कोरोनाको प्रहार र नीतिगत हस्तक्षेप « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

कोरोनाको प्रहार र नीतिगत हस्तक्षेप


२५ बैशाख २०७७, बिहिबार


चीनबाट प्रादुर्भाव भएको कोभिड-१९ भाइरस अहिले विश्वव्यापी प्रकोप बनेको छ । एक रोगी व्यक्तिबाट अर्को व्यक्तिमा सजिलै सर्न सक्ने यो भाइरसका कारण विश्वभर तीस लाख भन्दा बढी मानिस प्रभावित तथा मृत्यु हुनेको सङ्ख्या दुई लाख ५७ हजार नाघिसकेको छ । यो सङ्ख्या अझै बढ्ने पक्का छ । अहिले नै यो ‘महामारी’को दूरगामी असर नाप्न त पक्कै उपयुक्त नहोला तर यसले विश्वको सामाजिक, आर्थिक, राजनीतिक वातावरणलाई असर गर्न सुरु गरिसकेको आकलन साधारण हिसाबकिताब बाटै थाहा हुन्छ ।

‘कोरोना भाइरसले पार्ने मानवीय र आर्थिक प्रभाव सँगसँगै यसले उत्पन्न गरेको ‘नश्लबादी’ चिन्तनले विश्वमा निकै समस्या उल्झाउने पक्का छ ।’

कोभिड-१९ ले हजारौँ सङ्ख्यामा मानवीय क्षति त गराएको छ नै साथसाथै विश्व अर्थतन्त्रमा निकै ठुलो क्षति पुर्‍याउने पक्का छ । विश्व अर्थतन्त्रको ‘शक्ति राष्ट्र’ चीन नै रोगी बनेपछि त्यसको मार त विश्वमा परि नै हाल्छ तर कोभिड-१९ को भयावह परिणाम मानव स्वास्थ्यमा भन्दा अझै बढी विश्व अर्थतन्त्रमा पर्ने निश्चय विभिन्न अर्थशास्त्रीहरूले गरिसकेका छन् । यसले बाँचिरहेका मानिसलाई पनि उत्तिकै सताउने देखिन्छ । विश्वमा पुन; आर्थिक मन्दी सँगै कैयौँ मानिसले तत्काल जागिर गुमाउने विभिन्न अर्थ शास्त्रीले आकलन गरेका छन् । विश्वको सबै स्टक मार्केट मा आएको गिरावट (बन्द), रेमिटेन्समा गिरावट, बहुराष्ट्रिय कम्पनी, होटेल, एयरलाईन्सहरुको बन्दले ले यो कुरा थप पुष्टि गर्छ ।

‘एकातिर जागिर गुमेर जीवनयापनका लागि मानिसको जीवन कष्टकर बन्ने र साथसाथै दैनिक उपभोग्य वस्तुको अभावले मानवीय संकट उत्पन्न हुने खतरा…’

विश्व व्यापारको एकतिहाई ओगट्ने चीनको अर्थतन्त्रमा ‘आकस्मिक ब्रेक’ लागे सँगै अन्य देशमा लाग्ने झट्का त झनै विकराल हुने पक्का छ । क्याम्बोडिया जस्ता देश, जसको अर्थतन्त्र अत्याधिक मात्रामा चीनमा निर्भर रहको छ, त्यहाँका मानिसले जागिर गुमाउने सम्भाव्यता उच्च छ साथसाथै आर्थिक संकट उत्पन्न हुने पक्का छ । एकातिर जागिर गुमेर जीवनयापनका लागि मानिसको जीवन कष्टकर बन्ने र साथसाथै दैनिक उपभोग्य वस्तुको अभावले मानवीय संकट उत्पन्न हुने खतरा त्यति नै छ । अर्थतन्त्रका दुई पाटा माग र पूर्तिलाई सोझै असर पार्ने हुँदा कोरोनाको प्रभाव गुणात्मक रुपमा बृद्धी हुने प्रबल सम्भावना छ । नेपालको सन्दर्भमा कुल गार्ह्रस्थ उत्पादनको करिब ६० प्रतिशत ओगटेको सेवा क्षेत्रलाई यसले प्रत्यक्ष असर पुर्याउँदछ । उद्योग, कलकारखाना लगायत उत्पादनको क्षेत्रमा पनि व्यापक असर गर्ने विभिन्न आर्थिक सर्वेक्षणले देखाएको छन् ।

तर कोरोना भाइरसले पार्ने मानवीय र आर्थिक प्रभाव सँगसँगै यसले उत्पन्न गरेको ‘नश्लबादी’ चिन्तनले विश्वमा निकै समस्या उल्झाउने पक्का छ । कोभिड-१९ भाईरसलाई चिनियाँ उपमा दिएर विभिन्न देशमा फैलाएको भ्रमले चिनियाँ नागरिकलाई गरिएको प्रत्यक्ष अप्रत्यक्ष हमलाले नश्लबादी चिन्तनलाई थप प्रश्रय दिएको छ । एक पत्रिकाले त कोभिड-१९ भन्दा चाँडो नश्लबादी चिन्तन बढेको भनेर आफ्नो विशेष संस्करणमै लेखिसकेको छ ।

कोरोनाको सुरूवाती हप्तामा लन्डनको अक्सफोर्ड स्ट्रिटमा एक सिंगापुरका युवकलाई, जो चिनियाँ जस्तो देखिन्थे, सांघातिक आक्रमण गरियो । त्यस्तै सामाजिक संजालमा पनि चीनबारे थुप्रै ‘ट्रोल’ नै बनाइएको छ । निश्चय नै रोगले कुनै वर्ग, समुदाय वा तहको व्यक्ति भनेर भेदभाव गर्दैन तर कोभिड १९ को कारणले उत्पन्न भएको नश्लबादी चिन्तन हाम्रो लागि पाठ बन्न सक्छ । नेपालमा पनि एक धर्म विशेषलाई लिएर कोभिड १९ लाई जोड्ने निन्दनीय प्रवृत्ति देखा परेको छ ।

आर्थिक र सामाजिक संकट सँगै कोभिड-१९ को असर विश्व राजनीतिक परिवेशमा पनि परेको छ । विश्वका शक्तिराष्ट्र र चीनबीचको राजनीतिक मनमुटाव अहिले छरपष्ट छ । चीन र अमेरिका बीचको द्वन्द्व खाली यी दुई देशमा सीमित नभएर सम्पूर्ण विश्व जगतलाई नै असर पारेको विगतको ईतिहास छ । कोभिड १९ भाईरस जस्तै महामारी सन् १९१८-१९१९ को ईन्फुलुन्जा भाइरसका कारण विश्वको राजनीतिक सन्तुलनलाई परिवर्तन नगरेपनि कोभिड-१९ ले पनि विश्व राजनीतिमा तरङ्ग ल्याईदिएको छ । कोभिड-१९ को असर सँगसगै अबको संसार कम खुला, कम सफल र कम स्वतन्त्र हुने पक्का छ । कोभिड-१९ को असरले भुमण्डलीकरणको अन्त्य ल्याउन सक्छ भनेर विश्वका राजनीतिक विश्लेषकहरुले भनिराखेका छन् ।

कोभिड-१९ को असर न्युनीकरणका लागि नेपाल सरकारले देशव्यापी ‘लक डाउन’ गरेको छ । त्यो स्वागतयोग्य छ । तत्कालीन समयमा हामीले गर्नुपर्ने भनेको ‘फ्लाट्नीङ् द कर्भ (वक्रलाई समतल गराउने)’ अर्थात् संक्रमणलाई व्यवस्थित एवं कम गर्ने नै हो । सीमित स्वास्थ्य संस्थाले नियमित बिरामी जस्तै मुटु, मृगौला, सामान्य रोग, अप्रेसन, दुर्घटनाका बिरामीलाई सेवा प्रदान गरिरहेका हुन्छन् । सामान्यतया देशको स्वास्थ्य सेवा प्रदान गर्ने क्षमता पनि त्यति नै हुन्छ । तर महामारीबाट संक्रमित बिरामीको संख्या ह्वात्तै बढेमा एकैपटक धेरै बिरामीको सेवा प्रदान गर्न नसक्दा महामारी थप फैलने सम्भावना रहन्छ । सोको लागि बिरामी संख्या एकैपटक बढ्न नदिई केही लामो समयसम्म उपचार गर्दै लैजाने र स्वास्थ्य सेवा प्रदायक संस्थाको संख्यामा बृद्धी गर्नुनै ‘फ्लाट्नीङ् द कर्भ’ अर्थात बक्रलाई समतल गराउने पद्दती हो । विश्वका धेरै देशले यही नीति अख्तियार गरेको पाईन्छ र तत्कालका लागि प्रभावकारी देखिन्छ । तर भावी दिनमा यस्ता महामारी र विपदको न्यूनीकरणको लागि दीर्घकालीन नीतिगत हस्तक्षेपनै आवश्यक छ ।

विपदको समयमा सरकार नै बढि जिम्मेवार र उत्तरदायी हुनुपर्छ । निजी क्षेत्रले विपदको समयमा ‘हात झिक्न’ सक्ने सम्भावना विगतका तथ्यले देखाउँछ । नाकाबन्दीका समयमा निजी क्षेत्रले पेट्रोलियम पदार्थमा गर्न खोजेको ‘कालोबजारी’ नै हाम्रो लागि उपयुक्त उदाहरण हो । अहिले पनि निजी स्तरमा संचालित हस्पिटलले शंस्कापद बिरामीको हेरचाह र उपचारमा आलटाल गर्न सक्छन् । तर यस्ता महामारी विरुद्धको युद्धमा सरकारको एकल प्रयासले मात्र सम्भव छैन । सबै सार्वजनिक, निजी र सामुदायिक सहकार्य आवश्यक हुन्छ । यस्तो अवस्थामा सरकारले कठोर नीति बनाउन, कार्यान्वयन गर्न सक्नु पर्दछ ।

जब संकट उत्पन्न हुन्छ तब नयाँ नीतिगत हस्तक्षेप आवश्यक हुन्छ । पुराना नीतिलाई आवश्यक परिमार्जन गरिनुपर्छ । विपत्तिले सधैँ चुनौती मात्र ल्याउँदैन नयाँ अवसर पनि प्रदान गर्छ । विकासलाई नयाँ शिरा बाट सोच्न बाध्य गराउँदछ ।

विश्वको अर्थतन्त्रमा आएको र आउने मन्दीले रेमिटान्समा निर्भर हाम्रो अर्थतन्त्रमा आउनसक्ने असर न्यूनीकरणको लागि हाम्रो अर्थतन्त्रलाई परनिर्भर बाट स्वनिर्भर बनाउन दीर्घकालीन नीतिको व्यावहारिक कार्यान्वयन गर्नुपर्ने बेला आएको छ । बेरोजगारी र गरिबी बढ्न सक्ने प्रबल सम्भावना हुँदा त्यसबारे नेपाल सरकारले यही महामारीलाई आधार बिन्दु मानेर थप आक्रामक नीति अबलम्बन गर्नुपर्दछ । गरिबी र बेरोजगारीले सबैभन्दा बढी प्रभावित पार्ने वर्ग जस्तै गरिबीको पीँधमा रहेका समुदाय, बालबालिका, महिला, अपाङ्गको लागि थप ख्याल गर्नुपर्ने हुन्छ ।

नेपाल सरकार आगामी आर्थिक बर्षको लागि बजेट ल्याउने अन्तिम चरणमा छ । यस समयमा अर्थतन्त्रको सुदृढीकरणका लागि छुट्टै प्याकेजको व्यवस्था गर्नुपर्ने देखिन्छ । अनौपचारिक क्षेत्रमा कार्यरत कामदारको लागि बिशेष रोजगारको व्यवस्था गर्न सकिन्छ । निजी क्षेत्रको उत्थान लगायत सार्वजनिक प्रशासनको सुमधुर रफ्तारको लागि पनि नेपालको काँधमा थप जिम्मेवारी थपिदिएको छ । प्रदेश तह र स्थानीय तहको औचित्यता पुष्टि गर्ने बेला पनि यहि हो ।

दक्ष जनशक्तिलाई करारमा भन्दा पनि स्थायी रुपले व्यवस्थापन गर्न सके ‘ब्रेन डेन’ लगायत हाल देखिएको चिकित्सा सेवामा कर्मचारीको अभावलाई न्यूनीकरण गर्छ ।

सायद प्रविधिले जति विपत्ती ल्याएको छ त्यति नै यो विपदमा प्रविधिको प्रयोगले हामीले कोरोनाको असर न्युनीकरण गर्न सक्छौ । ‘लकडाउन’ को समयमा मानिसले अरु सामान्य समयभन्दा बढी ईमेल ईन्टरनेट प्रयोग गरेका छन् । अनलाईन मिडिया मार्फत निमेषभरमै सूचना र सचेतना फैलाउन सहयोग पुगेको छ । घरमै बसेर अफिसको काम गर्न सकिएको छ । तसर्थ अबको दिनमा हामीले सूचना प्रविधिको प्रयोग ‘देखाउन’का लागि मात्र नभएर यसको व्यापक, अर्थपूर्ण र व्यावहारिक प्रयोगको नीति अबलम्बन गर्नुपर्छ । हाम्रो तथ्यांक प्रणालीलाई थप प्रविधियुक्त बनाउनुपर्छ ताकी आगामी दिनमा यस्ता महामारी बारे अनुसन्धान एवं खोज गर्न सजिलो होस् । एकिकृत तथ्याङ्क प्रणालीलाई थप संस्थागत गर्नु पर्ने आवश्यकता पनि देखिएको छ ।

स्वास्थ्यमा सर्वव्यापी पहुँचनै दीर्घकालीन नीतिगत हस्तक्षेप हो । तत्कालका लागि देशव्यापी रुपमा कोभिड १९ परिक्षण ल्याबको प्रशस्त मात्रामा स्थापना र सहज पहुँच गरिनुपर्दछ । स्वास्थ्य सेवा प्रदायक संस्थाको संख्या, क्षमता अभिवृद्धि र जनशक्तिको व्यवस्थापन नै हाम्रो प्रमुख आवश्यकता हो । दक्ष जनशक्तिलाई करारमा भन्दा पनि स्थायी रुपले व्यवस्थापन गर्न सके ‘ब्रेन डेन’ लगायत हाल देखिएको चिकित्सा सेवामा कर्मचारीको अभावलाई न्यूनीकरण गर्छ । सबै नेपालीको स्वास्थ्य बीमा अनिवार्य भएको छ ।

संक्रमित व्यक्तिलाई हुन सक्ने मनोवैज्ञानिक प्रहार बारे पनि उत्तिकै चनाखो हुनुपर्ने अवस्था छ । संक्रमित एक युवती बारे सामाजिक संजालमा व्याप्त प्रतिक्रिया नै त्यसको पूर्व संकेत हो । सम्भव भएसम्म संक्रमित व्यक्तिको परिचय आवश्यक परेको खण्डमा बाहेक गोप्य राख्दा उपयुक्त होला ।

विपद् पछिको व्यवस्थापनमा हामी लगायत अन्य देशका केही सीमितता छन् । तर विपद् पूर्व नै सावधानी अपनाउन सकियो भने केही समस्याहरु थोरै क्षमताले पनि नियन्त्रण गर्न सकिन्छ । यो समय नेपालको लागि अवसर पनि हो । यो मानव जगतकै चुनौतीको समयमा समुदाय, सरकार, नीजि क्षेत्र र अन्तर्राष्ट्रिय समुदाय मिलेर नै मानवीय संकटलाई कम गर्न सकिन्छ । भावी दिनको चुनौतीलाई समेत मध्यनजर गर्दै वर्तमानको समस्यालाई हल गर्नु बुद्धिमतापूर्ण हुन्छ ।

Tags :
प्रतिक्रिया दिनुहोस