महामारीपछि नयाँ शिक्षा प्रणालीको आवश्यकता : अध्यक्ष दाहाल - प्रशासन प्रशासन
prasaLogo
१ जेष्ठ २०७७, बिहीबार

महामारीपछि नयाँ शिक्षा प्रणालीको आवश्यकता : अध्यक्ष दाहाल


प्रकाशित मिति : 14 May, 2020 11:41 am

काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कोरोना भाइरस महामारीको सङ्कटले विश्वमा नयाँ शिक्षा प्रणालीको आवश्यकतालाई इङ्गित गरेको बताएका छन् ।

एकीकृत अखिल नेपाल शिक्षक सङ्गठनले सूचना, सञ्चार तथा प्रविधिसम्बन्धी शिक्षकहरुका लागि आयोजना गरिएकोे पाँचदिने प्रशिक्षक प्रशिक्षण कार्यक्रमको भिडियो संवादमार्फत आज उद्घाटन गर्दै उनले भने, ‘महामारीले सिङ्गै विश्वलाई प्रभावित बनाएको र यसका विरुद्ध मानिसले जित्नेछ भन्ने आशा व्यक्त गर्दै हरेक सङ्कटसँग मानवजाति जुध्नु र सङ्कटबाट पार पाएर परिस्थितिअनुकूल नयाँ सामाजिक, सांस्कृतिक र आर्थिक व्यवस्था अनुकूल हुनु अहिलेको आवश्यकता हो ।’

अध्यक्ष दाहालले भने, ‘नयाँ मानिस निर्माण गर्ने वैज्ञानिक र सांस्कृतिक सबै दृष्टिकोणले शिक्षकहरुको भूमिका महत्वपूर्ण रहँदै आएकामा अहिले यो भूमिकाको आवश्यकता झन् बढेको छ । नयाँ विश्व व्यवस्था र समाजवाद सुहाउँदो शिक्षा प्रणाली स्थापित गर्न शिक्षकहरुले नयाँ सन्देश दिन र परिचालित गर्न प्रशिक्षण एक महत्वपूर्ण पहलकदमी हो ।’

उनले हरेक नकारात्मकताभित्र मानिसहरुले सकारात्मकताको खोजी गरी विचार र शिक्षा प्रणालीको विकासका ठूलो योगदान दिनसक्ने भएकाले प्रशिक्षणमा सहभागी शिक्षकले त्यसअनुसारको सन्देश विद्यार्थी र अभिभावकसमक्ष लानुपर्नेमा पनि जोड दिए ।

सङ्गठनका अध्यक्ष शङ्कर अधिकारीले सामुदायिक र निजी विद्यालयका गरी २५० शिक्षक सहभागी रहेको प्रशिक्षणमा गुगल सर्टिभाइड प्रशिक्षक सुशील उप्रेतीको समूहले सहजीकरण गर्नेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस