँग लडिरहेकी,गलिरहेकी छ ।
काखको छ महिनाकी
दुधे छोरी रुँदा रुँदै निदाउँछे ।
यस्तो गरिबी र दुःखको चोटमा
जिउँदै मृत्यु पर्खन बाध्य बनायौँ

कोरोना
कि तिमी हामीहरूलाई क्षण भरमा सक्
नाइँ! तड्पाई तड्पाई होइन
तिमी महान् छौँ । तिम्रो शक्तिशाली रूप
पाप र अकर्मको बदला लिन आयौँ कि जस्तो भान हुन्छ ।

विश्व जित्न, मानवता भुल्ने यन्त्र जस्तै बनिसकेको
घमण्डी मानवलाई
जीवनको महत्त्वबारे पाठ सिकायौँ ।
अनायासै झुपडी, सडक, गरिबीको चपेटामा
रहेको मानवलाई
सास्ती नदेऊ ।
भोकमा भोजन नहुनेका लागि
सेनेटाइजर, मास्क र साबुन त धेरै परको कुरा
कोटी कोटी बिन्ती श्रम गरेर बाँच्न देऊ
आलिसान महल र करौडौ पर्ने गाडी
ऐस आराम मस्तीको चाहाना होइन ।

मात्र दश नङ्ग्रा खियाएर परिवारको आँखामा
गुराँस,सुनाखरी र जाईजुई फूलेको हेर्ने चाहाना
प्यारीको फाँटेको फरियाको बदलामा
खर्दरको फरिया,दमको औषधी,
छोरा छोरीको भोकमा भोजन, शीत, ताप
र आकाश छेक्ने कटेरो
जुटाउन चाहन्छु ।
तिमी शान्त बन कोरोना
तिम्रो उपस्थितिमा सारा विश्व दुखेको,
थाकेको, ढलेको र गलेको छ ।
त्यहाँ पनि धन, सम्पत्ति ,मोज मस्ती भन्ने हराएको छ ।
मात्र जीवनको भिख मात्र चाहिएको छ ।
अझैँ गरिब निमुखाहरूलाई त
दिन गुजार्न कति सास्ती भए होला?
महिनौँदेखि झुपडी र कटेरोमा आगो निभेको छ ।

उफ! यति मात्र कहाँ हो र बाढी
पहिरोसँगै जीवन बडारिएको छ ।
बस्ती छिन्न भिन्न अस्तव्यस्त हुनुका साथै
आँखामा आँसु सुकिसक्यो ।
भविष्यका आशाका विन्दुहरूको ओठमा
कलेटी परिरहेको छ ।
भोकको सर्घषमा जीवन ढली सक्यो ।
अब सञ्जीवनी बुटीको जरुरी छ ।
मात्र जीवनको भिख मागिरहेका छौँ ।
यही छ तिमीलाई
गरिबीको करोडौँ पुकारा
विन्ती कोरोना शान्त बन ।
विन्ती कोरोना शान्त बन ।

Tags :
प्रतिक्रिया दिनुहोस