हैट, साली ! « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

हैट, साली !


३१ श्रावण २०७७, शनिबार


हैट, साले ! आजभोलि उसको थेगो जस्तै भईसकेको छ । मेरो घनिष्ठ मित्र, गोरो वर्णको हेर्दा शरीर अलि मोटो भएपनि अरू सबै थोक मिलेको छ, लिरिक्क कपाल कोर्ने उसको बानी, उमेर मेरो भन्दाकेही कम तर म भन्दा अलि रोगी, त्यही मोटोपनको कारण हो या वंशाणुको कारणले हो उसको एउटा रोग थियो “सुगर” । त्यसै कारण उ अलि खानपानमा ध्यान दिन्थ्यो ।

कहिले काहीँ नयाँ पसलमा चिया खादा बिना चिनीको चिया भन्न बिर्सिन्थ्यो अनि चिया खाइसकेपछि हैट ! सालेले चियामा चिनी ठोकेछ भन्थ्यो र पैसा दिन्थ्यो । ५ महिना जति भयो उसले पल्सर बाइक किनेको छ । रातो पल्सर बाइकलाई उ आफूलाई जस्तै माया गर्छ फोहोर लाग्यो भने उतिखेरै सफा गरिहाल्छ । कसैले बाइक मागी हाले भने अनेक बहानामा टिमालिदिन्छ, दिनै परे पनि निधारमा गाँठो पारेर दिन्छ र पेट्रोल हाल्न आग्रह गर्छ ।

एक दिन बिहान ९:३० बजे दुवै जना बाहिर निस्कियौँ आ आफ्नै बाइकमा । व्यस्त हुने हाइवे आज अलि खाली जस्तो थियो । बाटोमा जाँदै गर्दा १०० मिटर अगाडि एउटी केटीले गाडी कुरिरहेको देखियो । उसले बाइक अगाडि बढाइ हाल्यो । केटीले उसलाई चिने जस्तै गरी बाइक रोकी । उ प्राय: केटामान्छेलाई बाइकमा चढाउन दु:ख मान्थ्यो तर केटी देख्ने बित्तिकै एक कदम अगाडी बढिहाल्थ्यो र परिचय गरिहाल्थ्यो । यो उसको विशेषता नै थियो भन्दा फरक नपर्ला ।केटी हेर्दा राम्री थिई । कालो पाइन्ट सेतो टिसर्ट लगाएकी, टाउकोमा चस्मा र मुखमा लगाउने मास्क चिउँडोमा लगाएकी थिई । सायद उसले मास्क माथि लगाउन आग्रह गर्‍यो होला केटीले मास्क माथि सारी र बाइकमा बसी । बसाल्न मन त मलाई पनि थियो तर यस मामलामा उ म भन्दा धेरै नै अघि थियो ।

उसले बाइक कुदाइहाल्यो म उनीहरूको पछिपछि लागे । मलाई जितेर अगाडी जानपनि मन लागेन । केटीका दुवै हात उसको काँधमा थिए । लाग्थ्यो उनीहरूको परिचय भई सक्यो र उसले केहिछिन मै केटीलाई म भन्दा घनिष्ठ साथी बनाइसक्यो । ४ किलोमिटर पर रहेको नगरपालिका अगाडी बाइक रोकियो । ४ किलोमिटरको यात्रामा केके कुरा भयो थाहा भएन । तर उ भने मलाई एक छिन बाहिरै बस्न आग्रह गर्दै १० मिनेटमा आउँछु भन्दै केटीको पछि लाग्यो ।

म एक्लै बाहिर बसिरहे । १० मिनेटमा आउँछु भनेको उ २५ मिनेटसम्म आएन । मलाई भित्र जान पनि मन लागेन । बाइकमै फेसबुक हेर्दै बसिरहे । ३० मिनेट पछि उ हुत्तिँदै आयो । गोरो अनुहार रातोपिरो देखिएको थियो । मुखबाट अनायासै हैट ! साली ! हैट साली !!! भनिरहेको थियो । एकदम निराश जस्तो, रिसाए जस्तो र डराए जस्तो गरी केटीलाई गाली गरिरह्यो । मेरो नजिक पनि आउन खोजिरहेको थिएन । के भो ? किन डराएको ? मैले प्रश्न गरे। उसले सबै वृत्तान्त बतायो । बैंकमा काम गर्ने कर्मचारी रहिछ उ । केही दिन अघि कोरोनाको टेस्ट गरेको र नगरपालिकाको स्वास्थ्य शाखामा रिपोर्ट लिन आएकी रहिछ । रिपोर्ट उ जाँदा सम्म निस्किएको थिएन केही छिन पछि मात्र रिपोर्ट आयो । रिपोर्टमा लेखिएको थियो कोभिड -१९ पोजेटिभ ।

उसलाई सानो काम छ फर्किहाल्ने हो जाऊ न भन्दै पकाउँदै लगेकी रहिछ, रिपोर्ट पोजेटिभ आएपछि उ डराउँदै बाहिर निस्केछ । केटीलाई त केही लक्षण देखिएको थिएन तर उ सुगरको रोगी । उ निकै डराएको थियो । मैले सान्त्वना दिँदै भने हेर ! सङ्गै बाइकमा बस्दैमा कोरोना सर्दैन । उसले भन्यो होइन यार ! म त सुगरको रोगी छु त्यसमा पनि त्यसले मेरो काँधमा हात राखेकी थिई सालीले, अनि एक पटक त उसको हात झुक्किएर मेरो गालामा पनि पुगेको थियो । उ झन् डरायो । घरमा आएर नुहाउन थाल्यो । प्राय: १ पटक मात्रै साबुन लगाउने उ ३ / ४पटक सम्म साबुन लगाएर काँधमा मिचिमिची नुहायो ।

आज उ होम क्वारेन्टाइनमा छ । कहिले काहीँ भिडियो कल हुन्छ । फोनमा हैट ! साली ! भन्न छुटाउँदैन । म हाँस्दै नआत्तिन र मन बलियो बनाई दूध र बेसार खान सल्लाह दिन्छु ।

Tags :
प्रतिक्रिया दिनुहोस