जङ्गल आगलागी र प्रतिकार्य अवस्था « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

जङ्गल आगलागी र प्रतिकार्य अवस्था


१५ जेष्ठ २०७७, बिहिबार


नेपालमा अघिल्लो पुस्ता सम्म जङ्गलको बारेमा सबै भन्दा बढी चलेको भनाई हरियो वन नेपालको धन थियो । वर्तमान पुस्तामा यो भनाई हराउँदै गएको पाइन्छ । आजको दिनमा वनलाई सरकार र नागरिकको तर्फबाट दिने प्राथमिकतामा कमी आएको ब्यवहारत: स्पष्ट देखिएको छ । विगतमा हाम्रो अघिल्लो पुस्ता बन जङ्गलमा नै आश्रित थियो ।

घाँस,दाउरा,पानी जङ्गलबाट प्राप्त हुन्थ्यो चरीचरन लगायत विभिन्न किसिमका खाद्य पदार्थ तथा जडीबुटीहरू पनि बन जङ्गलबाट नै प्राप्त हुन्थ्यो । बढ्दो सहरीकरण/औधोगीकरण, बस्ती विकास र जनसङ्ख्या वृद्धिको प्रत्यक्ष मारमा हिजो आज बन जङ्गल परिरहेको छन् । वन सीमा अतिक्रमण । वन जङ्गलको अनधिकृत दोहन गर्ने कार्य तीव्र रूपमा भइरहेको छ । नेपालको बन जङ्गल अहिले आगलागीको कारण अत्यधिक जोखिममा रहेका छन् । समयमा नै बन विनाशको यो शृंखलालाई रोक्न सकिएन भने हामीले भविष्यमा ठुलो मूल्य चुकाउनु पर्ने हुन सक्छ । विपद दुई किसिमका हुन्छन् प्राकृतिक र गैर प्राकृतिक विपद ।

नेपालमा प्राकृतिक र गैर प्राकृतिक दुवै प्रकारको विपदका घट्नाहरु घट्ने गर्दछ । प्राकृतिक विपदको घटना घट्ने बारेमा हामीले पूर्वानुमान गर्न सक्दैनौ तर गैर प्राकृतिक विपदहरुलाई सचेतना अभिवृद्धि गरी हटाउन वा न्यूनीकरण गर्न सकिन्छ । गैर प्राकृतिक विपद मध्ये नेपालमा सबैभन्दा बढी घट्ने घटना आगलागी हो । यसबाट बर्षेनी करोडौँको क्षति र मानिसहरूले समेत ज्यान गुमाउने गरेको तथ्याङ्कले देखाउँछ । गृह मन्त्रालय राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रको बिपद जोखिम न्यूनीकरण पोर्टलको तथ्याङ्क अनुसार ०७६ साल वैशाख १ गते देखी ०७६ साल चैत्र मसान्त सम्म आगलागी र जङ्गल आगलागीको घटना २४९४ वटा घटेका छन् । यसबाट ४९ जना मानिसको मृत्यु भएको छ । २४९ जना घाइते भएको देखिन्छ । यसबाट ३१४० परिवार प्रभावित भएका छन् । १५२८ वटा पशु चौपायाको क्षति भएको छ ।

आगलागीबाट अनुमानित क्षति रकम २७९०१३७६२० भएको छ । अबौंको मात्रामा राष्ट्रिय सम्पत्तिको क्षति उनान्चास जना नागरिकको आगलागीको कारणबाट मृत्यु हुँदा पनि हामी आगलागी नियन्त्रण तथा जनचेतना वृद्धि गर्ने तर्फ गम्भीर छैनौँ । यो आँकडा धेर थोर प्रत्येक वर्ष आउने गरेको छ । यस लेखमा मानव सृजित विपद मध्ये नेपालमा जङ्गल आगलागीको अवस्था, समस्या र समाधानको बारेमा केन्द्रित छ ।

नेपालमा नियमित रूपमा घट्ने प्रमुख विपदको प्रमुख घट्नाहरु मध्ये आगलागी, बाढी, पहिरो चट्याङ आदी हुन । यस खाले विपदले बार्षिकरुपमा धेरै ठुलो क्षति गर्ने गरेको पाइन्छ । नेपालमा घट्ने यी विपद तालिकाबद्ध रूपमा आउने गरेको देखिन्छ । असार श्रावण महिना मनसुनको सिजन हो । यो समयमा बाढी, पहिरोको कारण ठुलो मात्रामा जनधनको क्षति भइरहेको अवस्था छ । खोला किनारा नदी बहाव क्षेत्रमा भीर पाखा, पैह्रोको सम्भावित जोखिमयुक्त स्थानमा नबस्ने । पैह्रो जाने गरी कुनै पनि क्रियाकलाप नगर्ने । नदी प्रवाह र बहावलाई अवरोध हुने गरी अतिक्रमण नगरेमा यस विपदबाट बच्न सकिन्छ ।

नेपालमा सामान्यतया फाल्गुण देखी जेठ सम्मको समय जङ्गल आगलागी हुने समय हो । यस वर्ष कोरोना भाइरस सङ्क्रमणको कारण भएको बन्दा बन्दीले गर्दा जङ्गलमा मानवीय क्रियाकलाप र गतिविधिमा कमी आएको र मनसुन पूर्व नै पर्याप्त मात्रामा वर्षा भएकोले यो सिजनमा जङ्गल आगलागीको घट्नामा उल्लेख्य मात्रामा कमी आएको छ । चैत्र वैशाख हावाहुरीको समय भएकोले यस अवधिमा जङ्गल आगलागी तथा खुला स्थानमा आगलागी हुने समय हो । यो समयमा सावधानी,सतर्कता अपनाउन सक्यौँ भने आगलागीका घट्नाहरुलाई न्यूनीकरण गर्न सकिन्छ । हाम्रो आफ्नो हेलचेक्राई, असावधानी, लापरबाही तथा कमजोर पूर्व तयारीको कारण आगलागीबाट क्षति भोगिरहेका छौँ ।

नेपालमा जङ्गल आगलागीको अवस्था डरलाग्दो रहेको छ । आम मानिसमा जङ्गल आगलागी सम्बन्धी जनचेतनाको अभाव देखिन्छ । समुदायमा सचेतना अभिवृद्धि गर्ने सम्बन्धी कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन भएको पाइँदैन । मानिसमा अझै जंंगल आगलागी सम्बन्धी गलत धारणा रहेको पाइन्छ । जङ्गलमा आगो लगाएमा नयाँ घाँस पात, पालुवा पलाउँछ । पात पतिङ्गर जलेर खरानी हुन्छ । आगलागीबाट मरेका रुख केही समय पछि सुकेर दाउराको लागी काम लाग्छ । जङ्गलमा बलेको आगोको खरानी वर्षामा बगेर आसपासको जमिनमा आउँछ । यसले कम्पोस्ट मलको काम गर्छ भन्ने जस्ता धारणा विद्यमान छ । बन जङ्गल हाम्रो हो । बन जङ्गल सुन्दरताको लागी मात्र नभई वातावरणीय सन्तुलनको लागी पनि बन जङ्गल आवश्यक छ भन्ने धारणाको विकास गर्न जरुरी छ । बन जङ्गललाई स्थानीयले अपनत्व ग्रहण गर्न सक्ने बनाउन जरुरी छ ।

आगलागीको कारण बर्सेनि लाखौँ लाख रुखपातहरु जलेर खरानी हुने गरेका छन् । एउटा रुखबाट करोडौँ सलाईका काँटी बन्दछ त्यही एक काँटी सलाईको गलत प्रयोगले करोडौँ रुख पात खरानी हुन्छ । नेपालमा जङ्गल आगलागी नियन्त्रणको लागी प्रतिबद्ध छुट्टै संस्थाको अभाव छ । नेपालमा सिटी दमकल सेवा भएको सिटी फायर स्टेसनका फायर फाईटरहरुलाई जङ्गल आगलागी नियन्त्रण सम्बन्धी आधारभूत तालिम औजार उपकरण सहित आवश्यकता अनुसार थप सेवा सुविधा उपलब्ध गराई जङ्गल क्षेत्रमा हुने आगलागीमा सिटी फायर स्टेसनलाई परिचालन गरी आगलागी नियन्त्रण गर्न सकिन्छ । जङ्गल आगलागी नियन्त्रण आफैमा जटिल कार्य हो । यसको लागी छुट्टै तालिम, औजार उपकरण र दमकल स्टेसन हुन जरुरी छ । नेपालमा जङ्गल आगलागी नियन्त्रणलाई प्राथमिकतामा राखेको पाइँदैन । बनमा आगो मानिसद्वारा लगाइन्छ आफै बल्छ,आफै निभ्छ ।

अधिकांश यस्ता आगलागी निभाउनको लागी कसैले प्रयत्न गरेको देखिँदैन । नेपालमा हामी सँग अपार बन जङ्गल छ । यसलाई आगलागीबाट बचाउनको लागी हामी सँग कागजी योजना बाहेक ठोस कार्य योजना देखिँदैन । जगलमा लागेको आगो नियन्त्रण गर्न कठिन छ । जङ्गलमा बाटो नभएको कारण हामी दमकल सेवाको पहुँच पुराउन सक्दैनौ । जहाँ सम्म पहुँच पुराउन सकिन्छ त्यसको लागी आवश्यक पर्ने औजार उपकरणयुक्त दमकल सवारी हामीले व्यवस्था गरेका छैनौँ ।

विदेशमा जङ्गललाई आगलागीबाट बचाउनको लागी संस्थागत संरचना औजार उपकरण सहितको दमकलको व्यवस्था गरेको पाइन्छ । आगलागी ठुलो भएमा आगोको अवस्था आवश्यकता अनुसार साना,ठुला हेलिकोप्टर आगो नियन्त्रणको लागी पानी हाल्न प्रयोग गरिन्छ । आगलागी अनियन्त्रित भएमा वा धेरै ठुलो क्षेत्रमा आगो फैलिएमा बोईङ्गबाट आगो निभाउने गरिन्छ । यसको लागी केमिकल रिटारडेण्ट मिश्रित पानी फाल्ने व्यवस्था हुन्छ । नेपालमा हामी सँग एरियल फायर फाईटिङ्गको व्यवस्था नभएको हुँदा हामीले पूर्व तयारी र फायर फाईटरले नियन्त्रण गर्ने विधिलाई प्राथमिकतामा राख्न जरुरी देखिन्छ । जङ्गल आगलागीको सुरुवाती अवस्थामा अग्नि नियन्त्रकको परिचालन गरेर नै नियन्त्रण गर्नु पर्दछ । आगो फैलन नदिनको लागी अग्नि रेखा तान्ने, डढेलोलाई पिटेर निभाउने । अवस्था अनुसार विपरीत दिशाबाट आगो लगाएर पनि अग्नि नियन्त्रण गर्ने गरिन्छ ।

बनको रुखपातको क्षति गर्ने प्रमुख कारण बन डढेलो हो । जङ्गल आगलागीबाट हुने क्षति अकल्पनीय हुन्छ । यसको ज्वलन्त उदाहरण केही समय अघि अस्ट्रेलियाको जङ्गलमा भएको आगलागीलाई लिन सकिन्छ । ठुला आगलागीबाट हुने क्षतिको अनुमान पनि गर्न सकिँदैन । नेपालमा बर्षेनी अनियन्त्रीतरुपमा हुने गरेको जङ्गल आगलागीबाट भएको प्रत्यक्ष/अप्रत्यक्ष क्षतिको लेखा जोखा सहितको यकिन तथ्याङ्क पाइँदैन । नेपालमा हुने जगल आगलागीमा अपवाद बाहेक शत प्रतिशत मानवीय गल्ती, अज्ञानता, असावधानी र लापरबाही प्रमुख कारण भएको पाइन्छ । यो मानव सृजित बिपद हो । यसमा स्थानीय व्यक्तिको संलग्नता बढी देखिन्छ त्यसैले जङ्गल आगलागी नियन्त्रणको लागी पनि स्थानीय व्यक्ति,संस्था एवं समुदायलाई जागरूक र क्रियाशील गराई जनचेतना अभिवृद्धि गर्नुको साथै प्रतिकार्यमा लगाउन उपर्युक्त हुन्छ ।

आगलागीको कारण जुनसुकै भए पनि रुखको प्रकार, प्रकृति र भौगोलिक अवस्थाको आधारमा अन्र्तराष्ट्रियस्तरमा जङ्गल आगलागी नौ प्रकारको हुन्छ । नेपालमा हुने रुखको प्रकार भूगोलको बनावट अनुसार जङ्गल आगलागी सामान्यतया तीन किसिम हुन्छ । गा्रउण्ड फायर,क्रिपिङ्ग/सरफेस फायर र क्राउन फायर

ग्राउण्ड फायर : जमिन मुनी सुकेका रुखको जरा लडेका पडेका काठ पात भित्र भित्रै गुम्सिएर बल्ने आगोलाई भनिन्छ ।

क्रिपिङ्ग/सरफेस फायर : जमीन माथि भएका पात पतिङ्गगर र स साना बोट बिरुवाहरू बल्दै अगाडी बढ्ने आगो आगो हो जसलाई हामी डढेलो भन्छौ ।

क्राउन फायर : क्षत्रे आगो एउटा रुखको हाँगाबाट अर्को रुखको हाँगामा सल्कँदै बल्दै जाने आगो हो । यस्तो आगलागी सल्ला प्रजातिको रुखमा बढी हुन्छ ।

जङ्गल आगलागी नियन्त्रणको लागी स्थानीय समुदायका युवाहरू सम्मिलित जगल आगलागी नियन्त्रण तथा प्रतिकार्य स्वयम सेवक दस्ता गठन गरी परिचालन गर्दा प्रभावकारी हुन्छ । निजहरूलाई आवश्यक जङ्गल आगलागी प्रति कार्यको लागी आधारभूत तालिम औजार उपकरण आगो पिटेर निभाउने औजार बिटर, बलेका वस्तुहरू तान्ने औजार फायर फोर्क, वाटर ज्याकेट पानी जम्मा गर्न र बकेट बिग्रेडको लागी विकसित फेल्क्स पोखरी र बाल्टिन आदी उपलब्ध गराउने । स्वयं सेवकको सुरक्षाको लागी व्यक्तिगत सुरक्षा सामाग्री (पिपिई) हेल्मेट, पन्जा, आगो प्रतिरोधी कभरअल ड्रेस, छालाको बुट, पानीको बोतल सहित परिचालन गर्न सकेमा समुदायमा जङ्गल आगलागी सम्बन्धी एक प्रकारको सन्देश पनि प्रवाह हुन्छ ।

साथै अन्य समयमा यस्ता स्वयंसेवकहरूलाई समुदायमा जनचेतना अभिवृद्धि गर्न, समय/ समयमा मोक ड्रिल गर्ने जङ्गलको रेखदेख, सरसफाइ तथा जङ्गलमा अनावश्यक मानिसको प्रवेशमा रोक लगाउने, घाँस दाउराको लागी जङ्गल प्रवेश गर्नेहरूलाई साथमा सलाई लाइटर लैजान प्रतिबन्ध गर्ने सम्भव भए सम्म जङ्गललाई घेराबारा गर्ने कार्यमा परिचालन गर्नु पर्दछ ।

कहीँ कतै आगलागी भई हालेमा यस्ता तालिम प्राप्त स्वयंसेवक दस्ता परिचालनबाट आगलागी नियन्त्रण गरी क्षति न्यूनीकरण गर्न सकिन्छ ।

 लेखक काठमाडौँ दमकलका पूर्व प्रमुख हुन ।

Tags :
प्रतिक्रिया दिनुहोस