सहरी यातायात व्यवस्थापन: चुनौती तथा समाधानका उपायहरू « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

सहरी यातायात व्यवस्थापन: चुनौती तथा समाधानका उपायहरू


२१ जेष्ठ २०७७, बुधबार


अव्यवस्थित सहरीकरण र योजना विनै बसेका सहरहरूमा यातायात व्यवस्थापन दिनानुदिन चुनौतीपूर्ण बन्दै गएको छ। रोजगारीको कारण होस् या बढ्दो आयको कारण, मानिसहरू सहर तर्फ बसाइ सराइ गरिरहेका छन्। आवश्यकताले र रहरले गाडी किन्नेहरूको लाम वर्षेनी बढिरहेको छ। बेलैमा हामी सबै सचेत भई प्रभावकारी उपायहरू नअपनाए सहरी क्षेत्रमा सडक दुर्घटना, ट्राफिक जाम, वातावरण प्रदूषण आदिले केही वर्षमै विकराल रूप नलेला भन्न सकिन्न।

विश्वव्यापी रूपमा हरेक वर्ष सडक दुर्घटनामा करिब १३ लाख ५० हजार मानिसको मृत्यु र ५ करोड मानिसलाई चोटपटक लाग्ने गर्छ। हरेक दिन करिब ३७०० सवारी चालक, मोटरसाइकल चालक, पैदलयात्रीहरुको मृत्यु हुन्छ, जसमध्ये आधा भन्दा बढी मृत्यु मोटरसाइकल चालक, साइकल चालक र पैदल यात्रुको हुने गर्दछ। मृत्युको प्रमुख कारणहरू मध्य सडक दुर्घटना आठौँ स्थानमा आउँछ। न्यून र मध्य आम्दानी भएका देशहरूमा विश्वको ६० प्रतिशत दर्ता भएका सवारीहरू रहे तापनि उक्त देशहरूले सडक दुर्घटनामा ९३ प्रतिशत हिस्सा ओगटेका छन्। धेरै देशहरूमा सडक दुर्घटनाका कारण नेसनल जिडिपीको ३ प्रतिशत खर्च हुने गर्छ।

अव्यवस्थित सहरमा सबैभन्दा देखिने अर्को समस्या ट्राफिक जाम हो । अहिलेको युगमा हरेक सेकेन्डको महत्त्व हुन्छ। ट्राफिक जामका कारण व्यक्तिको तथा मालसामान निकासीको गति कम भई अमूल्य समयको नास हुनुका साथै आर्थिक कार्यकुशलतामा पनि नकारात्मक प्रभाव पर्दछ। जामका कारण व्यापार, व्यवसाय र शिक्षा क्षेत्रमा पनि नकारात्मक असर पर्दछ। ट्राफिक जामका कारण समयमै कार्यालय, स्कुल जान नसक्नु र उत्पादनमूलक समय यातायातमै व्यतीत हुने भएको कारण विद्यार्थी, कर्मचारीमा तनाव समेत उत्पन्न हुन सक्छ।

यातायात प्रणाली अव्यवस्थित भएमा वातावरण प्रदूषण पनि बढ्छ। विश्वमा करिब १३ लाख मृत्यु वातावरण प्रदूषणका कारण हुने गर्छ। १४ प्रतिशत हरित गृह ग्याँस उत्सर्जन यातायातका कारण हुने गरेको छ र सहरी क्षेत्रमा बस्ने ८० प्रतिशत भन्दा बढी जनसङ्ख्या डब्लुएचओले निर्धारण गरेको मापदण्ड भन्दा खराब स्वच्छता भएको हावामा जीवन यापन गरिरहेका छन्।

समयमै पर्याप्त ध्यान दिन सकिएन भने यातायात व्यवस्थापनको समस्या भविष्यमा निकै जटिल र टाउको दुखाइको विषय नबन्ला भन्न सकिन्न। हामीले हालको समस्यातर्फ मात्र ध्यान केन्द्रित नगरी भविष्यमा आइपर्ने समस्यालाई पनि ध्यानमा राखेर यातायात व्यवस्थापन तथा दिगो विकाश तर्फ अघि बढ्न जरुरी छ। यातायात व्यवस्थापन गर्न धेरै देशहरूले अवलम्बन गर्ने कुरा भनेको पहिलो : सडकको क्षमता वृद्धि गर्ने र दोस्रो : नयाँ गाडीहरू थप गरी सार्वजनिक यातायातको क्षमता वृद्धि गर्ने। तर के यी प्रभावकारी र पर्याप्त उपायहरू हुन त ? यी उपायहरू पर्याप्त छैनन्। सडक चौडा गर्नाले ट्राफिक जामको समस्या केही समयको लागि, केही वर्षको लागि समाधान त पक्कै होला तर यो दिगो समाधानको उपाय होइन। केही वर्षमा गाडीहरूको सङ्ख्या झन् बढ्छ र ट्राफिक जामको समस्या यथावत् रहन्छ। सडक चौडा गर्न पनि ठाउँ नहुन सक्छ। सार्वजनिक यातायातको क्षमता वृद्धि गरेर पनि समस्या समाधान नहुन सक्छ। उपर्युक्त वातावरण नभएसम्म व्यक्तिगत सवारीसाधन छोडेर सार्वजनिक सवारीसाधन चढ्न यात्रुहरू अभिप्रेरित नहुन सक्छन्।

हामीले यातायात व्यवस्थापनलाई नयाँ तरिकाले सोच्न जरुरी छ । हामीले आपूर्तिको हिसाबले (सडक क्षमता वृद्धि, सवारी साधन थप, पार्किङ स्थल निर्माण) मात्र नसोँचि मागको हिसाबले (जनसङ्ख्या, औषत यात्रा, यात्राको लम्बाई आदि) पनि सोच्न जरुरी छ। गाडीको आवागमन भन्दा व्यक्तिको आवागमन कसरी सहज गराउन सकिन्छ भन्ने कुरा मनन् गर्न जरुरी छ। वैकल्पिक ऊर्जा र ‘नन् मोटराइज ट्रान्स पोर्ट’ लाई प्रोत्साहन गर्नुपर्छ।

यातायात व्यवस्थापन प्रणाली सुधारको लागि (अभोइड-शिफ्ट-इम्प्रुभ) को अवधारणा पालना गर्न सकिन्छ।
• ‘अभोइड’ अर्थात् यात्रा गर्ने कारणहरू घटाउनु अथवा यात्राको दुरी घटाउनु। मानिस विभिन्न कारणले यात्रा गर्छ। सामान किनमेल गर्न, कार्यालय जान, हस्पिटल जान, घुम्न आदि कारणले मानिस यात्रा गर्छ। हामीले यी कारणहरू घटाउन विभिन्न उपायहरू जस्तै ई-कमर्स, ई-बैङ्किङ, ई-लर्निङ, अनलाइन सपिङ, मोबाइल हस्पिटल आदि अवलम्बन गर्न सक्छौँ। यात्राको दुरी घटाउन ‘मिक्स्ड ल्यान्ड युज प्लानिङ’ को नीति बनाउन जरुरी हुन्छ। मिक्स्ड ल्यान्ड युजमा आवासस्थल र कार्यस्थल तथा स्कुल कलेजहरू नजिकै हुने हुँदा यात्राको दुरी घट्छ र पैदल अथवा साइकल बाटै आवागमन गर्न सकिन्छ।

• ‘शिफ्ट’ अर्थात् अहिले प्रयोग भएका सवारीसाधन भन्दा कम ऊर्जा खपत गर्ने साधन प्रयोग गर्नु। सार्वजनिक सवारीसाधनको तुलनामा व्यक्तिगत सवारीसाधनहरू धेरै प्रयोग हुँदा प्रतिव्यक्ति ऊर्जा खपत बढी हुन्छ र प्रदूषण पनि बढी हुन्छ। तसर्थ गुणस्तरीय सार्वजनिक यातायातको सङ्ख्या वृद्धि तथा नन् मोटरेवल ट्रान्सपोर्ट(उदाहरणको लागि साइकल) को प्रयोगको लागि प्रोत्साहन एवम् सोहीअनुसारको संरचना बनाउन पर्दछ। वस स्टपहरुमा सुरक्षित साइकल पार्किङको पनि व्यवस्था हुनुपर्दछ। मानिसहरू आवासदेखि बस स्टपसम्म साइकलमा आएर बसको माध्यमले कार्यस्थल तर्फ जान सक्छन्। सार्वजनिक यातायातलाई सफल रूपले सञ्चालन गर्न विभिन्न कुराहरूको भूमिका हुन्छ। मानिस किन यात्रा गर्छ ? कुन समयमा यात्रा गर्छ र कति दुरीसम्म यात्रा गर्छ भन्ने कुरा यकिन गर्न जरुरी हुन्छ। छरिएको बस्तीभन्दा जनघनत्व धेरै भएको बस्तीमा सार्वजनिक यात्रा सफल भएका उदाहरणहरू छन्। आवासदेखि बस स्टप सम्मको दुरी पैदलमैत्री र मनमोहक हुनु पर्दछ। एक अध्ययनका अनुसार मानिसलाई हिँड्न, गाडी परिवर्तन गर्न र पर्खिन गाडीमा बस्नु भन्दा २ गुणा बोझिलो हुन्छ। तसर्थ भरपर्दो र सुविधा सम्पन्न सार्वजनिक यातायातको लागि विशेष ध्यान दिनु पर्दछ।

• ‘इम्प्रुभ’ अर्थात् सुधार गर्नु। ट्राफिक आवागमन सहज हुनाले गाडी गतिशील हुन्छ। जामका कारण रोकिने सवारीसाधनले कुनै उपलब्धि बिनानै वातावरण प्रदूषण गराउँछ। ढिलो गुड्ने सवारीसाधन र छिटो गुड्ने सवारीसाधनको लेन छुट्ट्याउँदा ट्राफिक आवागमन सहज हुन सक्छ। बाटोमा रहेको पटहोल्स, उपर्युक्त जङसन डिजाइन, ट्राफिक लाइट आदिले पनि ट्राफिक आवागमनलाई असर गर्दछ तसर्थ यी कुराहरूमा विशेष ध्यान पुर्‍याउनु पर्दछ। लो इमिसन बेहिकलस् तथा इलेक्ट्रिक सवारीसाधनको प्रोत्साहन तथा डिजेलको सट्टा सीएनजी, बायो डिजेल आदिको प्रयोगले वातावरण प्रदूषण कम गर्दछ।

परम्परागत प्रचलनमा दुर्घटना न्यूनीकरणको लागि सडक प्रयोगकर्ताको व्यवहारमा र दुर्घटनाका कारणहरूमा केन्द्रित रहेर दुर्घटना न्यूनीकरणका उपायहरू अवलम्बन गरिन्थ्यो तर त्यतिले मात्र हुँदैन। सफल कार्यान्वयनको लागि नीतिगत सुधार, सडक डिजाइन एवम् निर्माणमा विशेष ध्यान, सुरक्षित गाडीको प्रयोग र दुर्घटना पछिका कदमहरूलाई मध्यनजर गर्दा दुर्घटना कम हुन सक्छ। न्यून र मध्य आय भएका देशमा संयुक्त राष्ट्र सडक सुरक्षा कार्यान्वयन दशक (२०११-२०२०)मा सडक दुर्घटनालाई बढ्न नदिई यथा स्थितिमा राख्ने र त्यसपछि आधा घटाउने लक्ष्य रहेको छ ! जसमा मुख्य पाँच कुरा प्राथमिकतामा राखिएको छ। सडक सुरक्षा व्यवस्थापन क्षमता बढाउने, सुरक्षित सडक बनाउने, सुरक्षित सवारीको प्रयोग गर्ने (जस्तै एबीएस, ईबीडी जस्ता आधुनिक प्रविधि भएका गाडी र क्र्यास टेस्ट पास गरेका गाडीको प्रयोग), सुरक्षित सडक प्रयोगकर्ताको कार्यक्रम, दुर्घटनापछिको हेरचाह (जोखिमयुक्त ठाउँमा ट्रमा सेन्टर स्थापना गर्ने) । यस बाहेक सवारी गति पनि नियन्त्रण गर्न जरुरी हुन्छ। १ प्रतिशत गति कम हुनाले करिब ४ प्रतिशत दुर्घटना कम हुने एक अध्ययनले देखाएको छ। त्यसै गरी १३५ देशहरूको अध्ययनमा सडक दुर्घटना न्यूनीकरण गर्दा २४ वर्षको अन्तरालमा नेसनल जीडीपीको ६ देखी ३२ प्रतिशत सम्म लाभ हुने देखिएको छ। दुर्घटना न्यूनीकरणमा लगानी गर्दा अन्ततः स्वस्थ गुणस्तर र आयमा पनि वृद्धि हुन्छ।

अन्त्यमा, सहरी यातायात व्यवस्थापन एक चुनौती पूर्ण कार्य हो। सडक दुर्घटना, ट्राफिक जाम र वातावरण प्रदूषण यसका मुख्य असरहरू हुन । यातायात व्यवस्थापनलाई नयाँ सोचका र नयाँ उपायका साथ अवलम्बन गरिएन भने यी असरहरू समयको दौरानमा विकराल रूप लिन सक्छन्। त्यसैले सहरी यातायात व्यवस्थापनलाई विशेष ध्यान दिई हामी सबै दिगो विकाश तर्फ अग्रसर हुनु अबको आवश्यकता हो।

 

Tags :
प्रतिक्रिया दिनुहोस