मलाई यो देशको झुत्रे नागरिक हुनुमै गर्ब लाग्छ ।
यहि अभाव र दरिद्रता नै प्रिय लाग्छ ।।
पराइको चिल्लो सडक र आलिसान महलले कहिल्यै तानेन ।
बरु, आफ्नै देशको धुलो र फुस्रो माटोले मन लोभ्याई राख्छ ।।
समुन्द्र पारीको बिलासताको सपना कहिल्यै देख्न सकिन ।
आफ्नै झुपडीको बास न्यानो लाग्छ ।।
निधारमा रातो अक्षता र फूलको मालाले सजिदै
बादल पारीको गाउँ पुग्ने लालसाले कहिल्यै छोएन ।
साग र सिस्नोको प्राप्ति मै म यहि मख्ख हुन्छु ।।
यहि पाखा अनि भिर, यहि खोला र पखेराहरुमा लुटपुटिएर अल्झिन्छ मन ।
कसैको गुलामी बनेर दौलतको भकारी भरौ लाग्दैन ।।
आमाको फाटेको धोती फेर्न सक्ने हिम्मत नहुँदा पनि चित्त बुझेकै छ ।
तर, परायाको जुठो स्याहार्न स्वीकार गर्दैन मेरो अभिमान ।।
आफ्नै पाखुरी र पसिनाको भरमा खोलेमा नुन हालेर गुजारा गरौंला ।
तर, विरानो भूमिमा जीवन देख्दैन मेरो स्वाभिमान ।।